भाउ
चट्याङ-प्रहार
गणतान्त्रिक संबिधान मैले जोखें
झन्डै दुईसय ग्राम भयो
किन्नेलाई बेच्न खोजेको जम्मा दुई रुपियाँ दियो।
मैले भनें –
थाहा छ, कस्तो किताब हो यो?
सत्र हजार सहिदको इच्छा पत्र हो यो
लाखौँ टुहुरा, बिधवा र सुकुम्बासीको सपना हो यो
छ सय बढी जनप्रतिनिधिहरुको चेतनाको शिखर हो यो
देशको खरबौँ रुपियाँको तमसुक हो यो
चार दसक देशको भविष्य हराएको उजुरी हो यो
कत्राकत्रा सिद्धान्त छन् यसमा, जनताको कमाई हो यो
समावेशी र समानताको पर्दा हो यो
इमान, लाज र धर्मको कात्रो हो यो
कर्तव्यको चिहान हो यो
फट्याइँको मन्दिर हो यो
यस्तो महत्त्वको किताबको जम्मा दुई रुपियाँ दियो?
उसले भन्यो –
अरे साहु जी, यसको काम त सकिसक्यो
यसबाट हुने फाइदा लेख्नेहरूले नै लिइसक्यो
बचेखुचेको जति रस थ्यो त्यो पछिका नेता सबले चुसिसक्यो
छोक्रा जति बाँकी थ्यो ऊ अदालतले चबाइसक्यो
अब आठ आनाको चना नअट्ने छ पाना
तै पनि मैले दुई रुपियाँ त दिइसक्यो !
बरु मेरो सल्लाह मान्नुहोस् साहुजी –
अब अर्को नयाँ संबिधान बनाउनुहोस्
गोरखापत्रको भन्दा चौडा कागजमा छपाउनुहोस्
बिचार, कुविचार सब लेखेर किताब मोटो बनाउनुहोस्
संविधानको रस कसरी चुस्ने सिक्नु र सिकाउनुहोस्
जब सबैले त्यसको रस चुसिसक्छ अनि मलाई बोलाउनुहोस्
म किलोको भाउमा जोखेर लैजाउँला हजुर
त्यसबाट म पनि अलिकति कमाउँला
तपाई पनि संबिधान बेचेरै खूब कमाउनुहोस !
मलाई उसको सुझाव ठिकै लाग्यो र सोच्दै छु
अब अर्को नयाँ संबिधान बनाउने निहुँ खोज्दै छु !