परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कारखाना–शिक्षा

लघुकथाः

खुशी लखेट्दा–लखेट्दै दर्जनौँ पटक पैतालाको छाला फेरेका हाम्रा मीतबा आफ्नो एक हप्ता जतिको धादिङ्ग–बेसी यात्राबाट अलि ढिलै घर आइपुग्नुभो । सिडिओ अफिसमा भेट भएकी हाकिमनीसा’बको प्रभावले होला, त्यस दिन यिनले खुइय गर्दै आफ्नी कान्छी छोरीलाई आँगनबाटै बोलाएका थिए ।

“चरीमयाँ, तिमी धेरै पढ्नुपर्छ । पढेको मान्छे ठूलो अनी असल हुनेरैछ । मैले धादिङ्मा त्यस्तै एउटा छोरी–मान्छे देख्यो । तिमी पनि खुरुखुरु त्यस्तै बन्न पर्छ होइ, अबो ।“

***
ऋण–धन गरेर मीतबाले चरीलाई राजधानीको आबासीय विद्यालयमा पढाउने ब्यबस्था मिलाए । एकै चोटी चार कक्षामा भर्ना भएकी चरीले उसको बाले चाहेजस्तै वर्षै पिच्छे अब्बल नतिजा ल्याउँथी । चरी आइ. एस्सी. सिध्याएर इञ्जिनिएरिङ्ग पढ्न थाली भन्ने कुरोले निमारुखर्क गाउँमा झ्याली नै पिट्यो । छोरीलाई गाह्रो हुन्छ भनेर मीतबा पनि महिनै पिच्छे कुम्लो बोकेर काठमाडौँ पुग्थे । केही वर्षमा चरिमाया इन्जिनिएर बनी भन्ने खबर पछि त बुढाले बागभैरब देवीथानमा फूलको–डोली लानेदेखि लिएर भाले–भोग दिन सम्म भ्याए ।

***
सेम्जोङ्गतिर जाने बटुवा मार्फत अकास्मात् एक दिन चरीको हाते चिट्ठी आयो ।

“डिएर बाबा,
म विदेश जाने बिचार गर्दैछु । अब मेरो लागि धेरै दुःख गर्नु पर्दैन । हाम्रो अफिसको मेडमले भन्या– पढेको मान्छेलाई अस्ट्रेलिया, अमेरिका, अनि लन्डन जान सजिलो हुन्छ रे । पढेको मान्छे विदेश पठाइदिने मेडमले चिनेको अफिस छ रे । भिसा नआइ पैसा दिन नपर्ने । देश हेरेर दश लाखदेखि १५ ÷२० लाखसम्म खर्च गरे पुग्छ रे । उता गइसकेपछि जागिर पनि राम्रो पाइन्छ रे । लाइफ रोमान्टिक हुन्छ रे । बन्द÷हड्ताल केही हुँदैन रे ।

प्लिज बाबा, ब्याजमै भए पनि दश लाख जति जोहो गर्नुपर्छ । अनि छ नि बाबा, काठमाडौँ आउँदा बारीको आलु र ठूलो भटमास अलि धेरै ल्याउनुहोला । मेरो अफिसको सरहरुले जहिले पनि ‘खोइ, तिम्रो बा आएनन् ?’ भनेर सोध्छन् । उनीहरु बेलाबेला मेरो कोठैमा आएर हाम्रो गाउँको खानेकुरा खान पनि खुब मनपराउँछन् ।

***
शरीरमा उर्जा सिद्दिदै गरेको महसुस भएरै होला, त्यही चिट्ठी सुनेदेखि मीत’बा चुप–चाप छन् । पटकपटक डाँडातिर हेर्छन् र एक्लै आफैसंग सोध्छन् – “हुइन, मैले पाप चाहिँ के गरेछु, हँ ?”

Facebook Comments