परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

तमासे इतिहासका चक्रवर्ती नायक ‘कमरेड’ प्रचण्ड

(करिव साढे दश वर्ष अघि २०७१ माघ १२ गते सोमबार राजधानी राष्ट्रिय दैनिकमा ‘तमासे इतिहासका चक्रवर्ती नायक’ शिर्षकमा प्रकासित यो लेख अहिले स्मरण गर्नु सान्दर्भिक हुने ठानेर जस्ताको तस्तै प्रकाशित गरिएको छ– सम्पादक, परिसंवाद डट कम)

आवश्यक फेलबदलका लागि नेपाली जनताको सुझावलाई शिरोधार्य गर्ने बाचासहित आजभन्दा साठीवर्षपछि विक्रम सम्बत् २१३० सालतिर कक्षा आठका स्कुले विद्यार्थीहरुले अनिवार्य रुपमा पढ्नु पर्ने इतिहास विषयको दोस्रो पाठ यहाँ प्रस्तुत गरेको छु । प्रसङ्गको शुरुमै इतिहाससंग मेरो कुनै आग्रह–पूर्वाग्रह नभएको तथ्य पनि तपाईसामक्ष हार्दिक निवेदन गर्दछु । घटनाका पात्रहरु जीउँदै भएका बखत इतिहासको यो अध्याय लेखिएको हुँदा उनीहरुलाई घनघोर रिस उठ्नसक्छ । यसका लागि म उनीहरुसंग अग्रीम माफी माग्दै प्रस्तुत गर्दैछु इतिहास विषयको त्यही पाठ:

उनको विचल्ली भएको खबर देशभरि विजुली चम्केझैं फैलियो । कुरा आजभन्दा झण्डै आघा शताब्दी पहिले विक्रमसम्वत् २०७० को दशक बित्न–बित्न लाग्दाको हो । आफूले चाहेजस्तै खवर सुन्न पाउँदा नेपाली जनता हर्षले गदगद भए, मनभरि दियो जलाए । क. प्रचण्डले नेपाली मनहरुमाथि चलाएको तीसवर्षे रैफाँडो आखिर अवसान भइ छाड्यो । “साँचो डग्दैन साथी झुटो टिक्दैन” भनी त्यसबखतका प्रख्यात जनगायक रामेशले गाउँने गीत प्रचण्डका जीवनमा चरितार्थ भयो । धेरैले त भने पनि, त्यो गीत रामेशले प्रचण्डलाई नै हेरेर गाएका रहेछन क्यार ।

नेपालको चितवन ठेगाना भएका पुष्पकलम दाहाल नाम गरेका एक जना शिक्षकको मनमा विसं. २०५० को दशकतिर नेपालको चक्रवर्ती सम्राट बन्ने घमण्ड एकाएक पलायो । देशमा भरखरै एकछत्र शाहावंशीय शासनमा धक्का लागेर बहुदलीय व्यवस्था स्थापना हुँदैथियो । त्यतिखेर नेपाली कांग्रेस र नेकपा–एमाले नाम गरेका पार्टीहरु सत्तामा आलोपालो गरी उदाउँथे । उनीहरु राजनीतिक हिसावले केही कच्चा थिए, अलिअलि चाहिँ उनीहरुमा सत्ताको मात पनि चढ्न थालेको थियो । जनादेश र जनआकांक्षा भन्दा भिन्नढंगले हिड्न उनीहरुमा उत्साह थपिदै थियो । जनता विस्तारै असन्तुष्ट हुँदै थिए । त्यही असन्तुष्टिमाथि घिउ थप्दा आफ्नो दुनो सोझिने लख ती शिक्षकले काटे । त्यो काम एक्लैले गर्न सक्ने कुरै थिएन । आफूजस्तै अन्य केही व्यक्तिहरुसंग उनी मिले । गरिव जनतालाई झ्वाट्टै तान्नसक्ने क्षमता भएको माक्र्सवादको सहारा लिए । त्यतिले नपुगरे २०५२ सालतिर आइपुग्दा उनले छिमेकी देश चीनका सफल कम्यूनिष्ट शासक माओ सेतुङको विचारलाई माक्र्सवादमा मिसमास पारेर पार्टीको नामनै नेकपा (माओवादी) राखे । यो कार्यमा उनले अर्का अत्यन्त एकलकाटे तर ध्रुर्त स्वभावका पठित बाबुराम भट्टराईसंग हातेमालो शुरु गरे ।

सत्ता राजनीतिमा भरखरभरखर पाइला टेकेका कच्चा खेलाडीहरु कांग्रेस र एमाले खेल हार्नलाई आफैं पर्याप्त थिए । अरु कसैले हराउनु पर्दैनथ्यो । कांग्रेस–एमाले जनतासामू दिनदिनै हार्दै थिए । २ सय ४० वर्ष एकलौटी शासन गरेको शाह बंश सम्बैधानिक राजा भएर बस्नु पर्दाको बदला लिन कुनै न कुनै रुपमा भित्रभित्रै कसिनु स्वभाविकै थियो । यस्तै मौकामा ती दुई (प्रचण्ड र बाबुराम) खेलाडीहरुले आफ्नो नाम विजेताका रुपमा घोषणा गर्दैरहे । उनीहरुले आफूलाई सच्चा कम्यूनिष्ट भएको दाबी गर्नथाले । त्यसबखतनै तत्कालीन एक प्रसिद्ध कम्यूनिष्ट नेता मोहनविक्रम सिंहले एउटा पत्रिकामा लेख लेखेर उनीहरुलाई चुनौति दिए– तिमीहरु कम्यूनिष्ट होइनौ ‘करिअरिष्ट’ हौ ।

दिन र वर्ष बित्दै गए, यी दुई जना व्यक्ति असन्तुष्टिले भरिएका नेपाली जनतामाझ विस्तारै नेताका रुपमा उदाय । उनीहरुले असन्तुष्टिको हिंसात्मक विद्रोह शुरु गरे । शासनको मूल आधार जनताको विश्वास गुमाउदै गएका तत्कालीन बहुदलीय शासकहरु कमजोर हुँदै गए । यी दुई आकांक्षीहरुको दम्भ दिन दुई गुना रात चौगुना चुलिदै गयो । वर्षभरि खान नपुग्ने किसानलाई सामान्त देख्न थाले, अन्य कम्यूनिष्ट पार्टीलाई वर्ग शत्रु करार गरे । सोझासाझा जनतालाई सुराकीका नाममा जीउदै घाँटी रेट्न र गाड्न थाले । इतिहासकै क्रुरतम पासविक यातनाका कोटीमा पर्ने अमानवीय हर्कतहरु गर्न अभावमा रुमलिएका जझारु हातलाई बहक्याए, हौस्याए ।

जनमुक्तिको इमान्दार सपना देख्ने हजारौं कार्यकर्ताहरुको भावनामाथि कलङ्कका बिउ रोप्न शुरु गरे । माक्र्सले समाज मुक्तिका लागि प्रतिपादन गरेको वर्ग संघर्षको सिद्धान्तलाई जातीय सङ्ग्रालोमा हुले र प्रचण्ड पथको खोल लगाए । जुन कार्य दूधमा रक्ती घोलेको मिश्रणलाई ‘कति राम्रो रङ्ग’ भन्नु जस्तै चरम अपराध थियो । अनाहकमा १५ हजार भन्दा बढी नेपाली जनतालाई मृत्यूको मुखमा होमे । अङ्गभङ्ग भएका घाइते र टुहुरा नावालक तथा विधवा महिलाहरुको संख्या गनीसक्नु नै थिएन । त्यसैले इतिहासकारहरुले यो संख्यालाई अनगिन्ती भनेर एकमुष्ट लेखिदिए ।

समयक्रम बित्दै जाँदा यी पुष्पकमल दाहालले आफूलाई कमरेड प्रचण्डका नामले चिनाइसकेका थिए । जनताको मुक्तिको पवित्र चाहनालाई आफ्नो दुनो सोझ्याउने कलुसित आकांक्षासंग कुसलतापूर्वक मिसाए । क. प्रचण्ड र बाबुराम यी दुबैका आकांक्षा त समान थिए तर उनीहरु एकअर्कालाई नै देखी सक्दैनथ्ये । एउटै लक्षमा अघिबढेका यी दुवैजना एकआपसमै तर्सन्थे । त्यसैले क. प्रचण्डले बाबुरामलाई श्रम शिविरमा पढाएका घटना तत्कालीन सञ्चारमाध्यममा पटकपटक समाचार बन्थ्ये ।

खुम्चिएर बस्नबाध्य खानदानी शासक शाही परिवारबीच पनि खिचातानी शुरुभयो । तत्कालीन राजा वीरेन्द्र र उनको परिवार २०५८ सालमा समूल नष्ट हुने गरी नारायणहिटी हत्याकाण्ड भयो । उनका भाइ ज्ञानेन्द्रले गुमेको सत्ता हत्याउने सपना तत्काल देख्न थाले । जननिर्वाचित संसद रातारात भङ्ग गरे । जनअनुमोदित प्रधानमन्त्रीलाई बर्खास्त गरेर सक्ताको बागडोर एकलौटी आफ्नो हातमा लिए ।

अन्य आकर्षणहरू

अब बहुदले शासक बनेका नेता र तिनका पार्टीहरु पनि राजतन्त्र विरोधी आन्दोलनमा सकिनसकी होमिए । दिन बित्दै गयो, केही समय पहिला आतङ्ककारी घोसित गरी टाउकाको मोल तोक्ने शासक र वर्ग शत्रु घोषित गरी उनीहरुको रौंको पनि छाला काड्ने ललकार गर्ने यी विद्रोहीबीच एकाएक गठजोड शुरु भयो । नेपाली जनता सधैं परिवर्तनको पक्षमा छँदैथिए । सबै मिले, देश जुरुक्क उट्यो । २०६३ साल शुरु हुन पाउँदा नपाउँदै राजतन्त्रले घुडा टेक्यो । आफैैंले विघटन गरेको संसद पुनरस्थापना गरेको घोषणा ग¥यो । शान्ति सम्झौताको लिखत गरेर औपचारिक रुपमा बहुदले पार्टी र विद्रोही माओवादीहरु पुनरजीवित संसदमा भागवण्डाका लागि एक भए । कांग्रेस, एमाले र माओवादीबीच संसदमा सीटको बाँडफाट दामासाहीले गरियो । कांग्रेसका गिरिजाप्रसाद कोइरालाले त्यो अभियानको नेतृत्व लिए ।

जनभावना अनुरुपको संविधान लेख्न संविधानसभाको चुनाव गर्ने कुरामा यी दुवैपक्ष सहमत भए । २०४७ सालको संविधान खारेजी र अन्तरिम संविधान २०६३ जारी गरे । २०६४ सालमा संविधान सभाको चुनाव गराए । संविधानसभाको ऐतिहासिक चुनावमा विभिन्न कारणले जनताले माओवादीलाई अलिबढी मत दिए । चुनाव परिणाम घोषणा भइनसक्दै क. प्रचण्डको घमण्ड उम्लेको दूधसरी चुलियो र उनी कुर्लिए– बाँकी सबै हरुवा हौं । उनले संविधानसभाको पहिलो चुनावमा के जितेका थिए, अबको प्रजापति मै हुँ र सारा नेपाल मेरो पञ्जामा परिसक्यो भनी हुँक्कार गर्न थाले । उनी र उनको पार्टी सत्तामा गयो । आगो झोस्नमात्र जानेका उनमा देश सञ्चालन गर्ने बुद्धि र रुचि दुवै थिएन, परचक्रीहरुसंग पटकपटक साठगाँग गर्न थाले । सत्तालिप्साकै कारण जनजाती र मधेशी दलहरुसंग लोलोपोतो मिलाए । देहाती खलिफाले गाउँटोल थर्काए झैं सरकारमा बसेर सिंगो संविधानसभा र देशलाई थर्काइरहे । उनी कार्यकर्तालाई दिव्य उपदेश दिन्थे– जनता भनेका मुर्ख हुन, उनीहरुलाई अलमल्याउन एक थोक भन्नुपर्छ, काम चाहिँ आफ्नो इच्छा अनुसार गर्नुपर्छ । यही दोहोरो (वेसारे) चरित्रले गर्दा संविधानसभा पङ्गु हुँदै गयो । सत्तामा हुँदा होस् वा सत्ता बाहिर, उनीहरु शास्त्र र विधिले होइन, कविला नेताकाझैं उन्मत्त झोंक र सनकले निर्णय लिन्थ्ये । आखिर उनले दुई वर्षे आयुको संविधानसभालाई चारवर्षसम्म तन्काएर अन्त्यमा त्यसको पनि घाटी रेटे । संविधासभालाई संविधान जारी नगरी क. प्रचण्ड र बाबुरामहरु मिलेर भङ्ग गरे । एमाओवादी पार्टीभित्र खिचातानी शुरु भयो । पार्टी टुक्रियो, क. प्रचण्ड र बावुरामहरु एमाओवादी पार्टीमै रहे ।

देश उकुस–मुकुसमा रुमलियो । प्रशासकहरुको सरकार बनाएर पुन संविधान सभाको चुनाव गराउने वर्णशङ्कर निकास जवरजस्ती निकालियो । संविधानसभाको दोस्रो चुनावी अभियान शुरुभयो । नेपाली जनता चार वर्षका लागि भोट दिन तयार थिए । तर उनीहरुले एकवर्षमा संविधान जारी गर्छौं भनेर जनतासामू लिखित बाचा गरे ।

क. प्रचण्ड अत्यन्त दम्भी थिए र आत्मरतिमा खुव रमाउँथे । आत्मप्रशंसा उनका लागि मनोरञ्जनको अचुक र सर्वोत्कृष्ट साधन हुन्थ्यो । त्यसको उदाहरण उनी आफैंले आयोजना गरेको कार्यक्रममा आफ्नै फोटो टाँस्थ्ये, चुनावी घोषणा पत्रमा चुनाव चिन्ह होइन, आफ्नै फोटो छाप्थ्ये । र, आफ्नो पार्टीको घोषणा पत्रमा आफूलाई चातुर्दिक नेता भनी आफैं घोषणा गर्दथ्ये । उनी आफूलाई राष्ट्रपति भइसकेको उद्घोष गर्दै हिँड्दथ्ये । सत्तालिप्साको त्यो हर्कत देखेर समाकालीन नेकपा एमालेका ससक्त नेता केपी शर्मा ओलीले उनलाई भित्ते राष्ट्रपतिको संज्ञा दिएको तथ्य तत्कालीन नेपाली अखवारहरु अध्ययन गर्दा फेलापर्छ ।

विगतको संविधानसभामा ठूलो पार्टी हुँदा मच्चाएको एकोहोरो अत्याचारबाट आजित भएका नेपाली जनताले माओवादीलाई दोस्रो संविधान सभाको चुनावमा चोटिलो पाठ पढाए । तर उनमा गल्तीबाट पाठ सिक्ने वुद्धि कहिल्यै पलाएन । उनले फेरि संविधान सभामा जातीय नारा ललकारे । क. प्रचण्ड अत्यन्त कुटिल स्वभावका थिए । दाउपेचमा पारङ्गत उनी अरुलाई धेरै पटक ढाट्न सक्दा आफू दङ्ग पर्दथे । त्यसैले उनी सत्तारुढ गठबन्धनको नेता पनि आफूलाई भन्थे, नेपाल नै चाहिँदैन भन्ने मधेशी गठबन्धनसंग पनि मोर्चावन्दी गर्दै आफैं नेता बन्थ्ये । संविधानसभाको असली ठेकादार आफैं हुँ पनि भन्थे अनि संविधानसभा क्षणभरमै भङ्ग गर्नुपर्छ भन्ने नेकपा–माओवादीसंग हातेमालो गर्न पनि उनी पुग्दथे ।

संविधान सभामा नेपालले चर्चेका तराई भाग जमिनदारी प्रथाकै शैलीमा मेधेशका ‘नवाब’लाई कवुलियत गरिदिने शर्त प्रचण्डले अघि सारे । दुई तिहाईको जनादेश पाएका केपी शर्मा ओली र सुशील कोइरालाहरुले मानेनन् । घमासानको वाकयुद्ध फेरि शुरु भयो । माघ ८ गते भित्र संविधान जारी गर्ने बाचा अनुसार काम गर्न एमाले र कांग्रेस कसिए । सहमतिको रटान दिने प्रचण्डसंग धेरैपटक वार्ता गरे । प्रचण्डमा वोलीको कुनै टुंगो थिएन । धेरैपटक ‘वार्ता हुन वेर न तोडिन वेर’ भइरह्यो । उनी नेता होइन, तमासे जस्ता देखिए । सहमतिका नाममा प्रचण्डहरुले जनमतको धज्जी उडाइरहे । दलहरुको सहमतिबाट नै संविधान लेखिने थियो भने किन दुई–दुई पटक संविधानसभाको महङ्गो चुनाव गराउनु पर्दथ्यो भन्ने प्रश्नको जवाफ उनीहरुले नेपाली जनतालाई कहिल्यै दिएनन् । संविधान सभाका अध्यक्ष सुभास नेम्बाङ्ग आजित भएर संविधान सभाले संविधान लेख्ने प्रक्रिया अगाडि बढाउँनु पर्छ भनी जुरमुराए तर प्रचण्डहरुले त्यसलाई आफ्नो अपमान ठाने । २०७१ माघ ६ गतेको मध्यरातमा संविधानसभा भित्रै धुन्दुकारी आतङ्क मच्चाए । नेपाली कहावत अनुसार मध्यरातमा भूतले शासन गर्छ भनिन्थ्यो, त्यो रात नभन्दै त्यस्तै भयो । नेपाली जनतालाई कमरेड प्रचण्डहरुले तर्साइरहे ।

पचासको दशकको अन्त्यतिर दिल्लीमा ‘रअ’को कार्यालयमा गएर नेपालमाथि परचक्री घाउ लगाउन बाचा गर्दाको घटना होस् वा तथाकथित मधेशवादी दलको वैशाखी टेकेर संविधान सभामा वितण्डा मच्चाउँदाको घटना होस् हरेक कदममा उनी शरिक भएको तथ्यलाई नेपाली इतिहासले राष्ट्रघाति सावित गरिदियो । आखिर उनी नेपाल राष्ट्र र नेपाली जनताका सामू नराम्ररी नाङ्गेझार भए । तत्कालीन प्रखर एवं वौदिक कम्यूनिष्ट नेता घनश्याम भुसालले २०५८ सालमा भनेझैं दशवर्षे विद्रोहमा माओवादीले विश्व कम्यूनिष्ट आन्दोलनमा कुनै योगदान दिएको थियो भने पनि त्यसलाई जोगाउन नसकी प्रचण्डहरु नराम्ररी पतन भए । यसरी दम्भको राजनीति भस्म भयो ।

Facebook Comments