परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चीनबारे जानकारीको कोसेली : भ्रमण दश दिनको

तीर्थयात्राबाट फर्केर अंकमाल गर्ने चलन छ हाम्रो समाजमा । यसको कारण रहेछ– तीर्थाटनबाट प्राप्त पुण्य घरका, छिमेकका व्यक्तिमा पनि पुग्छ भन्ने विश्वास । यो त भयो आस्था वा विश्वासको विषय । त्यसरी पुण्य सर्छ वा सर्दैन नदेखिने भएकाले विश्वासको कुरो भनेको हुँ ।

हामी दैनिक धेरै कुरा देख्छौं । धेरै काममा संलग्न हुन्छौं । सुनेर, परेर, पढेर कतिपय नौला कुरा पनि थाहा पाउँछौं । ती सबै कुरा सम्झनामा राख्न सम्भव हुँदैन । कुनै कुरा केही मिनेटमा त कुनै घण्टा वा दिनमा बिर्सिएर जान्छन् ।

हामीमध्ये कतिपयमा टिपोट गरिहाल्ने बानी हुन्छ । त्यसरी टिपोट गरेमा पछि पनि हेर्न, पढ्न पाइन्छ । हामी धेरैमा चाहिँ ‘ए, यति कुरा त सम्झिहाल्छु नि !’ भन्ने बानी हुन्छ । तर, समयसँगै निर्वाह गर्नुपर्ने अनेक भूमिकाबीच त्यो महत्वपूर्ण ठानेको विषय हराएर जानसक्छ । अनेक प्रयास गर्दा पनि सम्झन सकिंदैन । एउटा राम्रो विषयवस्तु वा भनौं सुन्दर कृतिको ‘भ्रूण’ नै सुकेर जान्छ ।

टिपोट गर्ने अभ्यास लेखक सुनिलकुमार पौड्यालमा पनि पाइन्छ । सात वटा कृतिका सर्जक पौड्यालले आफ्नो आठौं कृति ‘भ्रमण दश दिनको’ मा टिपोटको उत्तम प्रयोग गरेको पाइन्छ । अल्छी नगरी, नविराई टिपोट गरेकै कारण उहाँको यो कृतिले उहाँ देखेका, घुमेका र आत्मसात गरेका घटना एवं दृश्यलाई शाब्दिक चित्रमा उतार्न सफल देखिनुहुन्छ ।

नयाँ ठाउँ हेर्ने, नयाँ कुरा जान्ने, सिक्ने चाहना प्राय: सबैमा हुन्छ । उहाँमा नहुने कुरै भएन । यात्रा संस्मरणात्मक यो कृति उहाँको टिपोट गर्ने बानीको सुन्दर उदाहरण बनेर प्रकाशमा आएको छ ।

उहाँकै अनुसार, उहाँ नेशनल ट्रेडिङमा कार्यरत हुँदा झण्डै एक महिना लामो चीनको भ्रमण गर्ने अवसर आएछ । त्यसका लागि उहाँले आफू कार्यरत संस्था नेसनल ट्रेडिङले चीनसँग गर्न सक्ने व्यापारका सम्बन्धमा काम लाग्ने खालको तयारी पनि गर्नुभएछ । खुट्टा तान्ने प्रवृत्तिलाई चिर्न नसक्दा उहाँको त्यो अवसर गुमेछ ।

उहाँले लेख्नुभएको छ– चीनका विषयमा सुनेकाले त्यहाँको विकासको तीब्रता, त्यहाँको मेहनती समाज आदिका सम्बन्धमा मनमा जिज्ञाशा हुनु र त्यो देश भ्रमण गर्ने चाहना धेरै अगाडिदेखि हुनु अस्वाभाविक पनि थिएन । करिब एक महिनाको भ्रमणमा विभिन्न ठाउँ देखिनुका साथै एउटा यात्रा संस्मरण पनि तयार हुने भो भनेर निकै खुसी थिएँ ।

समय हो, घुमिरहन्छ । उहाँका लागि चीन भ्रमणको दोस्रो मौका आयो। पहिले जस्तो लामो नभए पनि एउटा पुस्तक तयार हुनेछ भन्ने कुराले उहाँ उत्साहित हुनुभयो । त्यसका लागि विदेशी मुद्रा साट्ने क्रममा पाएको सास्ती लेख्न पनि उहाँले छुटाउनुभएको छैन । सात वटा बैंक चहार्नु परेछ । बैंकबाट युयान (चिनियाँ मुद्रा) साट्न सोर्स लगाउनुपरेछ । एकैछिन अगाडि छैन भनेका कर्मचारीले नै माथिल्ला कर्मचारीले सिफारिस गरेपछि चाहिँ तुरुन्तै दिएको जस्ता हाम्रो समाजका विसंगतिलाई पनि पुस्तकमा समेट्नु भएको छ ।

युयान साट्न सोर्स लगाउनुका दुई कारण होलान् भन्ने अनुमान– पहिलो हाम्रो राष्ट्रिय कोषमा विदेशी मुद्राको मौज्दात निकै कम भएको होला । दोस्रो, सम्बन्धित बैंकका कर्मचारीलगायत माथिल्ला तहकाले अतिरिक्त आय गर्न यस्तो उपाय अपनाएका होलान् । अन्यथा, नियम अनुसार पाउनु पर्ने विदेशी मुद्रका लागि सोर्स किन लगाउनुपथ्र्यो त !

उहाँको चीन यात्राको थालनी २०७३ वैशाख २७ (मे ९, २०१६) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएछ । बिहान साढे ११ उडेको एयर चाइनाको विमानले अढाई घन्टा लगाएछ काठमाडौबाट तिब्बत प्रान्तको ल्हासा पुर्‍याउन । यसबीचको उडान अवधिका दृश्य–वर्णनमध्ये मानवेतरसँगका कुराकानी रोचक छन् ।

नेपालका मनमोहक पहाडी, हिमाली एवं हरियालीपूर्ण दृश्यले उहाँको मन–चरी उन्मुक्त भएर नाचेको अवस्थिति यस पुस्तकमा पाइन्छ। ती रमाइला पहाडका माथि माथि खेलेका बादलले उहाँलाई कुत्कुत्याए छन् । त्यसैले त लेख्नुभएको छ– ‘मैले मुस्कुराउँदै भने, तिमीहरू त मेरा आफन्त हौ। तिम्रो सुन्तरता देखेर म गौरवान्वित भएँ । गर्वले शिर ठाडो पारेर पो हेरेको, आशक्त भएर हो त ! म त्यस्तो पापी छैन, जो आफन्तप्रति आशक्त होस् ।’

उहाँले बादलले पठाएका आकाशवाणी सन्देश सुन्नसमेत भ्याउनुभएछ । जहाजको उत्ताउलोपनले उहाँको ‘सातो’ गएछ । सेता र काला बुट्टे टोपी लगाएर हास्दै हेरिरहेका जस्ता हिमालसँगै मुस्कुराएको नीलो आकासको ‘अभिभावको कर्तव्य निर्वाह गरेको’ जनाउ–सन्देश पनि उहाँले पाउनुभएछ ।

हिमाच्छादित पर्वतले लस्करै उभिएर निकै प्रशन्न मुद्रामा जहाजलाई बधाई दिंदै बढाइँ गरेको अनुभूति पनि उहाँले गर्नुभएछ । हतार नगर्न पहाडले दिएका अर्ति/सल्लाह, बस्तीका शुभयात्रा–कामना उहाँका अन्तरमनले सुनेका शब्द–संयोजन प्रस्तुत कृतिमा छन् ।

‘हिमाली कालो बालुवाका जब्बर जस्ता सुख्खा ठूला पहाड देखिन थाले’, तिब्बती क्षेत्र सुरु भएको संकेतमा उहाँले देखेका दृश्य हुन् यी । नेपालको विद्युत आपूर्ति प्रणलीबाट दिक्क मानसिकतामुक्त उहाँ पो कहाँ हुनुहुन्थ्यो र! ल्हासा विमानस्थलमा झलमल बिजुली देखेर उहाँको मन ईर्षिएछ । तै कारण सोधेर मन हलुका गरौं भन्ने लागेछ । सोध्दा पाएको ‘विजुलीले हामीकहाँ आँखा चिम्लिएको थाहा छैन बरु मानिस चाहिँ हरेक रात आँखा चिम्लन्छन्’ भन्ने जबाफले उहाँलाई थप रन्थन्याएछ ।

उहाँले ल्हासामा केहीबेरमा देख्नुभएका दृश्य–वर्णन यस्ता छन्– हल्का काला पहाडवेष्ठित ल्हासा विमानस्थल र विमान बस्न सजिलो होस् भनेर पलेंटी कसेर बसेका पहाड । त्यहाँ उहाँले रुखहरूसँग संवाद गर्न पनि भ्याउनुभएछ– हैन, तिमीहरू कसैको पनि योभन्दा उचाइ बढ्दैन ?

रूपखले जवाफ दिएछन्– ‘तिम्रो जहाज बस्न सजिलो होस् भनेर हामी धेरै नअग्लिएका ।’

स्वागत गर्न नपाएकोमा पोताला दरबारले उहाँसँग गुनासो नै गरेछ । जहाजले गरेको आग्रह पनि उहाँको कृतिमा छ ।

भ्रमण : दश दिनको यस कृतिमा कृतिकारले दार्शनिकको भूमिका पनि निर्वाह गरेको पाइन्छ । उहाँ लेख्नुहुन्छ– उपकारीहरू प्राय: शान्त नै हुन्छन् नि, हैन र ? निजी स्वार्थका लागि अरूको जीवनमा दखल दिनेहरूले पो रौद्र रूप लिन्छन् ।

प्रस्तुत कृतिमा दर्शन, व्यङ्ग्य, प्रवचन, शिक्षा, अर्ति, पर्यावरणीयचेत पनि पाइन्छ । उदाङ्ग पहाडलाई सान्त्वना दिंदै भनिएको छ– ‘वनस्पति पैदा गर्ने सामथ्र्य नभएर के भो त, तिम्रा पनि त गुण छन् । सबैले पैदा गर्नुपर्छ भन्ने छैन । फेरि, पैदा गर्ने गुण भएकाले गुणी नै पैदा गर्छन् भन्ने के निश्चित छ र ! यो संसारमा बैगुनी वनस्पति पनि त छन् । बैगुनी पैदा गर्नुभन्दा पैदा नगर्नु नै बेस हैन र ? आपनो गुणमा रमाउने बानी बसाल ! पैदा गर्ने गुण पाएर तिमीबाट बैगुनी पैदा भइदिएको भए तिमी कति दु:खी हुन्थ्यौ होला, कल्पना गर त !’

हिमश्रृंखलाको वर्णनमा उहाँले प्रयोग गरेका आरिसे, झ्याप्पै, थच्चिए जस्ता शब्दले मिठास थपेका छन् ।

सिचुयान प्रान्तको राजधानी छेङ्गदुमा केहीबेर शीर्षकको अध्यायमा जहाजले गरेको बिदाइ र छेङ्गदुले गरेको स्वागतले उहाँको मन पगालेको पाइन्छ । विमानस्थलको सुरक्षा जाँचमा पुग्नुपहिले ‘बगलीमा भएको पासपोर्ट खोज्दाको सास्ती’ को वर्णन सुन्दर छ ।

उपहारका लागि लगेको खुकुरीको मिनिएचर (सूक्ष्मरूप) का कारण भोग्नुपरेको तनाव अनि ब्याट्री चार्जरसम्बन्धी निमयले उहाँको मनिङ्गल घुमाएछ ।

पाण्डा छेङ्गदुको परिचय रहेछ । संसारभरिका १५ सयमध्ये ८० प्रतिशत पाण्डा सिचुवान प्रान्तमा मात्र पाइँदा रहेछन् ।

उडानको समय नमिल्दा भोकले सताएको, जहाजको उलाहना/आश्वासन पनि कृतिमा राम्रैसँग प्रस्तुत छन् ।

भ्रमणका क्रममा उहाँले घुमेका र त्यहाँ देखिएका दृश्य, समाज, पूर्वाधार, संग्रहालय, व्यापारको सुन्दर वर्णन गर्न भ्याउनुभएको छ । गुइझाउ प्रान्तको गुइयाङ पुगेको, गुइझाउ लाई चिनियाँहरूले क्विचो भन्ने गरेको जस्ता जानकारी जिज्ञासु पाठकका लागि उपयोगी छन् ।

चुई पनि भनिने जुन्यी सहर चीनको उत्कृष्ठ पर्यटकीय सहरको रूपमा सम्मानित रहेको, त्यहाँ निर्माण गरिएका सुरुङ, दुई वटा डाँडा जोड्ने लामो पुल र त्यहाँ रहेको रेलको लिकले उहाँको मन तानेछन् ।

चुईको परिचयमा माउताई मदिराको सहर पनि रहेछ । माउताईमा सन् १९३५ मा चिनियाँ कम्युनिष्ट पार्टीले सम्मेलन गरेको रहेछ । लामो अभियान ‘लङ मार्च’ मिटिङ चलिरहेका बेला मिटिग छाडेर सैनिक कमाण्ड आफ्नो हातमा लिई माओ कम्यनिस्ट पार्टीको नेता भएका, उनी त्यतिबेलासम्म पार्टीको मुखपत्र ‘रेड स्टार’ को सचिव र प्रमुख सम्पादक रहेका जानकारी पनि कृतिकार पौडेलले दिनुभएको छ ।

पहाड भत्काएर बाटो बनाउँदा प्राकृतिक सौन्दर्य नासिने, भूक्ष्यको बढ्दो सम्भावना रहने र त्यसका कारण वर्षमा हरेक वर्ष पहिरो गएर बाटो अवरुद्ध भई पुन:निर्माणको खर्च व्यहोरिरहनु पर्ने भएकाले पहाडमा सुरुगमार्ग बनाइने गरेको त्यहँको बन्दोबस्तबारेको जानकारी पनि उहाँले दिनुभएको छ । यो देखेका नेपाली राजनीतिक दलका नेताका साथै योजनाकारको मगजमा यस्ता कुरा कहिले घुस्छ होला ? भन्ने प्रश्न उहाँको छ ।

‘संस्कृति भनेको राष्ट्रको सम्पदा हो’ भन्ने भावना, बाह्र कक्षासम्म अनिवार्य शिक्षा, पेसागत शिक्षालाई उचित ध्यान, थोरै जनसंख्या भएका केही गाउँ समेटेर आवाशीय विद्यालय सञ्चालन, किसानसँग सल्लाह गरेर उनीहरूको मिलोमतोमा सरकारले खडागरेका कम्पनीहरूले माटो, हावापानी सुहाउँदा खेती, जग्गावालाले चाहेमा तिनमा तलबीरूपमा काम गर्न पाउने प्रबन्ध पनि उहाँको कृतिमा समेटिएका छन् ।

दस किलोमिटर लामो पाइपबाट मल कारखानाबाट उत्पन्न फोहोरको उचित व्यवस्थापन, सन् १९३५ मा कम्युनिष्टहरूको ऐतिहासिक सम्मेलन भएको ठाउँ, त्यहाँ झुण्याइएको माओको कोट, टेबलमा राखिएको लालटिन, त्यहाँ पुग्दा लालसेनाले एक वर्ष नौ दिन हिडेर २५ हजार किलोमिटर यात्रा तय गरेका उहाँले दिएका जानकारी हुन् ।

चुई सम्मेलनको ८० औ वार्षिक समारोह, त्यतिबेलाका दुई जनामात्र जीवितको सहभागिता, चुई सम्मेलन भवन, १९३० को दसकमा काठ र इँटले बनेको दुई तले बाल हुइझाङको निजी घरको वर्णन छ ।

माओको सैनिक सिद्धान्त पारित भएको, माओ, चाउ एन लाई र वाङ जियासियाङको नेतृत्वमा केन्द्रीय नियन्त्रण समूह निर्माण गरिएको जानकारी पनि उहाँले दिनुभएको छ । गुइझाउ प्रान्तको माउताई जिल्लामा किङ राजवंशको युगमा माउताइ चीनको ठूलो परिमाणममा उत्पादन हुने मदिरा रहेछ । त्यसले सरकारलाई वार्षिक २० अर्ब युयान नाफा दिने गरेको रहेछ ।

जिआन्सु प्रान्तको राजधानी नाञ्जिङ याङ्सी नदी पर्दोरहेछ । तेस्रोदेखि बीसौं शताब्दीसम्म विभिन्न राजवंश तथा गणतन्त्रीय सरकारको राजधानी सहर नाञ्जिङका जङ्लले साउती गरेछन् । सुरुङले कानमा फुसफुसाएछ ।

कृतिकार पौडेलले हुइयान सहरमा रहेको चीनका पहिलो प्रधानमन्त्री चाउ एनलाईको जन्मघर हेर्न भ्याउनुभएछ । त्यसैगरी जिआङसु प्रदेशको साण्डोङ प्रान्तको कुफू सहरमा रहेको कन्फुसियसको मन्दिरका विशाल खुला ढोकाले मुस्कुराउँदै भनेछन्– स्वागत छ प्रिय पाहुनाहरू !

मानवनिर्मित व्ष्लन ज्बलन नदीबाट विश्वको सबैभन्दा लामो (१७७६ किलोमिटर) नहर वा कृत्रिम नदी बेइजिङबाट हाङझाउ प्रान्तसम्म जलपारवहनका लागि सोङराज वंशको पालामा बनेको रहेछ ।

भ्रमण टोलीका सदस्यले समय पालनामा ध्यान नदिएको, कुफू सहरको ष्लिभकजगष् एयरपोर्टबाट बेइजिङबीचमा पर्ने वन जंगलले मन हरेको, नेपालका वनको अवस्था सम्झेर ग्लानी भएको उहाँले लेख्नुभएको छ ।

अक्वारियम (जलजीवालय) मा रहेका सील जातको जीवका अविश्वसनीय करतबले उहाँलाई भावुक बनाएछ । उहाँका मनमा प्रश्न उठछ— ‘यस्तो प्राणीलाई त मानिसले तालिम दिएर भने जस्तो गराउन सक्छन् भने चेतनशील प्राणीमा गनिने हाम्रा केही नेतालाई सुशासन र राष्ट्रविकास कसरी गर्न सकिन्छ भनेर तालिम दिन किन नसकेको होला ? हामीसँग त्यस्तो तालिम दिने योग्य मानिस नै नभएको हो कि या त नेताहरू कुकुरको पुच्छर झै कहिल्यै सोझिन नसक्ने भएर हो ?’

माओ जेडोङ संग्रहालय, त्यानमेन चोक (स्वर्गीय शान्तिको द्वार पनि भनिदोरहेछ) मिङ वंशको शासनकाल सन् १४१५ बनेको, एकै पटक ६ लाख मानिस अट्ने, माओले सन् १९४९ अक्टोबर १ मा त्यहीँबाट चीन जनवादी गणतन्त्र भएको घोषणा गरेको, माओको स्मारक, माओको पार्थिव शरीर उभिएर हेर्न, फोटो खिच्न नपाइने, माओको शव सुतिराखेको जीवित मानिसको जस्तो, अनुहारमा कता कता ग्लानी र छाला बढी खुम्चिएको जस्तो लागेको वर्णन उहाले गनुभएको छ ।

ग्रेटवालका साथै ६०० वर्ष अर्थात सन् १४१६ मिङ राजवंश कालदेखिको हाँसका परिकारका लागि प्रशिद्ध रेष्टुराँको भ्रमण उहाँका स्मरणमा परेका छन् । किनमेल गर्दा ८० प्रतिशतसम्म मोल घटाउनु पर्ने सुझाव उहाँको छ ।

नेपालको रुपियाँ र पैसा भने जस्तो युयान र जिआओ दुई स्तरका मुद्रा रहेका तर हाम्रो सय पैसाको एक रुपियाँ भए जस्तो होइन त्यहाँ त दस जिआओ बराबर एक युयान हुनेरहेछ भन्ने जानकारी पनि उहाँले दिनुभएको छ ।

शिल्पकार (आर्किटेक्ट) बलबाहु (अरनिको) को जन्म सन् १२४४ मा भएको, त्यतिबेला भीमदेव मल्लको शासनकाल रहेको जानकारी दिंदै चीनका बादशाह कुब्लाइ खानले मुर्ति बनाइदिन केही शिल्पी पठाइदिन नेपाललाई अनुरोध गरेका रहेछन् । १२६० मा १६ वर्षे बलबाहुको नेतृत्व एउटा टोली गएछ । बादशाहले आफ्नी छोरीसँग विवाह गराइदिनुका साथै निर्माणमन्त्री बनाएका रहेछन् । त्यसै क्रममा ह्वाइट प्यागोडा टेम्पल बनाएर अरनिकोले ‘क्षमता छ भने मान्छे देवता बन्नसक्छ’ भन्ने सन्देश दिएको उहाँलाई लागेछ ।

यसरी राजनीतिक र दौत्यसम्बन्ध, बेइजिङबाट छेङदु एयरपोर्ट हुँदै काठमाडौँ उत्रँदासम्मको वर्णन उहाँको प्रस्तुत कृतिमा पाइन्छ । निष्कर्षका रूपमा ‘एक अर्ब सैतिस करोडभन्दा बढी जनसंख्या र ४४ वटा प्रान्त रहेको चीनसँग हाम्रो (नेपालको) सम्बन्ध कूटनीतिक हैन भाइचारापूर्ण (कमरेडली) हुनुपर्छ’ भन्ने सुझाव उहाँको छ।

पुस्तकमा तस्बिरहरूका साथै भ्रमणकै क्रममा लेखेर सुनाएको कवितालाई पनि समावेश गरिएको छ ।

लेखक सुनिलकुमार पौडेलको यो कृति ‘हलुवा’ जत्तिकै छ । यद्यपि व्याकरणगत एवं शब्द चयनमा नजानिंदो गरी ‘बालुवा’ छन् । जोडेर लेख्नेगरिएको ‘परि स्थिति’ छुट्याएर लेखिनुलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ ।

‘मैले पनि आफ्नी स्वास्नीलाई एउटा घडी किनिदिएँ’ भनिएको छ। लैङ्गिक दृष्टिमा यहाँ प्रयोग भएका केटी जस्ता शब्दका त्यति उपयुक्त मानिंदैन। त्यसैगरी, किनिदिएँ भन्ने वाक्यखण्डले सम्मानजनक अर्थ बोक्छ र भन्ने प्रश्न उठ्न सक्छ ।

‘हैन, के लाटाले हेरेजस्तो हेरिरहेको !’ भन्ने वाक्यमा परेको शब्दले अपाङ्गता भएका व्यक्तिहरूलाई आहत गर्न सक्छ ।

खाजालाई अरनीसमेत भनेर उहाँले ठेट शब्दको सुन्दर प्रयोगसमेत गर्नुभएको छ भने ‘पार्टीको तर्फबाट हाम्रा टोली प्रमुखले उपहार दिनुभयो र उनले पनि उपहार दिइन्’ भन्ने वाक्यमा आदरार्थीको प्रयोग मिलेको छैन ।

यति भनिरहँदा उहाँको आलोचन भयो कि भन्ने पनि लागेको छ । तर, यस कृति र यस्ता कृतिका माध्यमबाट कम्तीमा देखेका, भोगेका कुराको टिपोट गर्ने काम चाहिँ भएको छ, जुन भावी पुस्ताका लागि उपयोगी धन प्रमाणित हुनसक्छन् ।

उपमा, रूपक आदि साहित्यिक अलङ्कारले यसो पुस्तक सजिएको छ । ‘पुस्तकमा रहेको विद्या र अर्काको हातमा परेको धन आवश्यक परेको बेलामा कुनै पनि काममा नआउने’ भन्ने पूर्वीय मान्यताविपरीतको यो संस्मरण–कार्य सराहनीय भने छ नै । यसबाट धेरै कुराको जानकारी पाउन सकिन्छ ।

Facebook Comments