म पनि मांसाहारी पत्रकार !
फुटानी
हैन हौ ! पत्रकार नानी शहरतिर नगर कता यता गाउँतिर आको !
आ……बोजु ! शहरतिर जान मन लागेको थिएन । अब भने नगै नहुने भाको छ । म साकाहारी पत्रकार थिएँ अब भने शहर पसेर मांसाहारी पत्रकार बन्न बाध्य भएँ ।
है के भनेको ? पत्रकार पनि साकाहारी र मांसाहारी हुन्छ ?
हुन्छ बोजु दुई खालको हुन्छ ? साकाहारीले भएको सामाचार लेख्छ, राष्ट्रको समाचार राष्ट्रलाई घाटा नपर्ने गरी लेख्छ, जनजीवीकाको समाचार लेख्छ, खोजेर समाचार लेख्छ, जनताको समाचार लेख्छ । मांसाहारी पत्रकारले मनगढन्ते समाचार बनाउँछ, मन्त्री वा पदिय दायित्व बोकेका व्यक्तिको उछितो काढेर लेख्छ । सर्वसाधारण पाठकले त्यही समाचार मन पराउँछन् । र, मन्त्री वा ओहोदावालाले त्यही मांसाहारी पत्रकारलाई नजिक राख्छन् ।
पत्रकार नानी ! बडो ननिको कुरा सुनायौ त । मन्त्रीहरुले डरले होला त्यस्ता मांसाहारी पत्रकारलाई नजिक राखेको ! अनि नानी चाहिँ किन मांसाहारी पत्रकार बन्ने विचार ग¥यौ त !
के गर्नु बोजु ! यहाँ बसेर साकाहारी समाचार लेख्दै थिएँ, मन्त्रीहरुसंग पनि फोनमा वातचित हुन्थ्यो, अब फोन उठाउनै छाडे, यसो बुझ्दै जाँदा साकाहारीको फोन नउठाउने, साकाहारी पत्रकारलाई नभेट्ने, साकाहारी पत्रकारसंग मन्त्री महोदयहरु नबोल्ने र भरसक साकाहारी पत्रकारसंग पिएलाई पनि बोल्न दिदा रैनछन् ।
उ…..भिरघरे पनि टुप्लुक्कै आईपुग्यो ।
हैन बोजु अघि नै आएर कुरा सुन्दै थिएँ । यो पत्रकार भाइले गजबको कुरा ग¥यो । पत्रकार मांसाहारी नै बन्नु पर्छ । निउँ खोजेर, सिंगौरी खेलेर डुक्रिएर लेख्ने हर्लाई मात्र मन्त्रीले बोलाउँछ, सम्मान गर्छ र अल्पकालीन नै भए पनि अंगालो मारेर भलाकुसारी गर्छ ।
हो नि भिरघरे दाई ! सरल, सहज र उसले गरेका राम्रा कामको प्रशंसा मात्र गरेर लेख्यो भने फोन पनि उठाउँदैन । यसैकारण मैले निर्णय गरें मेरो कलम मांसाहारी भएर चल्छ । अनि उसले फोन गरेर भन्ने छ– ‘हैन पत्रकारजी यो त गलत लेख्नु भयो ।’ आउनु होस् बसेर चिया खाउँ, अरु कुरा पनि गरौंला भनेर कि कसो !
हो भिरघरे दाई ! अब म कहलाएको मांसाहारी पत्रकार भएर लेख्ने छु । घरको बलोमा कहाँ कहाँ जुइनो छ भन्ने मलाई पनि थाहा छ । जुइनो काटे पछि बलो आफैं खस्छ ।
ठिक भन्यौ पत्रकार भाइ ! खसी, बोकाको होइन, ठूलो राँगाको समाचार लेख्नु । उसको मुटुमा चिमोट्ने गरी, कसरी यो पत्रकारले थाहा पायो भनेर फुत्त बोली फुत्किने गरी, सिस्नुको मुठोले हानेको जस्तो अनुभव हुने गरी लेख्नु । अनि मात्र यिनले धरातल थाहा पाउँछन् ।
बोजु अब मांसाहारी पत्रकार भएपछि म पनि काठमाण्डौं तिर घर बनाएर बस्छु, हेर्नुहोला कानमा सिर्कनाले हिर्काए जस्तो हिर्काउन सकिन भने म यो गाउँको पानी खान्न ।
धेरै उत्ताउलो पनि हुनुहँुदैन है पत्रकार नानी ! ठिक्क पारेर मात्र कोर्रा हान्नु पर्छ । अनि मात्र घोडा मेसोमा आउँछ । कि कसो भिरघरे ।
होनी बोजु ! अहिले आवेशमा आएर लेखेको समाचारले बाटो बिरायो भने भोलि आफैंलाई निको हुँदैन ।
हैन अब मैले निर्णय गरी सकें । ठोकेर, टिमुरकिएर, निचोरिएर, च्याँठ्ठिएर, निउँ खोजेर लेख्छु । त्यसपछि भन्नेछन् ‘फलाना पत्रकारजी’ ।
अहिलेलाई भने लाल सलाम !