क्वाँ क्वाँ रुनु भो मदनमणि माड्साब
मदनमणि दीक्षितसँगका केही सम्झना - भाग १
२०७६ साल साउन ३० गते मदनमणि दीक्षित (माड्साब) को निधनको खबरले मर्माहत तुल्यायो र स्टाटस लेखेँ– पूर्वीय दर्शन, साहित्य र नेपाली पत्रकारिताको यौटा जुझारू जाज्वल्य ज्योति सदाका लागि निभ्यो। हार्दिक श्रद्धाञ्जलि मदनमणि माड्साब !
नेपाली साहित्य, बाङमय र पत्रकारिताका धरहरा मदनमणि दीक्षितज्यूसँग पछिल्लोपल्ट २०७३ माघ २७ गते भेट भएको रहेछ । त्यसबेला उहाँ निकै खस्किसक्नुभएको थियो । कालिकास्थानस्थित उहाँकै निवासमा दैनिक समाजका व्यवस्थापक ब्रजेश शर्मा दाइ, मित्र रघु मैनाली र म पुगेका थियौँ । जानुको प्रयोजन थियो, नेपाली पत्रकारिताका अर्का टावर व्यक्तित्व मणिराज उपाध्यायका बारेमा स्मृतिग्रन्थ प्रकाशन गर्ने सिलसिलामा दीक्षितज्यूको सङ्गत र सम्झना समेट्नु । यही बहानामा लामो समयपछि उहाँसँग भेट गर्ने मौका पनि मिल्यो ।
यो भेटमा हामी बढी मात्रामा दैनिक समाज र यसका प्रधान सम्पादक मणिराज उपाध्यायज्यूबारे माड्साबको सम्झना र धारणामै केन्द्रित भयौँ । तर पनि उहाँ जत्तिको नेपाली पत्रकारिता र साहित्यमा फराकिलो आयतन र भारी वजन ओगटेका व्यक्तित्व त्यति दायरामा मात्रै सीमित बस्नुहुन्थ्यो भन्ने कुरै भएन । उहाँको युवा अवस्थादेखि नेपाली पत्रकारिताको प्रवेश क्षण हुँदै पछिसम्मकै नेपाली पत्रकारिताको अवस्थाबारे उहाँ बग्नुभयो ।
यसअघि मैले मदनमणि माड्साबको नाम सुनेको २०३८ सालदेखि हो । जतिखेर म कक्षा ९ मा पढ्दै थिएँ । मोरड्ग जिल्लाको इटहरास्थित सरस्वती माविमा पढ्दै गरेको एउटा सामान्य चेतको विद्यार्थीले मदनमणि दीक्षितको नाम थाहा पाउनुपर्ने अवस्था थिएन । किनभने त्यहाँ उहाँको नाम जान्नुपर्ने आधार थिएनन् । पाठ्यक्रममा उहाँबारे पढाइ हुन्नथ्यो । उहाँका कुनै कृति पढ्नुपर्दैनथ्यो । उहाँको सम्पादनमा प्रकाशन हुने समीक्षा साप्ताहिक हाम्रो गाउँमा पुग्दैनथ्यो । सहर गएर पत्रिका पढ्ने तारतम्य थिएन । तर संयोग के भयो भने मेरा दाजु हृदयराज लुइँटेल २०३८ सालदेखि काठमाडौँ आउनुभएको थियो । उहाँ कुन संयोगले कसरी समीक्षा साप्ताहिकमा पुग्नुभएछ र काम गर्न थाल्नुभएछ । दाजुले पठाएको चिट्ठीको ठेगानामा लेखिएको थियो, पठाउने हृदयराज लुइँटेल, समीक्षा कार्यालय, ४६९, प्रभाकरी प्रेस, कालिकास्थान, डिल्लीबजार, काठमाडौँ नेपाल ।
दाजु घर जानुभएका बेला समीक्षा पत्रिकाको जगजगी र माड्साबको व्यक्तित्वबारे कुरा गर्नुभएको थियो । तर म स्कूले केटो, आफूले नचिनेको भएकाले पनि मेरो दिमागमा उहाँबारे अरु छाप त केही बनेन, तर ठूला मान्छे रहेछन् भन्नेसम्म भयो । म पत्र लेख्न रुचाउँथेँ । हवाईपत्र किनेर घरमा राख्ने र ठेगाना खोजीखोजी चिट्ठी लेख्ने मेरो बानी थियो । मेरा ठूल्दाजु भारतीय फौजमा रहनुभएकाले पनि चार कक्षा पढेदेखि चिट्ठी लेख्ने मेरै जिम्मा हुन्थ्यो । त्यही क्रममा मैले हृदयराज दाजुलाई पनि चिट्ठी लेख्दा त्यही समीक्षा कार्यालय, प्रभाकरी प्रेस, कालिकास्थान, डिल्लीबजार, काठमाडौँ, नेपाल भनेर ठेगाना लेख्थेँ ।
मेरा अर्का दाजु सोमराज लुइँटेल पनि २०४० सालमा काठमाडौँ आउनुभयो । उहाँ पनि हृदय दाजुको प्रभावले समीक्षा साप्ताहिकमै काम गर्न थाल्नुभएछ । माड्साबले माया गरेर आफ्नै कार्यकक्षमा बोलाउनुहुँदोरहेछ र डिक्टेट गर्न लगाउनुहुँदो रहेछ । किनकि माड्साब त्यतिखेर आफैँले लेख्ने भन्दा पनि अरुलाई लेखाउनुहुँदोरहेछ । यौटा प्रवाहमा उहाँले भन्ने र त्यसलाई डिक्टेट गर्ने गर्दा सोमराज दाजुको ज्ञानको दायरा पनि बढेको रहेछ । ग्याँस च्याम्बरको मृत्युबारे पहिलोपल्ट दाजुले सुनाएर मैले थाहा पाएको थिएँ । म बुबालाई घुमाउन २०४० सालमा काठमाडौँ आउँदा दैनिक समाजका अतिरिक्त समीक्षाको कार्यालय दाजुहरूले देखाउनुभएको थियो । त्यही बेला मैले र बुबाले मदनमणि दीक्षितलाई देखेर नमस्ते गरेका थियौँ । हृदय दाजुले हामीलाई चिह्नाइदिनुभएको थियो । माड्साब हामीसँग बोल्नुभएन । तर नमस्ते फर्काउनुभयो । दाजुले माड्साबलाई डिस्टर्ब हुन्छ भनेर हामीलाई अर्को कोठामा लैजानुभयो, जहाँ उहाँका पुत्र तथा व्यवस्थापक साहित्यकार विनोदमणि दीक्षित हुनुहुँदोरहेछ । सामान्य भलाकुशारीपछि हामी बाटो लाग्यौँ । मेरो एउटा सानो डायरी थियो । यसमा म विराटनगर पढ्न बस्न थालेपछि मलाई लागेको खर्च र आफन्त, विभिन्न व्यक्ति तथा पत्रमित्रहरूका ठेगाना समेटिएको थियो । त्यही डायरीमा हृदय दाजुले समीक्षाको ठेगाना आफ्नै हातले लेखिदिनु भएको थियो । माडसाबका बारेमा घोत्लिरहँदा मैले त्यो डायरीको सम्झना र खोजी गरेँ । सकेसम्म कागजातहरू सम्हालेर राख्ने मेरो बानीका कारण नभन्दै २०४० सालको त्यो फुच्चे डायरी भेटियो पनि ।
२०४० सालमा म विराटनगर कलेज पढ्न आएपछि भने मैले समीक्षा र माडसाबका बारेमा केही जान्ने मौका पाएको थिएँ । किनभने म जहाँनिर बस्थेँ, त्यसको छेवैमा बाजेको पसल थियो । यो पसलमा दैनिक समाज, समीक्षा, साप्ताहिक विमर्श, देशान्तर, दृष्टि, गोरखापत्र लगायतका पत्रिका काठमाडौँबाट पुग्ने गर्थे । पसलका मालिकलाई सबैले बाजे भन्थे । निकै मजाले राजनीतिक कुरा गर्थे र त्यहाँ त्यस्तै राजनीतिक चेत भएका मान्छे लामो समयसम्म पत्रिका पढ्दै छेवैको पसलबाट चिया मगाएर खाँदै गफ गर्ने गर्थे । शुक्रबारका दिन विमर्श र समीक्षाको छलफल नहुने कुरै थिएन । त्यहाँ मेरो देश मेरो संसार भन्ने माड्साबको स्तम्भको चर्चा चल्थ्यो । प्रश्नोत्तर भन्ने एउटा स्तम्भ थियो, जसमा प्रश्नका उट्पट्याङ उत्तर दिइएका हुन्थे । त्यो चाख मानेर मान्छेहरू पढ्थे ।
काठमाडौँ आएपछि भने मैले समीक्षाका सम्पादक मदनमणि दीक्षित समाजका सम्पादक मणिराज उपाध्यायलाई बारम्बार भेट्न आएको देखेँ । दुबै जना पहिले समाजको कार्यालयमा एकछिन् बसेपछि बाहिर निस्कनुहुन्थ्यो । कहिलेकहीँ द कमनर दैनिकका सम्पादक गोपालदास श्रेष्ठ र मातृभूमिका सम्पादक गोविन्द वियोगी पनि त्यो भेटमा सामेल हुने गर्नुहुन्थ्यो । केही समयअघिसम्म दैनिक समाज सामूहिक रूपमा योगेन्द्र अर्याल सहित उहाँहरूले नै मिलेर नरदेवीबाट ब्रोडसिट साइजमा निकाल्नुभएको रहेछ । त्यसबेला त उहाँहरूको दिनै भेट हुने रहेछ । म आइपुग्दा भने सामूहिक नेतृत्वको समाज एकलमा गइसकेको थियो । तर पनि मणिबाबु र मदनमणि माड्साबको हल मिलेको थियो । देख्दा नमस्कार ग¥यो, आफैँ हच्कियो, केही सोधिहाले उत्तर दियो, साइड लाग्यो । यस्तै सम्बन्ध थियो माडसाबसँग । हृदय र सोमको भाइ भनेर मलाई चिह्नुहुन्थ्यो । बरु गोपालदास कहिलेकहीँ सोमदाइलाई जिस्क्याउने गर्नुहुन्थ्यो, मेरी छोरी कुन चाहिँ मन पर्छ, लैजाऊ । मेरो भाइ गुणराज र मलाई धरी उहाँले यसो भनेर एकाधपल्ट जिस्क्याउनुभएको छ । भाइले त द कमनरमा कामै गर्ने अवसर पाए ।
२०५६ साल कात्तिक, मंसिरतिरको कुरा हो । मेरो परिचय त्यतिन्जेलसम्ममा छापा पत्रकारबाट रेडियो पत्रकारका रूपमा फेरिएको थियो । दैनिक समाज, समकालीन साप्ताहिक हुँदै म श्रीसगरमाथा दैनिकमा काम गरेर रेडियो सगरमाथामा काम गर्न थालिसकेको थिएँ । अहिलेका बीबीसी नेपाली सेवाका प्रमुख मेरा मित्र जीतेन्द्र राउत, शेयरकास्टका संस्थापक मेरा अर्का मित्र मधु आचार्य र मेरो प्राथमिक जिम्मेवारी हाम्रो खाल्डो रेडियो पत्रिका उत्पादन गर्नु थियो । रघुजी पहिले निर्देशकको र पछि स्टेसन म्यानेजरको जिम्मेवारी बहन गरिरहनुभएको थियो । हामीसँग सङ्गीता मरहट्टा र दुर्गा कार्की पनि हाम्रो खाल्डोमा जोडिइसक्नुभएको थियो । नेपाली साहित्य, कला, सङ्गीत र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएका वरिष्ठ व्यक्तित्वहरूका व्यक्ति चित्रण उत्पादन गर्ने र प्रसारण गर्ने हाम्रो नीति नै थियो । त्यही क्रममा मदनमणि दीक्षितज्यूको व्यक्ति चित्रण बनाउने निधो गरे अनुरूप मेरो जिम्मेवारीमा यो काम आयो । त्यसबेला मदनमणि माड्साब नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठानको उपकुलपति पद छोड्नेछोड्ने चरणमा हुनुहुन्थ्यो । मैले सम्पर्क गरेका बेला उहाँलाई एकथरी साहित्यकारहरूले खेदो गरिरहेकै थिए । प्रज्ञामा उहाँको नेतृत्व अस्वीकार गर्नुका साथै उहाँलाई केही स्वनामधन्य साहित्यकारहरूले कालोमोसो समेत दलेर आफ्नो स्तर र उहाँप्रतिको सम्मान प्रकट गरेको घटना सेलाउन पाएकै थिएन ।
मैले समय माग्दा पहिले त माड्साबले आफूलाई कसैलाई भेट्न र बोल्न मन नभएको बताउनुभयो । तर मैले जिद्दी गरेपछि उहाँले कालिकास्थानको निवासमा आउन भन्नुभयो । निर्धारित समयमा पुगेँ । उहाँ आफैँले ढोका खोल्नुभयो र आफ्नो भित्री कक्षमा लैजानुभयो । मैले व्यक्ति चित्रण बनाउने कुरा गरेपछि उहाँ निराश हुनुभयो र भन्नुभयो – मजस्तो अयोग्य मान्छेको के प्रोफाइल बन्छ? देख्नुभएन, मलाई कालोमोसो दलिएको? म योग्य भएको भए त यसो हुन्नथ्यो ।
मलाई माड्साबको यो पीडा र भनाइले किंकर्तव्यबिमूढ बनायो । उहाँले अगाडि थप्नुभयो – मैले समीक्षा पत्रिका निकाल्ने क्रममा २०१७ साल देखि २०४१ सालसम्म मेरो अखबार समीक्षा साप्ताहिकमाथि नौं चोटि प्रतिबन्ध लाग्यो । ४० चोटि अचलाधीशकहाँ गएर मौखिक बयान दिनु प¥यो । त्योभन्दा बढी ५० पटक काठमाडौँ सिडियोकहाँ बयान दिनुप¥यो । मैले कैयन दिन थुनामा बिताएँ । मैले नेपाली साहित्यको सकेको सेवा गरेँ । माधवी र नीलिमा त मेरो यही पीडाकै बीच तयार भए । तर प्रज्ञा प्रतिष्ठान सुधार हुनुपर्छ भन्दा मलाई कालोमोसो दलियो, तपाई नै भन्नुस्, मैले तपाईलाई केबारेमा कुरा राख्ने?
मलाई यसअघिसम्म सगरमाथाभन्दा अग्लो र डरलाग्दो व्यक्तित्व लागेका माड्साब क्वाँक्वाँ रुन थाल्नुभयो । आँखाबाट बलिन्द्र आँसुका धारा झरिरहे । म आफैँ भावुक भएँ । तर मैले साहस जुटाएर भनेँ – माड्साब, खाएको विष लाग्छ, नखाएको लाग्दैन । तपाई जस्तो यत्रो सम्मानित व्यक्तित्वलाई रुन सुहाउँदैन ।
एकछिनमा माड्साबले आफूलाई बलियो बनाउँदै लैजानुभयो । अनि मलाई एक्कासी सोध्नुभयो – हृदयको खबर के छ? सोम सञ्चै छन्? मैले दाजुहरू ठीक हुनुहुन्छ भनेपछि उहाँले रेडियो सगरमाथा बेलाबेलामा सुन्ने गरेको र राम्रो लाग्ने गरेको बताउनुभयो । उहाँले मेरा मित्र रघु मैनालीको अछामको एउटा रिपोर्टको प्रसङ्ग झिक्दै राम्रो रिपोर्टिङ थियो भन्नुभयो । तपाईहरूको टिम राम्रो छ भन्दै मलाई रेडियोमा मीठो बोल्नुहुन्छ भन्न समेत भ्याएपछि म तीन छक्क परेँ । त्यति ठूलो मान्छेले हामी भर्खरका केटाहरूलाई यसरी नियाल्नुहुँदो रहेछ भनेर सोचेको पनि थिइनँ । यसपछि मैले केही खुकुलो अनुभव गरेँ ।
त्यत्तिकैमा चिया र बिस्कुट आयो । हामीले सँगै चिया खायौँ । त्यस दिन उहाँले ‘आज अरु बोल्दिनँ, भोलि आउनुहुन्छ?’ भन्नुभयो । मैले हस भनेँ र भोलिपल्ट दिउँसोका लागि समय मिलाएर म रेडियो सगरमाथाको बखुण्डोल स्टेसनतिर लागेँ । बाटाभरि मलाई माड्साबको त्यो रोदन सम्झेर नमज्जा लागिरह्यो । त्यो रात पनि मलाई निकै नराम्रो लागिरह्यो…।