पहिचान गुमाएको दुराडाँडा
नयाँ वर्ष २०७६ को शुरुवाती दिनहरू दुराडाँडावासीका लागि चहलपहलपूर्ण बने । नयाँ वर्षको पहिलो दिनदेखि तीन दिनसम्म चलेको ‘ऐतिहासिक दुराडाँडा महोत्सव’ ले अलिकतिमात्र भए पनि दुराडाँडामा गुलावी क्षणहरू निम्त्याइदियो । महोत्सवले गाउँ छाडेर गएकाहरूलाई फेरि एक पटक गाउँ फर्कन प्रेरित ग¥यो । त्यही डाँडामा जन्मेका तर गाउँमा पुग्न नसकेकालाई कम्तिमा गाउँको सम्झना गर्ने अवसर त्यही महोत्सवले जुटाइदियो ।
महोत्सवको चाँजोपाँजो मिलाउने क्रममा थुप्रै कमीकमजोरी छरपष्ट भए पनि त्यसले भेटघाटका र रङ्ग–रेशमका मीठो संयोगहरू जुराइदियो । दुराडाँडाको शीर्षभागमा रहेको कालिका मन्दिरमा लाग्ने चैतेदशैं मेला, त्यही अवसरमा हुने छेलो प्रतियोगिता तथा नाचगान, दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ को २६ औं वार्षिकोत्सव समारोह र त्यससँग जोडिएका विविध सांस्कृतिक कार्यक्रम र सामूहिक भोजभतेरले महोत्सव सम्झनलायक बनेको थियो ।
यसका अतिरिक्त महोत्सवमा दुराडाँडाको समग्र विकासका सन्दर्भमा केही बौद्धिक विचार–विमर्श भए । दुराडाँडाको नामकरण दुराहरूकै नामबाट भएको भन्ने कुरामा शंका गरिरहनुपर्ने ठाउँ छैन । यही पृष्ठभूमिमा दुरा समुदायको भाषा र संस्कृतिबारे बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत भए । दुराडाँडामा पर्यटन उद्योग र कृषि उद्यमलाई कसरी विकास गर्न सकिन्छ भन्नेबारे पनि कार्यपत्रहरू प्रस्तुत भए । यी विषयवस्तुलाई व्यावहारिक जामा परिह¥याउन कति सम्भव छ वा छैन, त्यो बेग्लै विषय हुनसक्छ । कम्तिमा बौद्धिक खुराक पस्कने काम भयो । यसमा खुसी मान्नैपर्ने हुन्छ ।
महोत्सवको उद्घाटनका क्रममा दुराडाँडा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र समापनका क्रममा हस्याङफस्याङ गर्दै दुराडाँडा उक्लिएका सांसद देव गुरुङ, नेपालका लागि इजरायली राजदूतजस्ता विशिष्ट पाहुनाहरूका रसिलो र भरिलो अभिव्यक्तिबाट दुराडाँडावासी मख्ख परे । पृष्ठभूमिमा यस्ता दृष्टिगोचर भएका यस्ता मीठा प्रसंगले दुराडाँडावासीमा क्षणिक खुसी थपे पनि उनीहरूको भित्री मन त्यति खुसी थिएन ।
अहिले दुराडाँडा अभिशप्त अवस्थामा छ । गाउँ छाडेर शहर वा विदेश धाउने राष्ट्रव्यापी रोगले दुराडाँडा थलिएकै छ । त्यो भन्दा पनि दुःखद कुरा, राजनीतिक शक्तिको कपटपूर्ण व्यवहारले दुराडाँडालाई एकढिक्क रहन दिएन, जसबाट दुराडाँडा दुःखी बनेको छ । भौगोलिक र सांस्कृतिक दुवै हिसाबले एकीकृत अवस्थामा रहनुपर्ने दुराडाँडालाई राजनीतिक शक्तिले विभाजित गरिदियो । यससँगै दुराडाँडाको शक्ति छिन्नभिन्न भएको छ ।
दुराडाँडालाई छिन्नभिन्न बनाउने खेल २०४६ सालको राजनीतिक परिवर्तनपछि नै शुरु भएको हो । त्यसबेला क्षेत्र विभाजनका क्रममा एउटै दुराडाँडालाई तीन–चार टुक्रा पारियो । त्यसपछि देश संघीय प्रणाली आयो । राज्य पुनसंरचनाको क्रम शुरु भयो । यस पटक त पहिले गरिएका गल्ती सच्चिनेछ भन्ने आशा धेरैमा थियो । तर, नतिजा उल्टो निस्कियो । दुराडाँडा फेरि पनि विभाजनको शिकार भयो । एउटै दुराडाँडा तीन टुक्रामा विभाजित भयो ।
यहाँका दुरा समुदाय दुराडाँडा टुक्रिनु हुँदैन भन्नेमा थिए । यस्तो सोचाइ राख्नेमा दुराहरूमात्र थिएनन् । यहाँ क्षेत्री–बाहुन र अन्य समुदायका दाजुभाइ–दिदीबहिनीहरूको मत एकै थियो–दुराडाँडा सग्लो अवस्थामा रहनुपर्छ । दुराडाँडालाई टुक्र्याउनका लागि नेपथ्यमा चलखेल चल्दैछ भन्ने आभाष दुराडाँडावासीले पाएका थिए । त्यसो हुन नदिन उनीहरू एकजुट भए । यस क्रममा ‘दुरा सेवा समाज’ र दुराडाँडावासीको सामाजिक संस्था ‘दुराडाँडा सेवा समाज’ अभियानको कमाण्ड सम्हाल्यो ।
यी दुई संस्थाको अगुवाइमा दुराडाँडाको अखण्डता बचाउ अभियान शुरु भयो । दुराडाँडा भेगका रहेका तत्कालीन सिंदुरे, नेटा, पुरानकोट, धुसेनी, चन्द्रेश्वर र दुुराडाँडा गाविसहरू समेटेर दुराडाँडा गाउँपालिका बनाउन माग गरे । यस क्रममा राज्य पुनसंरचनाको आयोगका अध्यक्षलाई भेटेर ज्ञापनपत्र बुझाउने, सार्वजनिक सुनुवाइ गर्ने, लबिङ गर्ने, जिल्लामा शक्ति प्रदर्शन गर्ने तथा प्रेस विज्ञप्ति जारी गरेर आफ्ना चासो र सरोकारलाई फराकिलो घेरामा काम गरिए । तर कतैबाट सुनुवाइ भएन ।
दुराडाँडालाई छिन्नभिन्न पार्ने कुकृत्यमा राजनीतिक शक्ति एकजुट भए । यसमा त्यो वा त्यो दल भन्ने कुरै आएन, सबै दलको मिलिभगत रह्यो । उनीहरूलाई राजनीतिक जोड–घटाउमा नै केन्द्रित भए । उनीहरूले दुराडाँडालाई टुक्र्याउनमै फाइदा देखे । यहाँका वासिन्दाको सांस्कृतिक तथा राजनीतिक अधिकार कायम गर्नेमा कुनै चासो रहेन । राजनीतिक शक्तिको अकर्मन्यताबाट दुराडाँडावासी भारी मन लिएर बाँचेका छन् । राजनीतिक कुकृत्यको सीधा असर अल्पसंख्यक दुरा समुदायमा परेको छ । मर्दापर्दा एकै थलो जुट्नुपर्ने र सोली–डोली सारनतारन हुनुपर्ने सांस्कृतिक पृष्ठभूमिमा दुरा समुदायको राजनीतिक भूगोल आज विभाजित अवस्थामा छ । दुराडाँडावासीको खुसी लुटिएको छ ।
दुराडाँडाको एउटा हिस्सा बेसीशहर नगरपालिकामा पुगेको छ भने अरू दुई हिस्सा क्रमशः सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा मिसिएका छन् । दुराडाँडाको ठूलो हिस्सा सुन्दरबजार नगरपालिकामा मिसिएको छ । सुन्दरबजार हिजो भर्खर राखिएको नाम हो । यसमा कुनै ऐतिहासिकता छैन । दुराडाँडा सताब्दीऔं पुरानो नाम हो, जसको प्रचुर ऐतिहासिक महत्व छ । यस आधारमा नयाँ स्थानीय तहको नाम ‘दुराडाँडा सुन्दरबजार नगरपालिका’ राख्न सकिन्थ्यो, जुन न्यायोचित र तर्कसंगत पनि थियो । ‘पोखरा लेखनाथ महानगरपालिका’ नाम हुन सक्थ्यो भने ‘दुराडाँडा सुन्दरबजार नगरपालिका’ नसक्ने कुरै थिएन । तर, लोकतन्त्र र नागरिक अधिकारको नारा फलाकेर नथाक्ने राजनीतिक शक्तिले त्यतिसम्म पनि उदारता नदेखाउँदा दुराडाँडावासीको चित्त दुख्नु स्वाभाविकै थियो ।
राजनीतिक शक्तिले बेवस्ता गरे पनि दुराडाँडा ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि सम्झिनुपर्ने थलो हो । शाहवंशको जग पनि यही थलोमा बसेको हो । तत्कालीन कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रह्म शाहलाई दुराडाँडाको सिंदुरे ढुङ्गामा वि. सं. १५५० मा सिंदुरजात्रा गरेर लमजुङको राजगद्दीमा बसाएसँगै नेपालमा शाहवंशको जग बसेको अभिलेख भेटिन्छ । धार्मिक ग्रन्थ गीतालाई नेपालीमा अनुवाद गरेर सर्वसाधारण पाठकलाई गुन लगाउने व्यक्ति पनि दुराडाँडाकै कोमलनाथ अधिकारी (वि.सं. १९५०–२०२३) हुन् । नेपाली लोकगीतको एउटा विशिष्ट विधा ठाडो भाका गीतको शीर्ष व्यक्तित्व देउबहादुर दुरा यही क्षेत्रका हुन् ।
बाहुनले हलो जोत्न हुँदैन भन्ने गलत सामाजिक मान्यतालाई दुराडाँडाका व्राह्मण समुदायले चुनौती दिएको जाज्वल्यमान इतिहासलाई पनि दुराडाँडाले समेटेको छ । दुराडाँडाका व्राह्मण समुदायले वि.सं. २००६ साल साउन ११ गते हलो जोत्ने काम ग¥यो । आफ्ना शासन–सत्ताको अन्तिम दिन गनिरहेका राणा शासकलाई समेत झस्काउने गरी गरिएको ‘हलो क्रान्ति’ आजपर्यन्त चर्चित छ । त्यसपछिका दिनमा दुराडाँडामा गरिएका शैक्षिक क्रान्ति र शैक्षिक सम्मेलनका अध्यायहरू पनि गौरवपूर्ण छन् ।
विडम्बनावश, आपूmलाई लोकतन्त्रको मसिहा ठान्ने राजनीतिक शक्ति यस्ता प्रावधानहरूप्रति बेखबर बन्यो । अल्पसंख्यक समुदायलाई अधिकारसम्पन्न बनाउने भन्दा पनि उनीहरूलाई चोट पारेर राजनीतिक स्वार्थसिद्ध गर्नेतिर उनीहरूको ध्यान गयो । राजनीतिक शक्तिको विवेकहीन व्यवहारबाट सामाजिक तथा सांस्कृतिक क्षेत्रमा भरिलो इतिहास रच्ने दुराडाँडाको पहिचान अहिले आएर नामेट भएको छ । नेपालको राजनीतिक–प्रशासनिक नक्शाबाट दुराडाँडाको नाम मेटिएको छ । यससँगै पहिचानको संकट भोग्दै आएका नेपालका अल्पसंख्यक दुरा समुदायको पहिचान थप संकटमा पर्दै गएको छ ।
राजनीतिक शक्तिले दुराडाँडाप्रति देखाएको यसप्रकारको स्वार्थी, कपटपूर्ण र विवेकहीन व्यवहार आपैंmमा सांस्कृतिक हिंसाको दरिलो दृष्टान्त बनेको छ । यसबाट देशको सांस्कृतिक विविधतालाई अमूल्य सम्पत्ति मान्नुपर्ने लोकतान्त्रिक मान्यताको जग नै भासिएको प्रतीत भएको छ । यसले प्रत्यक्ष वा परोक्ष रूपमा देशको भावनात्मक एकतालाई कमजोर तुल्याएको छ । भावनात्मक एकताबिना देशको चौतर्फी विकास फगत नारामात्र हुनपुग्छ । राजनीतिक शक्तिले यस वास्तविकताप्रति आँखा चिम्लन मिल्दैन । उनीहरूले जानीजानी गरेको गल्तीलाई ढिलो चाँडो नसच्याई सुखै छैन । सबैलाई चेतना भया । (सबै तस्बिरः लेखक)