फुटानी

यो हिमाली भेग हो मित्र ! यतै छ मेरो जिन्दगी जिउने अभ्यास । निर्जन, अनकण्टार … बुकी फूलको वास्ना, हिउँ बोकेर आउने चिसो सिरेटो, भेडी गोठको एकान्त । हो डोल्पाको उपल्लो भेग अहिले यस्तै छ ।
गोविन्द केसी, होली वाइन, निर्मला पन्त, पशुपति, वाइड बडी, सिके राउत जस्ता मुद्दा र तत्त्वहरू यता उचाल्नु, बोक्नु, थेचार्नु र पछार्नु पर्दैन । यता आफ्नै अस्तित्वमा आकाश छुन उचालिएका पर्वत शृङ्खलाहरू छन् । यिनले उचालिनलाई कुनै मुद्दा खोज्नुपरेको छैन । एकपछि अर्को उचालिँदै गएका पहाडी थुम्का पछाडि फैलिएका स्वाँरा, गरा र गेग्य्रानहरू सहअस्तित्वलाई स्वीकार गर्दै आफूलाई फैलाइरहेका छन् । सहअस्तित्वलाई अस्वीकार गर्ने कुभावना यतातिर छँदै छैन । यहाँका कलमहरूले सकारात्मक पाटो लेख्छन्, यहाँको बुद्धिले अर्काको बरखी बारेको सेतो कपडा पहिरिनु परेको छैन । यहाँका नाँगीहरूमा काँधमा मरुन्जेल अर्काको मुद्दा बोकेर तारिख धाइरहेकाहरू पनि देखिँदैनन् ।

काठमाडौंमै छ मैलो परिवेश । यसो मौका पायो कि गिदीदेखि लिदीसम्म छादेर बर्वाद् गर्छन् । मञ्चमा, सडकमा, सार्वजनिक स्थलमा फोहोर गर्न नपाए सामाजिक सञ्जालमा, अनलाइनमा, टेलिभिजन अथवा रेडियोमा अरुलाई उल्टी आउने गरी फोहोर गर्छन अरे काठमाडौंतिर । डोल्मा कहिलेकाहीँ भन्ने गर्छे – बौद्धिक भन्न रुचाउनेहरू जति फटाहा हुँदारा’न ।

यहाँको परिवेश फरक छ । एकान्तमा मनन चिन्तन गर्न सकिन्छ, भाका हालेर गाउन र अर्कोतिरको डाँडामा सुनिने गरी सुसेल्न सकिन्छ । परिस्कृत र सुसंस्कृत सोचको विकास गर्न सकिन्छ । कुनै अपशकुनी मुद्दाको प्रतिक्षामा कुविचार बोकेर गौंडा ढुकेर बसिरहनु पर्दैन । यहाँ सतीदेवीको लाश बोकेर कुहेका प्रत्येक अङ्गहरू फत्फत् झार्दै हिँड्नु पर्दैन । किनकि चिसोका कारण यहाँ झिंगा छैन, अौंसा पर्दैन र सिनोको कुनै अस्तित्व छैन ।

Facebook Comments
Comments (0)
Add Comment