परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गाडीमा ‘ए. सी.’ ले कति बढी इन्धन खपत् गर्ला ?


लावण्य र रचयिता दुवैको जन्मदिन बैशाख एक गते पर्ने गजबको संयोग जुरेको छ । ०७५ साल बैशाख एक गते लावण्य ९ वर्ष पूरा गरी १० मा उकालो लागे भने बैनी रचयिता पनि ७ पूरा भई ८ मा टेकिन् ।

सबै भाइ बहिनी जस्तै यी दुबै पनि खुबै मिल्छन् र उत्तिकै एक आपसमा झगडा पनि गर्छन् । रचयितालाई मोबाइलमा ‘गेम’ खेल्न औधी मन पर्छ भने स्कूलबाट आएपछि लावण्यको हातबाट टिभीको ‘रिमोट’ अरुले पाउने ‘चान्स’ नै रहँदैन ।

संयुक्त परिवार भएकाले मम्मी शारदालाई त्यति सारो ‘टेन्सन’ हुन्न । घरको काममा हजुरआमाले पूरै सघाइदिएर शारदालाई जागिर गर्न सजिलो बनेको छ । लावण्य र रचियतालाई मम्मीले पकाएको भन्दा हजूरआमाले पकाएको नै मन पर्छ, अनि हजूरआमालाई पनि नातीनातिनाले मन पराइदिएपछि उमेर छँदाकै जोश आएर भान्सामा पस्ने रहर जाग्छ ।

यसपटकको जन्मदिनमा लावण्य र रचियता दुवैले आफ्नो जन्मदिनमा उत्सव मनाउन मनाही गरेर ड्याडी रामलाई कार किन्ने जिद्दी गरे । आखिर ड्याडी रामले कार किने । मम्मीको जागीर बैंकमा भएकाले कार किन्न कुनै समस्या आएन ।

एक दिन मम्मी, ड्याडी, लावण्य र रचियता कारमा घुम्न जाने योजना बन्यो । योजना जनकपुर जाने बन्यो । छिट्टै गर्दागर्दै पनि घरबाट निस्किने बेलामा ११ त बज्यो नै ।

कार घरको ढोकाबाट निस्कने बित्तिकै लावण्यले भन्यो, ड्याडी कस्तो गर्मी छ, ‘ए.सी.’ चलाउनुस न प्लीज ।
कार ‘हाइवे’ मा पुग्नासाथ रचयिताले भनिन्– ड्याडी अब कार स्पीडले गुड्न थाल्यो, झ्याल खोलेर ‘ए.सी.’ बन्द गरिसियोस् ।
लावण्य चिच्यायो, होइन ‘ए.सी.’ बन्द नगरिसियोस् । कस्तो शीतल भएर मज्जा आइरहेको छ ।
बाहिरको हावाले अब गर्मी हुन्न के ! ‘ए.सी.’ चलाएर खर्च किन खर्च गर्ने ? रचयिताले भनिन् ।
‘ए.सी.’ बन्द गर्ने वा चलाइराख्ने कुरामा दुबैबीच झगडा हुन थाल्यो ।


ल अब तिमीहरू झगडा नगर । दुई मिनेटमै मेरो एक जना साथीसँग भेट हुन्छ । उहाँ पनि हामीसँगै जानुहुन्छ । ‘ए.सी.’ चलाउने वा झ्याल खोलेर कार गुडाउनेबारे उहाँले तिमीहरूलाई चित्तबुझ्दो जवाफ दिनुहुन्छ, ड्याडी रामले दुबैसँग भन्नुभयो ।
के चित्त बुझ्दो जवाव हुन्छ नि ? ‘ए.सी.’ चलाएपछि खर्च त भइहाल्छ नि !, रचयिताले ठुस्किदै भनिन् ।

अब दुई मिनेट पर्ख न ! मेरो साथीले सबै कुरा बुझाउनुहुन्छ तिमीलाई, ड्याडीले रचयितालाई फकाउदै भन्नुभयो ।
आफनो साथीलाई ‘पिकअप’ गरेर ड्याडी रामले अघि लावण्य र रचयिताको झगडाबारे सुनाउनुभयो ।
ड्याडीको साथीले सोध्नुभयो, भन रचयिता घरबाट हिंड्दा तिमीले ‘ए.सी.’ चलाउँदा केही भनिनौ । तर ‘हाइवे’ मा आउँदा “ए.सी.” वन्द गर्न भन्यौ किन होला ?

शहरको ‘ट्राफिक’ मा कार ‘स्पीड’ ले गुड्दैन । ‘हाइवे’ मा आउनसाथ ‘स्पीड’ ले गर्दा झ्यालबाट हावा आइहाल्छ नि । अनि किन “‘ए.सी.’ चलाएर खर्च बढाउनु ? रचयिताले भनिन् ।

‘गुड’ तिमीले त धेरै कुरा जानेकी रहेछौ । तिमीलाई बुझाउन मलाई गाह्रो हुन्न ।

यसमा बुझाउनुपर्ने बाँकी नै के छ र ? रचयिताको स्वरमा अझै पनि जिद्दीपना थियो ।

ल म तिमीलाई बुझाउने प्रयास गर्छु, ध्यान दिएर मेरो प्रश्नको जवाफ दिनु । भन कारको ‘ए.सी.’ मा तिमीले भनेको खर्च कसरी हुन्छ ?
रचयिताले जवाफ दिइन्, ‘ए.सी.’ ले पनि पेट्रोलबाटै ‘एनर्जी’ लिन्छ, पेट्रोलको खर्च बढ्छ ।

लावण्यले तुरुन्तै जवाफ दियो, ‘ए.सी.’ पेट्रोलबाट होइन कारको ‘इन्जिन स्टार्ट’ भएर चल्ने हो । ‘ए.सी.’ मा पेट्रोल जाने ‘पाइप’ हुन्छ र ?
ड्याडीको साथीले भन्नुभयो, तिमीहरू दुबै जना ठीक भन्दैछौ । अब ध्यान दिएर मैले भनेको कुरा सुन ।

हामीकहाँ आउने कारहरूमा कम्पनीहरूले जुन ‘ए.सी.’ जडान गरेका हुन्छन्, ती ‘ए.सी.’ ले कारको इन्जिनले खपत गर्ने कुल इन्धनको ५ देखि १० प्रतिशतको हाराहारीमा आफ्नो लागि खर्च गर्छन् ।
रचयिताले चिच्याउँदै भनिन्– ड्याडी ! अंकलले के भनिसियो, ‘ए.सी.’ ले १० प्रतिशतसम्म पेट्रोल खर्च बढाउँछ । मेरो कुरा कसैले पत्याए पो ?
उनको कुरा सुनेर सबै जना हाँसे ।
ड्याडीको साथीले रचयितासँग फेरि सोध्नुभयो, ल अब तिमी भन, यदि कारले ‘ए.सी.’ नचलाउँदा प्रति एक लिटर पेट्रोलले १६ किमीको ‘माइलेज’ दिन्छ भने ‘ए.सी.’ चलाउँदा १० प्रतिशतको अतिरिक्त इन्धन खर्च हिसाव गर्दा तिम्रो कारले कति ‘माइलेज’ दिन्छ ?
सोझै हिसाव छ नि अंकल, १६ किमीको १० प्रतिशतको अर्थ १.६ किमी ‘माइलेज’ कम्ता हुन्छ । रचयिताले जवाफ फर्काइन ।
ल यसलाई २ किमी नै मान । ‘ए.सी.’ अन गरेर कार चलाउँदा तिम्रो कार १ लिटरमा १४ किमी मात्र गुड्छ ।

तर अव म तिमीलाई भौतिक विज्ञान बुझाउँछु । तिम्रो कार यदि ७० कि.मि. प्रतिघण्टाको वेगले गुडिरहेको छ भने ‘ए.सी.’ चलाउँदा ‘माइलेज’ १४ कि.मि. प्रतिलिटर हुन आउँछ ।

तर ‘ए.सी.’ बन्द गरेर झ्याल खोलेर कार गुडाउँदा अगाडिबाट आइरहेको हावाको दबाबका विरूद्ध कारलाई अगाडि बढाउन इन्जिनलाई झन् बढी बल लगाउनुपर्छ । यसरी हावाले कारको गति विरूद्ध हालेको प्रतिरोध (Drag Resistance) लाई चिर्दै कारलाई गति गरिरहन (Accelerate) इन्जिनले सामान्यभन्दा २० प्रतिशतसम्म बढी इन्धन खपत गर्छ । अब भन ‘ए.सी.’ मा बढी खर्च कि झ्याल खोलेर कार

गुडाउन बढी खर्च ?

रचयिताले मसिनो स्वरमा भनिन्– थैंक्यू अंकल, अब मैले बुझेँ।
सबै भाइ–बहिनीले यो तथ्य याद गरिराखे हुन्छ । कारको झ्याल खोलेर ६० किमि प्रतिघण्टाभन्दा कम्तीमा गाडी गुडाउँदा पेट्रोलको बचत हुन्छ । तर ‘हाइवेमा’ जहाँ कारको ‘स्पीड’ ७०–१००–१२० हुन्छ, त्यहाँ झ्याल खोल्नुभन्दा ‘ए.सी.’  चलाउँदा नै राम्रो र किफायती हुन्छ । मैले तिमीहरूलाई यो जानकारी दिएँ । तिमीहरूले आ–आफ्नो ड्याडी–मम्मीलाई यो जानकारी दिने है ।

Facebook Comments