परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सिमान्त कथा लिएर आउनुभयो विना थिङ

काठमाडौं । करिब एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय साहित्यकार विना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ । पाठकहरुको मागलाई सम्बोधन गर्दै निषेधाज्ञाकै बीच पनि पुस्तक बजारमा पु¥याइएको प्रकाशन संस्था फिनिक्स बुक्सले जनाएको छ ।

‘नयाँ वर्ष शुरु हुनासाथ सार्वजनिक हुने तयारीमा रहेको भए पनि कोभिड महामारीसँग जुध्न लगाइएको लकडाउनका कारण प्रकाशन रोकिएको थियो”, फिनिक्स बुक्सका गणेश सुवेदीले भने, “पाठकको माग सम्बोधन गर्दै बजारमा राम्रा पुस्तकको अभाव नरहोस् भनेर निषधाज्ञाका बीच पुस्तक बजारमा पु¥याइएको हो । पुस्तक पसलहरु नखुल्दासम्म अनलाइन माध्यमबाट पुस्तक उपलब्ध हुनेछ ।”

१३ वटा कथा रहेको यो संग्रहले मूलतः राज्यतहबाट ऐतिहासिक रुपमै सिमान्तमा पारिएको समुदायको कथा कहने कथाकार थिङले बताउनु भयो । “यो सिमान्त समुदायको दुःख, कष्ट, पीडा मात्रै होइन उनीहरुको संघर्षको पनि कथा हो”, थिङ भन्नुहुन्छ्, “यी कथामा सिमान्त समुदायमाथी भएका विभेद मात्र नभई त्यो समुदायले गरेको संघर्ष पनि अभिव्यक्त गर्ने प्रयास गरेको छु ।”

पुस्तकको नामाकरणबारे पनि कथाकार थिङको आफ्नै व्याख्या छ । भन्नुहुन्छ, “तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ । यो याम्बुको किनारमा छ तामाङ समुदाय । उपत्यका बाहिरबाट हेर्दा त यो पनि याम्बुकै अङ्ग जस्तो लाग्छ तर यो समुदायले नेपाल राज्य निर्माणदेखि नै आफूलाई किनारामा पाएको छ । त्यो किनारीकृत भाव सम्प्रेषण होस् भनेरै पुस्तकको याम्बुनेर नामाकरण गरिएको हो ।”

याम्बुको किनारमा वर्षौंदेखि राज्यबाट किनारीकृत भएर बसेको समुदायको भोगाई, समयक्रमसँगै समुदायमा आएको परिवर्तन, जीवन बोधका विभिन्न आयाम कथा संग्रहमा समेटिएको छ । मधेसमा हुर्केर उपत्यकामा घरजम गर्न आउनुभएकी कथाकारले मधेसका सिमान्त कथा पनि छुटाउनु भएको छैन ।

“यो कथा संग्रह म हुर्किएको र बाँचेको स्थान–समयको साक्षी बन्ने आशा राखेकी छु”, थिङ भन्नुहुन्छ । २०६९ सालमा ‘छुकी’ कथा संग्रह र २०७२ सालमा ‘रातो घर’ कविता संग्रह प्रकाशित गरिसक्नु भएकी थिङ विभिन्न पत्रपत्रिकामा बाल सिकाई र शिक्षा सम्बन्धमा अखबारी लेखन पनि गर्नुहुन्छ । उहाँ २०७५ सालको बाह्रखरी कथा प्रतियोगिताकी विजेता पनि हुनुहुन्छ ।

Facebook Comments