अष्ट बहिनी, तपाईं पनि अब आफ्नो मूल्याङ्कन गर्नुस् !
अष्ट बहिनी, तपाईंलाई म लामो समयदेखि चिन्छु । शिखरकला उद्योगका सम्पन्न साहूकी छोरी । तपाईं भूमिगत हुँदा पार्टी वृत्तमा निकै चर्चा भएको थियो । सानो तर प्रभावशाली पार्टी थियो कोके (कोअर्डिनेसन कमिटी) त्यतिखेर । भर्खरै उद्गमस्थलबाट प्रवाहित भएको स्वच्छ अनि कञ्चन नदीजस्तो, जहाँ दुर्गन्धित नाला, धमिला खहरे, खोलाजस्ता विजातीय तत्त्वहरू मिसिएका हुँदैनन।
पार्टीको केन्द्रीय कमिटी, पोलिटब्युरो हुँदै स्थायी कमिटीसम्म पुग्नुभयो । महत्त्वपूर्ण संसदीय समितिहरूमा तपाईंको चयन भयो । पालैपालो तपाईं युगल जोडीलाई झन्डा फरफराएर हिँडेको सिंहदरबारको फुटपाथको मेरो यात्राबाट कतिऔं कतिपटक हेरें । तपाईं कतिऔं पटक मन्त्री हुनुभयो, याद छैन मलाई । तर तपाईंले टिकट नपाएको कुनै आमनिर्वाचन छ जस्तो लाग्दैन । एउटा निर्वाचनमा भने तपाईं पराजित हुनुभयो । तर माधव गुटको तपाईं सरताज नै होइन र ? मैले बुझेसम्म त्यस्तै हो ।
त्यो गौरवशाली पार्टीमा २०३० सालदेखि नै मैले पनि काम गर्ने अवसर प्राप्त गरेकी थिएँ । तपाईं कुन तिथिमितिदेखि पार्टीमा संलग्न हुनुभयो ? ठ्याक्कै त्यो त मलाई थाहा छैन, तर जे होस, तपाईं पार्टीमा प्रवेश गर्दाको समय त्यति सजिलो भने थिएन । तपाईं भूमिगत हुनुभयो, म खुला आन्दोलनमा समाहित भएँ । त्यतिखेरको त्यो कठिन समयमा पार्टीलाई माया गर्नु, पार्टीका लागि काम गर्नु भनेको ज्यान माया मार्नुजत्तिकै थियो । पुरुष कार्यकर्ताहरू नै कम भएको समयमा महिलाहरूको त झन कुरा अर्कै नै भयो । हामी एकदम न्यून संख्यामा थियौं ।
त्यो ‘संकल्प’ प्रकाशनको समय थियो । २०३० देखि २०३४ सालको समयको कुरा गर्दै छु म । त्यो समय पार्टीमा भएका ठूला–साना गतिविधिका बारेमा थाहा पाउँदा भूमिगत कोकेकी म निकै विश्वासपात्र थिएँ । कहाँसम्म विश्वासपात्र भन्नुहुन्छ भने, नक्खु जेल ब्रेक हुने कुरा मैले तीन महिनाअगावै थाहा पाएकी थिएँ र मेरो हैसियतभन्दा निकै धेरै आर्थिक सहयोग गरेकी थिएँ । दुई सय रुपैयाँ त्यो समय निकै ठूलो रकम थियो । हो, त्यही समयमा तपाईं भूमिगत हुनुभएको थियो । अरू पनि केही महिला कमरेडहरू भूमिगत हुनुहुन्थ्यो । तपाईंहरूको निकै चर्चा हुने गर्थ्यो ।
अष्ट बहिनी, सम्पन्न सुन व्यवसायीकी छोरी तपाईं । तपाईंले निकै कष्टकर जीवन रोज्नुभयो । गरिब भएर, खान नभएर बाध्यतावश कम्युनिस्ट हुनु बेग्लै कुरा भयो, तर सुख र ऐश्वर्य छाडेर त्यो समयमा कण्टकमय बाटो रोज्नु सानो साहसको कुरा थिएन । त्यसैले नै तपाईं पार्टी वृत्तमा निकै चर्चित र प्रशंसित पनि हुनुभयो । त्यसमाथि पनि झापा आन्दोलनको व्यक्तिहत्याको पृष्ठभूमिबाट निर्माण भएको अनि मान्छेको मुटु नै हल्लाउने पार्टी । पार्टीको मात्र होइन, त्यहाँ काम गर्ने हामी सबैलाई तत्कालीन पञ्चहरू, जसको यति बेला पार्टीमा हालीमुहाली छ, हामीलाई नक्सलाइट भन्ने गर्थे । हामी खुला आन्दोलनमा लागेकाहरूलाई धरपकड गराउँथे, जागिर हुनेको जागिर खाइदिन्थे । कारबाहीको सिलसिला चल्थ्यो । अपायक सरुवा, घटुवा, निष्कासन, जेल चलान आदि प्रकारका कारबाहीहरू सहनुपर्थ्यो । यही क्रममा हामीले कहिले लाठी खानुपर्थ्यो, कहिले कन्चटबाट गोली जान्थ्यो, कहिले पुलिसले घोक्रेठ्याक लगाउँदै हिरासत पुर्याउँथ्यो ।
अष्ट बहिनी, तपाईंको बलिदानको त कदर गर्नैपर्छ । त्यही समयमा पार्टी कमरेडसँग तपाईंको बिहे पनि भयो र सन्तान प्राप्ति पनि भयो । ती सबै कुराबाट म अनभिज्ञ थिइनँ । म लामो समय भूमिगत बसिनँ । दुई–चार दिन, दुई–चार दिनबाहेक मलाई भूमिगत जीवनका बारेमा अनुभव छैन । हुन त भारी सबैलाई आफ्नै गह्रौं लाग्छ । आफूले गरेको काम कष्टकर र बलिदानपूर्ण लाग्छ । आफूले पाएको अवसर कम लाग्छ । यो मानवीय स्वभाव नै हो । जुनसुकै खालको भए पनि आन्दोलन त आखिर आन्दोलन नै हो । त्यो कष्टकर र जोखिमपूर्ण हुन्छ नै ।
भूमिगत बस्नु पनि कहाँ सजिलो थियो होला र ? दिनभरि आधारभूत वर्गका जनताका घरमा लुकेर बस्नु । घाम र ताजा हावाको त कुरै भएन, भनेका बेला दिसा–पिसाब गर्न नपाउनु । रातिराति जनतामाझ संगठन गरेर हिँड्नु । मीठोमसिनो खान चाडबाड पर्खनुपर्ने आमजनताका घरमा आश्रय लिएर क्रान्तिकारी काममा जुट्नु पक्कै सजिलो कुरा थिएन । त्यसमाथि दुई–दुई जना नानीहरू जन्माएर र तिनलाई जनताको पोल्टामा राखेर आफू फेरि पनि परिवर्तनको काममा निरन्तर दायाँबायाँ नगरी लागिरहनु निकै कठिन कार्य थियो । भनेका बेलामा नानीहरू भेट्न नपाउँदा सन्च–बिसन्च के होलान भन्ने चिन्ताले पक्कै सताउँथ्यो होला । महिनौंसम्म छाती चर्कन्थे होलान ।
अहिलेजस्तो हातहातमा मोबाइल नभएको समय । तपाईंलगायत भूमिगत बस्ने महिला कमरेडहरूले यी सबै कष्ट र तनाव भोग्नुपर्यो नै । तपाईं र तपाईंहरूजस्ता अदम्य साहस राख्ने समर्पित असंख्य साथीहरूबाटै यो परिवर्तन सम्भव भएको हो । तर भूमिगत बस्ने साथीहरूले खुला आन्दोलनमा लाग्ने साथीहरूको कष्ट र पीडाको मूल्यांकन गरेको पाइनँ मैले । दिनरात पुलिससँग मुठभेड गर्नु, पाखुरा सुर्केर चरचरी बाझ्नु, समयसमयमा लाठीचार्जमा पर्नु, राइफल ताकिएको पनि वास्ता नगरी ‘जिन्दावाद मुर्दावाद’ भन्दै बेतोड दौडनु, पुलिसलाई चक्मा दिनु, हिरासतमा पुर्याइनु पनि सजिला खेलहरू त कहाँ हुन् र कमरेड १ गर्भवती अवस्थामा काँडेतारहरूबाट हामफाल्दै भाग्नु, बालकहरू बोक्दै आन्दोलनहरूमा कुद्नु अनि आफू पक्राउ परेपछि बालकहरू बलिन्द्रधारा बगाउँदै र ह्वाँह्वाँ रुँदै पुलिस थानामा आउँदा पक्कै पनि मनमा पीडाको सञ्चार त भयो नै होला । उनीहरूको रोदनले मन चस्क्यो नै होला । उनीहरूलाई फकाई–फुलाई आफन्तहरूकोमा फर्काउन मन बलियो पार्नुपर्यो नै होला । गुम्सिएर दिनभरि कोठामा लुकेर बस्नुजत्तिकै कष्टकर पुलिस प्रशासनसँग भिड्नु होइन भन्न मिल्दैन । सन्तान जनताको पोल्टामा छाड्न असुरक्षित कि कमजोर अभिभावकहरू कहाँ ? यो प्रश्न पनि कम महत्त्वको छैन ।
खैर, यी २०४६ सालका कुराहरू अब पुराना भए ! यिनलाई छाड्नु नै उचित हुन्छ । अहिले त्यो इतिहास, त्यो बलिदान, त्यो भागदौडको कुनै महत्त्व छैन । त्यो कुरा गर्यो भने नयाँ कमरेडहरूका कानलाई कष्ट हुन्छ । ‘इतिहास च्यापेर कति बस्ने’ भन्नेजस्ता अभिव्यक्ति सुनिन थाल्छन् । हुन पनि हो नि त, जाडो सकिइसकेपछि नाथे सिरकको के काम र ? आजको समयमा विगतको बलिदान, उत्सर्गका बारेमा उल्लेख गर्नु हास्यास्पद कुरा हुँदैन र ? रंगीचंगी, भड्किला, महँगा, ब्रिफकेस भरिभराउ भएका अनि जवान कमरेडहरूको समय हो यो । कमरेडरूपी खोलभित्र गुदी कस्तो छ भन्ने कुरा सबैलाई ज्ञात भएकै हुनुपर्छ । ‘कमरेड’ शब्दकै खिल्ली उडिरहेका बेला इतिहासको पोथालाई भरसक आफ्ना सन्तानले पनि सुइँको नपाउने गरी लुकाउनु नै बुद्धिमानी हो जस्तो लाग्न लागेको छ आजभोलि मलाई ।
अष्ट कमरेड, केही समयअगाडि मैले तपाईंका आक्रोशपूर्ण अन्तर्वार्ता र खिन्न अभिव्यक्तिहरू अनलाइनमार्फत पढ्न पाएकी थिएँ । तपाईंको साह्रै चित्त दुखेको अभिव्यक्ति थियो त्यो । पार्टीमा गुट भयो, बलिदान गरेका पुराना कार्यकर्तालाई उपेक्षा गरियो, इतिहासको मूल्यांकन भएन, पार्टीभित्रै चरम अन्याय भयो, पार्टीभित्र चरम विकृति–विसंगति भित्रियो आदि–इत्यादि तपाईंका भनाइहरू आए । एक जना पनि महिला सचिवालयमा लगिएनन, तपाईंलाई मुख्यमन्त्री बनाउन ओलीजीबाट प्रयास गरिएन ! तपाईंले कुरा त एकदम सही उठाउनुभयो । पार्टीमा त्यस्तै भएको, ठ्याक्कै त्यस्तै भएको छ अहिले । तर अहिले मात्र होइन, २०४६ सालपछिदेखि नै त्यस्तै भइरहेको छ । यो क्रम दोहोरिई नै रहेको छ । दोहोरिने नै छ पछिसम्म पनि । ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो’ भनेजस्तो । कुनै नयाँ र नौलो, विगतमा नभएको कुरा होइन यो । फरक यत्ति हो— कहिले हन्टर एउटाको हातमा हुन्छ अनि कहिले हन्टर कुनै अर्कैको हातमा हुन्छ । यतिखेर हन्टर ओलीजीको हातमा छ र तपाईं याने माधव गुटका मान्छेहरू हन्टरको मारमा परेको कष्टकर अनुभूति गर्दै हुनुहुन्छ ।
२०४६ सालपछि त तपाईंका दिनहरू सुन्दर भएनन् र ? तपाईं पार्टीको मुख्य धारमा हुनुहुन्थ्यो । तपाईं मात्र होइन, तपाईंका जीवनसाथी अमृत बोहरा पनि महत्त्वपूर्ण स्थानमा विराजित हुनुहन्थ्यो नि ! प्रदीप नेपाल र ईश्वर पोखरेलजी तपाईंको अघिपछि ‘मा ! मा !’ भन्दै रमाउनुहुन्थ्यो । त्यस बेला तपाईं धेरैकी ‘मा’ र बोहराजी धेरैका ‘बा’ हुनुहुन्थ्यो । साँच्चै, तपाईं पार्टीकै ‘मा’ हुनुहुन्थ्यो । तपाईंको त्यो स्वर्णिम समय अहिले पनि मेरो स्मृतिमा झल्किरहेको छ । हरेक पटकका संसदीय निर्वाचनमा तपाईंले उम्मेदवारी पाउनुभयो ।
पार्टीको केन्द्रीय कमिटी, पोलिटब्युरो हुँदै स्थायी कमिटीसम्म पुग्नुभयो । महत्त्वपूर्ण संसदीय समितिहरूमा तपाईंको चयन भयो । पालैपालो तपाईं युगल जोडीलाई झन्डा फरफराएर हिँडेको सिंहदरबारको फुटपाथको मेरो यात्राबाट कतिऔं कतिपटक हेरें । तपाईं कतिऔं पटक मन्त्री हुनुभयो, याद छैन मलाई । तर तपाईंले टिकट नपाएको कुनै आमनिर्वाचन छ जस्तो लाग्दैन । एउटा निर्वाचनमा भने तपाईं पराजित हुनुभयो । तर माधव गुटको तपाईं सरताज नै होइन र ? मैले बुझेसम्म त्यस्तै हो ।
अष्ट बहिनी, तर २०४६ सालपछि म र मजस्ता धेरै मानिसहरू पाखा लाग्न थाले । हामीलाई केपी गुट भनियो र पाखै राखियो । तपाईं भने काखमा बस्नेमा पर्नुभएकै हो । मैले हात समाएर आन्दोलनमा हिँडाएकालाई विभिन्न बहानामा लिफ्टबाट माथि पुर्याइँदा पनि गुनासो गर्ने वातावरण पाइएन । गुनासो गर्नलाई पनि गतिलो, भनूँ अग्लो ठाउँमा हुनुपर्ने रहेछ ।
तपाईं स्थायी कमिटी सदस्य, तपाईंले गरेको गुनासोको पनि निकै महत्त्व हुन्छ । झुक्किएर, अझ भनूँ ओलीजीको ठूलै कृपाले एकपटक संसदीय निर्वाचनमा टिकट पनि पाइयो । त्यो पनि पार्टी विभाजन भएका बेला । अझ भनूँ, भूतले खाजा खाने बेला । चानचुन तीन दशक लामो संघर्षको प्रतिफल । पार्टी धरापमा परेका बेलाको चुनाव ।
जनताको अगाध स्नेह र कार्यकर्ताको अथक परिश्रमकै कारण त्यस्तो विकट समयमा चुनाव जितेकी थिएँ मैले । ठूला नेताले केही सुन्दर प्रतिक्रिया व्यक्त गर्लान् वा शब्दले नै भए पनि पिठ्युँ थपथपाउलान् जस्तो लागेको थियो । किनकि २०५६ सालको चुनावमा नेपाली राजनीतिका ठूलठूला महारथीहरूले पनि शर्मनाक पराजय बेहोर्नुपरेको थियो । चुनाव जितेर संसद् पुगेपछि कुनै अवसरको कुरा त छाड्नुस्, २०५६ सालदेखि २०६४ सालसम्मको समयमा मेरो रातो पासपोर्टसम्म बनेन । सांसदका रूपमा बाहिरी देशको यात्रा जुरेन । आफ्ना अगाडि अरू फटाफट गए, आए । गुट भनेको यस्तो विषाक्त हुँदो रहेछ । त्यहाँ न प्रतिभाको कुनै कदर हुन्छ, न बलिदानपूर्ण इतिहासको कुनै माने । मुस्तन्ड अनि चाप्लुस भजनेहरूको राज हुने रहेछ ।
अष्टजी, तपाईं असाध्य चलाख भएको कुरा पार्टी वृत्तका मानिसले गर्छन । तपाईं र अमृत बोहराजीलाई सबैले चलाख भन्छन । हुन पनि अरूहरूले भनेजस्तै तपाईंहरू बहुदलपछि आलोपालो सरकारमा सहभागी भइरहनुभएको छ र राज्यका सम्पूर्ण सुविधाहरू मजाले उपभोग गरिरहनुभएको छ । मलाई यसबारेमा धेरै चासो छैन । तपाईं मात्र होइन, सरकारमा जाने सबैजसोले प्रतिस्पर्धात्मक रूपमा देशको दोहन गरिरहेकै छन। एक–दुईबाहेक सबैजसो सरकारमा पुग्न सफल भएका टाठाबाठाहरू आफ्नो शून्य अवस्थाको जीवनबाट छलाङ मारेर संगत गर्न पनि गाह्रो हुने गरी ऐश्वर्यशाली भएका छन् ।
उनीहरूको आलिसान जिन्दगी र राजकीय ठाँटबाँट देख्दा त आफैंलाई कुरीकुरी लाग्छ । सर्वहारा वर्गका नेताहरूको जीवनशैली कुनै नवाब साहबको भन्दा कम देखिँदैन । अनि अष्टजी, तपाईं कुन बेग्लै खेतको मुला हुनुभयो र तपाईंलाई यो निर्धन देशका निरीह जनताप्रति गहन संवेदना होस ! अरूहरूलाई जस्तै तपाईंलाई पनि असुरक्षित तरिकाले तुइनमा घाँसदाउरा बोकिरहेका महिलाहरू, उभिन्डो परेर ज्यान जोखिममा पार्दै नदी वारपार गरी सामान्य विद्यालय धाइरहेका बालबालिकाहरू, दिनरात बलात्कृत भएर ज्यान गुमाउने असंख्य बालिकाहरू आदिका विषयमा खासै चासो र संवेदना छ जस्तो लाग्दैन । देशमा कति धेरै बालिका र किशोरीहरू बलात्कार र हत्याको सिकार भएका छन तर त्यसबारेमा अहिलेसम्म तपाईंको कुनै अभिव्यक्ति सुनिएको छैन ।
सबैभन्दा अचम्मको कुरा त तपाईंले अहिले मात्र पार्टीमा गुट देख्न लाग्नुभएको छ ! यस्तो गुट त प्रजातन्त्र आएदेखिकै छैन र ? माधवजी र झलनाथजीको पाकेको राँगे खोर्सानीजस्तो आत्थु–आत्थु पार्ने गुटबाट हदैसम्म पेलिएका ओलीजीको मरीचजस्तो चाउरिएको निरीह गुट । अनि अरू पनि गुटभित्रका उपगुटहरू । त्यो सम्झँदै पनि मेरो त लामो सास निस्कन्छ । अनि सबैको ध्याउन्न कुर्सीमा पुग्ने वा बसेको कुर्सी जसरी भए पनि बचाउने, भनूँ अर्को पक्षलाई उठ्नै नसक्ने गरी उत्तानोचित पार्ने । यो समयमा ओलीजी तपाईंलाई हातमा हन्टर लिएको कुनै बलियो कालो भुसतिघ्रे पहलमानजस्तो लाग्छ होइन र, जसले तपाईं र तपाईं लगायत अर्को गुट, भनूँ तपाईं भएको माधवजीको गुटका मानिसहरूमाथि हमला बोलिरहनुभएको छ ?
ओलीजीमाथि तपाईंले अर्को गुटका मानिसमाथि अन्याय गर्ने, अवसर नदिने, महिला सहभागिताका बारेमा संवेदनशील नहुनेजस्ता आरोप लगाउनुभएको छ । गुट भन्ने चीज यस्तै हो भन्ने तपाईं बुझ्नुहुन्न भनेर म बबुरोले कसरी सोचूँ ! पचास वर्षसम्म ज्यानको माया नगरी काम गर्ने म बिचरा पचहत्तर वर्षको उमेरसम्ममा पनि जिल्ला कमिटीभन्दा माथि उक्लन नसक्ने मान्छे, के भनूँ के नभनूँ भएकी छु । तपाईंहरू हाल नेकपाको माथिल्लो तहमा भएका नेत्रीहरूका तुलनामा म के–कति कुरामा कम भएर जिल्ला कमिटीमै मेरो यात्रामा पूर्णविराम लाग्यो ? बरु तपाईंले मेरो भुतुक्क भएर दुखेको चित्तमा अलिकति भए पनि तर्कको मल्हम लगाइदिनुस् न !
अष्टजी, धरानको जन्मजात बासिन्दा भएर, यहाँकै धूलोमाटोमा हुर्किएर, यहाँ हुने ठूलठूला आन्दोलनमा भाग लिएर पनि मैले संसदीय निर्वाचनमा टिकट पाउन विभिन्न बहानामा वर्षौंवर्ष कुर्नुपर्यो । त्यस्तो विषम परिस्थितिमा, भनूँ पार्टी विभाजन भएका बेला चुनाव जित्ने म कुन्ता शर्मालाई २०६४ सालको टिकट वितरणको थैलो तपाईंको हातमा परेका बेला एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा तपाईंले भनेका शब्दहरू अहिले पनि मलाई अक्षरशः याद छन्— ‘कुन्टा कमरेड, टपाईं यसपालि बस्नुस । लेखेर बस्नुस है । यसपालि अरू महिलालाई पालो डिऊँ ।’ त्यही समयमा तपाईं छेउमा बसेकी, मेरी छोरी भन्न सुहाउने उमेरकी, विन्दा पाण्डे भन्ने एनजीओ चलाउने एक जना नानीले तपाईंको कुरामा सही थापेकी थिइन। म बबुरोको के हैसियत तपाईं पार्टीकी ‘मा’ को निर्देशन नमान्ने ? ल हेर्नुस् त अष्ट बहिनी, गुट भनेको कस्तो विषाक्त हुन्छ ? यहाँ त बलियो गुटको चल्लाले पनि कमजोर गुटको भालेलाई ठुँग्छ ।
अष्टजी, अब तपाईं धेरै कष्ट, आक्रोश र ललौना–बिलौना नगर्नुस । म र मजस्तालाई हेरेर मन बुझाउनुस । म पार्टीमा तपाईंभन्दा पहिला नै लागेकी हुँ । पार्टीले चलाएका शिक्षक आन्दोलन, मानवाधिकार आन्दोलन, महिला आन्दोलन, सांस्कृतिक आदि खुला आन्दोलनलाई घनीभूत बनाउने केही पात्रहरूमध्ये म पनि हुँ । तपाईं उमेरले पनि मभन्दा कान्छी नै हुनुहुन्छ । सुरुको समयमा तपाईं मलाई ‘दिदी’ भन्ने गर्नुहुन्थ्यो, तर तपाईं पार्टी कमिटीमा माथि उक्लँदै जानुभयो, स्थायी कमिटीमा पुग्नुभयो, मन्त्री हुनुभयो अनि दिदीको सम्बोधन छाडेर नाममा ‘जी’ लगाएर सम्बोधन गर्न लाग्नुभयो । केही छैन, यो पनि समयसमयको कुरा हो ।
अष्ट बहिनी, तपाईं त २०४६ सालदेखि कहिल्यै बस्नुभएको छैन त (जनताले हराएको कुरा बेग्लै हो) ? तपाईंको ठाउँमा कुनै अर्की महिलालाई पालो दिने सोच तपाईंमा यतिका वर्ष किन आएन ? कि पार्टीमा तपाईंको विकल्प नभएर हो ? के पार्टी वृत्तमा, भनूँ माधव गुटमा तपाईंको जति क्षमता र इतिहास भएका महिलाको साँच्चै अनिकाल छ ? तपाईं कराउन, चिच्याउन सक्नुहुन्छ किनकि तपाईं स्थायी कमिटी सदस्य हुनुहुन्छ ।
मजस्ता धेरै लाचार महिलाहरू इतिहास हुँदाहुँदै पनि पुर्पुरोमा हात लगाएर बसेका छौं । तै बरु मैले त काकताली परेर भए पनि एकपटक टिकट पाएँ र संसद् भवन टेक्न पाएँ, तर अरू कतिपय मानिसहरूका लागि संसद् भवन ‘आकाशको फल, आँखा तरी मर्’ भएको छैन र ? साँच्चै अष्ट कमरेड, यो समय बलिदानपूर्ण इतिहास हुनेहरूको होइन, कठपुतलीहरूको हो ।
अष्टजी, अब तपाईं धेरै कष्ट, आक्रोश र ललौना–बिलौना नगर्नुस । म र मजस्तालाई हेरेर मन बुझाउनुस । म पार्टीमा तपाईंभन्दा पहिला नै लागेकी हुँ । पार्टीले चलाएका शिक्षक आन्दोलन, मानवाधिकार आन्दोलन, महिला आन्दोलन, सांस्कृतिक आदि खुला आन्दोलनलाई घनीभूत बनाउने केही पात्रहरूमध्ये म पनि हुँ । तपाईं उमेरले पनि मभन्दा कान्छी नै हुनुहुन्छ । सुरुको समयमा तपाईं मलाई ‘दिदी’ भन्ने गर्नुहुन्थ्यो, तर तपाईं पार्टी कमिटीमा माथि उक्लँदै जानुभयो, स्थायी कमिटीमा पुग्नुभयो, मन्त्री हुनुभयो अनि दिदीको सम्बोधन छाडेर नाममा ‘जी’ लगाएर सम्बोधन गर्न लाग्नुभयो । केही छैन, यो पनि समयसमयको कुरा हो ।
अष्ट बहिनी, तपाईं पनि अब आफ्नो मूल्यांकन गर्नुस । आफ्नो इतिहासको अवलोकन गर्नुस । तपाईं माधवजीको गुट छाडेर स्वतन्त्र भएर उभिनुस र हेर्नुस् त तपाईंको हालत के हुन्छ ? तपाईं सचिवालयमा पुग्न नपाएको र मुख्यमन्त्री हुन नपाएको ओलीजीकै कारण हो भन्ने भ्रम अब नपाल्नुस् । तपाईं ती पदहरूको दाबेदार हुनुभएको पनि माधवजीको गुटले बोकेकाले नै हो । मेरो सल्लाहमा अब तपाईं सत्तामोह छाड्नुस र २०४६ सालअगाडिको आफ्नो कष्टकर यात्रालाई शब्द र वाक्यका माध्यमबाट नेपाली जनतामाझ पुर्याउनुस् । त्यसले तपाईंलाई मुख्यमन्त्री र सचिवालयभन्दा बढ्ता आलोकमय स्थानमा पुर्याउन सक्छ । मलाई त तपाईं र तपाईं लगायतका नेकपाहरूले किनारामा हुत्त्याइदिएर यति धेरै गुन लगाउनुभएको छ कि, म शब्दमा व्यक्त गर्न सक्तिनँ । हेर्नुस, जीवनको कुनै टुंगो छैन । त्यसकारण तपाईं आफूले प्राप्त गरेको महत्त्वपूर्ण स्थानबाट अब आफ्ना बारेमा होइन, नेपाली जनताका बारेमा बोल्नुस; कुनै एउटा विशेष जातका बारेमा होइन, तमाम अल्पसंख्यक र निरीह जनताले भोग्नुपरेका दुःख र कष्टका बारेमा आक्रोश व्यक्त गर्नुस ।
साथै पार्टीका तमाम कमीकमजोरी माथि धावा बोल्नुस । लोभलाई जित्न सके संसार जित्न सकिन्छ, अष्ट कमरेड । हन्टर सधैं एउटै मानिसको हातमा कदापि बस्तैन । हन्टर चलाउने हातहरू समयसमयमा परिवर्तन भइरहन्छन् । हन्टरभन्दा कलम धेरै बलियो हुन्छ भन्ने त सर्वस्वीकार्य छ !
साभार : जनताटाइम्स डट कमबाट