परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोनासँग जुध्न तयार भिरघरे

फुटानी

होइन हौ भिरघरे ! सरकारले लकडाउन गरेको बेला कहाँ हिडिस । फेरि रित्तो झोला पनि बोकेको छस् ।
के गर्नु काका गौरीघाट खरिबोटका शालिकराम दाहालले अहिले फुन गरेर खरिबोटतिर तरकारी पसल खुलेको छ । चाहिन्छ भने आफ्नो जोहो गर भने अनि तरकारी किन्न हिडेको ।

अनि शालिकराम अरु के भन्थे ?

के भन्छन बरा । छटपटिएर कहिले बागमती किनार, कहिले गौरीघाट हनुमानको सरणमा, कहिले ओम उप्रेतीसँग गुजेश्वरीतिर बरालिन्छन् । धेरै जसो घरमै कोचिएर बस्छन् नि ।

ए अनि खान्तेपिन्तेको ब्यवस्था चैं मिलाए छन् ?

खै, पिन्ते चैं थाहा छैन खान्ते त अस्ति बन्दोबस्त गरें भन्थे ।

हौ, भिरघरे तँ त घुमी रहन्छस् यता शिव पाण्डे, घनश्याम पौडेल, नरेन्द्र खनालहर्को खबर चैं के छ नि ।

के हुन्छ । सबै कोठामा कोचिएर बसेका छन् ।

हेर भतिज भिरघरे, तँ पनि बाहिरफेर बढी नहिड् । यो कोरोना भाइरस भनेको आफैंले सर्न नदिने हो । भिडभाडमा नजाने, साबुन पानीले हात धुने, माक्स लगाउने, हात नमिलाउने र डेढ–दुई हप्तासम्म घरबाट ननिस्कने हो भने कोरोना भाइरसका ती डिंगा सप्पै भाग्छन् भनेर डाक्टरहर्ले भनी रा’छन् । लेर आउलास् नि केटा । बाहिरतिर बढी नघुम ।

हुन त हो नि काका । खानु परिहाल्छ । पसल जानू परिहाल्छ । ल काका म खरिबोटसम्म पुगेर आउँछु ।

भिरघरेको भनाइ पनि वेमनासिव चैं छैन । लकडाउन लम्बिदै गयो भने गाह्रो पर्छ । भन्नू उसो होइन मायाले संसार थेग्दैन है । माप्पाको ब्यादीको सामना हाम्रा पूर्खाहर्ले कसरी गरे हुनन । हस्पताल थिएनन, ओखती थिएन, खेतीपातीमा काम गर्दा प्रयोग गर्ने आधुनिक औजार थिएनन् । निकै दुख गरेर सुखी र दीर्घ जीवन कसरी भोग्न पाए हुनन् । अहिले त ब्यक्ति ब्यक्तिका हस्पताल छन । तर, राष्ट्र र जनतालाई महामारीले गाँजेको बेला नाम कहलाएका हस्पतालका मालिक डाक्टरहरू काम लागेनन् भन्ने खबर आई रहेको छ ।

‘काका पसल त बन्द भै सकेछ’ भन्दै भिरघरे फर्केर आयो । हुन्दे भतिज बारीमा साग छ बोजुलाई भनेर टिपेर लै’जा । अनि हौ, भिरघरे यी ठूला हस्पतालहर्ले त रुघाखोकीका बिरामी पनि जाँच्न छाडे अरे, टेकु जा भनेर नाङ्लो टकटकिए जस्तो गर्छन अरे त । साँच्चै कुरो हो कि हाम्रा पत्रकारले लेखे जस्तै उडन्ते कुरा हो । तैंले त सुनेको होलास्, बुझेको होलास् लौन स्पष्ट पार त भतिज ।

केही हदसम्म चैं हो काका । हावा नचली पात हल्लिदैन । एक त नाफा कुम्ल्याउन मात्र खोलिएका हस्पताल ‘बाहिर बोक्रो, भित्र खोक्रो’ छन् । बिरामीलाई ऐठन पारेर पैसो असुल्ने धन्दो नै उनार्को लागि सेवा गरेको हुन्छ अरे । अर्कोतिर यिनार्ले सरखारलाई पनि हेपेकै हो । कहिलेकाहीँ त मलाई ‘भाउजू परिन दाजुको हात, रिस परो मेरो हात’ भने जस्तो लाग्छ । यस्तालाई सरखारले पनि केही त गर्नुपर्छ नि काका ।

सागको मुठो बोकेर भिरघरे आफ्नो घरतिर लाग्यो । कुरो चैं भिरघरे पनि खाट्टी गर्छ । बाठो पनि छ । अस्ति भन्दै थ्यो– शिक्षा र स्वास्थ्य ब्यापारीका हातमा दिनु हुँदैन, सरखारले चलाउनु पर्छ भनेर । यदि परेको बेला यिनारू भाग्छन भने सरखारले कब्जामा लिएर यस्ता हस्पताल चलाउनु पर्छ । हुनत भिडले नेतृत्व गर्नु राम्रो मानिदैन तर परेको बेला काम नआउने हस्पताल सरखारले लिनु पर्छ भन्ने आवाज नागरिकले पनि उठाउनै पर्छ ।

हामीले हाम्रो बानी सुधार्न र सजगता अपनाउन सक्ने हो भने कोरोना भाइरस नेपालबाट चाँडै भाग्छ । यो भाइरसले हामीलाई धेरै पाठ सिकाएको छ । यो साम्य भैसके पछि पनि अर्को खालको आपत् आई लाग्न सक्छ । त्यसैले हामी सधैं सचेत, सजग, सहयोगी र समय अनुसार चल्न सक्नु पर्छ भनेर सिरान घरे बड्डा अर्ती, उपदेश दिई रहन्छन् ।

Facebook Comments