परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

किन लेख्छ कोही आत्मकथा ?

केही समय अघि एउटा पारिवारिक जमघटमा एउटी बहिनीसँग भेट भयो । वर्षौँपछिको त्यो भेटघाटमा उनले प्वाक्क सोधिन् – “दाइलाई पनि अहिलेको नयाँ रोग त लागेको छैन ?”

म डेङ्गीबट उत्रेको धेरै भएको थिएन । मैले भनेँ – “ खै, कोरोनाले त भेटेन जस्तो छ, तर डेङ्गीले त भ्याइहाल्यो नि ! अझै पनि… …” उनले बिचैमा कुरा काटेर हाँस्दै भनिन् – “हैन हैन, त्यस्तो रोग भन्या हैन । आजकाल त सबैलाई ‘आत्मकथा’, ‘आत्मवृत्तान्त’ के के हो लेख्ने रोग लाग्या’छ नि ! दाइलाई पनि त्यस्तै रोग लाग्या’छ कि भनेर …”

अलिअलि व्यङ्गमिश्रित उनको त्यो अभिव्यक्ति खासै रमाइलो नलागे पनि म फिस्स हाँसिदिएँ । आत्मकथा लेखनप्रतिको उनको त्यो वितृष्णासँग म सहमत थिइन । तर उनको त्यो अरुची बुझ्नै नसकिने कुरा भने थिएन । ‘आत्मकथा’को केन्द्रमा ‘म’ त हुने नै भयो । यो ‘म’भावसँग “आत्मकेन्द्रवाद”, “आत्मश्लाघा”, “आत्मरति”, “अहङ्कार” … अनेक अलङ्कार सजिलै जोडिन्छन् । आफै नै आत्मश्लाघामा चुर्लुम्म डुबेको मानिस पनि अरु कसैको आत्मतुष्टीको प्रकटिकरणमाथि भने नकारात्मक टिप्पणी गर्न चुक्दैन । त्यसैले मेरी ती बहिनीको टिप्पणीलाई मैले अन्यथा नलिइकन हाँस्दै भनेँ  – “म आफैँ त अहिले आत्मकथा लेखिरहेको छैन । तर तिमीले भनेजस्तो आत्मकथा लेख्नुलाई म रोगै चाहिँ भन्दिन ।”

किन लेख्छ कोही आत्मकथा ? कसका लागि लेख्छ ? कुन उद्देश्य प्राप्तिका लागि लेख्छ ? हरेक व्यक्तिका निम्ति यी प्रश्नका उत्तर फरक हुनसक्छन् । साहित्य, कला वा कुनै पनि कृतित्वलाई बाँध्ने परिभाषा र नियमनका डोरीहरू झन् झन् कमजोर हुँदै गइरहेको यो कालखण्डमा लेखनबाट हुने अभिव्यक्तिलाई अङ्कुश लगाउने कुनै पनि यत्न बेकार हुन्छन्, निरर्थक हुन्छन् । केही लेखिएर छापिँदा त्यसबाट हुने सम्पूर्ण परिणामका बारे जिम्मेवारी लिने त स्वयम् लेखकले नै हो । त्यो जिम्मेवारी लिएर लेख्छ कोही भने, उसलाई कसैले पनि “यो गर्न हुन्छ” वा ‘यो गर्न हुँदैन” भनेर भनिरहनै पर्दैन । कस्तो लेखाई मन पराउने, कस्तो मन नपराउने चाहिँ पाठकको कुरा हो – कसैले पनि कुनै पाठकलाई “यो त मनपराउनु पर्‍यो नि !” भन्नुको कुनै अर्थ, कुनै औचित्य हुँदैन । पाठकको आ-आफ्नै स्वाद हुन्छ, आ-आफ्नै रोजाई हुन्छ, आ- आफ्नै आवश्यकता हुन्छ । यिनै तत्वले कुनैपनि साहित्यिक कृतिप्रतिको अपेक्षालाई निर्धारित गरेका हुन्छन् । एउटा यस्तै पाठक भएर मैले मेरा मित्र डा. मदन कोइरालाको आत्मसंस्मरणात्मक पुस्तकको पाण्डुलिपी पढेँ । त्यो पाण्डुलिपीबाट मैले गरेका अपेक्षा पनि यिनै तत्वले निर्धारण गरेका थिए ।

एउटा संस्मरण पढिरहँदा मैले खोज्ने गरेको सबभन्दा महत्वपूर्ण कुरा हो – कथावाचकले कोरेको आफ्नो चित्रको पृष्ठभूमिमा सान्दर्भिक कालखण्डको तस्वीर सुस्पष्ट होस्, मिहिन भन्दा मिहिन वस्तुगत तथ्य र घटनाक्रमहरू पनि यति स्पष्ट देखिउन् कि तिनले सास फेरिरहेजस्तो लागोस्, कथावाचकलाई त्यो ऐतिहासिक पृष्ठभूमिले यसरी अँगालोमा बाँधेको होस् कि ती दुईलाई छुट्ट्याउनै नसकियोस् ।

ठ्याक्कै खोजेको जस्तो कुरा बिरलै पाइन्छ । कुनै पनि पुस्तकप्रतिको अपेक्षा बिरलैमात्र शतप्रतिशत पुरा हुन्छ । पाठकको त्यो अपेक्षा ‘कति हदसम्म’ पुरा भयो भनेर मात्र हेर्ने हो, र यही नै उसका नजरमा स्रष्टाको सफलताको माप हुन्छ । यो पुस्तकको पाण्डुलिपी पढ्दै गर्दा मेरो अपेक्षा कतिसम्म पुरा भयो भन्ने कुरालाई एकदम छोट्करीमा भन्दा जम्मा तीन शब्दले पुग्छ – “आहा, कति राम्रो !”

*

परम्परागत शैलीमै उनले लेखेको यो पुस्तक सरल छ । नचाहिँदा शब्दालङ्कार र क्लिष्टताबाट मुक्त यो किताब पढ्दा मलाई त ईर्ष्या नै लाग्छ । बाल्यावस्था, किशोरावस्था, युवावस्था, हुँदै प्रौढावस्थाबाट वृद्धावस्था तर्फ उन्मुख हुँदैगर्दाका संस्मरणहरू समयक्रम अनुसार नै लेखिएका छन् । कुनै “नयाँ प्रयोग” गर्ने नाममा अनावश्यक कसरत गरिएको छैन ।

धेरैका आत्मकथाले खेप्नुपर्ने एउटा आरोप हो – पारदर्शिता र इमानदारीको कमी । यसको आँकलन गर्न लेखकको जीवनका केही अंशको मात्रै भएपनि नजिकै रहेर बाँचेका र समयको त्यो टुक्रालाई भोगेका पात्रहरूले मात्र सक्छन् । एउटा औसत पाठकको आँखाले हेर्दा भने म यो पुस्तकमा पटक्कै आत्मश्लाघा देख्दिन । हरेक अध्याय अत्यन्त सरलताका साथ बगेको यो किताब लेखकीय इमानदारीले पूर्ण छ जस्तो लाग्छ ।

मलाई सबभन्दा मन परेको कुरा के हो भने लेखकले बाँचेको जीवनको हरेक कालखण्डको चित्र स्पष्ट देखिएको छ । लेखकले कोरेको आफ्नो चित्र त केवल झ्याल बनिदिएको छ – जसबाट त्यो कालखण्ड मज्जाले दृष्टिगोचर हुन्छ । आत्मसंस्मरणात्मक कृति जब ‘आत्मवृत्तान्त’मात्र नरहेर विभिन्न कालखण्डकै चित्रण बन्छ, त्यसको महत्त्व उचालिन्छ । लेखकका नितान्त वैयक्तिक भोगाई हुन्छन् जसलाई साँच्चै आत्मसात गर्न अरूले हत्पति सक्दैनन् । एउटा कुशल लेखकले भने आफ्ना वैयक्तिक भोगाईलाई आँखिझ्याल बनाएर एउटा सिङगो पुस्ताकै भोगाईलाई देखाउन सफल भइरहेको हुन्छ ।

**

जुनसुकै पुस्ताको आफ्नै वैशिष्ट्य हुन्छ । आफ्नै किसिमका रमाइला स्मृति हुन्छन् । आफ्नै किसिमका ‘ट्रमा’ र तिनले छोडेका खत हुन्छन् । मदनको उमेरसमुहको एउटा वैशिष्ट्य हो – अहिलेको तुलनामा भौतिक प्रचुरता, विकास, सूचना आदिको कमीको सीमाभित्र रहेर हुर्कँदाका चुनौति र ती चुनौतिको सामना गर्ने क्रममा प्राप्त आत्मविश्वास । यो पुस्ताका मानिस ठट्टा गर्दै भन्छन् “हामी त बाबुको जुत्तामा पनि पालिस लगाउँदै हुर्क्यौँ र छोराछोरीको जुत्तामा पनि पालिस लगाइरह्यौँ” ।” .

पुस्तानिरपेक्ष तर उमेरसापेक्ष समान भोगाई पनि हुन्छन् मान्छेका । मदनको बाल्यावस्था र किशोरावस्था भोगाईमा अहिलेकै बालक र किशोरले पनि सजिलै बुझ्न सक्ने घामछायाँका कथा छन् । बाल्यावस्थामा आमा गुमाउँदाको गहिरो घाउ, अरुले कुरा लगाएका भरमा बाबुले देखाउने रौद्र रूप, कलिलै उमेरदेखि कुटिलताको साक्षी बन्नु परेको बाध्यता … अनि यी सबले मनको भित्री तहमै पारेका गहिरा असुन्दर खतहरू जुनसुकै पुस्ताका समान भोगाई हुन् ।

किशोर वयको पुस्तानिरपेक्ष विशेषता हो – प्रज्वलनशीलता । हरेक पुस्ताका किशोर किशोरीको त्यो प्रज्वलनशीलतालाई  त्यसबखतका विभिन्न तत्त्वले सदुपयोग वा दुरुपयोग गर्न खोज्छ, गरिरहेको हुन्छ । किशोरावस्थाको बुझाई र सपनालाई विभिन्न यथार्थले प्रभाव पारेका हुन्छन् । मदनको पुस्ताका किशोर-किशोरीलाई त्यसबेलाका राजनीतिले सकेसम्म उपयोग गर्‍यो । अहिलेकै किशोरकिशोरीलाई पनि भिन्नै किसिमले राजनीतिले प्रभाव पारिरहेकै छ, उनीहरूको प्रज्वनशीलताको दुरुपयोग अझै पनि अनावश्यक हिंसा र विध्वंशमा अनुदित भइरहेकै छ । तर सूचना र सञ्चारमाध्यमको सहज प्राप्यतासँगै हुर्केका अहिलेका किशोर-किशोरीलाई झण्डै आधा शताब्दि अघिका किशोरावस्थाको मनस्थिति बुझ्न केही गाह्रो हुनसक्छ । यो पुस्तकले त्यस्ता जिज्ञासु किशोरकिशोरीलाई मद्दत गर्न सक्छ ।

युवाकालको पुस्तानिरपेक्ष विशेषता हो स्वप्नदर्शिता, आशाको प्रचुरता, आफैले परिभाषित गरेको आदर्शको सर्वोच्चता र उर्जाशीलता । त्योसँगै घामछायाँका रूपमा आउने अनिश्चितता र अझै आत्मनिर्भर नभइसकेको बेलाको निरीहताले पनि युवाहरूलाई कहिल्यै छोडेको हुँदैन । उर्जाको प्रचूरता र आदर्शचेतले बेला बेलामा त्यो अनिश्चितता र निरीहतालाई बेमतलब बनाउन खोजे पनि यथार्थले भूईँमा बजारेपछिको पीडा हरेक पुस्ताका युवाले भोग्नै पर्ने यथार्थ हुन्छ । जीवन भोगाईको मूल अंश नै युवाकालको भोगाई हुन्छ । मदनको संस्मरणमा जीवनको यो पक्ष एकदमै छर्लङ्ग भएर आएको छ ।

विस्तारै प्रौढतातिर ढल्कँदै मुलुकभित्र र मुलुकबाहिर उनले निर्वाह गरेका दायित्व, विभिन्न किसिमका र विभिन्न हैसियतका मानिसहरुसँगको उनको सम्बन्ध र अन्तरक्रियाको झ्यालबाट यो देश र यो संसारको यथार्थका चित्रहरू विभिन्न फ्रेममा उत्रिएका छन् । गहिरिएर हेर्ने मानिसले ती चित्रहरूले सृजना गरेका अनेकन् प्रश्नमा वर्तमानमै बाँचिरहेका अनेक उमेरसमुहका मान्छेले सामना गर्नुपरेको चुनौति देख्न सक्छ । विषम परिस्थितिहरूसँग जुझ्नका निम्ति मानिसभित्र अन्तरनिहित नैसर्गिक क्षमतालाई देख्नसक्छ ।

***

जुनसुकै कालखण्डका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । परिवर्तनका क्रममा प्राय: सकारात्मक पक्ष समेत उखेलिन्छन् । नयाँ कालखण्डका सकारात्मतासँगै नकारात्मक पक्षले पनि नयाँ रूपमा अवतरित भएर निरन्तरता पाइरहेका हुन्छन् । यो यथार्थबोध पनि हुन्छ यो किताब पढ्दा । कहिले मनमा पीडा बोध हुन्छ, कहिले सन्तोष । अनेक घटनाका विभिन्न रङगमा रङ्गिएको समयको प्रवाहलाई यो पुस्तकको झ्यालबाट हेर्दा केही पाठकले ‘पूर्णता’को मृगमरिचिकाको बोध पनि गर्न सक्लान् ।

एउटा पुस्ताले बाँचेको समयलाई एउटा आयामबाट अभिलेख गरिएको छ यो कृतिमा । जिज्ञासु पाठकलाई यसले जीवनबारे चिन्तन गर्न कुत्कुयाउँछ भने अरुलाई आधा शताब्दिभन्दा पुरानो समयको भ्रमण गराउँछ । पुस्तक पढिसकेपछि पाठकहरु मसँग सहमत हुनुहुनेछ भन्नेमा म विश्वस्त छु ।

साभार : नथाकेको जीवन । 

Facebook Comments