परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चकमन्न परिवेशमा कोरोनाको भुत

कोरोना डायरी–८

विहानै एक वथान कागहरु बडो नराम्रोसँग कराए । सायद एउटा कागको दुखान्त निधन भएको हुनुपर्छ । कतै विजुलीको तारमा बस्दा करेन्ट लागेर काग म¥यो होला । सहानुभूति र समवेदना प्रकट गर्न थाहा पाउने जिवित कागहरु भेला भएका होलान् । यी पंक्षीहरु मान्छे जस्तो संवेदनाहिन बन्न भ्याएकै छैनन् कि क्या हो ।

म विस्तराबाट उठ्न भ्याएकै थिइन अर्को ठूलै हुल काग घरको माथिबाट कराउँदै बौद्धतिर लागे । उठेर विहानको नित्यकर्म सकें । शरीरमा बोझिलोपन यथावत कायमै छ मन एक तमासले बहकिन छाडेको छैन । सोचे कोरोना भाइरस सशरीर उपस्थित हुने हो भने मान्छे र त्यसको बिचमा कस्तो संघर्ष हुन्थ्यो होला ! महाभारतमा बर्णन गरे जस्तै युद्ध हुन्थ्यो कि पहिलो दोस्रो विश्व युद्ध जस्तो !

महाभारतमा दूर्योधनको जिद्दी, भिष्म पितामहको लाचारी र कृष्णको कुटिलता नै प्रमख कारण थिए । पहिलो र दोस्रो विश्वयुद्ध आफ्नो एकलौटी साम्राज्य कायम गर्न तम्सिएका केही घमण्डी र महत्वकांक्षी व्यक्तिहरुको उद्विग्न सोचको उपज थियो । तर, कोरोनासँगको युद्ध सहज पनि छैन र अभेध्य पनि छैन । अदृष्य रुपमा लुकेर आएको शत्रुलाई लुकेरै जितिन्छ भन्ने सोचको विकास मान्छेले गरी सकेको छ । अन्य उपाय अहिलेसम्म पत्ता लागेको छैन ।

यो लकडाउनमा कोठामै थन्किनु पर्दा मान्छेको सैतानी दिमागले विभिन्न खाले कल्पनाको फुल कोरल्छ । हेर्नुहोस् न केही दिन अघिसम्म ध्वनी प्रदुषणले पागल भएको मन अहिले आवाजहरु किन आई रहेका छैनन् भनेर सोच्न थालेको छ । साँच्चै चकमन्न छ । उ… पर कता हो कुखुराको भाले बास्तै छ । त्यसले मात्र थोरै भए पनि चकमन्नतालाई चिरेको छ ।

यो म बसेको टोल अलि बेग्लै खालको छ । सबै बाहिरबाट आएर विभिन्न ब्यवसाय गर्दै बसेकाहरु । नगर विकासले बसाएको नयाँ वस्ती । सबै घरमा सडक, विजुली, ढल, खानेपानी र इन्टरनेट पुगेको छ । यी १४–१५ घरका मान्छे एकले अर्कालाई बाधा ब्यवधान नपु¥याउने खालका छन् । टोलको समस्या आपसमै मिलेर समाधान गर्ने चलन बसाइएको छ । तर, कोरोनाको समस्या समाधान गर्न हाम्रो टोलले सक्तैन । त्यसैले कोरोना भाइरसको समस्या समाधान गर्न भने विश्व व्रह्माण्डलाई नै जिम्म दिएका छौं ।

पखर्नु होस् है, यहाँ फोन आयो म उठाउँछु । हल्लो… ! ए सन्तोष अधिकारी ! अँ अहिले कहाँ हुनुहुन्छ ?

उताबाट सन्तोषले भन्नुभयो — हामी अहिले राहत वितरणमा जुटेका छौं । हामी गौरीघाटदेखि खरिबोट वरिपरि रहेका युवाहरु मिलेर स्वस्फुर्त रुपमा आफैं रकम जम्मा गरेर थोरै थोरै भए पनि राहत पु¥याउँदै छौ । कतिपय विद्यार्थी र दैनिक ज्यालादारीमा बाँचेकाहरु भोकभोकै बसेका भेट्टायौं । कमसेकम तिनीहरुलाई बचाउनु पर्छ भन्ने लागेको छ ।

सन्तोष लगायत खरिबोट वरिपरिका समाजसेवी युवाहरुलाई मुग्द कण्ठले प्रसंशा गर्दै समाज सेवामा लागि रहन प्रोत्साहित गर्नै पर्छ । यिनै युवा हुन भोलिको समाज हाँक्ने । यो लकडाउनको समयमा आफ्नै कुच्चुक्क परेको कोठामा भोकै बसेकाहरुलाई खोज्दै केही राहत लिएर सन्तोष अधिकारीहरु पुगे । यही नै अहिलेको अवस्थामा ठूलो कुरा हो ।

उनीहरु राहत बोकेर गएछन् । मेरो भने मन स्थिर छैन । छट्पटी, बेचैनी, आलस्य, र बोझिलो परिवेशले मलाई गम्लङ्ग अङ्गालो हालेर बसेको छ । हेर्नु न बाहिर घाम चर्किएको । दिन धाम्मधुम्म हुनु, पानी पर्नु, सिरिरि हावा चल्नु, पर कतै गीतको धुन बजाउनु, कसैले परबाट कसैलाई बोलाउनु अहँ केही छैन चकमन्न छ । कस्तो निस्लोट छ समय । ए… बास्सै ! यस्तोमा मान्छे कसरी बाँच्छ हँ ! यसैलाई हो क्यार मुर्दा शान्ति भनेको ।

अहिले विश्वका सबै राष्ट्रहरु तनाव र त्रासमा छन् । कोरोना भाइरससँग लड्दै छन् । यो महामारीबाट पार पाई सकेपछि कतिपय राष्ट्रले द्रुत विकास गर्ने र कतिपय राष्ट्रले घुँडा टेक्ने आँकलन विज्ञहरुले गरेका छन् । कोरोनाको पहिलो उत्पत्ति भएकै चीनले हिजैदेखि लकडाउन हटायो अरे ! त्यहाँका विज्ञहरुले सुझाव दिए अनुसार चाइना सरकारले मानिसको आवत जावतमा खुकुलो बनाउदै लगेको खबर पनि विविसीले भन्दै थियो ।

खुला सिमानाका कारण हाम्रो अवस्था भने अर्कै छ । जबसम्म छिमेकी मुलुक भातरमा कोरोना भाइरस रोकिदैन तबसम्म हामी असुरक्षित नै रहन्छौ । पूर्ण रुपले नाका बन्द गरेर आवत जावत रोक्न अहिले पनि सकिएको छैन । सायद भारतबाट लस्कर लागेर आएका ब्यक्तिलाई यथोचित ब्यवस्थापन गरेर १४ दिन कोरेन्टिनमा राख्न सक्ने क्षमता पनि हामीसँग छैन ।

राम्रोसँग रोकेर, बाहिरबाट आएकाहरुलाई कोरेन्टिनमा राख्ने हो भने नेपालमा अब भाइरस फैलँदैन भनेर विज्ञहरुले भनी सकेका छन् । तर, विदेशबाट आएर लुकेर घरमा बसिरहेका ब्यक्तिबाट भने समाज अहिले पनि असुरक्षित छ ।

आज त तपाईसँग कोरोना र लकडाउनको कुरै गर्दिन भन्ने थियो तर, भयो त्यही कुरो । आजलाई पुग्यो । भोलि भेटौला । अहिलेलाई हात जोडेर परैबाट नमस्कार है ।

चैत २६ गते

Facebook Comments