परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

स्वस्थानी ग्रन्थको गहन अध्ययन जरूरी छ

सन्दर्भः स्वस्थानी ब्रत

(आजबाट सुरु भएको आम नेपालीले लिने स्वस्थानी ब्रत र यस ग्रन्थका बारेमा बेला बेलामा हाम्रो समाजमा बहस हुने गरेको छ । यसमा विश्वास गर्नेदेखि यसको सान्दर्भिकता नै नरहेको भन्ने वर्ग नेपाली समाजमा छन् । स्वस्थानी ग्रन्थ, यसको सान्दर्भिकता र वैज्ञानिकताका पक्षमा थप बहस् होस् भन्ने आसयले यो लेख प्रकाशित गरिएको छ । यसबारेका तथ्य र तर्कपूर्ण लेखहरू प्राप्त भएमा हामी क्रमैसँग प्रकाशन गर्ने नै छोँ — सम्पादक)

भन्ने गरिन्छ, स्कन्द पुराण लगायत १८ वटै पुराणहरूका रचयीता वेदव्यास हुन् । तर धेरै विद्वानहरू यस भनाइसँग सहमत छैनन् । उनीहरूका मत अनुसार, विभिन्न पुराणहरूमा अनेकौं कुराहरू दोहोरिएका मात्रै होइनन् कि कहीँकहीँ यिनीहरूमा वर्णित कुराहरू एक अर्कासँग विरोधाभाषपूर्ण पनि छन् । त्यसैले व्यासका चेलाहरूले नै व्यासकै नामबाट पुराणहरूको लेखनी गरेको भन्ने पनि मान्यता रहेको छ ।

आर्य समाजका अमूल्य निधिहरूका रूपमा रहेका पुराणहरूलाई अलौकिक कथाहरूका संग्रह मात्रै होइन कि तिनीहरूलाई प्राचीन आर्य समाजको इतिहासको मुख्य स्रोतका रूपमा पनि लिइनुपर्दछ । तर यसका लागि अथक अध्ययन र अनुसन्धानको आवश्यकता पर्दछ । पार्जिटर र हाल जस्ता पाश्चात्य विद्वानहरूले यस सम्बन्धमा ठूलो परिश्रम गरेका र आफ्नो उद्देश्यमा धेरै हदसम्म सफल भएका पनि देखिन्छन् । भारतका केही विद्वानहरू पनि यस कुरामा लागिपरेका देखिन्छन् । यो कुरा सत्य हो कि अहिलेको समयसम्ममा पनि आर्यका प्राचीन पुराणहरूका सम्बन्धमा आवश्यकता अनुसारको अध्ययन, अनुसन्धान हुन सकेको छैन र जति भएको छ त्यसैमा सन्तुष्ट भएर बस्न सकिने अवस्था पनि देखिँदैन । विद्वानहरूका मत अनुसार, अठाह्र पुराणहरूमध्येकै एउटा भीमकाय पुराण ‘स्कन्द पुराण’ बाट स्वस्थानीका कथा झिकिएको हो र त्यसमा पछि गएर धेरै कथाहरू थपिँदै गएका हुन् ।

स्वस्थानीका सम्बन्धमा कुरा गर्दा एउटा कुरा के सत्य हो भने यस ग्रन्थमा सृष्टिको प्राचीन संस्कृति, इतिहास, आर्य सभ्यता र भूगोलको समेत सटिक वर्णन गरिएको छ । यसले मातृशक्तिको पुजनको संस्कृति सबैभन्दा पुरानो संस्कृति हो भन्ने कुरालाई बल दिन्छ, यद्यपि यसमा पुरानै संस्कृतिको रूपमा रहेको लिङ्ग पुजन संस्कृतिलाई पनि त्यत्तिकै महत्त्व र आदर देखाइएको छ अर्थात् स्वस्थानी देवीको पुजनसँग नै शिव लिङ्ग पुजनको कुरा पनि जोडिएर आउँदछ । यथार्थमा शिव लिङ्ग पुजनको इतिहास अत्यन्त पुरानो रहेको सिद्ध भइसकेको छ । यस आर्यवर्त क्षेत्रकमा मात्रै नभएर यहाँदेखि युरोपको स्पेनसम्ममा समेत विगत ६ हजार बर्षअघिदेखि नै शिव लिङ्ग पुजन हुदै आइराखेको कुरा थाहा भएको छ । मय दानव त्रिपुर दहन हुनुभन्दा अघि नै सुनको शिव लिङ्ग लिएर त्रिपुर छोडी हिँडेको स्वस्थानीको कथनले उनले आफ्ना अनुयायीहरूको साथमा अहिलेको दक्षिण अमेरिकामा गएर आफ्नै सभ्यताको सुरूवात त गरेनन् भन्ने कुरा उठाउन सकिन्छ । किनभने त्यस क्षेत्रलाई स्पेनिसहरूले हत्याउनुअघिसम्म माया नामको सभ्यता त्यहाँ बिकसित अवस्थामा थियो । यदि मयको माया सभ्यतासँग सम्बन्ध छ भने निश्चय पनि त्यहाँ शिव लिङ्ग पुजन हुन्थ्यो होला भन्न सकिने आधार कायम हुन जान्छ । स्वस्थानीमा वर्णित शिव लिङ्ग पुजन र त्यससँग जोडिएर आउने अन्य कुराहरूका सम्बन्धमा थप अध्ययन र अनुसन्धानको आवश्यकता छ ।

आर्यहरूको मूल थलोको रूपमा कुनलाई लिने भन्ने सन्दर्भमा विद्वानहरूको बीचमा एक मत छैन । केही मध्य एसियालाई यस थलोको रूपमा मान्ने गर्दछन् । त्यस स्थानको ककेसियस पर्वत मालालाई आर्यहरूको आदिस्थान मान्दै आजकल वहुप्रचलित शब्द खसलाई पनि त्यसैसँग जोड्ने प्रयास उनीहरूमध्ये धेरैले गरेको पाइन्छ । पुराणहरूमा वर्णित कस्यप सागर नै आजको क्यास्पियन सी हो भन्ने पनि उनीहरूको मत छ । यसै गरेर स्वस्थानीमा वर्णित सातवटा द्वीपहरूको वर्णन भूगोलका जिज्ञासुहरूका लागि पनि त्यत्तिकै रूचिकर रहेका छन् । त्यसमा उल्लेख गरिएको जम्बू द्वीपले अफगानिस्तान, रुसको केही भाग, इरानको केही भाग, वर्मा, श्रीलङ्का  र सम्पूर्ण हिमालयको पूरा क्षेत्र अनि चीनको भाग, दक्षिण पूर्व एसिया र केही अफ्रिकाको भागलाई जनाउँदथ्यो । त्यसै गरेर पुष्कर द्वीप अन्तरगत कोरिया, जापान, हिन्द चीनका साथसाथै जापान र रुसको केही भाग पर्दथ्यो । शाक द्वीपमा भने रुसको केही भाग, बोर्नियो, अष्ट्रेलिया, हिन्द चीनको केही भाग, जाभा र सुमात्रा समेतलाई समावेश गरिएको थियो । क्रौन्च द्वीपमा हल्यान्ड, नर्वे स्वीडेन, बेल्जियम, ब्रिटेन, स्पेन र फ्रान्स जस्ता मुलुकहरू पर्दथे । स्पेनको केही भाग, इजिप्ट, इजरायल, ग्रीस, इटली र टर्की जस्ता मुलुकहरू प्लक्ष द्वीपमा पर्दथे । कुश द्वीपमा इरानको केही भाग, अरब, इराक, सिरिया आदि भूखण्ड पर्दथे भने मेडागास्कर , इथोपिया र सोमालीया जस्ता क्षेत्रहरू शाल्मली द्वीपमा थिए । यसरी स्वस्थानीले विश्व भूगोलको पनि कुरा गरेको पाइन्छ ।

कुरा जे होस्, कश्यप ऋषिका विभिन्न पत्नीहरूबाट विभिन्न देवता, दैत्य – दानव मात्रै नभएर विभिन्न पशु – पन्छीहरूको समेत जन्म भएको कुरा स्वस्थानीमा उल्लेख छ । हामीलाई स्वाभाविक रूपमा झट्ट मानिसबाट पशुको जन्म निश्चय पनि अपत्यारिलो मात्रै नभएर असम्भव समेत लाग्दछ । तर गहिरिएर हेर्ने हो भने यसमा त्यस्तो अपत्यारिलो केही पनि छैन । मानवशास्त्रले भन्दछ — मानवहरू प्राचीन समयमा विभिन्न पशुपन्छिहरूको आकृतिलाई गण चिन्ह (टोटेम) का रूपमा लिने गर्दथे । त्यसै अनुरूप विनिताका गर्भबाट जन्मनेहरूले गरूडको र कद्रुपको गर्भबाट जन्मनेले नागको चिन्हलाई आफ्नो टोटेमको रूपमा ग्रहण गरे होलान् तर पछि गएर सो चिन्ह नै उनीहरूको जाति वोधकको रूपमा रहन गयो होला भन्ने गरिएको अनुमानमा दम छ ।

स्वस्थानीमा ३३ कोटी देवताको प्रसङ्ग पनि बेलाबेलामा आउने गर्दछ । हामी प्रायः कोटीको अर्थ करोड भन्ने लगाउँछौं । कोटीको अर्को अर्थ किसिम वा प्रकार भन्ने पनि हुन्छ भन्ने तथ्य पनि हामीले सम्झिनु जरूरी हुन्छ । यस अर्थमा यहाँ ३३ कोटीले ३३ किसिमका भन्ने अर्थ दिन्छ । वृहद्कारोण्योपनिषदमा शाकल्यसँगको संवाद्मा याज्ञवल्क्यले ११ रुद्र, १२ आदित्य, ८ वसु, १ प्रजापति र १ इन्द्र गरेर ३३ कोटी (प्रकारका) देवताको गणना गरेका छन्, जुन ज्यादा पत्यरिलो लाग्दछ । यसरी स्वस्थानीमा बारम्बारको प्रसङ्गमा आउने ३३ कोटी देवताहरूलाई ३३ करोड देवताको अर्थमा लिइनु हुँदैन भन्ने नै यस लेखाइको आशय हो ।

कश्यप ऋषिका अनेकौं पत्नीहरूमध्ये दितीबाट दैत्य, अदितीबाट आदित्य र दनुबाट दानव जातिको जन्म भएको बताउने स्वस्थानी ग्रन्थको सुक्ष्म अध्ययनले ती सबै एक अर्काका नजिकका नातेदार भएको प्रष्ट्याउँदछ, जसमा विस्वास गर्ने धेरै आधारहरू छन् । अदितीबाट जन्मिएका आदित्य ( देवता ) हरूका दाजुको रूपमा दितीबाट जन्मिएका दैत्यहरू देखा पर्दछन् जसको दनुबाट जन्मिएका दानवहरूसँग सुमधुर सम्बन्ध कायम हुन गयो र दैत्य र दानवहरू एकआपसमा मिसिन गए र एउटै जातिको रूपमा लिइन थाले ।

एउटा ध्यान दिनुपर्ने कुरा के पनि छ भने वैज्ञानिक ज्ञानका हिसावले दैत्य जाति देव जातिभन्दा अगाडि थियो । नगर निर्माण, भवन निर्माण र चिकित्सा विज्ञानमा त्यो जातिको प्रगति अतुलनीय थियो । देव जाति ग्रामीण जनजीवनलाई रूचाउने तर दैत्य र दानवहरू भने नगर सभ्यताको पक्षपाती भएको कुरालाई स्वस्थानीले प्रष्टयाउँदछ । नगरमा जनसंख्या बढ्दै जाँदा नगर र ग्रामीण इलाकाको बीचमा उत्पन्न हुन जाने असन्तुलनका कारणले गर्दा उत्पन्न हुन जाने समस्याको सङ्केत त्रिपुर दहनको कथाले गर्दछ ।

अन्य आकर्षणहरू

बोलाउँछु फोन गरेर

आन्दोलनको अपिल

माघी

नेपाल हुन्थ्यो कहाँ?

मय दानवलाई ३ वटा पुरहरू — त्रिपुरको निर्माणकर्ताका रूपमा मानेको स्वस्थानीले मयको निर्माण कौशलताको प्रशंसा त गरेको छ नै, उनीलाई शिव भक्तको रूपमा समेत स्थापित गरेको छ । मयको कुरा महाभारतमा पनि आउँछ, जसले पाण्डवहरूका लागि अलौकिक दरवारको निर्माण गरिदिएका थिए जुन पछि दुर्योधनको इर्ष्याको कारण समेत बन्न पुग्यो । तर त्रिपुरको निर्माणकर्ता मय र पाण्डवको दरवारको निर्माणसँग सम्बन्धित मय एउटै व्यक्ति हुन असम्भव छ । मय परम्पराका सदस्य अथवा पहिलेका मयका सन्तान जसले भवन निर्माणमा महारथ हासिल गरेका थिए, उनलाई पछिल्ला मयका रूपमा लिनु ज्यादा युक्तिसङ्गत हुन्छ ।

महादेवले बाणको प्रयोग गरेर मयले निर्माण गरेको त्रिपुरको दहन गरेको कुरा हामी स्वस्थानीमा पढ्ने गर्दछौं । त्रिपुर दहनको मिथकलाई सिन्धु घाँटीको सभ्यताको पतनसँग लगेर विस्वासप्रद ढङ्गले जोड्ने विद्वानहरू पनि हामीहरूसँग छन् । यस्तै विद्वानहरूमध्ये मदनमणि दीक्षितको नाम लिन सकिन्छ । उहाँले त्रिपुर नै सिन्धु घाँटीमा विकसित तीनवटा नगरहरू – हरप्पा , मोहेन्जो दारो र कालीवङ्गा हुन भन्ने धारणा राख्नुभएको छ । सिन्धु घाँटीको सभ्यता पनि आगोबाट नै नास भएको भन्ने एक थरी इतिहासका विद्वानहरूको मत रहेको छ । ईसापूर्व २७५० देखि ईसापूर्व १७५० सम्मको एक हजार बर्षको अवधिमा सिन्धु सभ्यताको विकास हुन गएको अनि नास भएको केही आधुनिक इतिहासकारहरू वताउँछन् । त्रिपुरको विनासपछि नै देव जातिले शिवलाई महादेवको रूपमा पुज्न लागेको हो ।

यसैगरी, स्वस्थानीमा ३३ कोटी देवताको प्रसङ्ग पनि बेलाबेलामा आउने गर्दछ । हामी प्रायः कोटीको अर्थ करोड भन्ने लगाउँछौं । कोटीको अर्को अर्थ किसिम वा प्रकार भन्ने पनि हुन्छ भन्ने तथ्य पनि हामीले सम्झिनु जरूरी हुन्छ । यस अर्थमा यहाँ ३३ कोटीले ३३ किसिमका भन्ने अर्थ दिन्छ । वृहद्कारोण्योपनिषदमा शाकल्यसँगको संवाद्मा याज्ञवल्क्यले ११ रुद्र, १२ आदित्य, ८ वसु, १ प्रजापति र १ इन्द्र गरेर ३३ कोटी (प्रकारका) देवताको गणना गरेका छन्, जुन ज्यादा पत्यरिलो लाग्दछ । यसरी स्वस्थानीमा बारम्बारको प्रसङ्गमा आउने ३३ कोटी देवताहरूलाई ३३ करोड देवताको अर्थमा लिइनु हुँदैन भन्ने नै यस लेखाइको आशय हो ।

स्वस्थानीको अध्ययनबाट प्राचीन समयमा चिकित्सा विज्ञान अत्यन्तै विकसित अवस्थामा रहेको हुनुपर्दछ भन्ने अनुमान गर्न सकिने धेरै आधार छन् । गणेशको मृत शरिरमा हात्तीको टाउको जोडेर उनलाई महादेवले र आफूले हत्या गरेका दक्ष प्रजापतिलाई उनकी श्रीमती विरणीको प्रार्थना मानेर बोकाको टाउको जोडी निजलाई वीरभद्रले ब्युँताउनुले चिकित्सा विज्ञानले बल्ल केही समयदेखि सुरूवात गरेको मानव अङ्गको प्रत्यारोपण त्यतिबेलादेखि नै शैव सम्प्रदायीहरूबाट यस भेगमा सुरू भइसकेको थियो कि भन्ने अनुमान गर्न बल पुर्याउदछ । अझै शिर प्रत्यारोपणमा त आधुनिक चिकित्सा विज्ञान पुगेकै छैन । त्यसै गरेर उक्त ग्रन्थमा नै आफ्ना मृत साथीहरूलाई दैत्यहरूले अमृत छर्केर व्युँताएको कुरालाई पनि गम्भीरतापूर्वक लिइनु आवश्यक देखिन्छ ।

यी कुराहरूका अतिरिक्त केही हदसम्म भए पनि त्यस समयमा शिवलाई मान्ने र बिष्णुलाई मान्नेहरूका बीच धार्मिक मतमतान्तरको अवस्था थियो कि भन्ने कुरा बिष्णुको नेतृत्व स्वीकार गर्ने दक्ष प्रजापतिले शिवको अपमान गर्नु र ज्वाइँ शिव र छोरी सतीदेवीलाई समेत आफ्नो यज्ञमा नबोलाउनु, निम्तो नगरी आएकी सतीदेवीको सामुन्नेमा शिवको निन्दा गर्नु अनि शिवलाई मान्ने वीरभद्र लगायतले दक्ष प्रजापतिको यज्ञ विध्वंश गरी उनको (दक्ष प्रजापतिको) हत्या गर्नु तथा यसै सिलिसलामा बिष्णुसँग समेत लडाईं गरी उनलाई पलायन हुन वाध्य पार्नु जस्ता त्यहाँ वर्णित घटनाहरूले पुष्टि गर्दछन् । यद्यपि, त्यस ग्रन्थमा पछि अरू कुनै पनि ठाउँमा त्यस किसिमको द्वन्द्व पछि कहीँ कतै फेरि भेट्टाइँदैन ।

ग्रन्थको अन्तिम भागले काठमाण्डौं उपत्यकाको सेरोफेरोको भूगोल देखाउँछ । सालि नदीको किनारामा स्वस्थानीको व्रत बसी चन्द्रावतीले उक्त नदीमा बगाएका रोटीहरूमध्ये चारचार वटा रोटीहरू नाग र नागिनीहरूले पाएको कथाले काठमाडौँ उपत्यकामा नाग जातिको बसोबास थियो भन्ने कुरालाई थप बल पुर्याउँदछ । यहाँ नाग भन्ने बित्तिकै जमीनमा घस्रिने सर्प हो भन्ने सम्झिनु हुँदैन । वरू नाग टोटेम भएका, नागको चिन्ह धारण गर्ने वा नागलाई पुज्ने मानव जाति थिए भन्ने बुझ्नुपर्दछ ।

उसो त स्वस्थानीमा केवल देवता र दैत्य- दानवहरूको मात्रै कुरा आउने होइन । यस ग्रन्थमा तिनीहरूका अतिरिक्त अप्सरा, यक्ष, किन्नर, नाग, किराँत र साधारण मानव आदि जस्ता सवैको कुरा आउँछ । त्यसमा उनीहरूले समाजलाई आफ्नो ढङ्गले पुर्याएको योगदानको प्रत्यक्ष वा अप्रत्यक्ष चर्चा गरिएको छ । तसर्थ, स्वस्थानी एक जातिको मात्रै नभएर समावेशी ग्रन्थ हो । परिवारका प्रत्येक सदस्यको एकअर्काप्रति जिम्मेवारी रहेको र पूरा गरिनुपर्ने दायित्वका कुरा मात्रै नभई कुनै पनि पुत्रका लागि मातापिताभन्दा ठूला तीर्थ कुनै पनि छैन भन्ने आदर्श कुराको वर्णन गणेशले शिव – पार्वती र गङ्गाको प्रदक्षिणा गरेको तथा पुत्रले निर्वाह गर्नुपर्ने कर्तव्य सम्बन्धी प्रसङ्ग नवराज र गोमाको वार्तालापका माध्यमबाट स्वस्थानीमा परेका छन् । यद्यपि, यस ग्रन्थमा आएका आधुनिक समाजले त्याज्य ठानेको परस्त्रीको सतित्व हरण, वाल विवाह र अनमेल विवाह जस्ता कुराहरू कुनै पनि हालतमा सही र अनुशरणयोग्य मान्ने कुरा भने आउँदैन ।

अन्तमा, यस ग्रन्थलाई मानव इतिहासको एउटा गतिलो दस्तावेजको रूपमा लिँदै यसमा वर्णित सद्विचार र सत्कर्मको अनुसरण यस समाजले गरोस् । यो ग्रन्थको सवै पक्षका वारेमा यो सानो लेखले के कति पो व्याख्या सक्दछ र ? प्रगतिशील हुने होडवाजीमा स्वस्थानीको अस्वस्थ आलोचना गर्दै यसलाई बंग्याउनुको सट्टा ग्रन्थको गुदी निकाल्न विद्वतजन घोत्लिएर लागून् र यो अमूल्य निधिको संरक्षणका लागि प्रयत्न गरून्, यसैमा नै हामी सवैको कल्याण छ । अस्तु ।

(लेखक त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ)

 

Facebook Comments