कोरोना, प्रदुषण र आशा
सन्दर्भ : वातावरण दिवस
एकातिर कोभिड १९ ले विश्वभर भयाङ्कर समस्या ल्याएको छ भने अर्कोतिर हामी सबैलाई परिवार र प्रकुतिसँग घरमा बसेर रमाउने मौका मिलेको छ । सफा हावामा सास फेर्न पाएका छौ । होहल्ला कम भई वातावरणमा ध्वनी प्रदुषणको मात्रामा सुधार भई हामीहरुको मन स्थिर हुन थालेको छ । भोलि लकडाउन खुलेमा फेरै पुरानै शैलीमा मानिसको आचरण फर्कने आधार देखिसकेको छु मैले र सोच्दा पनि मन कहाली लाग्दो गरी थरथर काम्न थाल्छ ।
हाम्रो नियन्त्रण बाहिरको कुरा, हामी के नै गर्न सक्छौ र ! स्वच्छ वातावरणमा विहान पाँच बजे नै ध्यान गर्न रमाउँन थालेको छु । हिजो मात्रको कुरा हो । ध्यानमा बस्ने बेलामा झ्याल बाहिर दुई जुरेलीहरू मिठो आवाजमा वार्तालाप गरिराखेको थिए । सधैंकोभन्दा केही फरक लागेर यसो झ्यालबाट बाहिर हेर्न मन लाग्यो । भर्खरै उड्न सिकेको सानो जुरेली आफूभन्दा ठूलो जुरेलीसँग (सायद उनकी आमा) सँग वार्तालाप गरीराखेको रहेछ । दुबै ठूलो स्वरमा कुरा गर्दैै थिए । ध्यानमा बसें तर उनीहरुको त्यस मिठो वार्तालापबाट मन हट्न सकेन । बुझ्न प्रयास गरें तर के सक्नु चराको भाषा बुझ्न । एकाएक छर्लङ्ग भयो । लाग्यो मैले उनीहरुको प्रत्येक शब्द बुझिराखेको छु ।
सानो चरा बचेरा रहेछ र आजमात्रै उड्न सिकेर आमासँग खाना खोज्न आएको । फुर्कदै हरियो रुखको हागाँमा बसेर आमालाई भन्दै रहेछ । कति राम्रो वातावरण हेर त आमा ! माटो बनाउन रातभर काम गरेर थकित गड्यौलालाई देखाउँदै, बिहान बिहान स्वच्छ हावापानी र हाम्रो खाना पनि भन्दै भुर्र उडेर गड्यौलालाई च्यापेर ल्याउँछ र दुबै मिलेर बाँडेर खान थाल्छन् । आमा म पानी खाएर आउँछु भन्दै बाग्मतीमा डुबुल्की लगाएर आउँछ । बाग्मतीको त्यो सफा पानीमा भिजेको पखेटा हल्लाउँदै फेरि उड्न थाल्छ ।
आमाले केही भन्न खोज्छिन् तर उ कहाँ सुन्थ्यो र ! आफ्नै धुनमा रमाउँदै गीत गाउँदै थियौ । म कान लागाएर माउ जुरेलीले भनेको कुरा सुन्न र अथ्र्याएर बुझ्न खोज्दै थिए । उनले विगत बारेको कथा सुनाइन:
हामी सानो छदाँ ब्याधाले गुलेलीले मारेर हामी चराहरूलाई देख्नै हुँदैन थियो । समयले कोल्टे फे¥यो । मानिसले गुलेली चलाउँन छोडे तर हाम्रो बाच्ने आधार नै खोस्न थाले । हामीले स्वास फेर्न हावा र खाने पानी प्रदुषित गर्न थाले र भएभरका रूख काटेर हाम्रो बास स्थान पनि नास गर्न थाले । पानीको प्यास लागेमा नदीको पानी खान लाएक थिएन प्रदुषणले गर्दा । तर समयले फेरि कोल्टे फेरेको जस्तो छ । अब त मानिसमा बुद्धि पलाएछ । मानिस घरमा बस्न थालेछन् । हावा, पानी र जमिनमा कुनै किसिमको प्रदुषण देखिएको छैन । रूखहरू पनि हरिया र राम्रो भएका छन, हामीलाई घर बनाउँन मिल्ने खाल्का। मेरो सन्तानको भविष्य उज्वल होला जस्तो छ अब । आऊ बचेरा अब घर जाऊँ, तिमीलाई मिठो मिठो खानेकुरा बनाएर खुवाउँने छु ।
यति कथा भनिसकेर दुबै चरा उडेर गए । आफैंले उल्था गरेर बुझेको चराहरुको त्यो बार्तालापपछि मनमा चिसो पसेको थियो । हे र त बिचरा ती जुरेलीलाई के थाहा, भविष्य उनले सोचेको जस्तो छैन् । लकडाउन खुलेपछि स्थिति झन डरलाग्दो हुनेछ । बन्द भएका कलकारखानाले दोब्वर उत्पादन गर्ने अठोट लिएका छन् जसले वातावरण पहिलाको भन्दा प्रदुषित हुने छ र यी अवोध चराहरू र जनावरहरुलाई फेरि बाच्न कठिन हुने छ । विचरा चराहरू भन्दै म आफ्नो ध्यानमा लागें । मैले गर्न नै के सक्थे र ?
ईमेलः kanchanmanidixit@gmail.com