सुन्दर, सफा गाउँपालिकाको चिनारी दिने हाम्रो संकल्प छ
अन्तर्वार्ता : टासी लामा, अध्यक्ष
सिन्धुपाल्चोक जिल्लाको दुर्गम हिमाली गाउँ हो पाँचपोखरी थाङपाल गाउँपालिका । यस पालिकाको अध्यक्ष हुनुहुन्छ टासी लामा । स्थानीय जनताको प्यारो व्यक्तिमा पर्नुहुने टासी लामाको पालिकामा यो दोस्रो कार्यकाल हो । यसै सन्दर्भमा गोविन्द पोखरेल र धातृप्रसाद सुवेदीले उहाँसँग गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ राखिएको छ ।
प्रश्न : यस गाउँपालिकाका चुनौती के के हुन् ?
उत्तर : स्रोतको असाध्यै कमी छ । आन्तरिक स्रोत ज्यादै कम छ । दोस्रो चुनौती भनेको तीन वटा सरकारबीचका कतिपय साझा कानुनको अभावले गर्दा राजस्व बढाउनेदेखि लगायतका कुराहरूमा समस्या रहेको छ । अर्को कुरा जनशक्ति व्यवस्थापनमा पनि केही चुनौती छन् । यी चुनौतीसँग हामी जुझ्दै छौं । भूबनोटका हिसाबले हाम्रो पालिका हिमाली गाउँ पनि भएको हुनाले सडकको स्तरोन्नति गर्न कठिन भइरहेको छ । यसै कारणले सडकमा एकदमै चासो छ र सडक एकदम चुनौतीपूर्ण पनि रहेको छ । यिनै चुनौतीबीच गाउँपालिकाले आफ्नो काम अगाडि बढाइरहेको छ ।
प्रश्न : तपाईंको कार्यकालमा गर्व गर्न लायकका उपलब्धि के के हुन् भन्ने ठान्नुहुन्छ?
उत्तर : मेरो कार्यकालमा गर्व गर्न लायक कुरा चाहिँ २०७२ साल वैशाख १२ गते भूकम्प गएको थियो । भूकम्प जाँदा यहाँका सबै संरचना ध्वस्त भएका थिए । सेवा दिने र पाउने ठाउँ थिएनन् । विद्यालयका भवन थिएनन् । मठमन्दिर, गुम्बालगायतका सबै संरचना शून्यमा थिए । व्यक्तिको निजी आवास थिएन । ती सबै संरचना लगभग पुन:निर्माणको अन्तिम चरणमा रहेका छन् । यो गर्व गर्न लायक छ।
दोस्रो कुरा बागमती प्रदेशका चार वटा विद्यालय मर्ज गरेर एउटा हिमाली गाउँपालिकामा पनि सम्भावना छ भन्ने हिसाबले देखाउनका लागि मुलुकका सम्माननीय राष्ट्रपतिलाई ल्याएर उद्घाटन गराउन सकेका छौं । थाङपाल भ्याली विद्यालय बनाउन सकेका छौं । बागमती प्रदेशले नै अहिले बृहत् विद्यालय घोषणा गरेको छ । यो मेरा निम्ति एकदम गर्वलायक छ।
तेस्रो नम्बर चाहिँ यो गाउँपालिकामा हामीले दुई वटा अस्पताल र आठै वटा वडामा बर्थिङ सेन्टरसहित स्वास्थ्यचौकी भवन र दुई वट हस्पिटल निर्माण गरेर जनतालाई सेवा दिन सकेकोमा म गर्व गरिरहेको छु।
चौथो नम्बर भनेको किसानलाई एक वडा एक कृषि प्राविधिक र एक पशु प्राविधिकबाट सेवा उपलब्ध गराउन थालेका छौं । यसबाट सबै युवालाई, कृषकलाई व्यावसायिक बन्नुपर्छ, उद्यमी बन्नुपर्छ भनेर अगाडि बढिरहेका छौँ । यो पनि गर्व गर्न लायकै छ ।
अर्को भनेको यो गाउँपालिकालाई पर्यटनको हब बनाउन सकिन्छ भन्ने मिसन थियो । त्यो पर्यटनको हब बनाउनका निम्ति हिजोको र आज निक्कै फरक छ । हामीले यो गाउँपालिकालाई १६ नम्बर पर्यटकको घुम्नलायक गाउँपालिका निर्माण गर्न सकेका छौं, जसमध्ये पेमा छल उद्यान केन्द्र बनाएका छौं । त्यसपछि एउटै ढुङ्गामा ८४ फिटको बुद्धको मूर्ति कुदाइएको छ । आमा याङ्ग्री जस्ता रैथाने ताल, नौलुङ्गेश्वर महादेव, झोवाथाङ जस्ता थुप्रै चिज छन् । हामीले कृत्रिम झर्ना बनाएका छौं । कम्तीमा यहाँका वासिन्दाको आर्थिक जीवन चाहिँ पर्यटनमा छ भन्ने देखाउन चाहेका छौं ।
जति धेरै पर्यटक भित्र्यायो त्यति धेरै यहाँका वासिन्दालाई सुखी बनाउन सकिन्छ, धनी बनाउन सकिन्छ भनेर हेर्नलायक, घुम्नलायक गाउँपालिकाको रूपमा निर्माण गर्न पाउँदा गर्व लागेको छ । हिजोको भन्दा आज पर्यककको संख्या बढेको छ । पर्यटन क्षेत्र व्यस्त छ । पाँचपोखरी संसारको अग्लो ठाउँमध्ये नवौं ठाउँमा पर्ने ताल क्षेत्र हो । त्यो पनि यहीँ छ । त्यहाँ पनि हामीले विकास गरेका छौं ।
यस हिसाबले हेर्दा एकदम गर्व लागेको छ मलाई । हिजोको पाँचपोखरी थाङपाल गाउँपालिका र आजको पाँचपोखरी थाङपाल गाउँपालिका एकदम भिन्न देख्न सकिन्छ । त्यो अनुभूति देश दुनियाँ, समाज सबैले यो भूगोलमा पाइला टेकेर भन्ने कुरा हो, मैले आफूले गर्व गर्ने भन्दा पनि । अरू त थुप्रै चिजहरू हामीले परिवर्तन गरेका छौं जस्तो लाग्छ ।
प्रश्न : भूकम्प गएपछि कुन कुन संस्था आएर के के सहयोग गरे ?
उत्तर : भूकम्पपछाडि सबैभन्दा महत्वपूर्ण आर्सो नेपाल हो । मैले धन्यवाद पनि दिनुपर्छ कि भूकम्पपछि संघसंस्थाहरूको होडबाजी व्यापक थियो । धेरै संघसंस्था आएका थिए । तर, सबै संघसंस्था सदरमुकाम केन्द्रित गरेर, अफिस पनि सदरमुकाम केन्द्रित गरेर काम गर्थे भने आर्सो नेपाल चाहिँ सम्बन्धित क्षेत्रमै त्यहाँका चुनौती,प्रतिकूलतालाई बुझ्दै गाउँमै बसेर गाउँपालिकासँग समन्वय गरेर गाउँमै अफिस खोलेर हेर्नलायक निर्माण गर्न जुट्यो । आर्सोसँगै केयर नेपाल भयो, रेडक्रसलगायतका महिला आत्मनिर्भरता केन्द्र, हेल्प नेपाल यहाँ आए । उहाँहरू सबैलाई पनि धन्यवाद दिनै पर्छ । भूकम्पले थिलथिलो भएका यहाँका जनताको दु:खमा मल्हमपट्टि लगाउन उहाँहरूको महत्वपूर्ण भूमिका छ ।
प्रश्न : तपाईंको पालिकाका घरका छाना प्राय: नीलो जस्तापाताका छन् । यो कसरी भयो ?
उत्तर : यो गाउँपालिकामा आर्सो नेपालले पुन:निर्माणका क्षेत्रमा सहयोग गरेको छ । विशेष गरेर निजी आवास निर्माणमा आर्सो नेपालको राम्रो सहयोग छ । केही दलित समुदायका वस्तीमा धुलिखेल हस्पिटललगायतका संघसंस्थाले नीलो जस्तापाता दिनेमा भूमिका रह्यो ।
प्रश्न : यो गाउँपालिकामा सबै ठाउँमा खानेपानी पुगेको देखिन्छ । पालिकाले नै पुर्याएको हो कि अरू पनि स्रोत छ ?
उत्तर : हामी निर्वाचित भएपछि सुरुमै ‘एक घर, एक धारा, एक मिटर’ को अवधारणा हामीले ल्यायौं । किनकि शुद्ध खानेपानी मौलिक हक हो जनताको । सबै जनताका लागि खानेपानीको व्यवस्था गर्नु गाउँपालिकाको कर्तव्य नै हो । यो मिसनमा मुख्य त गाउँपालिकाले नै लाग्नुपर्छ । गाउँपालिकाले साझेदारीका लागि आह्वान पनि गर्यौं । संघसंस्थालाई पनि आह्वान गर्यौं किनभने संघसंस्थाहरूको पनि भूमिका छ । त्यसपछि हामीले प्रदेश सरकारसँग पनि अनुरोध गर्यौं । सबैको पहलकदमीबाट खानेपानीको व्यवस्था गरिएको छ । शतप्रतिशत नै समस्या समाधान भएको छ भन्ने दाबा त म गर्दिन तर मलाई यो गाउँपालिकामा खानेपानीको निकै समस्या छ भन्ने लाग्दैन । तर,एउटा अझै सकिरहिएको छैन कि ‘एक घर, एक धारा, एक मिटर’ सहित लान सकियो भने अझै राम्रो हुन्छ भन्ने छ । यसमा संघसंस्थाको पनि भूमिका छ ।
प्रश्न : अन्त भन्दा यो गाउँपालिकाका बाटा सफा देखिन्छन् । फोहोरमैला कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
उत्तर : पाँचपोखरी थाङपाल गाउँपालिकाको मुल एजेन्डा अथवा मुल मन्त्र भनौं यो गाउँपालिका हेर्न घुम्नका लागि लायक बनाउने भन्ने हो । यो हाम्रो अठोट हो, दृढ संकल्प हो । त्यसको निम्ति पर्यटक नै आउनुपर्छ । पर्यटनको हब बनाउन सकिन्छ । पर्यटनलाई चाहिने चिजहरू भनेका यी यस्तै चिजहरू हुन् । सरसफाइको कुरा हुन्छ, खानेपानीको कुरो हुन्छ, सुरक्षाको कुरो हुन्छ । शान्तिका कुरा हुन्छन् । त्यसपछि होमस्टे व्यवस्थापनको कुरा हुन्छ । यहाँको अर्गानिक चिजहरूको कुरा हुन्छ ।
यस हिसाबले हेर्दा यो मिसन हो । यो मिसनमा आर्सो नेपालले हामीलाई साथ दिएको छ । आर्सो नेपालको कार्यक्षेत्रमा रहेका चार वटा वडामा आर्सोकै सहयोगमा एमआरएफ हामीले निर्माण गरेका छौं । यसबाट कम्तीमा वडामा निस्कने फोहोरमैलालाई व्यवस्थित गर्ने भवन निर्माण गरेर त्यसलाई कुहिने र नकुहिनेको रूपमा व्यवस्थापन गरिरहेको अवस्था छ । अरू वडामा पनि त्यही ढंगले लागिपरेका छौं ।
यो एमआरएफमात्र गरेर भएन बिस्तारै बिस्तारै त्यहाँ फोहोरमैला समस्या दिगोरूपमा समाधान गर्नका लागि गाउँपालिकाले एउटा ल्याण्डफिल्ड साइट र एउटा डम्पिङ साइट पनि निर्माण गर्नुपर्छ भनेर गाउँ कार्यपालिकाले तीन सदस्यीय जग्गा खोजी अध्ययन समिति पनि निर्माण गरेका छौं । भविष्यमा यो गाउँपालिकालाई फोहोरमैला र दुर्गन्धरहित बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ । त्यसैले गाउँपालिका अविच्छिन्न रूपमा अगाडि बढिरहेको छ । यसका लागि संघसंस्थाहरूलाई अनुरोध पनि गरिरहेका छौं । हामी साझेदारी गर्न पनि तयार छौं । यस हिसाबले यो गाउँपालिकालाई सुन्दर, सफा गाउँपालिका बनाउने, चिनारी दिने हाम्रो संकल्प छ ।
प्रश्न : कृषकलाई सहयोग हुने के के काम भएका छन् ?
उत्तर : हाम्रो आन्तरिक स्रोत नहुँदा नहुँदै हामीले ‘एक वडा, एक कृषि प्राविधिक, एक पशु प्राविधिक’ जेटीए राख्न सफल भएका छौं । यो एकदमै असल काम हो भन्ने लाग्छ । प्रत्येक किसानका घरमा हाम्रा जेटीए पुग्छन् । त्यसपछि एक वडा एक पशु प्राविधिक पनि राखेका छौं । परम्परागतरूपमा हुँदै आएको पशुपालन छदैछ । यो निर्वाहमुखी छ । अब बिस्तारै बिस्तारै किसानलाई व्यवसायमुखी बनाउनुपर्छ भन्ने उद्देश्यले ‘एक वडा एक कृषि प्राविधिक, एक पशु प्राविधिक’ को व्यवस्था गरेका हौं । हामीले प्रत्येक पशुको बीमा पनि गराउने कार्यक्रम गरिरहेका छौं भने व्यावसायिक कृषि गर्न चाहनेहरूका लागि विभिन्नखाले औजार, अनुदान कार्यक्रम, अवसर उपलब्ध गराउने कार्यक्रमहरू,प्राविधिक सहयोग, क्षतिका कुराहरू के के गर्न सकिन्छ गाउँपालिकाको क्षमताले, स्रोतले साथ दिएसम्म, भ्याएसम्म गाउँपालिका हिजोको भन्दा आज पृथक् छ ।
यहाँ अहिले व्यावसायिकरूपमा कृषि फर्महरू पनि सञ्चालनमा आएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. ४ मा एउटा अर्गानिक फर्म पनि सञ्चालन गरिएको छ । नमुना अर्गानिक फर्म पनि सञ्चालनमा छ । यो गाउँपालिकाको वडा नं. ३ लाई अर्गानिक वडा घोषणा गरिएको छ । हिजो निर्वाहमुखी थियो भने आज व्यावसायिक आलु खेती गर्न थालिएको छ । अलैंची, किबी, बेसारलाई व्यवसायमुखी गरेका छौं । वडा नं. २ मा व्यवसायमुखी बेसार खेती भइरहेको छ । बाख्रा, कुखुरा, बङ्गुर फर्महरू सञ्चालनमा आएका छन् ।
आज मलाई लाग्छ प्रत्येक वडामा हेर्न सकिने, देख्न सकिने फर्महरूमा किसानको संलग्नता हुँदै आएको छ । कृषिबाट पनि सहजै जीवन निर्वाह गर्न सकिन्छ, आर्थिक उपार्जन गर्न सकिन्छ भन्नेमा किसानहरू पुग्दै आएको मैले महसुस गरेको छु । यसको अर्थ म के दाबी गर्दिन भने मैले शतप्रतिशत नै कायापलट गरें, छलाङ मारें भन्ने चाहिँ म दाबी गर्दिन । तर, हिजोको पाँचपोखरी र आजको पाँचपोखरीलाई तुलना गरेर हेर्ने हो भने किसानहरू स्वयंले पनि भन्नुहुनेछ अवस्थामा परिवर्तन आएको कुरा । किसान खुसी हुनुहुन्छ । अझ थप हामीले किसानमा जोड गर्नुपर्छ ।
यो गाउँपालिका हिमाली गाउँपालिका भइकन पनि पनि तराईमा पाइने चिज पनि यहाँ पाइन्छ । पहाडी क्षेत्रमा पाइने चिज पनि यहाँ पाइन्छ । हिमाली क्षेत्रमा पाइने चिज पनि यहाँ पाइन्छ । विशेषखालको विशेषता बोकेको यस्तो खालको गाउँपालिका भएको हुनाले कृषि क्षेत्रमा हामी अगाडि बढ्नुपर्छ । अझ थप कार्यक्रमका साथ के गर्दा किसानलाई फाइदा हुन्छ भन्ने हिसाबले गाउँपालिकाले अझै नयाँ नीति, कार्यक्रमका साथ किसानलाई प्रत्यक्ष सहभागी हुने, सहयोग पुग्ने कार्यक्रमहरू पनि अगाडि लानु पर्छ भन्ने हिसाबले गाउँपालिकाले सोचिरहेको छ ।
प्रश्न : आर्सो नेपालले यस पालिकाका कहाँ कहाँ कस्ता के के र कति काम गरेको छ ?
उत्तर : आर्सो नेपालले यो पाँचपोखरी गाउँपालिकाको सिङ्गो सबै पालिका होइन, चार वटा वडा उहाँहरूको कार्यक्षेत्र छ, यी वडालाई पकेट क्षेत्र बनाएर उहाँहरूले विपद् पछाडि निजी आवास निर्माणमा उहाँहरूको साझेदारी छ । प्रत्येक घरमा उहाँहरूको सहयोग पुगेको छ । त्यसपछि जीविकोपार्जन (लाइबलिहुड) को क्षेत्रमा पनि उहाँहरूले काम गर्नुभएको छ । खानेपानीलगायतका क्षेत्रमा पनि काम गर्नुभएकै छ । गाउँपालिकासँग साझेदारी गरेर एउटा अर्गानिक कृषि फर्म सञ्चालन गरिरहनुभएको छ ।
फोहोरमैला व्यवस्थापनका लागि वडा नं. ३, वडा नं. ४ र वडा नं. ५ मा एमआरएफ हाउस निर्माण गरेर अहिले सञ्चालनमा आएको छ । वडा नं. ६ मा निर्माणकै चरणमा छ । यस हिसाबले स्वास्थ्य, पर्यटन, कृषि, निजी आवास निर्माणलगायतका महत्वपूर्ण क्षेत्रमा आर्सो नेपालले यो गाउँपालिकामा योगदान गरिरहेको छ । यसका लागि टीजीएच नेपाल, एफडीएफ, एएफडी, पेरिससमेतबाट सहयोग जुटाएर आर्सो नेपालले गरेको काम पाँचपोखरी थाङपाल गाउँपालिकाका विशेषगरी यी चार वटा वडामा इतिहासमा अविस्मरणीय रहने छ । उहाँहरूलाई धन्यवाद !
यसैगरी, आर्सो नेपालसँगै विद्यालय निर्माणदेखि भौतिक संरचना निर्माणका काममा अन्य संघसंस्थाले पनि सघाएका छन् । तिनमा केयर नेपाल, हेल्प नेपाल, पिस फर नेपाल, रेडक्रस जस्ता धेरै संघसंस्थाले शिक्षा, खानेपानी, स्वास्थ्यलगायतका धेरै क्षेत्रमा सहयोग गर्नुभएको छ । उहाँहरूलाई पनि धन्यवाद दिन्छु । र, हेर्न लायक आर्सो नेपालका कार्यक्रम छन् । आर्सो नेपाललाई अग्रिम मोर्चामै उभिएर स्यालुट गर्छु । धन्यवाद दिन्छु ।
साभार: सफलताका कथा