परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

विषय: ‘ब’ बचाई पाऊँ

फुटानी

श्रीमान् अध्यक्षज्यू  !

 

पहिलाको पार्टी कार्यालय अहिलेको सुनसान भवन, काठमाण्डौ ।

 

शिर्षकमा रहेको उक्त विषयमा मैले बडो गम्भीर भएर, एक घुट्को रक्सी पनि नखाई ‘ब’ को बारेमा दिमाखमा मन्थन गरें । जननेता मदन भण्डारीले उत्पादन गरेर दुई वटा ‘ज’ को बीचमा राखेको ‘ब’ ले अहिले बबण्डर निम्त्याएको छ । बबाल गरेर बसी खान दिएन । बेलैमा वुद्धि पु¥याएन भने यो ‘ब’ ले कतिपयको विल्लिबाठ बनाउने देखियो भने कतिपयलाई थुचुक्कै बसाउने भयो । तसर्थ ‘ब’ को बारेमा वहस होस् भन्दै यहाँ बखान गरेको छु ।

 

मदन भण्डारीले प्रतिपादन गर्नु भएको जनताको बहुदलीय जनवाद अर्थात् जबजको बीचमा रहेको ‘ब’ लाई बिचरो बनाउन खोजिदै छ । यो ‘ब’ ले कसको के बिगार ग¥यो ? किन जबरजस्ती ‘ब’ का बिरुद्धमा बखेडा झिकिदै छ ? दुइवटा ‘ज’ छन् जसले जे गरे पनि हुने । जसलाई जस्तो मन लाग्छ ‘ज’ माथि जहर घोल्दा भयो । तर ‘ब’ को खप्परमा बन्चरो प्रहार गर्न पाईंदैन ।

 

बहुदल नमान्ने हो भने ‘ब’ झिके हुन्छ यदि बहुदल मान्ने हो भने ‘ब’ किन झिक्नु ? कतिपय बैगुनीहरुले ‘ब’ को इतिहास बिर्सिन खोज्दै छन् । पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता भन्ने तुफानको एउटा सानो अंश पनि यो ‘ब’ मा लुकेको छ । तसर्थ यो ‘ब’ लाई बैतर्नी तार्नु खोज्नु हुदैन । बेसाहा खान आएकाहरुले ‘ब’ को गरिमालाई बक्रदृष्टिले हेरेका छन् ।

 

यो बक्रदृष्टिले हेरिनु पर्ने ‘ब’ होइन । जबजको ‘ब’ बहुदल मानेर चुनावमा भाग लिनेहरुका लागि जन्मिएको ‘ब’ हो । यही ‘ब’ का पछाडि बहुमत छ । यो ‘ब’ ले नै नेपालमा सबैभन्दा सशक्त संगठित सदस्य भएको एमाले पार्टीलाई स्थापित गरेको थियो ।

 

अहिले आएर यो ‘ब’ को कुनै काम छैन भन्न मिल्छ ? ‘काम लाग्यो भाँडो, आफल तेरो ठाँडो’ हुदैन ! यो ‘ब’ भनेको बेलान्जे झार हो र जजस्लाई मन लाग्छ उउस्ले उखेलेर फाल्ने ? कमरेड, हो होस् गर्नु होस् । उत्तेजित भएर निर्णय नगर्नु होस् । यही ‘ब’ हो घरको बलो । यदि कसैले बलो झिकेर फाल्छ भने घर भत्किन्छ । तसर्थ बलाई बलपूर्वक फाल्ने प्रयास नगर्नुहोस् ।

 

‘ब’ लाई चेपेर राख्ने दुईवटा ‘ज’ जस्ताको तस्तै छन् । जमेर बसेका दुइवटा ‘ज’ जोड्दा ‘जज’ हुन्छ । अर्थ लगाएका छन् – ‘जनताको जनवाद’ । पूर्व एमालेमा पार्टी संगठनको चुनाव हुने गरेको थियो । टोल कमिटीदेखि चुनावी प्रक्रिया पार गर्दै आउनु पथ्र्यो । जनवादी केन्द्रीयता थियो । पूर्व माओवादीमा ठाडो केन्द्रीयता मात्र लागू हुन्थ्यो । त्यहाँ पच्चिस वर्षसम्म पार्टीको चुनाव भएन । केन्द्रले जे निर्णय गर्छ त्यसैलाई जनवाद भनियो । माओद्वारा चिनमा विकसित नयाँ जनवादलाई धुस्नु काढेर विगारेपछि अब बाँकी रहेको ‘ब’ किन फ्याक्नु ! जनवादी केन्द्रीयतालाई जीवित राख्ने हो भने ‘ब’ झिक्नु हुदैन । यदि अब पार्टीमा ‘टिके’ प्रथा लागु गर्ने हो भने ‘ज’ न ‘ब’ भकारो ‘भ’ राखे पनि हुन्छ । अर्थात् भ=भताभुङ्ग ।

 

तसर्थ महोदय,
यो उपदेश वा निर्देशन होइन । अनुरोध हो । यदि पार्टीगत चुनाव हुँदैन भने यो पार्टीको सदस्य किन बन्ने ? संसदीय चुनावमा सूर्यमा भोट हाल्ने हामी छँदै छौं । अर्को चुनाव हुन्छ नि, हो त्यसमा भोट हाल्दा भै गो नि ! लेवी किन तिर्नु र टोल टोलमा घर घरमा संगठित सदस्य बनाउन किन मिहिनेत गर्नु ?
यिनै कारणहरुले गर्दा ‘ब’ को संरक्षण गरिपाऊँ भन्दै तपाईलाई यो निवेदन पठाएको  छु । हेरी बाची, गम्भीरता पूर्वक सोची ‘ब’ बचाई पाऊँ ।
Facebook Comments