परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

रामेश दाइ, जन्मदिनको अशेष मङ्गल कामना!

सार महिना । परिवर्तन स्वयं पटक पटक मुस्कुराउने महिना । किनभने जनगायक रामेशको जन्म महिना । रामशेलाई पाएर २०३६ सालमा परिवर्तन मुस्कुरायो, २०४६ सालमा परिवर्तन फेरि मुस्कुरायो र २०६२ सालमा परिवर्तन गज्जवले मुस्कुरायो । आज तिनै रामेशको जन्मदिन । सर्वमङ्गल कामना, रामेश दाइ ।

रामेश दाइले सिद्ध गरिदिएका छन्– जीवनका सच्चाईहरु नै आर्दश हुन र आदर्श सञ्चाइहरुको खँदिलो सगाँलो सार्थक जीवन हो । अठहत्तर वर्ष लामो सजग जीवन अभ्यासबाट रामेश शब्द आफैंमा एउटा बिम्व बनेको छ– आदर्श जीवनको, न्याय र समानता प्राप्तिका लागि अथक संघर्षको । रामेश शव्द भित्र जीवन आर्दशका ज्यादै रुचिकर र न्याय अनि सत्यको स्पष्ट चेतना बोकेका थुप्रै औपन्यासिक श्रृंखालाहरु छन्– उत्तिकै अनुकरणीय अनि संग्रहणीय । कल्पनाको सङ्गत गरेर लेखिएका आदर्शवादी कथाहरु भन्दा धेरै गुणा रोचक र उत्कृष्ठ छन् रामेशका जीवन कथाहरु ।

जनताको मूलधारमा बसेर रामेशले लोक तथा मौलिक गरी दुई सय भन्दाबढी गीतमा मिठो संगीत भरेका छन्, थुप्रै गीतमा स्वर दिएका छन् । उनको संगीतमा मिठास छ, जोश छ, नेपालीपन छ, मौलिकता छ । हिजोआज रामेशका अनुहारमा चाउरी थपिएका छन् । शारीरिक फूर्ति अलि घटेको छ । तर २००१ साल असारमा जन्मिएका रामेश पउने शताब्दीभर एउटै अभियानमा ठीङ्ग उभिएका छन् । उनको स्वभावमा कुनै परिवर्तन छैन । उक्तिकै भावुक छन् । उत्तिकै सरल छन्, उत्तिकै गम्भीर पनि। अधुरा परिवर्तनले थोपरेका थुप्रै पीरव्यथालाई मनभित्रै लुकाएर सधैं मुस्कुराउँछन् । विल्कुलै निरास छैनन् । शायद आशा र उत्साह नै रामेशको जीवन उर्जा हो ।

लोभ, आशक्ति, डाह र ईश्र्याहरुको भीडमा एउटा अलग्ग आकृतिमा उभिएका नेपाली समाजका रोजापात्र् हुन– रामेश । नेपाली भूमीमा फैलिएको समग्र समानता अभियानको उनी भरसक सम्पूर्ण बिम्व हुन । रामेश शब्द भित्र कुनै बेलाको राल्फा आन्दोलन छ, संकल्प परिवार छ अनि कुनै वेलाको आस्था जनसाँस्कृतिक परिवार छ, समय समयमा उठेका जागरणहरु छन्, छत्तिस साल, छयालिस र एकसठ्ठी–वैसठ्ठी सालका परिवर्तनकामी जनआन्दोलनहरु छन् । रामेशले जीवनभर सांगीतिक उद्धोष गरे र गरिरहे– गाउँगाउँबाट उठ वस्तीवस्तीबाट उठ यो देशको मुहार फेर्नलाई ऊठ, एक जुगमा एक दिन एक चोटी आउँछ, आउ मिलाउँ हाम्रा हातहरु, रोक्ने को हो दूरदर्शी विचारका धारा… यस्तैयस्तै । रामेशलाई पाएर न्याए र समानताकोे खोजीमा नेपाली जुर्मुराए, परिवर्तन जोशियो र देश दशकौं रमायो सुन्दर आशा लिएर।

ओठ हाँसेका र आनन्दको सास फेरेका नेपाली नै शायद रामेश दाइको अभियान क्षितिज हो । उनी सधैं एउटै कुरा दृढ मनले भन्छन्– देश जनताको हो र जनता नै देशका मालिक हुन । अठहत्तर वर्षे उमेरमा पनि ओठ नकमाई रामेश भन्छन्– जनताको जीत एक दिन निश्चित छ, जनता सधैं अजेय छन् ।

आश्चर्य लाग्छ, रुखका बुटा नाध्दै र कान्ला हामफाल्दैन हिड्ने पहाडे नौजवानको स्वच्छन्दता रामेशको जीवनमा प्रवेश गर्नै भ्याएन । नेपालको पूर्वी पहाड पूख्र्यौली थलो भएका रामेशले किशोरावस्थादेखि नै संगीतको अनुसासित र साधनापूर्ण दिनचर्यालाई जीवनमा स्वागत गरे । इतिहासले प्रदान गरेको दायित्व निर्वाह गर्न भगीरथ लागिरहे । नेपाली जीवनलाई चहकिलो र उन्नत बनाउन संगीतको तागतसंग परिवर्तनको जोश मिलाए । र, नेपाली मनमनमा उनी अत्यन्त प्रिय जनगायक, जनसंगीतकार बने र बनिरहे ।

जन्मदिनको उपलक्ष्यमा दिल खोलेर भन्नुपर्दा, मूल्यहरुको अस्तित्व खोज्न शायद रामेश खोजे पुग्छ । रामेश शव्द मुल्यहरुको सुन्दर संयोजन हो, पवित्र भावनाको भौतिक आकार हो, परिवर्तनको हुण्डरी हो । हिजोहाज रामेश शब्द आफैंमा परिवर्तनको उक्ति हो, आदर्शको प्रतिक हो, जोशको तागत हो, इमानको उपमा हो, अथक सङ्घर्षको उदाहरण हो, समानताको समानान्तर हो, त्यागको दृष्टान्त हो, जीवनको आदर्श हो, अनि निष्ठाको अलङ्कार हो । यिनै जीवन आदर्शका सटिक बिम्व रामेश दाइलाई दीर्घायूको हार्दिक तथा अशेष मङ्गल कामना ! रामेश दाइ, हामी तपाईको नाम सदा सगर्व लिइरहनेछौं ।

Facebook Comments