परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

परदेशीको दिनचर्या

पकाएको खान पाइन्छ । आमा–बाबाले जोडजाम गर्नुहुन्छ । त्यसैबाट आवश्यकता पूरा हुन्छन् । सुत्नलाई ओछ्यान हुन्छ । दिदीबहिनी, दाजुभाइको सरसहयोग हुन्छ । गाउँमा साथी हुन्छन् । धीत मरुञ्जेल खेलेर फर्कंदा पनि भोकै सुत्नु पर्दैन । यसै भएर नै होला घरलाई मन्दिरको रुपमा लिने गरिएको ।

यस्तो सुविधायुक्त घर छाडेर परदेशिनु कसैको पनि रहर हुँदैन । बाध्यताले मानिसलाई परदेश पुर्‍याउँछ । घरमा जस्तो सजिलो परदेशमा हुँदैन । अनेक दुःख खप्नुपर्छ । कहिल्यै नदेखेका मानिससँग सहायता माग्नुपर्ने हुनसक्छ । खानेको ठोगान हुँदैन । त्यसका लागि जोहो गर्नुपर्ने हुन्छ । हन्डर, ठक्कर त साथी जस्तै नै हुन्छन् । बाँच्नका लागि सबैभन्दा सटिक हतियार वा भनौं साधन नै पौंठेजोरी हुन्छ । पसिना त्यसको मोल !

रहरले पनि मानिसले घर छाड्ने गरेका छन् । यसरी घर छाड्ने क्रम चाहिँ पर्यटन हो । तीर्थाटन हो । करिब करिब सबैमा यस्तो चाहना हुन्छ । पर्यटन वा तीर्थाटनका लागि निश्चित ठाउँ हुन्छन् । यो योजनाबद्ध हुन्छ । त्यसका लागि साधनको जोहो घरबाटै गरिन्छ । त्यसैले लाग्ने समय र साधनको जोहो पनि पहिल्यै गर्न सकिन्छ । यसको उद्देश्य नयाँ ठाउँ हेर्ने हुन्छ ।

यतिबेला गुणस्तरीय उच्च शिक्षा र रोजगारीको खोजीमा लाखौं नेपाली युवा विदेशमा छन् । शिक्षाका लागि युरोप, अमेरिका, अष्ट्रेलिया अनि रोजगारीका लागि अरबका राष्ट्रका साथै मलेसियालगायतका देश पुगेका छन् । वैदेशिक रोजगारीमा गएकाहरू फर्कने गरेका छन् । यिनीहरु प्रायः बाध्यताले विदेशिने गर्छन् ।

अधिकांश नेपाली युवा अध्ययनको उद्देश्यले विदेशिने गरेका छन् । यसरी विदेशिने युवाको उद्देश्य अध्ययनसँगै त्यसै मुलुकमा स्थायी बसोबास गर्नु पनि हुन्छ । त्यसैले त अध्ययन सकेर मातृभूमि फर्कने नेपाली युवाको सङ्ख्या भने नगण्य नै छ ।

अस्ट्रेलिया नेपाली युवाका लागि आकर्षक गन्तब्य बन्दै आएको छ । त्यसैले पनि अस्ट्रेलियामा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको देश भएको छ । यो सङ्ख्या एक लाखभन्दा बढी छ । अध्ययन, रोजगारी, व्यापार जस्ता उद्देश्यले अस्ट्रेलियामा नेपालीको उपस्थिति बढेको हो । यससँगै उनीहरूका अभिभावकको सङ्ख्या पनि बढिरहेको छ । कोही छोटो अवधि बस्छन् त कोही केही लामो समय ।

अस्ट्रेलियाका प्रायः सबै टोलमा पार्क बनाइएका हुन्छन् । तिनमा बालबालिकाले खेल्ने कुरा रहन्छन् । बस्ने ठाउँ हुन्छ । पिउने पानीको समेत व्यवस्था हुनेगरेको छ । कतिपय पार्कमा त सेकुवा बनाउने ग्यासका चुलाको व्यवस्था पनि हुन्छ । यी सबै निःशुल्क ।

विदेशमा रहनु पर्दा अभिभावकहरुको सबैभन्दा कठिन काम भनेको दिउँसो एक्लै कोठामा थुनिएर बस्नु हुन्छ । छोराबुहारी वा छोरीज्वाइँ काममा निस्कन्छन् । घरमा दिनभरि बस्दा दिक्क लाग्ने गर्छ । यसर्थ पनि पार्कहरु अभिभावकका प्रिय स्थान हुने गरेका छन् । आफूजस्तै अभिभावकसँगको भेटघाटले मन बहलाउन पाइन्छ । केही हदसम्म न्यास्रो मेट्ने मौका मिल्छ ।

विदेशी भूमिमा रहनु पर्दा एक्लोपन महशुस हुन्छ । भाषाका कारण संवाद गर्न सहज हुँदैन । त्यस्तो बेलामा आफ्नो भाषा, संस्कृति मिल्ने कोही भेटिंदा पनि मन रमाउँछ । यस्तै रमाइलोका लागि पनि अभिभावक पार्कहरूमा भेला हुने गर्छन् । आफ्नै भाषामा कुरा गर्न पाउँदा देशै पुगेको जस्तो अनुभूति हुनेगर्छ ।

अस्ट्रेलियाको सिड्नीमा पर्छ ब्ल्याकटाउन सिटी काउन्सिल । त्यस अन्तर्गतको स्कोफिल्ड नेपाली समुदायको बाक्लो बसोवास रहेको क्षेत्रमा पर्छ । यस क्षेत्रमा मात्र ३०० भन्दा बढी नेपाली परिवारको बसोबास रहेको छ । यहाँको ग्लोरी पार्क ती परिवारका नेपाली अभिभावकको भेला हुने ठाउँ हो ।

यी कारणहरुले गर्दा प्रायः पार्कहरुमा अभिभावक सङ्गठित हुने गरेको पाइन्छ । नेपाली अभिभावक समाज, स्कोफिल्ड पनि यस्तै अभिभावकहरूको साझा संस्था हो । विदेशी भूमिको बसाइलाई रमाइलो बनाउने मुख्य उद्देश्यले विक्रम संवत् २०८० वैशाख ९ (सन् २०२३ अप्रिल २२) मा यसको गठन भएको हो । अस्ट्रेलियामा रहेका अभिभावकलगायत नेपाली समुदायका हित संरक्षणसँगै सह–अस्तित्व र सहिष्णुता कायम गर्दै यहाँको बसाइ रमाइलो एवं उपयोगी बनाउनु यसको लक्ष्य रहेको छ ।

यो समाजको ध्येय अस्ट्रेलियाको संवैधानिक तथा कानूनी कार्यादेश अनुरूपका मौलिक हक र विश्वव्यापी मानव अधिकारका सिद्धान्त, मूल्य र मान्यतालाई अंगीकार गर्दै एक स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, सक्रिय र सहयोगी संस्थाको रूपमा रहनु रहेको छ ।

सामाजिकताको सिद्धान्त एवं प्रचलनका आधारमा सद्भाव, सहकार्य प्रवर्द्धन गर्दै यहाँको बसाइ निरस हुन नदिने वातावरण बनाउनु यसको लक्ष्य छ ।

समाजले स्कोफिल्ड एवं वरपरका क्षेत्रमा रहने नेपालीबीच भेटघाट एवं अन्तरक्रियात्मक वातावरण सिर्जना गरेर भावनात्मक सम्बन्ध विकास गर्ने का उद्देश्य लिएको छ । त्यससँगै पछिल्ला पुस्तालाई पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक कार्यहरूबारे जानकारी गराउँदै तिनलाई आत्मसात गर्दै संरक्षण एवं प्रवर्द्धनका लागि प्रेरित गर्ने यसको उद्देश्य छ ।

नेपाल छाडेको भण्डै एक वर्ष हुन लाग्यो । नेपालमा रहनुभएका मेरा परिवारजन एवं मित्रहरुसँगको दूरीले मलाई चिमोटिरहेको छ । सामाजिक सञ्जालमार्फत कतिपयसँग कुराकानी हुन्छ तर सबैसँग हुन सकिरहेको छैन । मित्रहरु सोध्नुहुन्छ– के गरेर बसेको छस् ?

मैले देखाउने गरिको कुनै काम गर्न सकेको छैन । परिवारमा तेस्रो पुस्ताको आगमन भएको छ । त्यही तेस्रो पुस्तासँगको ‘बाल–सङ्गत’ ‘दिनकटनी’ को मेलो छ । बिहान–बेलुका नेपाली अभिभावकसँगको सङ्गत हुन्छ । उहाँहरुले समाजको नेतृत्व गर्ने दायित्व सुम्पनु भएको छ । यसरी नै दिन बितिरहेको छ है परदेशमा !

Facebook Comments