परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा योगेश भट्टराई नियुक्त

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नेकपाका स्थायी कमिटि सदस्य तथा सांसद योगेश भट्टराईलाई नियुक्त गर्नुभएको छ ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले हेलिकोप्टर दुर्घटनामा दिवंगत हुनुभएका तत्कालीन मन्त्री रवीन्द्र अधिकारी पछि सो मन्त्रालयको कार्यभार सम्भाल्नुभएको हो ।

विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा सक्रिय रहनु भएका नेता भट्टराई एक जुझारु नेता हुनुहुन्छ । उहाँले विगतमा थुप्रै चर्चित आन्दोलनको नेतृत्व समेत गर्नुभएको छ । अनेरास्ववियुको अध्यक्ष समेत रहीसक्नु भएका भट्टराई पूर्व एमालेका सचिव हुनुहुन्थ्यो । ताप्लेजुङ जिल्लाबाट सांसद निर्वाचित भट्टराई हाल नेकपाका स्थायी समिति सदस्य हुनुहुन्छ । उहाँ पार्टी कार्यकर्तामाझ स्पष्ट वक्ता र निर्भिक नेताका रुपमा परिचित हुनुहुन्छ ।

मन्त्री भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्म लिनुभयो । मध्यमवर्गीय परिवारमा जन्मनु भएका भट्टराईका एक दाजुु, तीन दिदी र एक बहिनी हुनुहुन्छ । उहाँले दुुई वर्षको कलिलो उमेरमा नै बुवा गुमाउनु भयो । योगेश २०५१ सालमा ताप्लेजुङ ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह बन्धनमा बाधिनु भयो ।

Facebook Comments