ए रुख कि हँसिया हथौडा ! चिन्ह पनि थाहा भएन

फुटानी

चुनाउ लागेर गामघरतिर निकै रमाइलो छ । होटेलदेखि भट्टीसम्म, चिया पसलदेखि चौतारीसम्म थरी थरी मात्र होइन परिपरि गफ सुन्न पाइन्छ । सप्पैभन्दा रमाइलो `वाइ चान्स´ टिकस पाएको नेताको पछिपछि दौडिनेलाई भएको छ । टिकस नपाएका केहीलाई भने बिरक्त लागेर खुइय्य ! खुइय्य गर्दै झोकिने रोग लागेको छ । कोही पुरानै नेताले टिकस पाएकोमा दिक्क छन् भने कोही नयाँले पाएकोमा खिन्न छन् । हिजो बिहान चिया पसलमा एकजना भन्दै थियो – यसपालि चुनाउ जित्न जोकोहिलाई फलामको च्युरा चवाय सरह हुन्छ भनेर । अर्को भन्दै थ्यो – उभिण्डेको झ्वाँकेले सजिलै चुनाउ जित्ने भो भनेर । कतिपय भोट गनेरै अाए जसरी बतौरिदै थिए । बेलुका भट्टी जमघटमा चर्को अावाज निकालेर अाफ्नै नेताले जित्ने ठोकुवा गर्ने नेताको पछुवालाई अर्को युवाले `तिमी जस्ताले गर्दा त्यसले सजिलै हार्छ´ भनेर झपार्दै थियो । मै पनि खिन्न भाको छु । रोएर नहुने म अाफैलाई सानो तोड परेको छैन । मैले पाइसकेको टिकस खोसेर उभिण्डेको झ्वाँकेलाई दिए । म माउवादी युद्धकालको नेताले ती काङग्रेसहर्को रुखमा भोट कसोरी हाल्ने ! ओलीको रिसले हाम्राहर्ले त हाल्ला अरे काङग्रेसले भने हँसिया हथौडामा ज्यान गए हाल्दैन ।

यो गठबन्धन पनि मेरा लागि ठगबन्धन नै भयो । कहाँको कम्युनिष्ट कहाँको काङग्रेस । न शरीर मिल्छ, न पुच्छर न त टाउको ! सुङघुर र मुसोको अङ्कमाल । हँसियाले रेटेर, हम्मरले हानेर काङग्रेसको रुख छिमल्ने हाम्रो प्रचन्नको दाउ ! अाफ्नो लागि सुरक्षित ठाउँ गोर्खा भेटिहाले हामी त फिनिष्ट । उता चितवने काङग्रेसहर्को भने दुहुनो गाई चटारिएर भागो । हाम्रो प्रचन्न हिनेपछि चितवने काम्रेसहरू पाखामा झिकेको माछा जस्तो छटपटिए । त्यहाँका काङग्रेस सारै महंगा । अल्लिली त होइन त करोड भन्दा घटी कुरै नगर्ने । लौ खा खुदो, दल मुखउधो भनेर हाम्रो प्रचन्न काम्रेसले चट्टै छाडि दिए । हाम्राहर्ले ओलीको जबर्जस्तीमा सुशील कोइरालाको पालामा  बनाको संविधान चाहिँ गज्जपले जोगाए । ओलीको पालामा सानो प्रतिगमन भा थेन । चिनसँगको पारवहन सन्धि, अाफ्नो भूभाग समेटेर चुचे नक्शा पासगर्ने कार्य र नागरिकता विधेयक रोकेर ओलीले प्रतिगमन गरेको थियो । ओलीले जानेको भा पो ! हाम्राहरू जस्तो पर राष्ट्रवादी हुनुपर्छ । हामी भनेको परमादेशबाट स्थापित भएका हौ । कमफर्टेवल सरखार किन र केका लागि कस्ले बनायो भनेर नबुझ्नेहरू त्यसै यो सरखारको विरोध गर्छन । वाइयात ।

हाम्रो माउवादीले यो चुनाउमा सपलाई चकित पार्छ । यो भन्दा अघिको यस्तै चुनाउमा ओलीसँग मिलेर हाम्रो प्रचन्न काम्रेसले देउवालाई जिल्याएका थिए । तो भन्दा अघिको स्थानीय चुनाउमा नानी छोरीलाई जिताउन देउवासँग मिलेर ओलीलाई पनि जिल्याएकै हो । चुनावी खेल हो साथमा कुस्त पैसा र दिमाखमा तिकडम भरिएको नेता भएकोले अहिलेसम्म हाम्रो मउवादी पार्टी टिकेको छ । नत्र हाम्रो पार्टीको नामोनिशान रहने थिएन । भन्न उसो होइन हाम्रो संगठन छैन, कार्जेकर्ता लाखापाखा लागे, पार्टी संरचना भताभुङ्ग छ । हामीले संघियता ल्याको, हामीले मुलुकलाई धर्मनिरपेक्ष बनाको भन्ने बित्तिकै हाम्रो भोट अाम्दैअाम्दैन । नेपालका ९० प्रतिशत जनता संघियता र धर्म निरपेक्षता विरोधी छन । खासमा भन्ने हो भने युरोपियन युनियनको कारण संविधानमा धर्मनिरपेक्षता भन्ने हाम्रो माउवादी काम्रेसहर्ले राखेको हो र संघियता मधेसकाहर्को जोडबलले राखेको हो । कुरो नबुझ्नेहरू त्यसै उफ्रिन्छन । यो संविधान नबनाउदा हामीलाई फाइदा थियो । हाम्रो प्रचन्न र बाउरामले संविधान घोषणा नगर्न भारतसंग मिलर ठूलो जोडबल लगाकै हो । तर, ओलीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई घुचेट्दै ल्यार संविधान घोषणा गर्न लगाइ छाडे ।

जे होस अहिले हामी हाम्रै टाउकाको मूल्य तोक्ने देउवा दाइको शरणागत छौ । भए हुन्छ, नभए सन्चको अवस्थामा छैनौ । हुनत हामीलाई देश अस्तव्यस्त हुदा नै फाइदा हुन्छ । अम्रिका र भारत हाम्रा दाइना छन । उता युरोपियन युनियन साखै अाफ्नो छ । यस्तो बेला भाँडभैलो मच्चाउन पाए माउवादीका सप्पै काम्रेसहर्ले लोद्रो पैसा कमाउने थियो । अब हाम्रो लागि पहिलाको जस्तो समय अाम्दैन । तो समय हाम्रो लागि स्वर्णकाल थियो । काङग्रेसीहर्को त उठीबास नै लगाइयो । कतिलाई भौतिक, कतिलाई अार्थिक, कतिलाई भाटे र कतिलाई काटे हिसाब गरी साध्य छैन । अहिले हाम्रो पार्टीका सदावहार अध्यक्षले नै पाँच हजार जिम्मा ली सकेका छन । हुन त नमच्चिने पिङको सय झड्का भने जस्तै हो । तैपनि  केही त गरियो । तर, के गर्नु सप्पै सपना जस्तै भयो । संगठन नभए पछि जस्तोसुकै पार्टी भए पनि काम लाग्ने रैनछ । त्यही संगठन नहुदा कहिले ओलीको भतुवा, कहिले देउवाको पछुवा बन्नु परेको छ । अाफू दह्रो नहुदा अर्काको भर ।

नमस्कार है विध्वंसे काका ! थाहा पायौ होलानी । गठबन्धनबाट चुनाउको टिकस त उभिण्डेको झ्वाँकेले लेर अाए छ । काठमाडौंमै थियो, भनसुन गरेरै टिकस फुत्काएछ । हैन हो हाम्रा नेताहर्को कु बुद्धि । अब झ्वाँकेले कहाँट जित्नु ! हाम्रो खोलाफाँटबाट त्यसले भोट पाम्दैन । जो नेताको नजिक भो उसैले टिकस पाम्छ भने अब जितेर देखाअोस् न त झ्वाँकेले ! ए बाबा हो । पहिला मलाई दिने निर्नय गरेका थिए । म त चुनाउमा उठ्ने चाँजोपाँजो मिलाम्दै थिए । लौ तिम्रो टिकस खोसियो झ्वाँकेले पायो भन्ने खबर पो अायो । म त छाँगोबाट खसे जस्तो भए ।

त्यैत भिरघरे भतिज ! मलाई पनि विचित्रै लाग्यो । हैन अस्तिसम्म अर्कै पार्टीमा थियो । अहिले कुन पार्टीको हो थाहा छैन । रुख चिन्न हो कि, हँसिया हथौडा हो त्यो पनि थाहा छैन । हामीलाई सके, टिकस पाम्ने झ्वाँके । मलाई लाग्छ त्यसले रुख चिन्न लेर अायो होला । अब त्यही रुखले थिचेर झ्वाँके मर्छ ।  नेताहरू पो उस्तो । झ्वाँकेलाई के दोष दिनु ! यहाँ कसको पकड राम्रो छ, जनताले कोल्लाई रुचाउछ र नेता को हो ? बुझ्नु पर्दैन । कस्तो मनलाग्दी टिकस बाँडेको छक्क पर्नु छ ।

अाफू त भोट हाल्न गइन्छ । समानुपातिकमाको लागि एक ठाम छाप लगाइन्छ, हिडिन्छ । ढुक्कै भो प्रचारमा पनि हिडनु परेन, कोहीसँग खुसामद पनि गर्नु परेन ।

म पनि त्यही हो भिरघरे ! हँसिया हथौडा खोजेर समानुपातिकमा एक छाप लगायो घरतिर दौडियो। यसपालिलाई यस्तै भयो । एमालेलाई यतिको सजिलो बनाई दिन्छन भन्ने लागेकै थिएन ।

ठिक भन्यौ काका ! एमालेले सजिलै जित्ने भो । म त मनमा अौडाहा भर अाको । तिमीलाई पनि त्यस्तै भाको रछ । अब लाग्छु तल्लो गाउँतिर ।

जै नेपाल !

Facebook Comments
Phutani
Comments (0)
Add Comment