नेकपा एकता: कि यता कि उता !
फुटानी
खोलापारि कान्छो अहिले अम्रिकामा बस्छ । निकै चतुरो थियो । कता के गरेर मिलायो, हुत्तिएर पुग्यो उता । नेपालको राजनीतिबारेमा चट्ट पारेर एउटा लेख लेखेर पठाएछ । मैले त त्यसको लेख बुझ्दा पनि बुझिनँ । के लेखेको हो, ध्यान पनि दिइनँ । राजनीति यही हो, अर्थनीति काठमाण्डौमै छ, सामाजिक सद्भाव माओवादीको तत्कालीन नीतिले आर्यघाट लगेर दागवत्ती दिइहाल्यो ।
हाम्रो यो दुर्गम गाउँमा शान्ति सुरक्षाका लागि पुलिस चौकी थियो, बैंक थियो, बैंकको पैसा लुटेर, पुलिस चौकी जलार हाम्रो यही अन्तरेहर्ले गर्नु नगर्नु गरेकै हो । अनि के राजनीति के जाति र उ जाति किन लेख्नु । यही खोल्सापारि कान्छो पनि कमको थिएन । माओवादी बनेर पैसा पनि टन्न कमायो, माओवादी पीडित हुँ भनेर अम्रिका पनि गयो । जे होस्, उसको यो लेख काठमाडौं पठाइदिन्छु । कुनै सम्पादकले भेट्यो भने छापिहाल्छ कि ! उसले पठाको लेख यही हो –
श्रीमान् सम्पादकज्यू, यो लेख घघडान पाराले लेखेको छु । छापी दिनु होला । पूर्व माओवादी साथीहरू, लालसलाम ! अहिले म हामीले पहिला सतोसराप गर्ने साम्राज्यवादी देश अम्रिकामा राम्रो गरी बसेको छु । तपाईहरू त्यहाँ एमालेसँग जसरी पनि मिल्नु होला । होइन भने पूर्व माओवादीको अवस्था महान कमरेडहरूको जस्तै हुन सक्छ ।
जब कम्यूनिष्टहरू बहुदलीय व्यवस्थामा संसदीय चुनाव लड्न पुग्छन्, त्यो भनेको जे सुकै अर्थ लगाए पनि मदन भण्डारीको जबजमा नै पुग्नु हो । अब महान क्रान्तिकारी उच्च छलाङ, आमूल परिवर्तन अथवा वर्ग संघर्ष वा राज्य सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्दा जनताले मात्र होइन हाम्रै नेताहरूले निको मान्दैनन् । जातीय र संघीयताको बीऊ हामीले रोपेकै थियो । अहिले त्यो लटरम्म भएर फलेको छ । अरु के जाति र उ जातिको बीऊ अब रोपिरहनु पर्दैन । यसैले तीन पुस्तालाई पुग्छ ।
पार्टी एकता भनिए पनि, विलय भने पनि केही फरक पर्दैन । आखिर हाम्रो संगठन के नै थियो र । पहिलो चुनापमा डरले हामीलाई जनताले अत्यधिक मत दिएर जिताएकै थिए । दोस्रो चुनापमा डराउन छाडिहाले कसले दिने ! पछि चतुर कामरेडले स्थानीय निर्वाचनमा एक दुई ठाउँ काङ्ग्रेससँग तालमेल गरेर……, अर्को संसदीय चुनापमा एमालेलाई थाङ…… मा सुताएपछि आएका सिटहरू हुन् । नविर्सनूू, …..भरिसक ५० पर्तिसत हिस्सा खोज्नूू, नसके हाम्रो पुरानो चन्दा असुलीको फरमूला अपनाउनू । कसो ५ पर्तिसत त नदेलान् । तर्कसर्क मारो गोली । ठूलो आवाजले बोल्ने कला हामीसँग छँदै छ । त्यही प्रयोग गर्ने । अब सबैसँग मिलेर अगाडि बढने र आफ्नो दूनो सोझ्याउने । यो बाहेक अरु उपाय छैन । ‘लुटी ल्यायो, भुटी खायो’ अब छोड्नु पर्छ । तर, हाम्रा निजै आफ्ना नेताहरूको र केही नेताका छोराछोरीको अभिजात्य वर्गमा रूपान्तरण भएको देखेर कमरेडहरू नआत्तिनू ।
अब अम्रिकालाई साम्राज्यवाद र भारतलाई विस्तारवादी नभन्नू । त्यो गल्ती दोहो¥याउनु हुँदैन । महान जनयुद्ध भनेर हामी जे भनिरहेका छौं, नेपाली जनताले त्यसलाई १७ हजारको हत्या बुझ्छन् र हामीलाई हत्यारा भन्छन् । हामीलाई ढाँटको पुस्तक भन्छन् । लडाकुको संख्याको बारेमा, लडाकुको रासन पानी र भत्ता चिरिप पारेको विषयमा बडो नराम्रोसित हामीलाई आरोप लगाउँछन् । त्यसैले एमाले हर्लाई अंगालोबाट फुत्किन नदिनू । तीन वर्षपछि चुनाप नआउने भए ढुक्क हुन्थ्यो । आइहाल्छ, त्यो पनि बाघ जस्तो भएर आम्छ । कांग्रेस बिच्किसकेको छ, एमालेलाई नबिच्क्याउनू ।
लाल सलाम !