शैक्षिक अभियन्ता डा. मातृकाको गिरफ्तारी र मेरा मनमा उठेका प्रश्नहरु
मैले संखुवासभाको माटोमा छ दशक बिताएर सेवा निवृत्त भएपछि अलिक बढी काठमाडौंमा र बेला बखत खाँदबारीको प्रेमले तानेर खाँदबारी जाने आउने गरिरहेको छु । हालको खाँदबारी नगरपालिका क्षेत्र नै मेरो जीवनको सबैभन्दा बढी समय बिताएको भुगोल बन्यो। मैले २०३२ सालमा ढुङ्गेधाराको प्राथमिक शिक्षक हुँदा नै ‘मेरी अप्सरा जस्ती खाँदबारी’ शीर्षकको कविता रचना गरें र अहिले पनि म काठमाडौंमा सपरिवार बसेर पनि आफूलाई खाँदबारी बासी भन्न रुचाउँछु । मैले त्यहीं शिक्षक हुँदै राजनीति पनि बुझें र निश्चित दलमा बसेर आफ्नो भूमिका निर्वाह गरें पनि ।
साधारणतया विक्रम संबत् २०१८ सालदेखि हालसम्म भएका मुख्य मुख्य राजनैतिक, सामाजिक तथा शैक्षिक घटनाक्रम र तिनले त्यहाँको समाजमा पारेका प्रभावको बारेमा ज्ञान छ मलाई । पञ्चायती कालखण्डमा पञ्चायत बिरोधि गतिविधिमा नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति शिवकुमार गौली सँगको बहुदलको प्रचारप्रसारदेखि पछिल्लो समयमा शैक्षिक अभियन्ता डा. मातृकाप्रसाद तिम्सिना संगमैले गरेका सहयात्राको यतिखेर याद आइरहेको छ ।
अरु धेरै गन्थन भन्दा पनि २०७७ साल भदौ ५ गते संखुवासभाका एक प्रखर शैक्षिक तथा सामाजिक अभियन्ता श्री हिमालयकिरण सामुदायिक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. मातृकाप्रसादलाई लगाइएको ‘डकैती मुद्दा’का कारण उहाँ माथि भएको अमानवीय हर्कतको गिरफ्तारीले मलाई एकदम स्तब्ध बनायो ।
उहाँको दोष भनेको सरकारले शिक्षालयमा आइसोलेसन सेन्टर नराख्न भने पनि जवरजस्ती हिमालय किरण क्याम्पसलाई आइसोलेसन सेन्टर बनाई रहेपछि क्याम्पस प्रमुख डा. मातृकाले त्यस कार्यको जमेर विरोधर गर्नुभएको थियो । उहाँलाई आइसोलेसन सेन्टर तोडफोड ग¥यो भन्ने आरोपमा पक्राउ गरी ‘डकैती मुद्दा’ लगाइयो ।
मेरा मनमा असंख्य प्रश्नहरु खडा भए । अहिले डा. मातृका तिम्सिना विरुद्धमा विष वमन गर्ने र उहाँको गिरफ्तारीमा रमाएर सामाजिक सञ्जालमा तथानाम लेख्ने खाँदबारीको माटोका धर्तीपुत्रहरुलाई क्षणिक आत्मरती त भयो होला नै तर मातृकाले त्यो माटोमा गरेका असल कामको १०% काम मात्रै तिनले गरेर देखाउन मातृकाको दशांश शैशिक तथा सामाजिक काम गरेर देखाउन तिनलाई म चुनौति दिन्छु । २०३२ सालमा ढुंगेधाराको घर छाडेर पढ्न काठमाण्डौ हिंडेका र शिक्षा आर्जन पछि काठमाण्डौमा नै स्थायी बास बनाएर २०३५ सालदेखि काठमाण्डौ मैं स्थायी जागिर खाँदै बसेका मातृकालाई हामीले नै २०५३ सालमा स्थायी जागिर राजीनामा दिन लगाएर जन्मभूमि मै केही गरौं भनेर लग्यौं । कहिल्यै दम्भ नदेखाउने विद्वान, अत्यन्त शालीन र सादा जीवन र उच्च बिचारका पर्यायी कर्मवीर मातृकाले गरेका असल र दुनियाँले प्रशंसा गर्न लायक कामको लामै फेहरिस्ता छ त्यहाँ । कसैले भनिरहनु पर्दैन जो आज दुनियाँले उपभोग गरिरहेका छन् ।
२०५४ सालदेखि हालसम्म कहिल्यै मातृका तिम्सिनाको र मेरो एउटै राजनैतिक विचार हुन सकेन । तर पनि उहाँले यो ठाउँमा गरेका प्रसंशनीय कामहरुको मैले चर्चा गर्नै पर्छ । २०५५ र ०५६ सालमा एउटा वरुण क्याम्पसमा मात्र १२ कक्षा पढ्न पाइन्थ्यो । संखुवासभा जिल्लाको सदरमुकामा रहेको हिमलय माध्यमिक विद्यालयमा १२ कक्षा खोल्ने अभियन्ता, १२ कक्षामा विज्ञान विषयको कक्षा सञ्चालन गर्ने र त्यसको आर्थिक व्यवस्थापनका लागि महायज्ञ लगाई सहज बनाउने अभियन्ता, सामाजिक विकृति र विसंगति विरुद्ध दलीतहरुको मुक्ति आन्दोलनका अगुवा, योगमायालाई विभूति घोषणा र योगमाया आयुर्वेद विश्वविद्यालयका अभियन्ता, भारतीय दुताबासको आर्थिक सहयोगमा हिमालय किरण क्याम्पस भवन निर्माणका अगुवा, क्याम्पसको जग्गा खरिदका अगुवा, आफ्ना गुरु जंगबहादुर प्रसाद ठाकुरको नाममा शिक्षक आवास गृह निर्माणका अभियन्ता ।
यस्ता अनेकौं अभियान सञ्चालन गरेका अभियन्तालाई प्रशासनले डाका मुद्दा लागिरहँदा टुलुटुलु हेरिरहने तिनै अभियानको प्रतिफल उपभोग गर्ने उपभोक्ताहरुले प्रतिकार नगरेको देख्दा र केही व्यक्तिहरुले उल्टै आत्मरती गरेको देख्दा खाँदबारीका पुराना विद्यावारिधि गरेका विद्वानहरु त्यहाँका मानिसहरुलाई चिनेरै पलायन भएछन् भन्ने लाग्न थालेको छ र के अब हामीले पनि सदाका लागि छाड्नै पर्ने हो त भन्ने प्रश्न मनमा उठ्छ ।
म विगतलाई सम्झन्छु, २०४८ सालताका खाँदबारीका साहु–महाजनहरु अब हाम्रा मात्र दिन आए भन्ने सम्झन्थे परन्तु २०५८ सालको भदौ १२ गते माओवादीले आयोजना गरेको विशाल आमसभामा तिनै साहुमहाजन र एमाले कांग्रेसका थुप्रै साथीहरुले माओवादीको उक्त सभाका अतिथी का. वासु शाक्यको घुंडा समातेर फोटो खिचेका तस्विर र खाँदबारीबाट गएका तत्कलीन गैर माओवादी सबैले माओवाद जिन्दावाद लेखिएका फेटा बाँधेर बाह्रबिसे बजार परिक्रमा गरेको झझल्को मलाई अहिले पनि आइरहेको छ । समय बहुत बलवान छ आज मेरो शहरमा एउटा शिक्षक एउटा अभियन्तालाई अत्यन्त अमानवीय ढंगले गिरफ्तारी गरिरहँदा हाम्रो शिक्षक जगत किन मौन छ ?
तत्कालको लाभ हानीलाई हेर्नुभन्दा पनि सुदूर भविश्यलाई सोचेर न्याय मर्न नदिऔं । सबै राजनैतिक दल र नागरिक समाज, शिक्षक, वुद्धीजिवी बसेर मातृका सहितका सबै आरोपितहरुलाई रिहाई गराऔं । अत्याचारको भत्खरु नबनौं, मर्दाका मलामी र बाँच्दाका जन्तीलाई माया नमारौं । संखुवासभाको शिक्षाको ज्योतिलाई निभ्न नदिऔं ।
कसैको पाँच करोडको घरको पेटी कसैले हडप्यो अतिक्रमण ग¥यो भने के पाँच करोड कै क्षति भएको मानिन्छ त? छिमेकीका गाईले बिगार गरेका बालीको उचित अर्मल गर्न समेत नसक्ने अक्षम जनप्रतिनिधिले नै नेतृत्व गरिरहेको हो त खाँदबारी नगरपालिकामा? के पन्द्र लाख कै क्षति भएको मान्छ त हाम्रो ब्रम्हले? मातृकाको गिरफ्तारीले त्यतिमात्र प्रश्न जन्माएको छैन, भोलि मातृका तिम्सिना क्याम्पसको नेतृत्व छाडेर नेकपाको नेतृत्वमा आउनु भयो भने हामी कहाँ हुन्छौं ? यदि मातृकाको सहानुभूतिमा विप्लव समुहले प्रतिरक्षा गर्न चाह्यो भने ऐले डा. मातृका बिरुद्ध विष वमन गर्नेहरुले बाह्रबिसेमा वासु शाक्कको घुँडो समाते झैं मातृकाको घुँडो समात्ने त छैनन् कतै। यी र यस्ता थुप्रै प्रश्न मेरा मनमा आइरहेका छन् अहिले ।
तत्कालको लाभ हानीलाई हेर्नुभन्दा पनि सुदूर भविश्यलाई सोचेर न्याय मर्न नदिऔं । सबै राजनैतिक दल र नागरिक समाज, शिक्षक, वुद्धीजिवी बसेर मातृका सहितका सबै आरोपितहरुलाई रिहाई गराऔ। अत्याचारको भत्खरु नबनौं, मर्दाका मलामी र बाँच्दाका जन्तीलाई माया नमारौं। संखुवासभाको शिक्षाको ज्योतिलाई निभ्न नदिऔं ।