परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

समाजवादी नैतिकतामा आधारित चेतनाले मात्र समाजवादलाई सुनिश्चित गर्छ

समाजवादको सम्भाव्यताबारे बहस

काठमाडौं । प्रा. डा. पीताम्बर शर्माले समाजवादको भौतिक अवस्था निर्माणलाई वाह्य कारणले निश्चय नै प्रभावित पार्छ तर आधारभूत वर्गलाई परिचालन गर्ने जस्ता आन्तरिक प्रयत्नहरुले पनि समाजवादका लागि भौतिक अवस्था निर्माण गर्न सकिने कुरा बताउनु भएको छ ।

फाउण्डेसन फर क्रिटिकल डिस्कोर्स नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रमको अध्यक्षता गर्दै उहाँले यो कुरा बताउनु भएको हो । फाउण्डेसनका तर्फबाट अशेष घिमिरेले कार्यक्रमको औचित्यका बारेमा जानकारी दिनुहुँदै भन्नुभयो– ज्ञान निर्माण गर्नु कम्यूनिष्ट पार्टीको एउटा महत्वपूर्ण कार्यभार हो । कार्यक्रममा वामपन्थी चिन्तक डा. खगेन्द्र प्रसाईले “विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि प्रा.डा. युवराज संग्रौला, डा. विजय पौडेल र नेकपाका नेता बामदेव गौतमले टिप्पणी गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै डा. प्रसाईले भन्नुभयो– नेपालमा समाजवादको चर्चा गर्दा विश्व व्यवस्था र यसको दिशा कता जाँदैछ भन्ने ख्याल गरेनौं भने हामी आफ्नै अज्ञानताको शिकार बन्नेछौं । भौतिक आधार तयार नभइकन नयाँ व्यवस्थाको शुरुवात हुँदैन । यसको अर्थ भौतिक परिस्थिति अनुकूल छैन भने नेपालमा पनि समाजवाद आउँदैन ।

कार्यपत्रमा डा. प्रसाईले मूलतः तीनवटा मत अधि सार्नुभएको छ । पहिलो मत वर्तमान विश्व व्यवस्थाको चरित्र, यसको विकासको दिशा तथा नेपालको समाजवादी यात्रामा त्यसको अर्थसम्बन्धि छ भने दोस्रो मतमा विश्व व्यवस्थामा चीनको हिस्सा र तेस्रो मतमा नेपालको समाजवादी आन्दोलनको सम्भावनासंग सम्बन्धित केही महत्वपूर्ण पक्षलाई अघि सार्नुभएको छ ।

डा. प्रसाईका अनुसार हालको विश्व व्यवस्था पूँजीवादको संक्रमण र अवसानको चरण हो र यसभित्र संरचनात्मक संकट पैदा भएको छ । जसले गर्दा अहिले पूँजी पुनरउत्पादनको प्रक्रिया मात्र जीवित छ ।

चीनमा विद्यमान व्यवस्थाको विश्लेषणमा डा. प्रसाई भन्नुहुन्छ– “चीनीया व्यवस्था हाल आधारभूत र चारीत्रिक हिसावले पूँजीवादी व्यवस्था नै हो, चीनिया विशेषता सहितको पूँजीवाद । यो विश्व पूँजीवादी व्यवस्थाको विकल्पको रुपमा होइन, त्यसका आधारभूत नियम अन्तरगत त्यसभित्र प्रवेश गरेको छ र यसले हासिल गरेको चामत्कारिक विकास यसै प्रक्रियासँग सम्बन्धित छ । यो कुनै वैकल्पिक नियम र गतिशीलता अन्तरगत अगाडि बढेको होइन । त्यस्तै, उत्पादनका साधनको स्वामित्व र सम्पत्ति वितरणलाई हेर्दा पनि यो निसन्देह पूँजीवादी नै छ । क्षेत्रीय असमानता, ग्रामिण शहरी असमानता, व्यक्तिगत तहका आर्थिक असमानता यसका चारीत्रिक र अकाट्य प्रमाण हुन् । चीनीया कम्युनिष्ट पार्टीका दस्तावेज र नेताहरुका औपचारिक अभिव्यक्तिहरुमा नै चीनको विकाशलाई अस्थीर, असन्तुलित, समन्वय नभएको र धान्नै नसकिने मानिएको छ ।”

नेपालमा समाजवाद स्थापनाका मुलभूत सर्तका रुपमा डा। प्रसाईले तीनवटा बुँदा अधि सार्नुभएको छ– “पहिलो, नेपालमा प्रभुत्वमा रहेको हालको अनुत्पादक पूँजीलाई उत्पादक पूँजीमा रुपान्तरण गर्ने प्रकृया शुरु हुनुपर्छ । तर यो प्रकृया त्यति सजिलै शुरु हुँदैन । वर्तमानमा वित्तीय पूँजी (अनुत्पादक पूँजी) प्रभावशाली छ र यो निरन्तर पुनरउत्पादित भइरहेको छ । यसखाले पूँजीको पुनरउत्पादनमा रुकावट या संकट नआए रुपान्तरण निक्कै जटील या वस्तुतः असम्भव नै हुन्छ । रुपान्तरणका लागि ठूलो योजना र राजनीतिक प्रतिवद्धता आवश्यक हुन्छ । तर यो पूँजीले राजनीतिक र समाजका अन्य संस्थाहरुमा प्रभाव र कब्जा जमाएको हुँदा रुपान्तरणलाई रोक्ने जवर्जस्त प्रयत्न गर्दछ । यसखाले पूँजीमा संकट या प्रभाकारी प्रतिकूलता आएपछि मात्र रुपन्तरणको बाटो वस्तुतः खुल्ला हुन्छ । त्यसकारण हाल शासन गरिरहेको पूँजीको क्षमता, आकार, गतिशीलता, विकास, राष्ट्रिय तथा अन्तराष्ट्रिय जालो, त्यसको संकटको नियम र दिशा बुभ्mनु, संकटबाट रुपान्तणको विधि र दिशाको खाका बनाउनु नेपालको समाजवादी आन्दालनको एक महत्वपूर्ण कार्यभार हो ।”

डा. प्रसाई दोस्रो सर्त अघिसार्नुहुन्छ– “समाजवाद तर्फ जानलाई समाजवादमा मात्र आफ्नो स्थायी हित र स्वार्थ देख्ने अर्थात् समाजवाद चाहने वर्ग या वर्गहरु हुनैपर्छ । साथै तिनको बहुमत, संगठन र समाजवादी चेतना पनि आवश्यक हुन्छ । हाल नेपालमा त्यस्तो वर्ग छ, छैन निक्र्यौल गर्नुपर्छ । नेताका आदर्श र प्रबुद्ध चाहनाले मात्र समाजवाद आउँदैन । वर्ग र त्यसको भौतिक परिस्थितिविनाको समाजवादको चाहनाको सैद्दान्तिक आधार काल्पनिक समाजवाद हो, वैज्ञानिक समाजवाद होइन ।”

तेस्रो सर्तका रुपमा उहाँ भन्नुहुन्छ– “हाललाई कल्याणकारी प्रावधान या केही महत्वपूर्ण सामाजिक सुरक्षा र सुविधामा सबैको समान पहुँचलाई समाजवादको थालनीको विन्दु मान्ने हो भने त्यसका कम्तिमा दुईवटा प्रमूख सर्तहरु छन् : (क) राजकीय तथा सार्वजनिक क्षेत्रको आर्थिक क्षमता । यो कुरा स्वयं सार्वजनिक क्षेत्रको भूमिका र सबलताको पक्षधर वर्गको प्रभावशाली उपस्थिति, भूमिका या हस्तक्षेप विना असम्भव हुन्छ । (ख) सामाजिक सुविधाबाट बञ्चित भएमा वर्गहरुद्वारा कल्याणकारी प्रावधानको माग र त्यो मागलाई निर्णायक बनाउन सक्ने सांगठनिक या वैचारिक क्षमता ।”

उहाँ जोड दिनुहुन्छ– नेपाली समाजवादी आन्दोलनले विश्व व्यवस्थाको चरित्र, दिशा, त्यसको संकट, चीनको भूमिका तथा दिशा र त्यस प्रक्रियामा विकसित हुने वर्गहरु र तिनका संघर्ष आदिको अध्ययन नगरी नेपाली समाजवादको सम्भावना र दिशा तय गर्न सक्दैन ।

कार्यपत्रमाथि टिप्पणी गर्दै वामपन्थी चिन्तक प्रा.डा. युवराज संग्रौलाले भन्नुभयो– “अहिलेको समय समाजवादको असफलताको होइन, नवउदारवादको समग्र असफलताको युग हो । यसले विश्वको आर्थिक व्यवस्थाको सामाजिक आधार भत्काएको छ, मानिसको उत्पादन र उपभोग प्रवृत्तिमा व्यापक निरासा सिर्जना गरेको छ । उत्पादक शक्तिको सकारात्मक उत्पादन मनोवृत्तिलाई ध्वस्त बनाएको छ । तसर्थ समाजवादको सम्भव्यता यसले विद्यमान निरासावादी उत्पादन मनोवृत्तिलाई कसरी हस्तक्षेप गर्न भन्ने कुरामा निर्भर गर्छ ।”

कार्यपत्र प्रस्तुतकर्ता डा. प्रसाईसंग असहमति जनाउँदै प्रा.डा. संग्रौलाले भन्नुभयो– चीनमा समाजवाद उन्मुख व्यवस्था रहेको छ । उहाँले भन्नुभयो– “चीनले समाजवादका चीनीया विशेषताको खोजी गरेको छ । चीनले समाजवादभित्र व्यक्तिको मौलिकता र नौलो खोजलाई मान्यता दिई सकारात्मक प्रतिस्पर्धा स्थापित गरेको छ र उसले माक्र्सवादको समय सापेक्ष वैज्ञानिक महत्वलाई स्वीकार गरेको छ ।” प्रा.डा. संग्रौलाको अर्को असहमति थियो– “विश्व भौतिक परिस्थिति तयार नभएसम्म समाजवाद आउँदैन भनेर हामी बस्ने होइन, यसका लागि आन्तरिक रुपमा नै तयारी गर्नुपर्र्छ ।”

अर्का टिप्पणीकर्ता नेकपाका नेता तथा माक्र्सवादी अर्थशास्त्री डा. विजय पौडेलले चीन समाजवाद उन्मुख छ भन्ने निश्कर्ष निकाल्नु भएको छ । उहाँ भन्नुहुन्छ– “चीनले राष्ट्रिय पूँजी निर्माणको लामो चरण पार गर्दैछ । राष्ट्रिय पूँजी निर्माणको लामो चरणमा जाँदा समाजजादी बाटोबाट चिप्लिने र पूँजीवादी प्रवृत्ति प्रभावी हुने समस्या देखापर्छन् र चीन अहिले यही समस्यासंग जुझ्दै छ ।”

अर्का टिप्पणीकर्ता नेकपाका नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्रै नेपालमा आधारभूत समाजवाद निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले चीनमा समाजवाद आइरहेको कुरामा पनि जोड दिनुभयो ।

बहस कार्यक्रमलाई निचोडमा पु¥याउन कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रा.डा. पिताम्बर शर्माले भन्नुभयो– “समाजवाद एकै पटकमा प्राप्त हुँदैन, एउटै लिकमा पनि प्राप्त हुँदैन । समाजवाद प्राप्त गर्न विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ । तत्कालै समाजवाद आइहाल्दैन । सम्भावनाहरुको पुनरउत्पादन गर्दै लैजानु पर्छ ।”

समाजवादका लागि भौतिक परिस्थिति निर्माण गर्ने काम संगठनहरुको हो र आधारभूत वर्गलाई परिचालन गरेर भौतिक परिस्थिति समाजवाद अनुकुल निर्माण गर्न सकिन्छ भन्ने कुरामा उहाँले जोड दिनुभयो । समाजवादतर्फ मुलुकलाई अग्रसर गराउन तीन चरणमा कार्य गर्नु पर्ने कुरा औंल्याउँदै उहाँले भन्नुभयो– “पहिलो राज्य, निजी क्षेत्र र सामाजिक स्वामित्वमा आधारित सहकारीहरुको विकास गर्नुपर्छ । दोस्रो, आधारभूत वर्गतर्फ केन्द्रित लोककल्याणकारी व्यवस्था अवलम्बन गर्नुपर्छ । तेस्रो, रहेक व्यक्तिको स्वतन्त्र विकास मार्फत सामुहिक विकासको बाटो अवलम्बन गर्नुपर्छ, जसले व्यक्ति र समाजका सामथ्र्यहरुलाई उजागर गर्न सकोस् । समाजवादी नैतिकतामा आधारित चेतनाले मात्र समाजवादलाई सुनिश्चित गर्छ । यसो नभएका कारणले अहिले समाजवादमा ह्रास आएको छ ।”

विश्व व्यवस्था अब समाजतर्फ उन्मुख हुनैपर्ने तर्क अघिसार्दै प्रा.डा. शर्माले भन्नुभयो– बढ्दो तथा चरम असमानता र जलवायु परिवर्तनले समाजवादलाई आह्वान गरेको छ । पूँजीवादको ठूलो शक्ति भनेको बजार हो । जलवायु परिवर्तनलाई बजारले अब धान्न सक्तैन ।

कार्यक्रममा दुई सयजना भन्दा बढी वामपन्थी शुभेच्छुक र चिन्तकहरु सहभागी भएर करिव पाँच घन्टा लामो बहस गरेको थिए ।

Facebook Comments