मुलुुकी अपराध संहिताप्रति असहमति किन ?
पीएसअारएनकाे अवधारणा पत्र
सामाजिक उत्तरदायित्वका लागि चिकित्सक, नेपालकाे अवधारणा पत्र
२०७५ भाद्र १ गते देखि मुलुुकी अपराध संहिता ऐन २०७४ देशमा लागु भइसकेकोे छ । देशमा कार्यान्वयन हुने यस्ता ऐन/कानूनबाट नागरिकले कानुनी राज्यको न्यायपूर्ण समाजमा रही राज्यको संरक्षणमा सुरक्षित भएको अनुभूत गर्ने कुरामा अन्य पेशाकर्मीहरू जस्तै हामी स्वास्थ्यकर्मी पनि विश्वास गर्दर्छौं । यस ऐनमा समाविष्ट परिच्छेद १९ को इलाज सम्बन्धी कसूरमा उल्लेख भएका बुँदाहरूप्रति सामाजिक उत्तरदायित्वका लागि चिकित्सक, नेपाल (PSRN) को गम्भीर ध्यानाकर्षण भएको छ । सम्बन्धित निकायबाट इजाजत प्राप्त नगरी अनाधिकृत तवरमा बिरामीको उपचार गर्नुृृ आफैँमा दण्डनीय हो, र यस्तो व्यक्तिले गरेको उपचारबाट हुने हानि नोक्सानी स्वतः दण्डनीय हुन्छ । यो विवाद गरिरहनु पर्ने विषय होइन ।
कठोर तालीम उत्तीर्ण गरेपछि आधिकारिक निकायबाट इजाजत प्राप्त गरी चिकित्सक लगायत सबै बिधाका स्वास्थ्यकर्मीहरू आ–आफनो पेशाधर्मिताको मर्यादामा रहेर आफ्नो ज्ञान र सिपको हदसम्म बिरामीको उपचार गरेर वा उपचारका विभिन्न प्रक्रियामा संलग्न भएर स्वास्थ्य लाभ गराउन र बिरामीको जीवन बचाउन प्रतिबद्ध हुनेमा हामी विश्वास गर्दछौं । यही विश्वासको जगमा नै बिरामीको निस्वार्थ सेवालाई हामी हाम्रो पेशागत धर्म ठान्दछौं । तथापि, यस पवित्र कर्ममा हुनसक्ने अपवादको बारेमा सचेत हुनैपर्ने हुन्छ । बिरामीको सेवामा लापरबाही, हेलचेक्र्याई र स्वार्थपूर्ण लाभ लिने अपवादप्रति कसैको पनि कुनै पनि सहानुभूति हुने कुरा हुँदैन । तर, उपचारको (इलाजको) क्रममा हुनसक्ने कुनै पनि अनिच्छित नकारात्मक परिणामलाई अपराधको कोणबाट हेरिने र सम्बोधन गरिने ऐनका केही बुँदाहरूको प्रावधानप्रति PSRN को असहमति र आपत्ति जनाउनैपर्ने अवस्था सृजना भएको छ । उपचारको वा उपचार प्रक्रियाको क्रममा विरामीको मृत्यु भएको वा कुनै जटीलता आएकै कारण अनुसन्धान र खोजको आधारमा प्राप्त प्रमाणबिनै स्वास्थ्यकर्मीलाई अपराधको आक्षेप लगाउनु अनुचित मात्रै होइन, यो पेशागत पूर्वाग्रह नै हो । यस्तो कानुनी व्यवस्थाले पेशा धर्मप्रति इमान्दार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूलाई आफनो पेशागत दायित्व निर्वाह गर्न निरुत्साहित गर्ने निश्चित छ। यस्तो हुनु हामी स्वास्थ्यकर्मी, बिरामी नागरिक र समाजकै लागि अत्यन्तै दुःखपूर्ण कुरा हो ।
सम्बन्धित निकायबाट इजाजत प्राप्त नगरी अनाधिकृत तवरमा बिरामीको उपचार गर्नुृृ आफैँमा दण्डनीय हो, र यस्तो व्यक्तिले गरेको उपचारबाट हुने हानि नोक्सानी स्वतः दण्डनीय हुन्छ । यो विवाद गरिरहनु पर्ने विषय होइन ।
उपचारको उद्देश्य रोग निको पार्नु र विरामकिो ज्यान बचाउनु हो तापनि उपचारले सधैँ सफलता प्राप्त गर्न सक्दैन । यो सत्य हो । उपचार सधैँ नै सफल हुने भए विश्वमा कसैले दिवंगत हुनुपर्ने थिएन । उपचार बिफल हुनु र त्यसबाट दुःखद परिणाम आउनुका पछाडि अवश्य केही कारण हुन्छन् । निम्नलिखित अवस्थाहरू वा कारणहरूले गर्दा उपचार बिफल भएर दुःखद् परिणाम आउनसक्ने निष्कर्षमा पुग्नुपर्ने हन्छ ।
क) बिरामी ग्रस्त भएको रोगको बारेमा चिकित्सा विज्ञान र प्रबिधिको सीमित ज्ञान र विकास तथा अप्राप्यता
कतिपय रोग र समस्याहरूबारे चिकित्सा विज्ञानको ज्ञान सीमित छ, त्यस्ता रोग र समस्याहरूबारे अनुसन्धान र प्रयोगहरू भइरहेका छन् । वैज्ञानिक ज्ञान र प्रविधि नहुँदा अहिलेसम्म ती स्वास्थ्य समस्याहरूको समाधान हुन सकेको छैन । अर्कोतर्फ, उपचार गर्ने ठाउँ, परिवेश र समयमा विकास भएको प्रविधि उपलब्ध नहुन सक्छ । यो यथार्थ हामी चिकित्सक र स्वास्थ्यकर्मीले भोगेका छौँ । यस्तो परिस्थितिजन्य कारणले नै उपलब्ध ज्ञान र प्रबिधिको अधिकतम उपयोग गरी सही उपचार गर्दा पनि आशातीत परिणाम हासील गर्न सकिन्न र अनिच्छित नकरात्मक वा दुःखद् परिणाम आउनसक्छ । यो अपराध होइन, प्राकृतिक नियम हो ।
ख) हेलचेक्र्याइँ र लापरवाही
बिरामी ग्रस्त भएको रोगको उपचारको प्रावधान भएर रोग निको हुनसक्ने र स्वास्थ्यको समस्या समाधान वा न्युन हुनसक्ने सम्भाबना हुँदा हुँदै पनि उपचार वा उपचारको प्रक्रियाप्रति चिकित्सक वा कुनै पनि स्वास्थ्यकर्मी गम्भीर नभई उनीहरूको बेवास्ता, हेलचेक्र्याइँ र लापरबाहीको कारणले रोग निको नभएर दुःखद परिणाम आउनसक्छ । स्वास्थ्यकर्मीबाट हुने यस्तो हेलचेक्र्याइँ र लापरवाही दण्डनीय अपराध हो ।
ग) स्वार्थ र लाभको नियत
चिकित्सक वा कुनै पनि स्वास्थ्यकर्मीले व्यक्तिगत अथवा सामुहगत स्वार्थ र लाभको निमित्त उपचारका लागि नकार गर्दा, वा प्रेषण गर्दा, अनावश्यक अथवा गलत उपचार वा प्रक्रिया अपनाउँदा बिरामीको रोग अझ जटील बन्न सक्छ र यसबाट नकारात्मक र दुःखद् परिणाम आउन सक्छ । स्वास्थ्यकर्मीको यस्तो स्वार्थ र लाभको नियतबाट प्रेरित भई गरिने गलत उपचार र उपचार प्रक्रिया दण्डनीय अपराध हो ।
अव के गर्ने ?
बिरामीको उपचार बिफल भएर त्यसबाट दुःखद् परिणाम आएको खण्डमा त्यसको यथार्थ र वास्तविक कारण पत्ता लगाई दोषीलाई दण्डित गर्नुपर्छ । त्यस्तो कारण पत्ता लगाउने खोजी अनुसन्धानको विधि र प्रक्रिया वैज्ञानिक र तर्कपूर्ण हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । यसका लागि निम्न प्रक्रिया अपनाइनु सान्दर्भिक हुन जान्छः
क) उपचारको नकारात्मक परिणामको आधारमा कुनै चिकत्सक वा स्वास्थ्यकर्मी बिरुद्ध उजुरी परेमा मुद्दा (केश) को निष्पक्ष छानबिन गर्नका लागि सम्बन्धित निकायले बिशेषज्ञहरूको उच्चस्तरीय अधिकारसम्पन्न समिति गठन गर्ने,
ख) समितिले मुद्दा (केश) को छानबिन पश्चात उपचारको नकारात्मक परिणाम चिकित्सा बिज्ञान र प्रविधिको सीमित ज्ञान र विकास तथा अप्राप्यताको कारणले हो वा हेलचेक्रयाई र लापरबाहीको कारणले हो वा स्वार्थ र लाभको नियतको कारणले भएको हो निष्कर्ष निकाल्ने,
ग) उजुरमिा उल्लेख गरिएको उपचारको नकारात्मक परिणाम हेलचेक्र्याई र लापरबाहीको कारणले वा स्वार्थ र लाभको नियतको कारणले भएको निष्कर्ष निस्केको खण्डमा समितिले स्वास्थ्यकर्मीको बिरुद्ध अदालतमा मुद्दा दायर गर्ने र मुद्दाको अन्तिम फैसला अदालतले गर्ने ।
मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सा सेवामा अपराध गर्ने कुनै पनि स्वास्थ्यकर्मीले न्यायिक उन्मुक्ति पाउनु हुदैन, तर आफनो पेशाधर्मितामा निष्ठावान हुदै बिरामीको निस्वार्थ सेवामा प्रतिबद्ध कुनै पनि स्वास्थ्यकर्मी दण्डित हुनुहुँदैन भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै उल्लेखित सिद्धान्त र प्रकृयाको मर्मलाई समावेश गरी बर्तमान मुलुुकी अपराध संहिता ऐन २०७४ संशोधन गर्नुको विकल्प छैन ।
(‘मुलुुकी अपराध संहिता ऐन २०७४ को इलाज सम्बन्धी कसूर’ विषयमा २०७५।०५।०९ मा सामाजिक उत्तरदायित्वका लागि चिकित्सक, नेपाल (PSRN) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष प्रा. डा. शरद वन्तले प्रस्तुत गर्नुभएकोे धारणाको सम्पादित अंश)