दुरा इतिहास र संस्कृति बोल्ने कृति
देशका अन्य अल्पसंख्यक समुदायसँगै सांस्कृतिक सङ्क्रमणबाट गुज्रिरहेको बेलामा दुरा समुदायको इतिहास र संस्कृतिलाई समेटेर एउटा खोजमूलक कृति आएको छ। ‘दुरा इतिहास र संस्कृति’ शीर्षकमा नवप्रकाशित कृतिले लमजुङको दुराडाँडा क्षेत्र मूल थातथलो मानिएको दुरा समुदायको ऐतिहासिक तथा सांस्कृतिक पक्षबारे वर्णनात्मक तथा विश्लेषणात्मक विवरण पस्केको छ। कृतिले दुरा समुदायको राम्रो चिनारी दिने काम गरेको छ। सिद्धहस्त लेखक, प्राध्यापन तथा शोधकार्यमा संलग्न यमबहादुर दुराले कृति तयार पार्नुभएको हो।
कृति कुल १२ अध्यायमा विभक्त छन्। त्यसमा संक्षिप्त इतिहास र परिचय, दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननाम, अमूर्त सांस्कृतिक सम्पदा, विश्वास प्रणाली, लोकजीवन, चाडपर्व तथा उत्सव, खाद्य संस्कृति, परम्परागत ओखतीमूलो, पूजाआजा, जन्म संस्कार, विवाह पद्धति र मृत्यु संस्कारलाई विस्तृत रूपमा समेटिएको छ। परिचय खण्डमा इतिहास, थातथलो, जनसंख्या भाषिक पक्ष एवम् भेषभूषालबारे रोचक र महत्त्वपूर्ण जानकारी समेटिएको छ। कृतिमा रहेका सामग्रीले दुरा समुदायबारे हालसम्म बाहिर नआएका जानकारीलाई सरसपूर्ण तरिकाले पाठकसमक्ष प्रस्तुत गर्ने काम गरेको छ।
कृतिमा आँखा दौडाइरहँदा समाज भोगवादी र व्यक्तिवादी प्रवृत्तिको शिकार बन्दै गएको अभिशप्त यस समयमा पनि दुरा समुदायमा सामूहिकताको भावना दुरा समुदायमा बाँचिरहेको छ भन्ने प्रतीत हुन्छ। यद्यपि, समयको परिवर्तनकामी झोक्काले दुरा समुदायमा पनि सामूहिक जीवनशैली कमजोर बनाउँदै लगेको हुन सक्छ। तर पनि, दुरा समुदायमा विद्यमान मेलापर्मदेखि हारगुहारम्मका सामूहिकता झल्कने जीवनशैलीले व्यक्तिवादी प्रवृत्तिलाई मुक भाषामा जवाफ दिइरहेको प्रतीत हुन्छ।
कृतिमा दुरा समुदायमा विद्यमान इन्द्रधनुषी लोकसंस्कतिको मीठो वर्णन गरिएको छ। दुरा समुदायको जीवनशैलीलाई चित्रण गर्ने क्रममा माइती राख्ने, सियो राख्ने, लोबारे खाने, रोदी बस्ने, माया विचार्ने, चियाँ हेर्नेजस्ता अनौठो सांस्कृतिक रीतभाँत छताछुल्ल भेटिन्छन्। यस्ता सांस्कृतिक रीतभाँतलाई जनाउने शब्दको अर्थ बुझाउन अनुसूची खण्डमा पारिभाषिक शब्दावलीसमेत दिइएको छ, जसले सन्दर्भ र प्रसङ्ग बुझाउने सहयोग गर्छ।
कृतिमा दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननामबारे पनि खोजमूलक सामग्री छ। कुनै समयमा दुरा समुदायको बसोबास भएको तर अहिले बिरानो बन्ने क्रममा रहेका स्थाननामबारे रोचक र दुर्लभ प्रकृतिका जानकारी ग्रहण गर्न पाउँदा आनन्दानुभूति हुन्छ। सँगसँगै, ती स्थानहरूको भ्रमण गर्ने चाहना जाग्छ। दुरा थोक, दुरा गाउँ, शिखा–घार, दुरा टहरा, दुराबारी, दुराको बोट आदि ठाउँका बारेमा हालसम्म बाहिर नआएका जानकारी पस्किने काम भएको छ।
कृतिमा दुरा समुदायमा प्रचलित परम्परागत ओखतीमूलो तथा उपचार पद्धतिबारे पनि प्रकाश पारिएको छ। कृतिमा वर्णित स्थानीय जडीबुटी र उपचार पद्धतिले हाल ओझेलमा पर्दै गएका हाम्रा अमूल्य औषधि–सम्पदाबारे सम्झना आउँछ। हालका दिनमा मूल्यहीन बन्दै स्थानीय जडीबुटी र उपचार पद्धतिलाई पुनः फर्काउन सकिने हो भने औषधोपचारका नाममा निजी अस्पताल तथा नर्सिङ होमहरूले सञ्चालन गर्ने असुलीधन्दा सामु एउटा मीठो दृष्टान्त बन्न सक्ने थियो भन्ने कल्पना मनमा आउँछ।
नवप्रकाशित पुस्तकका कृतिकार यमबहादुर दुराले दुरा समुदायको इतिहास र संस्कृतिलाई द्रष्टा र भोक्ता दुवै रूपमा चित्रण गर्नुभएको छ। पुस्तकले दुरा समुदायबारे आएका भ्रामक विवरणलाई एक हदसम्म चिर्ने काम पनि गरेको छ। एउटा दृष्टान्त हेरौँ। भारतमा मुसलमान आक्रमण भएपछि राजस्थानस्थित चित्तौडगढबाट राजपूत रमणी र तिनका नोकर भागेर नेपाल आए। तिनै राजपूत रमणी र तिनका नोकर बीचको संसर्गबाट दुरा जातिको उत्पत्ति भएको भन्ने अपमानजनक भनाइ कसै कसैले अघि सारेका छन्। बिना ऐतिहासिक आधार तथा प्रमाण अघि सारिएका यस्ता भाष्यलाई विभिन्न ऐतिहासिक साक्ष्य तथा प्रमाणका आधारमा खण्डन गरिको छ। यसैगरी, दुरा समुदायको सांस्कृतिक पक्षबारे कतिपय लेखकले अज्ञानवश तथा भूलवश पस्केका भ्रामक जानकारीलाई उचित तर्क र प्रमाणका आधारमा निस्तेज गर्ने प्रयास गरिएको छ।
कृतिमा प्रयोग भएका सूचनाको स्रोतलाई शोधविधि अनुसार उद्धरण गर्ने प्रयास गरिएको छ। प्राज्ञिक लेखनविधिलाई अनुसरण गर्दै सन्दर्भ सामग्री र अनुक्रमणिका राखिएको छ। त्यतिमात्र होइन, विभिन्न अध्यायमा रहेका विषयवस्तुहरूबीच समन्वय कामय गर्न ‘क्रस रिफरेन्स’ तथा अनुसूची राखिएको छ। अर्को कुरा, आवश्यकता अनुसार मौखिक स्रोत पनि प्रयोग गरिएको छ। कृतिकार दुरा समुदायकै व्यक्ति भएकाले आफ्नो समुदायमा हुर्कँदा बढ्दा प्रत्यक्ष रूपमा देखे–भोगेका सांस्कृतिक जीवनका पाटाहरूलाई सिलसिलाबद्ध किसिमले प्रस्तुत गरिएको छ।
कृतिकारको शोधकर्म र लेखनकर्म भविष्यमा अझ सशक्त बनोस् भन्ने अभिप्रायले केही सुझाव दिन सकिने ठाउँ छ। सरकारले स्वीकारे पनि अस्वीकार गरे पनि दुरा समुदाय पहिचानको सङ्कट भोगिरहेको अल्पसंख्यक समुदाय हो। यस्तो पीडादायी अवस्थामा कृतिकारले अल्पसंख्यक दुरा समुदायको सङ्कटापन्न हक–अधिकारलाई यथार्थ धरातलमा स्थापित गर्न विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय दृष्टान्तहरू पेश गर्न सकेको भए पुस्तकको प्रभाव अझ बढी हुनुका साथै अन्य अल्पसंख्यक समुदायलाई पनि सहयोग पुग्ने थियो।
नेपालका अल्पसंख्यक जनजातिमध्ये एक मानिने दुरा समुदाय पहिचानको सङ्कट भोग्दै आएको समुदाय हो। दुरा भाषा हराउने अवस्थामा छ। दुरा समुदायको जनसंख्या घट्दो क्रममा रहेको देखिन्छ। अवसरको खोजीमा शहर झर्ने तथा विदेश धाउने राष्ट्रिय प्रवृत्तिले पनि दुरा समुदायलाई राम्र्रैसँग गाँजेको छ। उनीहरूको मौलिक बासस्थान तीव्र गतिमा रित्तिने क्रम जारी छ। विदेशी संस्कृति र शहरी चालचलले दुरा संस्कृतिलाई सङ्क्रमित तुल्याउँदै गएको छ। परिणामस्वरूप, अल्पसंख्यक दुरा समुदायको मौलिक संस्कृति चौतर्फी सङ्क्रमणबाट गुज्रिँदै गएको छ।
हालका दिनमा दुराहरूको संख्या पाँच हजारको हाराहारीमा छ। यद्यपि, विगतमा उनीहरूको जनसंख्या लगभग १० हजार थियो भन्ने भनाइ पुराना सन्दर्भ सामग्रीहरूमा भेटिन्छ। २०५८ सालको राष्ट्रिय जनगणना अनुसार दुराहरूको देशभरको कुल जनसंख्या ५ हजार १ सय ६९ रहेको छ। २०६८ सालको राष्ट्रिय जनगणना अनुसार दुराहरूको ५ हजार ३ सय ९४ रहेको छ।
दुरा समुदायको छाता सङ्गठन ‘दुरा सेवा समाज’ ले २०५४ सालमा गरेको एक अध्ययन अनुसार दुराहरूको कुल जनसंख्या ५ हजार ६ सय ७६ रहेको छ। सोही अध्ययन अनुसार दुराहरूको कुल जनसंख्यामध्ये लमजुङमा ७२ प्रतिशत, तनहूँमा १६ प्रतिशत, चितवनमा ६ प्रतिशत, कास्कीमा ३ प्रतिशत र अन्य जिल्लामा ३ प्रतिशत रहेका छन्।
प्रस्तुत कृतिले लोपोन्मुख दुरा समुदायको गहन परिचय प्रस्तुत गरेको छ। नेपालको जातीय विविधताबारे अध्ययन गर्न चाहने जोकोहीलाई यो कृति उपयोगी हुनेछ। त्यसमा पनि समाजशास्त्र तथा मानवशास्त्रका अध्येता तथा विद्यार्थीका लागि कृति गतिलो सन्दर्भ सामग्री बन्नेछ। अन्त्यमा कृतिकारले नेपालका अल्पसंख्यक दुरा समुदायको इतिहास र संस्कृतिको अभिलेखीकरण गरी सिङ्गो राष्ट्र र नेपाली समाज अतुलनीय गुन लगाउनु भएको छ। लेखक यमबहादुर दुरालाई बधाई तथा शुभकामना!