मित्रताको मिठास
लघुकथा
लामै समय विदेश बसेपनि हाम्रो ठुले बेलाबेला आफ्नो देशलाई सम्झन्छ र समय मिलाएर आफ्ना पुराना साथीभाइ र इस्टमित्रहरुसंगको भलाकुसारीमा असाध्यै रमाउँछ । अरुको हेराइमा अलि पढेलेखेको र केही तडकभडक गरेरै देखाए पनि अनौठो नहुने ठुलेले यसपटकको स्वदेश बसाइमा राजधानी बाहिर जाँदा आउँदा सार्वजनिक यातायातको प्रयोग गर्यो । होटेलको खान्की खासै खाएन र दोहोरी, क्यासिनो कतै गएन । काठमाडौँको अधिकांश सडक पनि, कुन्नि किन हो, उसले पैदलै हिँड्नमा फाइदा देख्यो ।
एकदिन यसरी नै दरवारमार्गबाट भीमसेनस्थान हुँदै सितापाइलासम्मको सडक नाप्ने क्रममा उसले आफ्नो पुरानो साथी पूर्णमानलाई टंकेश्वर–कालीमाटीको वरीपरी तरकारी बेचिरहेको देख्यो । ठुले एकछिन टोलायो, यकिन गर्यो, अनि बोलायो–
“ए पूर्णमान, चिन्यौ मलाइ? ‘ म ठुले क्या !“
“ओहो ठुले, किन नचिन्नु नि ? अनि तिमी र म संगै पढेको, खेलेको हो नि त, त्यत्रा वर्षसम्म । फरक त्यत्ति हो, तिमी दश पास भयौ, म फेल । झन्डै तीस वर्ष पहिले है, हामी त्यसरी छुट्टिएका ? अनि कताबाट आयौ यति अबेर ? हिँड मेरो कोठातिर । यतिका वर्ष पछि भेटेको साथी, गफ–गाफ पनि गरौंला, खाना खाएर जान पर्छ ।”
पूर्णमानको आत्मियताले ठुलेलाई तुरुन्तै छोयो ।
“आज हैन, म पर्सी बेलुकी अवश्य आउँला ।”
एकैछिनको गन्थन पछि पूर्णमानको फोन नम्बर लिएर ठुलेले आफ्नो बाटो ततायो ।
***
आफ्नो बचनमा पक्का ठुलेले तेश्रो दिन विहानै पूर्णमानलाई फोन गरेर निम्तो स्वीकारोक्तिको टुंगो लगायो ।
***
पूर्णमान आफ्ना तेह्र वर्षीय छोरी, दश वर्षे छोरो र कामकाजी श्रीमतीसंग भाडाका दुइटा कोठामा बस्दो रहेछ । बुवा आमा घर फर्कँदा ढिला हुने हुँदा सँधै झैँ त्यस दिन पनि छोरा छोरी मिलेर भान्छा तयार गरिसकेका रहेछन् । एकछिनको भलाकुसारी र स्वादिलो खानपिन पछि खुशीले गद्गद् भएको ठुलेले पूर्णमानसंग विदा माग्ने जमर्को गर्यो ।
***
“लौ, बेलुकीको पाहुना पनि कता जानु नि, अब यति राती?“ लक्ष्मीले मुख फोरीन् ।
“कोठा साँघुरो देखेर अप्ठ्यारो मान्नु’भा होला । आज बाबाको साथी आउँनुहुन्छ भनेर तन्ना अनि सिरक र तकियाको खोल धोएर हजुरलाई उतापट्टिको कोठामा छोरीले ओछ्यान् तयार गरिसकेकी छिन् । केट्केटी अब यही किचन कोठाको भुइँमा लड्छन्, हामीसंगै ।
यस्तै हो हजुर, ‘हाम्रामा त पाहुना आयो कि यी भुरा रमाएर जात्रा हुन्छ ।”
***
(एकछिन् त ठुलेको बोली बन्दै भयो र विस्तारै उसले आफ्नो कुरो पूर्णमानको कानैमा पुर्यायो ।)
***
(रात छिप्पिए पनि ठुलेलाई विदा दिन परिवार तयार भयो ।)
“ठिकै छ नि त ठुले, बरु राती ट्याक्सीले धेरै पैसा भन्छ अनि सुरक्षित पनि हुँदैन । जानैपर्ने भए तिमीलाई म आफैं साइकलमा राखेर घरसम्म छाडिदिम्ला । अप्ठ्यारो मान्न पर्दैन, मैले धेरैचोटि यो साइकलमा लक्ष्मीलाई लिएर तरकारी होलसेलसम्म गएको छु । सधैँजसो यही साइकलमा यी भुरालाई विद्यालय लाने ल्याउने समेत गरेको छु ।”
***
“यति राती अनि साइकलमा डबल लोड ?”
(तैपनि विदेशको चिल्ला सडकमा धेरैवर्ष मोटर कुँदाउन बानी परिसकेको ठुलेलाई पूर्णमानको यो भनाइले आफ्नो विगतमा पानीपोखरीबाट लाजिम्पाट झर्ने ओरालोमा हात हल्लाउँदै साइकल हुइँक्याएको याद दिलायो ।)
आफूलाई सम्हाल्दै ठुले बोल्योः
“पूर्णमान, सफल जीवन भनेको त तिमीले पो जिएका रहेछौ । एउटा पुरानो साथीको हैसियतमा तिमीले म माथि जसरी आफ्नो सच्चा प्रेम देखायौ, यसले म लगायत मेरो यो कथा पढ्ने सबैलाई कालान्तरसम्म एउटा दह्रो उदाहरण दिनेछ भन्ने विश्वास लिएको छु । आज अलि चिसो पनि बढेको छ, अनि तिमी फर्कँदा एक्लै हुन्छौ । त्यसैले पनि म तिमीलाई अरु दुख दिन चाहन्न ।”
***
“लौ, तसै सही” भन्दै ठुलेलाई पूर्णमानले उसको डेरा बाहिरबाट ट्याक्सी चढाएर विदा गर्यो । ट्याक्सी नम्बर नोट गर्यो र भन्यो, “घर पुगेपछि फोन गर्नु है ?”
***
ठुले घर पुग्यो, पूर्णमानलाई फोन गरेर धन्यवाद दियो र निदाउनु अघिसम्म पटक पटक सोचिरह्योः
“तीस वर्ष अघि दश कक्षामा आफू फेल र पूर्णमान पास भइदिएको भए ?”
भवतु सब्ब मङ्गलम् !