पास गर्लान् त ट्रम्पले उनको जनमत सङ्ग्रहको परीक्षा ?
अमेरिकी राष्ट्रपति निर्वाचन विशेष
संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनाव मङ्गलबार, नोभेम्बर, ३ मा (आज) भैरहेको छ । अमेरिकामा यो राष्ट्रपति चुनाव ५९ औं चुनाव हुनेछ भने यसले ४६ औं राष्ट्रपति छान्नेछ । मतदाताहरूले डेमोक्रेटिक पार्टीका जो बाइडेन वा रिपब्लिकनका डोनाल्ड ट्रम्पमध्ये एउटा ब्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्नेछन् भने यहॉका विभिन्न स्टेटबाट राष्ट्रपति चुन्ने इलेक्टोरल कलेजका ५३८ जना प्रतिनिधिहरू पनि पठाउने छन् जसले २०२१ जनवरीमा वास्तविक रूपमा बहुमतबाट अमेरिकाको राष्ट्रपतिको छनौट गर्नेछन् । अमेरिकी संविधानले हरेक जोर चार वर्षको नोभेम्बर महिनामा पहिलो सोमबारको भोलिपल्टको मङ्गलबार राष्ट्रपतिको चुनाव हुने व्यवस्था गरेको छ । यहाँ हरेक निर्वाचनमा निर्वाचन आयोगले चुनावको मिति तोक्ने झमेला छैन । हरेक जोर चार वर्षको अघिल्लो वर्षदेखि नै स्वतः चुनावी क्यालेण्डर आफसेआफ सुरु हुन्छ र समग्र राष्ट्रले त्यसैको अनुशरण गर्छ । यही कारण कोरोनाको कहरबीच पनि अमेरिकाको चुनावी प्रक्रिया रोकिएन र आज नोभेम्बर महिनाको पहिलो मङ्गलबार यहाँ मतदान हुँदैछ ।
चुनावका मुद्दाहरू:
यो निर्वाचनलाई राष्ट्रपति ट्रम्पको लागि जनमत सङ्ग्रहको रूपमा पनि मानिएको छ । ट्रम्पले वारम्बार झूठ बोलेको, मिडिया र विरोधी विचारलाई अभद्र र अशिष्ट ब्यवहार गरेको, आफ्नै पार्टीका नेता र कार्यकर्ताहरूलाई सिध्याएर ट्रम्पयुग शुरु गरेको, साधारण आय भएकाहरूलाई स्वास्थ्य बिमाबाट बन्चित गराउन खोजेको, गरिबलाई कर बढाएर धनीलाई कर माफी दिएको, विदेशी राष्ट्रसँगको अमेरिकी सम्बन्ध बिगारेको, परिवारवाद हावी गराएको साथै अमेरिकी प्रजातान्त्रिक मूल्य र मान्यताहरूलाई समाप्त पार्न लागेको, रङ्गभेदी नीति लादेर गोरा जातिको प्रभुत्व कायम गर्न खोजेको र आप्रवासी एवं विशेषत: अमेरिकी काला जातिमाथि दमन र अत्याचार गरेको ठाडो आरोप लागेको छ ।
परिसंवाद विशेष
यस पटकको चुनावका केन्द्रीय मुद्दाहरूमा चलिरहेको कोभिड-१९ महामारीको प्रभाव पनि सामेल छ, जसले अमेरिकामा २ लाख ३६ जनाको ज्यान लिइसकेको छ भने करीव एक करोडलाई संक्रमित तुल्याएको छ । यस्तै अश्वेत जातका जर्ज फ्लोइड र अन्य अफ्रिकी अमेरिकीहरूलाई निर्मम तवरमा मारिएको, सर्वोच्च अदालतकी न्यायाधीश रुथ बडर गिन्सबर्गको मृत्युपछि एमी कोनी ब्यारेटलाई सवै विधि र संसदीय परम्परा मिच्दै मनोनयन गरेको र केयर एक्टबाट कोरोना पीडितलाई दोस्रो पटक राहत नदिएको विषय पनि मुद्दा बनेका छन । बहालवाला राष्ट्रपति ट्रम्पका प्रतिद्वन्दी डेमोक्रेट उम्मेदवार जो बाइडेनले कानूनी र सभ्य राजनीतिक वातावरण तयार गर्ने र आफू सवैको राष्ट्रपति बन्ने बताउँदै आएका छन् भने राष्ट्रपति ट्रम्पले हेल्थकेयर एक्ट खारेजी र आप्रवासनलाई धेरै कडा गर्ने बताएका छन । ट्रम्पले अनुदारवादी दल रिपब्लिकनलाई प्रतिनिधित्व गर्छन् ।
एक कार्यकालको राष्ट्रपति !
२०२० को राष्ट्रपति चुनावको विजेता जनवरी २०, २०२१ मा मात्रै उद्घाटन सभा मार्फत राष्ट्रपतिको कुर्सीमा बस्ने यहाँको परम्परा छ । यदि निर्वाचित भएको खण्डमा जो बाइडेन आफ्नो उद्घाटनको दिनमा ७७ वर्षको उमेरमा राष्ट्रपतिको रूपमा सेवा गर्ने सबैभन्दा बुढो व्यक्ति बन्नेछन् र ट्रम्पलाई एक कार्यकालको राष्ट्रपतिमा सीमित पार्नेछन् । ट्रम्पले यो चुनाव हारेमा सन् १९९२ मा डेमोक्रेट पार्टीका बिल क्लिन्टनले रिपब्लिकन जर्ज एचडब्ल्यू बुशलाई हराएदेखि यता २८ बर्षमा एक चोटी मात्रै कार्यकाल चलाउने उनी पहिलो राष्ट्रपति बन्नेछन् । कार्यबाहक राष्ट्रपतिले दोस्रो कार्यकालको लागि चुनाव जित्न नसक्नुलाई अमेरिकी राजनीतिमा राष्ट्रपतिले जनमत सङ्ग्रहमा हारेको रूपमा लिने गरिन्छ । यस अर्थमा ट्रम्पलाई एक कार्यकालको राष्ट्रपति बन्न फिटिक्कै मन छैन र चुनाव जित्न धेरै नै हथकण्डा अपनाइरहेका छन् ।
धेरै वटा जनमत सर्वेक्षणहरूले बाइडेन र उनकी सहयात्री– उप-राष्ट्रपति पदकी उम्मेदवार — कमला ह्यारिसलाई धेरै अगाडि देखाएका छन् । यदि बाइडेनसंगै चुनाव जितेको खण्डमा ह्यारिस उप-राष्ट्रपतिको रूपमा सेवा गर्ने पहिलो महिला उम्मेदवार बन्ने छिन् । यो पहिलो राष्ट्रपति चुनाव हो, जसमा दुबै प्रमुख उम्मेदवार ७४ वर्षभन्दा बढी उमेरका छन्।
इलेक्टोरल कलेजको जोड घटाउ:
धेरैलाई अमेरिकामा जनताले सिँधै राष्ट्रपतिलाई प्रत्यक्ष मत दिन्छन् र चुनाव भएपछि स्वतः राष्ट्रपतिले जित्छन् भन्ने लाग्ने गर्छ । तर त्यस्तो होइन । अमेरिकामा राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन हुँदन । अप्रत्यक्ष निर्वाचन हुने गर्दछ । जनताले राष्ट्रपतिलाई सिँधै मत दिनेभन्दा पनि उनलाई समर्थन गर्ने आफ्नो क्षेत्रबाट उठेका प्रतिनिधिलाई भोट हाल्छन् । त्यस्ता प्रतिनिधिहरूलाई इलेक्टोरल कलेज भनिन्छ ।मतदानको परिणाम अगाडि नै थाहा भए पनि औपचारक रूपमा तिनै प्रतिनिधिले मतदान गरेपछि मात्रै राष्ट्रपति चुनिएको मानिन्छ ।
संयुक्त राज्य अमेरिकामा इलेक्टोरल कलेज भन्नाले राष्ट्रपति र उपराष्ट्रपतिलाई चुन्ने एक मात्र उद्देश्यका लागि संविधानले ब्यबस्था गरेको जन प्रतिनिधिहरूको संख्या हो । राष्ट्रपतिको निर्वाचनमा हरेक स्टेटमा जुन पार्टीले बहुमत ल्याउँछ त्यहाँबाट तोकिएको संख्यामा इलेक्टोरल कलेजका सवै भोट बहुमत ल्याउने उम्मेदवारले पाउँछ ।
प्रत्येक चार बर्षमा चुनावसँगै गठन हुन्छ इलेक्टोरल कलेज र निर्वाचन सकिएर राष्ट्रपतिलाई औपचारिक मत हालेर यो विघटन हुन्छ । यसलाई राष्ट्रपति निर्वाचकहरूको समूह भनेर पनि जान्ने गरिन्छ । संविधानको धारा २ ले व्यवस्था गरेको छ कि प्रत्येक राज्यले त्यहाँको व्यवस्थापिकाले निर्धारण गरेको प्रक्रियाबाट इलेक्टोरलहरू जनताको मतको आधारमा पठाउने छन् ।
जस्तै पेन्सिलभेनियाबाट २० इलेक्टोरल भोट पाउन अहिले दुबै पार्टीले जोडजुलुम गरिरहेका छन् । यसै गरी हरेक स्टेटबाट निश्चित संख्यामा इलेक्टरहरू पठाउने ब्यवस्था गरिएको छ र संवैधानिक ब्यवस्था अनुसार अमेरिकामा सवै ५० वटै स्टेटबाट जम्मा ५३८ इलेक्टोरल कलेज सदस्य (मतदाता) रहेका छन् ।
राष्ट्रपतिमा निर्वाचित हुन वा पूर्ण बहुमत ल्याउन उम्मेदवारले कम्तिमा पनि २७० वटा इलेक्टोरल भोट जित्नुपर्ने हुन्छ । यस प्रक्रियाको रमाइलो र अतिमहत्वपूर्ण पक्ष के छ भने राष्ट्रपतिमा निर्वाचित भैसकेको उम्मेदवारलाई पनि पदका लागि अयोग्य छ भन्ने इलेक्लटरहरूलाई लागेमा इलेक्टरहरूको बहुमतले राष्ट्रपतिको शपथ लिनबाट बन्चित पनि गर्न सक्दछन् ।
बाइडेन ४७ वर्षको निष्कलङ्क राजनितिक यात्रा, मिजासिलो स्वभाव, कूटनीतिको लामो अनुभव र देशभित्र दुईपल्ट उपराष्ट्रपति हुँदा काम गरेका कैयौं समर्थकको साथले विजयी भए भने आश्चर्य हुने छैन । तर ट्रम्पको जालसाजी दक्षिण एशियाली राजनीतिभन्दा पनि तल्लोस्तरको भएकाले यसै भन्न सक्ने ठाउँ छैन ।
यस पटकको चुनावमा फ्लोरिडा राज्यका २९ ईलेक्टोरल कलेज मत नपाए ट्रम्पले स्वत: चुनाव हार्ने बताइएको छ भने मिसिगन, एरिजोना, टेक्सस र नर्थ क्यारोलाइना जस्ता राज्यलाई ब्याटलग्राउन्ड वा निर्णायक राज्यको रूपमा लिएएको छ । जुन पार्टीले यी राज्यका ईलेक्टोरल मत गुटमुट्याउँछ, उसैले चुनाव जित्ने निश्चित छ ।
के हो प्राइमेरी र ककस?
राष्ट्रपतिका उम्मेदवार छान्नको लागि पनि यहाँ अमेरिकामा रमाइलो प्रक्रिया सञ्चालन गरिन्छ । अमेरिकाका विभिन्न राज्यहरू, डिस्ट्रिक अफ कोलम्बिया (वाशिंगटन डिसी) र सीमा भूभाग- टेरिटोरीहरूमा सम्पन्न हुने प्राइमेरी र ककसहरू संयुक्त राज्य अमेरिकाका राष्ट्रपति चुनावका लागि उम्मेद्वारहरूको मनोनयन प्रक्रियाका महत्वपूर्ण हिस्सा हुन्।
संयुक्त राज्य अमेरिकाको संविधानले यस प्रक्रियालाई कतै पनि उल्लेख गरेको छैन । अमेरिकी राजनीतिक दलहरूले समयको क्रममा आफ्नै किसिमका चुनावी प्रक्रियाहरू विकास गरेका छन् । केही राज्यहरूले केवल प्राइमेरी चुनाव गर्दछन्, केहीले केवल ककस गर्दछन्, र कुनैले दुबैको संयोजनबाट उम्मेदवार छान्ने गरेका छन् ।
पार्टीहरूले विभिन्न राज्यहरूमा आफ्नो उम्मेदवार छान्न सञ्चालन गर्ने यी प्राइमरीहरू र ककसहरू निकै रोमान्चक हुने गर्छन । अन्तरपार्टीबाट सामान्यतया चुनाव हुने वर्षको जनवरी वा फेब्रुअरीमा यी प्रक्रिया सुरू हुन्छन् र नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको अघि जून महिनाको मध्यतिर समाप्त हुन्छन् ।
राज्य र स्थानीय सरकारहरूले प्राथमिक चुनावहरू सञ्चालन गर्दछन् जब कि ककस पार्टीका निजी कार्यक्रमहरू हुन् जुन सिंधा राजनीतिक दलहरू आफैंले सञ्चालन गर्दछन् र अन्त्यमा आआफ्नो दलबाट राष्ट्रपतिका प्रतिष्पर्धीहरूबाट एक जना उम्मेदवार अर्को दलसँग प्रतिस्पर्धाका लागि छानिन्छन् । यस्तै प्रक्रियाबाट यसपालि छानिएका हुन डेमोक्रेटिक पार्टीबाट जो बाइडेन र सत्तारुढ रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प ।
लिंकन प्रोजेक्ट:
यस पटकको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको अकर्मण्यताबाट आजीत भएका उनकै पार्टी रिपब्लिकन पार्टीका धैरै घघडान नेताहरूले “लिंकन प्रोजेक्ट” नामक एक समूह खडा गरेर खुल्ला रूपले ट्रम्पलाई भोट नहाल्न र बाइडेनलाई मत दिएर कमसेकम देशको प्रजातन्त्र, राजनीतिक सहिष्णुता र संस्कारलाई जोगाउन आग्रह गरेका छन् । पूर्व बुश सरकारको समयमा विदेश मन्त्री बनेका कोलिन पावेल, पूर्व राष्ट्रपतिका उम्मेदवारहरू, पूर्व गभर्नर, मन्त्रीदेखि लिएर बुश परिवार र जोन मेकेनकी विधवासम्मले पनि यसपटक प्रतिद्वन्द्वी उम्मेदवार जो बाइडेनलाई समर्थन गरेका छन् । जब कि अब्राहम लिंकन स्वयं रिपब्लिकन राष्ट्रपति नै थिए ।
कोरोनाका ‘सुपरस्प्रेडर’ ट्रम्प:
ट्रम्पले अमेरिकामा चुनावी सभा र सम्मेलन गर्दा मास्क नलगाउनुका साथै अमेरिकालाई लकडाउन नगर्ने भनेर यहाँ धेरै मानिसमा कोरोना सारे भनेर उनलाई कोरोनाका ‘सुपरस्प्रेडर’ भनिएको छ । उनका आमसभाहरूमा विशेषत: गाउँ र काँठतिरका कलेज डिग्री नगरेका गोरा समूहहरूमा मास्क समेत नलगाई र सामाजिक दूरी पनि कायम नगरी मानिस भेला गराइएको छ । एउटा सर्भेले देखाए अनुसार, ट्रम्पका विभिन्न ~यालीमा भाग लिनेहरूमध्ये अहिलेसम्म ७ सयको ज्यान गइसकेको छ भने कम्तिमा पनि ३० हजारले कोरोना सङ्क्रमण खेपिरहेका छन् ।
कसले जित्ला त?
अमेरिकामा पनि पैसा र अस्वस्थ प्रतिस्पर्धाको राजनीति ट्रम्पले भित्र्याएपछि चुनावको परिणाम र अन्य राजनीतिक भविष्यवाणी गर्न विश्लेषकहरूलाई धेरै नै गाह्रो भएको छ । हिजै मात्र टेक्ससमा ट्रम्प कार्यकर्ताहरूले बाइडेनको चुनावी गाडीलाई घेरेर घोषित चुनावी सभा गर्न दिएनन्। जथाभावी झुठा नाराहरू लगाएर ट्रम्प हिँडिरहेका छन् । सबैभन्दा पनि सनसनीपूर्ण र संवेदनशील कुरा त के छ भने ट्रम्पले नोभेम्बर ३ अर्थात् आजै रातीसम्म गणना हुने मतलाई मात्रै आधार मानेर आफूलाई निर्वाचित घोषणा गर्ने सुर बनाएका छन् । तर महामारीका कारण अर्ली भोटिंग (चुनावको मितिभन्दा अघि नै मतदान) गर्न सुविधा दिइएकोले गर्दा जम्मा २४ करोड मतदातामध्ये करीव १० करोड मतदाताले चुनावको दिनअघि नै भोट हालिसकेका छन् । ती मतलाई हुलाकबाट पठाइएको छ र तिनको गन्ती चुनावको दिन खसेको मतको गणना सकेर शुरु गर्ने बताइएको छ ।
यसरी अगाडि मत हाल्नेमा धेरै जसो बाइडेनका मतदाता भएको बताइएको छ । यी हुलाकबाट हालिएका मत गनिसक्न कम्तीमा पनि शुक्रबारसम्म लाग्ने बताइएको छ । त्यसैले राष्ट्रपतिको मतदानको पूर्ण विवरण आउन केही दिन कुर्नुपर्ने देखिन्छ । तर यदि आज बेलुकाको मत गणनामा आफू अगाडि देखिएको भरमा ट्रम्पले आफूलाई निर्वाचित घोषणा गरे भने यो चुनावी प्रक्रिया धेरै ठूलो कानूनी मुद्दा–मामिलाबाट गुज्रिने निश्चित छ । बाइडेन ४७ वर्षको निष्कलङ्क राजनितिक यात्रा, मिजासिलो स्वभाव, कूटनीतिको लामो अनुभव र देशभित्र दुईपल्ट उपराष्ट्रपति हुँदा काम गरेका कैयौं समर्थकको साथले विजयी भए भने आश्चर्य हुने छैन । तर ट्रम्पको जालसाजी दक्षिण एशियाली राजनीतिभन्दा पनि तल्लोस्तरको भएकाले यसै भन्न सक्ने ठाउँ छैन ।
(गुणराज लुइँटेल नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल – ईन्जाका अध्यक्ष हुनुहुन्छ )