नर्सिङ शिक्षा र सेवामा भइरहेको अत्याचार कहिलेसम्म क्षम्य हुने?
एउटा यस्तो पेशा छ जसले मानिसलाई मन भित्रका सबै पीडा दबाएर भए पनि मुस्कानका साथ मानव सेवामा समर्पित गराउँछ। मानवीय संवेदना पहिचान गरी त्यही अनुरूप सेवा स्वास्थ्य क्षेत्रमा प्रदान गराउने गर्दछ। स्वास्थ्य ग्राहीहरुको सत प्रतिशत सुरक्षाको प्रतिभुति दिनु आफ्नो पेशाको प्रथम कर्तव्य ठान्दछ। तर नेपालको सन्दर्भमा यो पेशा यति शोषणमा, दमनमा पारिएको छ, यसको मापन गर्ने सूचकाङ्क पनि नाप्न आएमा आफैं लज्जित भै फर्किने छ।
आफ्नो कार्य दायरा, आफू भित्र भएको क्षमता आफुलाई नै थाहा नहुने! अरूले सम्झाई दिनु पर्ने! आज कहाँ कुन नर्सिङ कलेज घाटामा गएको छ? शोषण हुँदा पनि कुन कलेजका विद्यार्थीहरू कलेज व्यवस्थापन बिरुद्ध उत्रन सकेका छन? कुन कलेजका शिक्षकले विद्यार्थीहरूको मद्दत लिएर कलेज व्यवस्थापक बिरुद्ध खनिएका छन्? केही कलेजहरुले नर्सिङ शिक्षकलाई विगत चैत्र महिनादेखि तलब दिएका छैनन्, कतिले आधामात्र तलव दिएका छन्। तर पनि नर्सिङ शिक्षकहरु विरुद्धमा बोल्न सक्तैनन ।
नर्सिङ पेशाले अरुहरुको बहुआयामिक क्षेत्रलाई सम्बोधन गर्दै, जन्मदेखि मृत्युसम्म हुने हरेक परिवर्तनको सुक्ष्म अध्ययन गरी नर्सिङ सेवाको मापदण्ड निर्धारण गर्दछ । सबैलाई नर्सिङ पेशाकर्मीलाई नर्सिङ प्रक्रियामा समाहित गर्दै अन्तर्राष्ट्रिय नर्सिङ परिषद्को मान्यता सहित विश्वभर एकरूपताका साथ नर्सिङ अभ्यास कायम गरी सेवा प्रदान गर्ने गर्दछ।
तर हाम्रो देशमा अस्पताल धेरै छन्, धेरै नै नाम चलेका मुनाफा कमाएका अस्पतालहरूमा यो पेशा दयनीय अवस्थामा छ। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ तर त्यहाँ यस पेशाको सचिव स्तरको प्रतिनिधित्व गर्ने व्यवस्था छैन, राज्यभरीमा स्वाथ्यकर्मीको ५१ प्रतिशत वा त्यो भन्दा बढी यस पेशामा समर्पित भै नर्सहरु कार्यरत छन् तर सचिव स्तरको एक व्यक्ति पनि यस पेशाबाट छैनन्। आखिर किन त?
यो कुरा लेख्नु यसकारण जरुरी भयो, यहाँधेरै मन्त्री, सचिवहरु आए, गए, देखिए, भोगिए तर कसैले पनि यो पेशालाई सम्मान दिएको पाइएन । यो दुर्भाग्यपूर्ण यथार्थ हो ।
मैले यो पेशा विशुद्ध मानव सेवामा समर्पित, कोरोना जस्तो अति महाभय महामारीमा समेत अति साहसका साथ अग्रपंक्तिमा खटिने नर्सहरुको कुरा गर्दै छु। नर्सहरूलाई बजारमा गुण्डाले हप्ता असुल्न प्रयोजन गर्ने स्वाँठको रुपमा झै निजी अस्पताल र मेडिकल कलेजहरूले प्रयोजनमा ल्याएका छन्। अनौठो कुरा त के छ भने यस विषयमा सबै सरोकारवालाहरु चुप भएर बसेका छन्।
अहिले निजी अस्पतालका मेट्रोन अथवा नर्सिङ प्रशासकको काम भनेको जूनियर नर्सहरुको आर्थिक, मानसिक, सामाजिक र शारीरिक शोषण गर्नु, अस्पताल प्रशासनको मतियार बन्नु।
नर्सिङ कलेजको हालत पनि त्यस्तै छ, नर्सिङ कलेजको प्रिन्सिपल व्यवस्थापनको मतियार बनेका छन् । शिक्षक र विधार्थीहरुको चौतर्फी शोषण गरेका छन्। अनि नर्सिङ शिक्षा कसरी समय सापेक्षिक, विश्व मापदण्ड अनुरूपको बन्न सकोस् त?
यो निरन्तर नर्सिङ अभ्यास र शिक्षामा चल्दै आएको प्रवृत्ति हो। कारण सबैका सामु जगजाहेर छ। केही पत्रकार साथीहरुले यस पेशाको मर्म बुझेर पेचिला समस्याहरुलाई आफ्ना सञ्चार माध्यममा कभरेज गर्नुभयो र जल्दो बल्दो नर्सिङ समस्या उजागर गरिदिनु भयो। नर्सिङ सघंको नेतृत्वदायी पदमा भएकाले उहाँहरुले मलाई पनि घचघच्याउनु भयो- यो परिस्थितिको कारण नर्सिङ सङ्घ हो या होइन भनेर। मलाई खुसी लाग्यो उहाँहरुलाई नेपाल नर्सिङ सङ्घ छ यसले नर्सहरुको लागि काम गर्दछ भन्ने थाहा रहेछ।
नर्सिङ सङ्घका लागि बाधक तत्वहरू उजागार गर्न चाहनु भएकोमा म पत्रकार मित्रहरुलाई फेरि धन्यवाद दिन चाहन्छु।
तीन दशकभन्दा बढीको भोगाई र बुझाईपछि मलाई अहिले नर्सिङ पेशा ‘राम भक्त हनुमान’ झै चिकित्सक भक्त मात्र बनेर कतै आफैंमा आत्म निर्भर हुन नसकेको त होइन? भन्ने प्रश्नले बारम्बार चोर औंला ठड्याई रहन्छ।
आफ्नो कार्य दायरा, आफू भित्र भएको क्षमता आफुलाई नै थाहा नहुने! अरूले सम्झाई दिनु पर्ने! आज कहाँ कुन नर्सिङ कलेज घाटामा गएको छ? शोषण हुँदा पनि कुन कलेजका विद्यार्थीहरू कलेज व्यवस्थापन बिरुद्ध उत्रन सकेका छन? कुन कलेजका शिक्षकले विद्यार्थीहरूको मद्दत लिएर कलेज व्यवस्थापक बिरुद्ध खनिएका छन्? केही कलेजहरुले नर्सिङ शिक्षकलाई विगत चैत्र महिनादेखि तलब दिएका छैनन्, कतिले आधामात्र तलव दिएका छन्। तर पनि नर्सिङ शिक्षकहरु विरुद्धमा बोल्न सक्तैनन ।
आखिर किन शिक्षक प्रति पूर्वाग्रह? किन यस्तो शोषणबारे ती शिक्षकहरु आफैं बोल्ने सहास गर्दैनन् ? अहिले हाम्रा सामु यस्ता प्रश्न मात्रै छन् ।
यी प्रश्नलाई अनुत्तरित नछाड्ने हो भने हामी सबै एक ठाउँमा बसेर खुलेर छलफल गर्नुपर्छ, आवश्यकता पर्दछ भने आम सञ्चारका मिडियाहरुलाई समेत सहभागी गराइनु पर्दछ । यी प्रश्नहरुको उत्तर खोज्न हामीले सही उपाय अवलम्बन गरेनौं भने गलत तत्व सम्लग्न हुनेछन र गलत बाटोबाट गलत परिणाम ल्याउन उनीहरु सक्रिय हुनेछन् ।
हार्दिकता र विश्वासले नै एकताबद्ध भएर काम भइरहेका छन् तर पैसा कमाउन सफल भएर, उपल्लो पदमा बसेर काम गर्न थाल्यौं भन्दैमा दुःखको बेला एक भएर दिन रात नभनी गरिएका कामलाई अवमुल्यन गर्ने हो भने अर्को दुर्भाग्य छिटै निम्तिने छ । सबैले बेलैमा हेक्का राखौं।
कोही एक्लैको प्रयासले सफलता पाइने होइन । त्यहा सबैको निरन्तर केही न केही प्रत्यक्ष अप्रत्यक्ष देन रहेको हुन्छ । एकै साथमा रहँदा मात्रै राम्रो मात्र हुन्छ भन्ने छैन, व्यक्तिगत कमजोरीहरु सबैका हुन्छन नै । तर त्यसलाई मिलेर कमीकमजोरी हटाउने, राम्रो पक्ष थप्दै जाने हो भने मात्र सफलता हात पर्छ। नत्र निस्सहाय बनेर सामुहिक अधोगतिको वेहोर्नु पर्नेछ ।
त्यसैले सम्पूर्ण नर्सिङ प्रशासकहरुले बेलैमा सोच्नु जरुरी छ। समस्यालाई ढाकछोप गर्नपट्टि लाग्ने हो भने याद गर्नुहोला हिराले हिरा नै काट्दछ, फलामले फलामलाई नै काट्छ। अहिले नर्सहरुको दमन र शोषण नर्सहरुलाई परिचालित गरिएको छ तर दिन सधैं यस्तै रहँदैन। समय बदलिएका दिन तपाई नर्सिङ प्रशासकहरुको हविगत हेर्न लायक हुनेछ। यो कुरो कसैले पनि नभुल्नुहोला।
कहाँ नर्स शिक्षकले काम नगरेको भनेर परीक्षा रोकिएको छ? कहाँ नर्स शिक्षकले पढाएन भनेर काम रोकिएको छ? यसको मतलब नर्सिङ शिक्षकले जस्तोसुकै प्रतिकुलतामा पनि आफ्नो उत्तरदायित्व पूरा गरेका छन्।
तर सर्वत्र कोरोनाको बहानामा नर्सिङ शिक्षकको तलब रोकिएको छ। तर कहाँ छ नर्सिङ परिषद? कहाँ छन् सरोकारवाला मन्त्रालय जसले तीन महिनाको तलब दिएको बैंक खाता मार्फत हेर्ने भनेर बिज्ञप्ती नै निकालेको थियो ?
अनलाइनबाट लिइएको कक्षा अनुसार हाजिर गराएको भन्ने नर्सिङ प्रशाशक किन मौन, कुरा राख्ने हैसियत नभएर हो या मिलीभगत हो? के वर्षैंवर्ष काम गरी सकेका शिक्षकलाई पनि दैनिक ज्यालादारीमा राख्न मिल्दछ? सामान्ति महाजन गर्ने जस्तो हाजिरी प्रतिघण्टाका दरले ज्याला तोक्न मिल्छ? अनि खोइ संस्थाको आफ्नो नियम कानून, मतलब कर्मचारी नियमावली? अनुगमन गर्ने निकाय खोई?
हो नर्सिङ शिक्षकहरूको पनि कलेजप्रति उत्तरदायित्व बहन गर्नु पर्दछ, आर्थिक उत्तर दायित्व पनि बहन गर्नु पर्दछ। संस्था रहे मात्र शिक्षक रहने हो। तर यो कुरो बिर्सन पनि हुन्न की के मुनाफा कमाउँदा साहुको हुने, नोक्सानी चाहिँ सबभन्दा पहिला शिक्षकले बेहोर्नुपर्ने यो कहाँको चलन हो?
कतिलाई लाग्ला निजी संस्था हो जे पनि गर्न सक्दछौं भनेर, के निजी शरीर हो भनेर समाजमा नांगिएर हिड्न सक्दछ? निजी संस्थालाई राज्यका कानुन लाग्दैनन? कि जस्तो शोषण गर्न पनि छुट हुन्छ?
के निजी भनेका पशुपतिमा डामेर छोडेका साँढेहरु हुन? यो यक्ष प्रश्न सरोकारवालाहरुलाई समेत हो, निजी संस्थालाई मात्र होइन। निजी अस्पतालको अवस्था पनि ठीक यस्तै छ। निजी संस्थाको अग्रपंक्तिमा काम गर्ने नर्सहरुलाई सेवा सुविधाबाट वञ्चित गराएर शोषण गरिएको छ। सरकारी, अर्धसरकारी प्रतिष्ठानहरुको अवस्था त्यस्तै विकराल छ। बीर अस्पताल, विपी प्रतिष्ठान धरान जस्ता संस्थाहरुमा समेत जूनियर नर्सहरू पीडित छन्। जबकि विश्वभर यो कोरोना महामारीमा उत्कृष्ट कार्य गर्ने पेशामा नर्सिङ एक नम्बरमा देखापरेको छ।
म आफै पदीय दायित्वको हिसावमा नेपाल नर्सिङ सङ्घको वरिष्ठ उपाध्यक्ष भएको हुनाले खबरदारी गर्ने भूमिकामा उभिएको छु। साथै निजी संस्थामा कार्यरत हुनाले नानाथरिका तिकडमबाजीसंग चिरपरिचित पनि छु । असल ब्यवस्थापकले त समस्या आएपछि सबैसंग बसरे छलफल गर्ने गर्दछ- कसरी राम्रो गरौँ भनेर।
के चिकित्सक आयोग, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय यस बारे केही बोल्नु पर्दैन? के नेपाल नर्सिङ सङ्घ, नेपाल मेडिकल एसोसियसन यसबारे केही बोल्नु पर्दैन? के नर्सिङ परिषद, मेडिकल काउन्सिल, नेपाल हेल्थ काउन्सिल यसबारे बोल्नु पर्दैन? कहिलेसम्म शोषण दमन सहने? के हामी असन्तुष्टीको झिल्को आन्दोलन बनेर डढेलोको महारुप लिने दिन नै कुर्ने हो?
के निजी भनेका पशुपतिमा डामेर छोडेका साँढेहरु हुन? यो यक्ष प्रश्न सरोकारवालाहरुलाई समेत हो, निजी संस्थालाई मात्र होइन। निजी अस्पतालको अवस्था पनि ठीक यस्तै छ। निजी संस्थाको अग्रपंक्तिमा काम गर्ने नर्सहरुलाई सेवा सुविधाबाट वञ्चित गराएर शोषण गरिएको छ । सरकारी, अर्धसरकारी प्रतिष्ठानहरुको अवस्था त्यस्तै विकराल छ। बीर अस्पताल, विपी प्रतिष्ठान धरान जस्ता संस्थाहरुमा समेत जूनियर नर्सहरू पीडित छन्। जबकि विश्वभर यो कोरोना महामारीमा उत्कृष्ट कार्य गर्ने पेशामा नर्सिङ एक नम्बरमा देखापरेको छ ।
सबैसंग सहकार्य गर्ने, सबैलाई सम्मान गर्ने पेशाको रुपमा स्थापित नर्सिङ पेशालाई हामी सबै मिलेर मजबूत बनाऔं। हडताल, जुलुस, नारा आदिबाट टाढा नै राखी कामले मन जित्ने कार्य गरौँ। यसका लागि स्वास्थ्यकर्मीहरुले राखेका माग समयमै सुनुवाई होस्। सरोकारवालाहरु गैरजिम्मेवार बन्ने, महामारीको बहाना देखाएर सबै कुरो छोप्ने अनि स्वास्थ्यकर्मीहरु समस्याको सुनुवाईका लागि आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने हो भने अवस्था जटिल हुँदैजानेछ । यस्तो परिवेशमा नेपाल नर्सिङ सङ्घको भूमिका महत्वपूणर् छ। त्यसको लागि सङ्घ सदा तयारी अवस्थामा रहनु पर्दछ र रहन्छ पनि । नर्सिङका साथै सबै स्वास्थ्यकर्मी माथि भइरहेको शोषण हामी सबै मिलेर बेलैमा समाधान गरौं । हामी एक भएर अघि बढे जरूर आज नभए भोलि सफल हुनेछौ। नर्सिङका साथै सबै स्वास्थ्यकर्मी माथि भइरहेका अत्याचारको अन्त्य गर्न सफल हुनेछौं।