परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

टेलिभिजन सम्बन्धी केही अनुभूतिः कस्तो थियो, कस्तो भयो !

फर्केर हेर्दा

२०३० सालदेखि रेडियो नेपालद्वारा सञ्चालित बाल कार्यक्रममा नियमित रूपमा सहभागी हुन सिंहदरवारस्थित स्टुडियोमा जाने गर्दथें। त्यतिखेर स्कूल प्रसारण कार्यक्रमको नामबाट प्रसारण हुने दूर शिक्षा कार्यक्रममा पनि मेरो सहभागिता हुन थालेपछि रेडियो नेपाल जानेक्रम हप्ताको करिब २, ३ पटक हुन्थ्यो।  यस सिलसिलामा २०३२ सालमा एकदिन रेडियो नेपालको पुरानो भवनको त्यतिखेरको प्रशासनिक कक्षको हलमा मैले पहिलो पटक टेलिभिजन सेट देखेको थिएँ।

त्यतिखेर त्यहाँ टेलिभिजनको स्क्रिनमा एकजना दारी पालेका ब्यक्तिले अंग्रेजीमा बोलिरहेका थिए। उनी भारतीय महात्मा महेश योगी रहेछन्। उनले काठमाडौंको खुल्लामन्चमा दिएको प्रवचन छायाँकन गरी लिङ्कद्वारा  काठमाडौंका बिभिन्न स्थानमा प्रत्यक्ष देखाइएको थियो। यसैक्रममा एउटा टेलिभिजन स्क्रिन रेडियो नेपालमा पनि राखिएको रहेछ। त्यतिखेरको मुलुकको एउटा मात्र रेडियो स्टेशन रेडियो नेपालमा कार्यक्रम सन्चालन गर्ने प्रसिध्द कार्यक्रम प्रस्तोताहरूले पनि अचम्म मानेर त्यो धार्मिक प्रबचनको प्रसारण हेरेका थिए। हामी केटाकेटीपनि दरीमा पलेटी कसेर टेलिभिजनको दृश्यबारे अनभिज्ञ भएर पनि स्क्रिनमा मानिस बोलेको देखेर दङ्ग परी तमासे भएका थियौं।

नेपाल टेलिभिजनको पहिलो समाचार बुलेटिन २०४२ साल पुस १४ गते प्रसारण भएको थियो। प्रथम समाचार बुलेटिनको उदघोषण स्वर्गीय दुर्गानाथ शर्माले गर्नु भएको थियो भने समाचार बाचन रमा सिंहले गर्नुभएको थियो। पहिलो दिनको समाचार बुलेटिनभरिमै कुनै दृश्यहरू थिएनन्। त्यो पहिलो बुलेटिन रेकर्डेड थियो। प्रसारण सुरु भएको कैयौं समयसम्म पनि समाचार बुलेटिन रेकर्डिङ गर्ने गरिन्थ्यो। कुकुर तथा चराचुरुङ्गी धपाउन मानिसहरू नै खटिनु पर्ने अवस्था थियो।

मैले भिडियो क्यामरा पनि केटाकेटीमै देखेको थिएँ। मेरो घर पर्यटकीय क्षेत्र ठमेल एरियामा पर्ने भएकोले बेलाबखत पर्यटकहरुले भिडियो क्यामरा चलाएको देखेको थिएँ। तर ती क्यामराले खिचेको दृश्य कहाँबाट देख्न पाउनु ? संवत् २०३६ सालमा भृकुटी मण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता बिषय पढन थालेपछि एकपटक क्याम्पसमा आयोजित सञ्चार सम्बन्धी गोष्ठीमा पत्रकारिताका अध्यापक गोपाल चित्रकारले भिडियो क्यामेरा चलाउनु भएको देखेको थिएँ। उहाँले खिच्नु भएको दृश्य तत्काल समारोह स्थलमै राखिएको स्क्रिनमा देखाइँदा त्यहाँ उपस्थित सञ्चार क्षेत्रका विज्ञहरू सहित सबै सहभागीहरू दङ्ग परेका थिए।

संवत् २०३८।२०३९ सालतिर काठमाडौंका गल्ली गल्लीमा भिडियो फिल्म देखाउने गरिन्थ्यो। असन, मच्छिन्द्र बहाल, ईन्द्रचोक, मखन टोलका घर घरका छिंडीमा ५ रुपैयाँमा हिन्दी तथा अंग्रेजी फिल्मका सो हुने गर्दथ्यो। तत्कालीन भारतको बम्बईमा नयाँ फिल्म सार्वजनिक भएकै दिन काठमाडौंमा पनि ती फिल्म हेर्न पाइन्थ्यो। हामी पनि बेलाबखत फिल्म हेर्न त्यता जाने गर्दथ्यौं। फिल्म देखाउने छिंडीमै चाहेको खाजा पनि खान पाइन्थ्यो। कहिलेकाहीँ त हामी लगातार २ वटा बेग्लाबेग्लै फिल्म पनि हेर्ने गर्थ्यौं। यस्ता प्रदर्शनीले नेपाली सर्वसाधारणहरूमा श्रब्य दृश्यका माध्यमप्रति झुकाब बढदै गएको मान्न सकिन्छ।

सन १९८२ मा भारतको नयाँदिल्लीमा आयोजित नवौं एशियाली खेलकुदका अवसरका बेला भारतको सरकारी टेलिभिजन दुरदर्शनद्वारा  बिभिन्न खेलका प्रत्यक्ष प्रसारण देखाईएको थियो। ती प्रतियोगिता हेर्न नेपाली दर्शकहरूले पनि आफ्ना घर घरमा डिस्क एन्टेना जडान गरेका थिए। कुनै ब्यक्तिले लगानी गरेर एन्टेना जडान गर्ने र खर्च उठाउन छिमेकीलाई समेत लाइन वितरण गर्ने गरेका थिए। त्यतिखेर प्रकाशित हुने बामपन्थी साप्ताहिक पत्रिका जनजागृतिका सम्पादक एवं हाम्रा छिमेकी स्वर्गीय नीरमान नेवाको घरबाट लाइन तानेर  हामीले पनि एशियाली खेलकूदका गतिबिधि हेरेका थियौं। यसरी नेपालमा टेलिभिजन प्रसारणको सुरुआत हुनुअघि नै म सहित नेपाली दर्शकहरूमा टेलिभिजनप्रति झुकाब बढाउन एशियाली खेलकूद प्रतियोगिताले पनि भूमिका खेलेको थियो।

सन् १९५९ मा स्थापना भएको भारतको पहिलो टेलिभिजन यसअघि श्यामश्वेत च्यानलका रूपमा प्रसारण भैरहेको थियो। नेपाली दर्शकहरू नेपालमा टेलिभिजन सुरु हुनुअघि नै भारतीय टेलिभिजनबाट प्रसारण भएका टेलिसिरियलतथा गीत स‌ंगीतका कार्यक्रममा आकर्षित भैसकेका थिए।

नेपाल टेलिभिजनले २०४२ सालमा आफ्नो प्रसारण सुरु गरेपछि पनि राजधानी काठमाडौंकै कैयौं नेपालीको घरमा टेलिभिजन सेट थिएन। प्रसारण दर्शकहरू माझ पुर्याउन नेपाल टेलिभिजनले काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरूमा टेलिभिजन सेट लगेर देखाउने गरेको थियो। प्रारम्भिक दिनमा राती मात्र हुने गरेको प्रसारण देखाउन नेपाल टेलिभिजनका प्राविधिक कर्मचारीहरु बिभिन्न स्थानमा स्क्रिन बोकेर जाने गर्दथेँ। धेरै सर्वसाधारणहरूको उपस्थिति रहने गरेको यस्तो प्रदर्शनका बेला दर्शकहरुले सुरुमा प्रसारण हुने राष्ट्रिय गानदेखि अन्तमा बज्ने राष्ट्रिय गानसम्म आँखा झिमिक्क नगरी हेर्ने गर्दथेँ।

यसै सिलसिलामा दक्षिण कोरियाको सरकारले नेपाल टेलिभिजनलाई ५ सय वटा गोल्डस्टार टेलिभिजन सेट प्रदान गरेको थियो। तर ती सेटमा रिमोट भने थिएनन्। सामुदायिक प्रदर्शन केन्द्र स्थापनाका लागि सहयोग स्वरूप ती टेलिभिजन सेट प्राप्त भएपछि नेपाल टेलिभिजनले बिभिन्न संघसंस्था क्लब तथा तत्कालीन नगर र गाँउ पञ्चायतहरूलाई टेलिभिजन उपलब्ध गराएको थियो।

यसरी काठमाडौं उपत्यकाका बिभिन्न स्थानका दर्शकहरूले आफ्नो घरमा टेलिभिजन सेट नभए पनि मुलुकको पहिलो टेलिभिजनको प्रसारण हेर्ने अवसर पाएका थिए। तरपछि ती सेटहरूको दुरूपयोग हुन गयो। कतिपयले डेक किनेर दर्शकहरुलाई बिभिन्न फिल्म देखाउने काम समेत गरेको पाइएको थियो। तत्कालीन उच्च पदस्थ अधिकारी समेतले त्यही सेट आफ्नो ब्यक्तिगत प्रयोजनका लागि समेत लगेका थिए। प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकमा समेत त्यही सेट लग्ने गरिएको थियो । पछिसम्म पनि प्रधानमन्त्री परिवर्तन हुदाँ नेपाल टेलिभिजनलाई सेट पठाउन आग्रह गरिन्थ्यो। मुलुकमा बहुदलीय ब्यबस्थाको पुनर्स्थापना भएपछि नेपाल टेलिभिजनको स्टोरमा स्टक रहेका कोरियन टेलिभिजन सेट त्यहाँ कार्यरत कर्मचारीहरुलाई तलबबाट काटिने गरी  वितरण गरिएको थियो।

कतिपय अवस्थामा समाचार औचित्यहीन भैसकेपछि पनि क्यासेट प्राप्त हुने गर्दथे। नेपाल टेलिभिजनलाई बेलाबखत तत्कालीन राजदरवार, प्रधानमन्त्री कार्यालय वा सेना वा प्रहरीले क्यासेट समयमा समाचारकक्षमा ल्याइपुर्याउन सघाउने गरेका थिए। कयौं पटक त मन्त्री स्वयम् जिल्लाबाट क्यासेट बोकेर सोझै नेपाल टेलिभिजनमा आउने गर्दथे।

मैले नेपाल टेलिभिजनको समाचार कक्षमा करिब ३४ वर्ष बिताएँ। सामान्य समाचारदाताबाट कार्य सुरु गरेर समाचार निर्देशकबाट बिश्राम लिएको मैले काम गर्दा धेरै उतारचढावहरु भए। कतिपय प्रसङ्ग अहिले चर्चा गर्दा अचम्म मान्नु पर्ने अवस्था भैसकेको छ।

नेपाल टेलिभिजनको पहिलो समाचार बुलेटिन २०४२ साल पुस १४ गते प्रसारण भएको थियो। प्रथम समाचार बुलेटिनको उदघोषण स्वर्गीय दुर्गानाथ शर्माले गर्नु भएको थियो भने समाचार बाचन रमा सिंहले गर्नुभएको थियो। पहिलो दिनको समाचार बुलेटिनभरिमै कुनै दृश्यहरू थिएनन्। त्यो पहिलो बुलेटिन रेकर्डेड थियो। प्रसारण सुरु भएको कैयौं समयसम्म पनि समाचार बुलेटिन रेकर्डिङ गर्ने गरिन्थ्यो। कुकुर तथा चराचुरुङ्गी धपाउन मानिसहरू नै खटिनु पर्ने अवस्था थियो।

त्यसबखत अन्तर्राष्ट्रिय दृश्य पाउन धेरै समस्या थियो। त्यसका लागि काठमाडौंको बलम्बुस्थित तत्कालिन नेपाल दूर सञ्चार संस्थानको  भू उपग्रह केन्द्रमा जानु पर्ने हुन्थ्यो। दुर सञ्चारका प्राविधिकहरुले नेपाल टेलिभिजनले उपलब्ध गराएको भिएचएस क्यासेटमा कुनै निश्चित समयमा मात्र उपलब्ध हुने दृश्य रेकर्ड गरिदिन्थे त्यो क्यासेट लिन नेपाल टेलिभिजनका कर्मचारी दिनंहु साईकल वा सार्वजनिक बसमा बलम्बु पुग्ने गर्दथे। फेरि ती दृश्यका समाचार भने हुदैंनथ्यो। नियमित रूपमा रेडियो मोनिटर गर्नुका साथै राष्ट्रिय समाचार समिति वा चिनियाँ समाचार समिति सिन्ह्वाको बुलेटिन अनुवाद गरी त्यस्ता समाचार बनाईन्थ्यो। कतिपय मानव अभिरुचिका समाचार त दृश्य हेरेकै भरमा बनाउन सम्पादकहरू बाध्य हुन्थे।

आज संसारका कुनै पनि ठाउँका दृश्य इन्टरनेटको माध्यमबाटै तत्काल संसारका जुनसुकै ठाउँमा सजिलै पठाउन सकिन्छ। यही माध्यमको आधारमा नेपालका बिभिन्न स्थानमा कार्यरत समाचारदाताहरूले बिभिन्न टेलिभिजनहरूमा दृश्य पठाइरहनुभएको छ। तर विगतमा यस्तो अवस्था थिएन। जिल्लामा कार्यरत समाचारदाताहरूले बस, हवाईजहाज आदिको माध्यमबाट क्यासेट पठाउने गर्दथे। कतिपय अवस्थामा समाचार औचित्यहीन भैसकेपछि पनि क्यासेट प्राप्त हुने गर्दथे। नेपाल टेलिभिजनलाई बेलाबखत तत्कालीन राजदरवार, प्रधानमन्त्री कार्यालय वा सेना वा प्रहरीले क्यासेट समयमा समाचारकक्षमा ल्याइपुर्याउन सघाउने गरेका थिए। कयौं पटक त  मन्त्री स्वयम् जिल्लाबाट क्यासेट बोकेर सोझै नेपाल टेलिभिजनमा आउने गर्दथे।

नेपालको तर्फबाट तत्कालिन राजा वा प्रधानमन्त्रीहरूको अन्तर्राष्ट्रिय भ्रमणको दृश्य नेपाल पठाउने कार्य निक्कै कठिनाइपूर्ण थियो। यस कार्यका लागि पहिले नै स्याटलाईट बुकिङ गर्नु पर्दथ्यो जसको खर्च हजारौं डलर पर्दथ्यो। उच्चस्तरीय भ्रमणका बेला स्याटलाईट बुकिङ गर्न बजेट नै ब्यबस्था गरिएको हुन्थ्यो। स्याटलाईटको बुकिङ भएको निर्धारित समयभन्दा अघि आफू पुगेको मुलुकमा टेलिभिजन स्टेशनमा जानु पर्ने तथा निर्धारित समयमा त्यहाँ प्ले गरिएको दृश्य नेपाल  टेलिभिजनको सिंहदरवारस्थित स्टुडियोमा रेकर्ड गर्नुपर्ने हुन्थ्यो।

कतिपय मुलुकमा अगाडि पैसा नतिरेसम्म स्टुडियोमा जानै दिइन्नथ्यो। परराष्ट्र मन्त्रालयका कर्मचारीले कतिपय अवस्थामा पैसा दिन आलटाल गर्दा समाचार पठाउन समस्या हुन्थ्यो। यसैगरी कैयौं ठाउँबाट नेपालमा  फोन सम्पर्क गर्न समस्या भएको कारण नेपाल टेलिभिजनको स्टुडियोमा दृश्य पुग्यो कि पुगेन वा त्यसको गुणस्तर कस्तो थियो त्यस्ता कुनै जानकारी पाउनबाट विदेशमा रिपोर्टिङका लागि गएका समाचारदाता बन्चित हुन्थे जसबाट उसको जागिर सधैं धरापमा पर्ने गर्दथ्यो।

यसरी कुनै दिन आफूले विदेशी टेलिभिजन स्टेशनबाट तत्कालीन राजा वा प्रधानमन्त्रीको समाचार दृश्य नेपालमा पठाउन अताल्लिएको सम्झँदा अहिले पनि कहाली लागेर आउँछ।।

Facebook Comments