अंशबन्डा
कविता
(दृश्य: मालपोत कार्यालय, गोरखा असर ९ गते, २०७६)
उसले फाइल हेर्यो
अंशबन्डाको निबेदन रहेछ
संलग्न कागजात हेर्यो
आवस्यक सबै प्रमाण रहेछ
उसले प्रश्न गर्यो
दुवै भाइ उपस्थित छन्?
अनपेक्षित उत्तर आयो
हजुर,दुवैजना छौं
उ अलि झोक्कियो
अनि घर त देखिएन नि!
घरै छैन, सर।
अनि कहाँ बस्नु हुन्छ त?
डेरामा बस्छौं, सर।
गाउँमा कोहीडेरामा बस्छ?
शहरमा बस्छौं, सर।
घर के भयो त?
भूकम्पमा ढल्यो, सर।
अनि राहतमा बनेन?
छुटमा परेको छ, सर।
घर छैन भन्ने प्रमाण खै त?
पछाडि शिफारिस छ, सर।
अन्त कतै जग्गा छ?
कतै छैन, हजुर
उसलाई असह्या हुन्छ,
छैन भन्ने प्रमाण खै त?
त्यो पनि चाहिन्छ, सर?
अनि,के त? रहेछ भने
अनलाइन देखिन्न र, सर?
त्यो त मैले हेरी सकें
उ निराश हुन्छ,
किन यस्तो केरामेट गरेको?
मिलाएर ल्याउँछु, सर।
करिब दश मिनेट बित्छ
उ सेवाग्राही तिर फर्कन्छ
फेरि किन, तपाइँ?
मिलाएर ल्याएँ, सर।
खै प्रक्रिया नै मिलेको छैन!
के भएछ, सर?
कुरा बुझ्नु भएन?
खै मेसो पाइन, सर।
लेखन्दासलाई बोलाउनुस्
(लेखन्दास) म यता छु, सर।
अनि यति बेला आउने त?
ए,के भएछ र, सर?
खाजा खाने बेला भयो नि।
बाहिर कतै जाउँ न, सर।
कर्मचारी अर्डर गर्छ
लेखन्दास काउन्टरमा पुग्छ
उ हजारको नोट छोड्छ
सर,पैसा भैसक्यो, है
सुपारीसंगै चेन्ज पैसा आउँछ
कर्मचारी खुसि भएर लिन्छ
अघि कुरा बुझ्नु पर्दैन?
त्यही त, सरि, सर।
उ कार्यकक्षामा पुग्छ
र फुर्तिसाथ फाइल पल्टाउँछ
सबैकुरा पुर्याउनु भयो हैन?
हजुर,सबै छ, सर ।
उ फाइल पल्टाए जस्तो गर्छ
प्रकिया पुगिसकेको देख्छ
सबैलाई चित्त बुझेको छ?
छ,सर। खुशी छौँ।
भोलि आउनुस, पुर्जा बन्छ
लेखन्दास आँखा सन्काउँछ
कर्माचारीको मुहार खुल्छ
अनि लेखन्दास ठट्टा गर्छ
के गर्नु त, हजुर
तलदेखि माथिसम्म
अंशबन्डा नगरी भएन!
प्रत्यक्ष्यदर्शी कवि
लिचिको बियाँ थुक्दै बोल्छ
थुक्क!