डा. हेमराज काफ्लेका दुई कविता
कविता
पालो पर्खाइ
परिवर्तन आउँछ जसोतसो
अनि इतिहासको नाममा
सदाका लागि छोडेर जान्छ
केही खुसी, केही पिडा
त्यो हुन्छ हुरीपछिको सन्नाटाजस्तो
बाढीपछिको कोलाहल जस्तो
अशक्तहरू छटपटाउँछन् थलिन्छन्
शक्तहरू भग्नावशेषमा रुमलिन्छन्
सन्नाटा रहँदैन घटनाविहीन
मौका नपाएर नबोलिएका गाली
आदेश नआएर नचलेका गोली
पर्खेर बस्छन् आफ्नो पालो
…
मेरो चुनौती
खुलेको आकाशमा झिलमिलाउने तारा
नखुलेको आकाशका धमिलो बादलका धब्बा
त्यतैबाट तप्किने झरी र झम्टिने चट्याङ
झरीमा रुझेका रूख र बुट्यान
रूख-बुट्यानमा बास बस्ने पन्छी र किरा-फट्यांग्रा,
हमेशा भन्छन् मलाई —
हेर् मनुष्य,
आफैँसँग डराइस् भने
हामीसँग पनि तँ सुरक्षित छैनस्,
सक्छस् भने बेलैमा बनाएर देखाइ दे बरू
मानसिक अतिक्रमण छेक्ने मुकुण्डो
बौद्धिक संक्रमण पखाल्ने झोल !