परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

फुटानी

काँठे राजनीति

म अहिले काँठको एउटा चिया पसलमा छु । तुवाँलो जस्तो देखिने पनेलो कुइरोले यहाँको परिवेश दिक्दार लाग्दो अथवा उराठलाग्दो वा भनौँ विरक्तलाग्दो बनारहेको छ । ५/७ जना युवा पल्लो बेन्चमा बसेर चियाको चुस्कीसँगै राजनीति र विकासलाई मिसाएर विरूप बनाउँदै विद्यावारिधि गर्दैछन् ।

“यो सरकार नालायक सरकार हो, यसले माखो मार्दैन । खै बेरोजगार भत्ता ? खै हामीलाई जागिर ? हामीप्रति सरकारको दायित्व छैन ? खै विकासका काम ?” कुपोषणले ग्रस्त एक युवक दाह्रा किटेर झनझनायो ।

युवाको झन्झझनाहट सुनेर पल्लो कुर्सीमा बसिरहेका खाइलाग्दा बृद्ध भद्र पाराले बोले – कुरो त धार्नीको दोचार्छस् नि ठेउके, तर के गर्नू, राष्ट्रका लागि आफूले चाहिँ के गरेँ भनेर कहिल्यै सोचिनस् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलाई त खूब पखाल्छस् आफू पखालिएको थाहा पाउँदैनस् । बिहान चिया पसल, बेल्का भट्टी । गयो तेरो जिन्दगी!”

बूढातिर फर्किएर युवक भुनभुनायो, “जेसुकै भन्छौ बडी बा तिमी पनि । सत्य कुरो गर्दा पखालेको ठान्छौ, विकास भएन भन्दा “सरकारले तेरो बाख्राको टाट्नो बनादिनुपर्ने” भन्छौ । वर्तमान हाम्रो हो क्या बडी बा, तिमी चुपो लागेर कुरा सुन ।”

युवाको उपदेशात्मक निर्देशनले बूढा रनक्क तात्तिए, “रछ्यानमा बसेको झिंगा जस्तो के भुनभुनाउँछस् बेफ्वाँके ! सकारात्मक सोच्ने गर, अरूको कुरा पनि सुन्ने गर, संगाती पनि अलि काम लाग्ने छान । अलि बुद्धि बढछ कि ! हुन त बुद्धि बढ्ने तत्त्व नै तेरो खप्पराँ छैन होला के बढ्नू, नभा चीज कहीं बढ्छ । जा बरु घराँ गएर भकारो फ्याँक । बाउ, आमालाई सघाइपघाइ गर ।

यति भनेपछि बूढाले मतिर फर्किएर सोधे, “बाबू नयाँ जस्ता छौ । काँठको कुरा यस्तै हुन्छ । नयाँ मानिस आएर “पल्लो गाउँ जाने बाटो कताबाट हो” भनेर सोध्यो भने नयाँ फेला पर्यो भन्ने बुझेर, “ए, त्यो म प्रधानमन्त्री हुँदा बसाएको एकीकृत बस्ती अनि त्यसै बेला खन्न लगाएको बाटो ! उ … त्यही हो” भनेर नयाँ मान्छेलाई काँठेले भन्न सक्छ । चलाख छ भने मात्र नत्र नयाँ मान्छेले पूर्व प्रधानमन्त्रीसँग ठ्याक्कै भेट भो भन्न बेर लाउँदैन । काँठेले विश्व ब्राह्मण्ड सप्पै जानेको हुन्छ बाबू होश गर्नू” भन्दै बूढा हिँडे ।

मलाई रमाइलो लाग्यो काँठको कुरा । काँठमा मात्रै होइन, यो नकारात्मक सोच बनमारा झार जस्तो जताततै फैलिएको छ । यस्तो… हुनुपर्थ्यो उस्तो … भयो भन्नेहरू बग्रेल्ती भेटिन्छन् । तर, म यो गर्दैछु, यो गर्छु र यो गरिछाड्छु भन्नेहरू छैनको मात्रामा छन् । प्रधानमन्त्री ओली बोलेको सुन्दा कसैलाई व्लड प्रेसरले झड्याम्म हानेर पुर्लुक्क लडाउँछ, कसैको बङ्गारा ओथारो बसेको पोथी कुखुरा जस्तो करकराउँछ । कसैलाई सुख छैन, सबैलाई दुखै छ । हुँदाहुँदै मलाई पनि भाउन्न हुने रोग लागेको छ । भनौं भने आफ्नै आङ् कन्याएर छारो उडाएको ठानिने, नभनौँ भने रोग लुकायो भन्ने मानिने । सबैलाई आआफ्नै प्रकारको रोगले ऐठन हुने गरी गाँजेको छ ।

ए …! मित्र , बुद्धि नभए पनि बुद्धिजीवी कहलाएका साथी हो ! ए लेखक महोदयहरू अब तोकेर नै “यो यो काम सरकारले गर्नैपर्छ” भनौँ, लेखौं, बोलौँ । कन्दनी कसेर सराप्नुभन्दा कलम घोटेर अौँल्याऊँ । ठर्रा खा`र कुर्लनुभन्दा, विवेकपूर्ण उर्लनु राम्रो !

पुराना फुटानी

काँठे राजनीति
म अहिले काँठको एउटा चिया पसलमा छु । तुवाँलो जस्तो देखिने पनेलो कुइरोले यहाँको परिवेश दिक्दार लाग्दो अथवा उराठलाग्दो वा …
बाँकी पढ्न …
भयङ्कर तनाव
म अहिले असमेल चिन्तामा छु । अर्को शब्दमा भन्ने हो भने द्वन्द्वमा छु । देशमा भइरहेका ननिका र अगतिला काम …
बाँकी पढ्न …
काङ्ग्रेसमा जनै काण्ड
“ओ भाइ …, ओ … भाइ ! यो बाटो काँ जान्छ ?” यो अनकण्टार ठाउँमा एकजना भाइलाई देखेपछि मैले खुशी …
बाँकी पढ्न …
ट्वाँके राष्ट्रियता
काठमाडौंमा तापक्रम बढ्दै गएको छ । अर्थात् गर्मी सुरु हुन थालिसकेको छ । जब सिके राउत विखण्डनको पगरी खोलेर मूलधारको …
बाँकी पढ्न …
फुटानी
यो हिमाली भेग हो मित्र ! यतै छ मेरो जिन्दगी जिउने अभ्यास । निर्जन, अनकण्टार … बुकी फूलको वास्ना, हिउँ …
बाँकी पढ्न …
दुई शब्द
आधा घण्टा अघिबाट बोल्न सुरु गरेका हाम्रा बरिष्ठ विद्वानले आफ्नो अभिव्यक्तिलाई टुङ्ग्याउने छाँट्काँट देखाउनु भएन । झन् मच्चीमच्ची हात हल्लाउँदै …
बाँकी पढ्न …
गुरु…. को सान्निध्यमा
गुरु को ? जो लघु होइन, त्यो गुरु हो । अनि लघु को ? जो गुरु होइन, त्यो लघु हो …
बाँकी पढ्न …
आ–आफ्नै कानून
१) राजनेता हामीले तपाईहरूको जीवनयापनलाई व्यवस्थित गर्न नियमहरू बनाएका छौँ । जसले यी नियम उल्लङ्घन गर्छ, उसलाई झ्यालखानामा पठाइने छ …
बाँकी पढ्न …
अर्थको अनर्थ लाउँदाकाे दुःख
कक्षामा अध्यपन गराइरहेका शिक्षकलाई एक विद्यार्थीले संस्कृतको एउटा श्लोक दिएर र उक्तश्लोकको अर्थ लगाइदिन अनुरोध गरेछन् । विद्यार्थीले दिएको श्लोक …
बाँकी पढ्न …