‘नेपाल सरकार जनताको साथमै छ’: स्वास्थ्यमन्त्री ढकाल
काठमाडौँ, कात्तिक ४। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाल सरकार जनताको साथमै रहेको भन्दै महामारी विरूध्दको लडाइमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो सम्बन्ध स्थापित गर्न जरूरी भएको धारणा राख्नुभएको छ । उहाँले कोभिड-१९ का विरामीहरूको उपचारका लागि स्थानीय तहका अस्पतालमा तीन हजारभन्दा बढी बेड थप्ने तथा भेन्टिलेटर सहितको चार सय आई.सी.यु. लगायतका स्वास्थ्य सुविधा थप्ने कार्य भइरहेको पनि जानकारी दिनुभएको छ ।
उहाँले आज एक सन्देश जारी गर्दै सबै तहका सरकार, राजनीतिक दलहरू, समुदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट विगतमा झैँ सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालको सन्देशको पूर्ण पाठः
”आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू, हामी कोभिड–१९ महामारीको विषम परिस्थितिबाट गुज्रिरहेका छौँ । दशैँ, तिहार, नेपाल सम्बत, छठ लगायतका आसन्न महान चाडपर्वहरू मनाउँदा विशेष सावधानी अपनाई, आफ्नो परिवार र नजिकका प्रियजनहरूको जीवन रक्षा गर्ने गरी मनाउनु पर्ने अहम् दायित्व समेत थपिएको छ।सबै आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरूमा सु–स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
यो महामारी बिरुद्दको लडाईंमा आफ्नो ज्यान जोखिममा राखी उच्च मनोबलका साथ अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु, बिरामीहरुप्रति शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु, यस रोगबाट मृत्युवरण गर्नुहुने सबैप्रति भावपूर्ण श्रद्दाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
दस्तावेज
यो महामारी विरूद्धको लडाइमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोगप्रति आभार व्यक्त गर्दछु । यो रोगको रोकथाम तथा नियन्त्रणको प्रभावकारी उपाय भनेको मास्कको उचित प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरके प्रयोग गर्नु पर्ने भएकाले सबैप्रति यसको थप प्रभावकारी कार्यान्वयनको अपेक्षा गर्दछु ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध छ।मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट संचालित अस्पतालहरूलाई कोभिड–१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ। अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना सहित प्रभावकारी व्यवस्था मिलाएको छ ।
महामारीको शुरूवाती दिनदेखि नै कोभिड–१९को परिक्षण तथा उपचार निःशुल्क गरिदै आएकोमा नागरिक तथा निजी क्षेत्रको चाहना र माग अनुसार निजी क्षेत्रबाट संचालित प्रयोगशाला र अस्पतालहरूमा कोभिडको परिक्षण तथा उपचार भईरहेको छ। हालसम्म देशभरीका ४१ सरकारी तथा २१ वटा निजी प्रयोगशालाहरुबाट १३ लाख ९ सय १८ परिक्षण भएको मध्येमा २ लाख ३१ हजार ४ सय पाँच व्यक्तिहरूले निजी तथा सरकारी प्रयोगशालाहरूबाट शुल्क तिरी परिक्षण गराएको देखिन्छ।कोभिडका लागि ७० वटा अस्पतालहरू तोकिएकोमा १७ अस्पताल निजी क्षेत्रका रहेका छन् । बाँकी रहेका देश भरीका सबै निजी अस्पताल तथा मेडिकल कलेजहरुले आफूसँग रहेका कम्तीमा ५० प्रतिशत सबै प्रकारका बेडहरू कोभिड उपचार व्यवस्थापनमा लगाउने व्यवस्था गरिएको छ ।
कोभिड बिमा वा स्वास्थ्य बिमा वा अन्य किसिमका व्यवस्थाहरुबाट समेत स्वास्थ्य परिक्षण र उपचारको प्रबन्ध समेत गरिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०७७।६।१९ गते कोभिड १९ को परिक्षण तथा उपचारसम्बन्धी गरेको व्यवस्था अनुसार आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरू, सरसफाइ कर्मचारीहरू, सुरक्षाकर्मीहरू लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूमा लक्षण वा चिन्ह देखिएमा परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको छ, जसले स्वास्थ्य उपचारमा सामाजिक न्याय सहितको समता स्थापित गर्नेछ ।
कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा थप प्रभावकारी बनाउन उल्लेखित वर्गमा परेका नागरिकहरूको स्वास्थ्य उपचारको प्रत्याभूति गर्न आवश्यक भएकोले यो निर्णय लिइएको हो । कोभिड–१९ को परिक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँच बृद्धि गरिएको छ । सबै नागरिकहरूको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका कोभिड–१९ का अस्पतालहरूमा उपचारका लागि जाने बिरामीहरूका लागि उपचारको कुनै विभेद नहुने गरी व्यवस्था मिलाइएको छ । विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपांग, ७० बर्ष पुगेका जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरू, सुरक्षाकर्मीहरु लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुको निशुल्क परिक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ । यो वर्गमा नपरेका सम्पूर्ण आमा बुवा दिदीबहिनी तथा दाजुभाइ कोभिडको उपचारका लागि अस्पतालमा पुगेपछि आर्थिक अवस्था कमजोर भएमा अस्पतालबाट सिफारिश गरेमा वा बिरामी वा निजको परिवारले उपचार गर्न नसक्ने घोषणा गरेमा ती व्यक्तिहरूको परिक्षण र उपचारको सम्पुर्ण खर्च नेपाल सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ । यो व्यवस्था कार्यान्वयन गर्दा कुनै पनि निकाय वा व्यक्तिको सिफारिश आवश्यक नपर्ने गरी सहज विधि र प्रणालीको व्यवस्था गरिएको छ ।
नेपाल सरकार नागरिकको संबैधानिक हक र सम्मानित अदालतको फैसला प्रति थप संवेदनशील रहेको छ। कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले लिएका निर्णयहरू नेपालको संविधान र प्रचलित कानूनका व्यवस्थाको अधिनमा रही निदान तथा उपचारको कार्यविधिहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । संघ, प्रदेश र स्थानीय तहबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएका कार्यविधिका आधारमा यसको रोकथाम, नियन्त्रण र उपचारलाई निरन्तरता दिदै आएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र माग अनुसार निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्ने व्यक्तिहरूका लागि सशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यी कदमहरू चालिएका हुन। आफ्नै खर्चबाट परिक्षण तथा उपचार गर्न सक्ने र चाहने व्यक्तिका लागि सशुल्कसेवा प्राप्त गर्ने सहज अवसर पनि उपलब्ध गराइएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७। ०२। १२ को निर्णय अनुसार कोभिड–१९को कारणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शव व्यवस्थापन सम्बन्धी प्रोटोकल, २०७७ बमोजिम स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले गर्ने नीतिमा कुनै परिवर्तन भएको छैन ।
जनताको रीति रिवाज, संस्कार र परम्परा अनुसार शव व्यवस्थापन गर्ने मागलाई सम्बोधन गर्न र भौगोलिक विकटतालाई समेत ध्यान दिई शव व्यवस्थापन थप सहज बनाउन कार्यविधिमा यो व्यवस्था समावेश गरिएको छ। शव व्यवस्थापनमा खटिने व्यक्तिहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सावधानी अपनाउन हार्दिक अपिल गर्न चाहन्छु ।
नेपाल सरकार जनताको साथमै रहेको छ । यो महामारी विरूध्दको लडाइमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो सम्बन्ध स्थापित गर्न जरूरी छ। सबै तहका सरकार, राजनीतिक दलहरू, समुदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट विगतमा झै सहयोगको अपेक्षा गरेका छौं । यो जोखिमको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी संचारको आवश्यकता पर्ने हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरूको पालनामा संचार क्षेत्रले पुर्याएको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा समेत सघन सहयोगको अपेक्षा गरेको छु ।
धन्यवाद । नमस्कार ।”