प्याज र आलुमा भ्याट, गरिब जनता फ्याट-फ्याट
हौ बुढा ! के समाजवादको गफ चुटेर बस्छौ ! जाउ आलु र प्याज किनेर ल्याउ । मैले त किन्न सकिन । तिम्रो प्रधानमन्त्री र अर्थ मन्त्रीले आलु, प्याज, फलफूल, दूध र दैनिक उपभोग्य वस्तुमा भ्याट र कर लगाएर धमाधम समाजवाद ओसार्दै छन् रे ! तिम्रो महान अध्यक्ष प्रधानमन्त्री प्रचन्नले जनताको भलो हुने बाहेक कुभलो हुने काम गर्दैनन् भनेेको होइन ! जुत्ताको तलुवासमेत खाए अरे । जुत्ताको तलुवामा कर र भ्याट ठोकेछन् । अनि विकास बजेटको ५१ प्रतिशत प्रचन्न, देउवा, अर्थमन्त्री महत र भौतिक निर्माण मन्त्रीका जिल्लामा जाकेछन् । अब खाउ आलु र प्याज ! भन्ने बेलामा जनतालाई राहात पुग्ने बजेट भन्ने गर्ने बेलामा जनतालाई गेरु वस्त्र पहिराएर कमण्डलुसहित उज्जैनको महाकालेश्वर मन्दिर पठाउने ?
राम्रो काम गरि बक्से छ हाम्रो काम्रेस प्रचन्नले ! जनताका लागि यिनैले गर्छन् भन्ने अब किलोर भयो । कम्युनिस्ट प्रधानमन्त्रीहरू मध्य मनमोहनको नाम बृद्ध भत्तातिर हाम्रो प्रचन्नको काम कर, भ्याट र सत्तातिर । म त प्रधानमन्त्री र अर्थमन्त्रीलाई केही भन्दिन । छिछिमिराको प्वाँख पलाएको अवस्था जो छ । समाजवाद यिनार्ले नेपालमै ल्याएर थेचार्ने भए । केही दिन अघिसम्म माधव नेपाल ` यो बजेट पारित गर्दैनौं सरकार ढले ढल्छ´ भनेर जाँड धोकेको बाहुन जस्तो परक्क बटनरिदै थिए । बुधबारको दिन हाम्रो प्रचन्नले बोलाएर माधवको कानमा फास्स र फुस्स गरेका थिए, ए बाबा हो अघिल्लो दिन आफैले बोलेको कुरो बिर्सेर `यतिको राम्रो बजेट अहिलेसम्म कोसैले ल्याम्न सकेको थिएन छ´ पो भनिदिए । बोलीको ठेगान मरु अब कसो गरुँ भनेको यही हो ।
तिम्रा नेताहर्ले गर्ने नै यही हो । ´हाम्रो प्रचन्न काम्रेसले जनताका लागि विछट्टै राम्रो गर्छन्´ भन्ने तिमी नै होइन ? देख्यौं होला नि निमुखा जनताले खाने प्याज र आलुमा भ्याट लगाएर जनतालाई विछट्टै राम्रो गरेको ! हैन हाउ बुद्धि पनि इन्डियाबाटै ल्याम्छन कि क्या हो ? भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले सातो खाए भन्थे, यता आएर गरिबको खान्गीमा आगो लाए । अहिले प्रचन्न जोडतोडले समाजवादी मोर्चा बनाम्न भिडेका छन् । अर्को चुनापलाई सुरक्षित बनाम्न खोजेका होलान तर, ढोडको बार हुने निश्चित छ । अब त `कहाँ जान्छस् हराउने, बिलाउनेको फेद´ भने जस्तै हो । होइन भारत गएर केके न ल्याए भन्थे भरे घनश्याम भुसालले ७ वर्ष अघि भारतसँग माग्देको राँगो बोकार पठाई देछ ।
बढी गफ नगर झुम्री ! हाम्रो नेतोहरूले गेरु वस्त्र लगायो भन्दैमा जोगी बन्छ भन्ने कसैले नठाने हुन्छ । सत्तामा पुग्नु भनेकै जनता मारेर होस् कि राष्ट्र बेचेर होस् पैस कमाउनु हो भन्ने कुरा हाम्रो प्रचन्नले राम्ररी बुझेका छन् । अहिले `उल्फाको धन फुपुको सराद्धे´ त्यसै गरिराखेका छैनन् । अर्कोपटक `नो चान्स्´ भन्ने हाम्रो विश्वको एक मात्र सर्व आहनरावादी नेताले बुझी सकेका छन् । आए आँप, गए झटारो, दिल्लीले जता घुमायो उतै शरीर लतारो । अब २०८४ को चुनाउपछि हाम्रा काम्रेसहर्ले देख्नेछन् तिरिमिरी झ्याइँ, सम्झिनेछन् अहिले गरेको रझाइँ ।
होइन ख्याल ख्यालमा लेलिन विष्ट भन्नेले प्रचन्न काम्रेसलाई मुद्दा हाल्यो अरे, दर्ता पनि भयो अरे भन्ने हल्ला पो छ त । तल पुच्छार घरे कान्छो र भिरघरे कुरो गर्दै थिए । पुच्छारघरे चाहिँ युरोप, अम्रिकातिर यस्तो मुद्दा लागेकालाई सरासरी अर्को लोकतिर पठाम्छ छ भन्दै थ्यो । भिरघरे चाहिँ क्यान्टेमेन्ट काण्ड र बाल सैनिक भर्ति काण्डले माउवादीका सर्वआरावादी नेताले भविष्यमा धेरै दुख पाउने निश्चित छ भनेर ठोकुवा गर्दै थ्यो । त्यसबेला प्रचन्न र महरा जस्ता ठूला नेताले क्यान्टोनमेन्टमा दन भनेर सरखारसँग आफै सहीछाप गरेर पैसा बुझ्नै नहुने !
ए ! त्यस्ता नाथे कागज अहिले आफ्नो सरखार भा बेला हाम्रा काम्रेसहर्ले फायलका फायल डढाइ सके होला ! हाम्रो धनार्जन काम्रेसले गत वर्षको बजेट बनाम्दा व्यापारीलाई राखेर उस्कै इच्छाअनुसार बजेट निर्माण गरे । बाहिरियालाई ल्याएर बजेट बनाको सप्पैले थाहा पाए, हल्ला भयो । हल्ला सुनेपछि हाम्रो धनार्जनले सीसी क्यामराको फुटेज र तारसमेत ध्वस्त बनाएर `मुसाले खायो´ भनिदिए । त्यस्तो खालको चोर दिमाख हाम्रो सप्पै काम्रेससँग छ । यो महानता र दिमाख बारम्बार प्रयोग गर्ने ठाममा हाम्रा काम्रेसहरू विराजमान छन् । आत्तिनु पर्ने अवस्था छदैछैन् ।
२०८४ पछि तिम्रा काम्रेसहरू जेलमा हुन्छन् र सम्पत्ति पनि जफत हुन्छ । विदेश जान पनि यिनारू पाम्दैनन् । धेरै टाढा भनेको आफ्नै मालिकको शरण दिल्लीमा । यता नौं अरब काण्ड र बाल सैनिक भर्ती मुद्दाले समाप्त उता विदेशीको लात । अवस्था सोचनीय छ, भविष्य धुमिल छ, वर्तमान भोगविलास र सुखमय छ । यस्तै छ हाम्रो माउवादी काम्रेसहर्को जिन्दगानी ।