पुस्तकालय, पुस्तक, पाठक र म
पुस्तक+आलय अर्थात् पुस्तक रहने घर वा ठाँउ, पुस्तकालय त्यो ठाँउ हो, जहाँ विभिन्न विषयसँग सम्बन्धित पुस्तकहरूलाई सङ्ग्रह गरेर सुरक्षित साथ राखिन्छ । बिभिन्न क्षेत्रसँग सम्बन्धित विषयका पुस्तकहरू जस्तैः राजनीतिशास्त्र, चिकित्साशास्त्र, धार्मिक, आर्थिक, सामाजिक, साहित्यिक, विज्ञान तथा प्राविधि विषयका पुस्तकहरू ज्ञान लिने, दिने सवैका लागि सधैँ खुला रूपमा राखिन्छ । पुस्तकालयलार्इं ज्ञानको भण्डार पनि भनिन्छ । पुस्तकालयले मानिसहरूको बौद्धिक क्षमताको विकास गर्दछ र मानव समाजमा यसले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको हुन्छ । साथै, सभ्य र सुसंस्कृत समाजको निर्माण गर्दंछ । हिन्दू मान्यता अनुसार पुस्तकालयलाई माता सरस्वतीको निवासस्थान मानिन्छ । यहाँ बिना कुनै भेदभाव, सवै उमेर वर्ग, जातजाति, भाषा–भाषी, धर्म, सम्प्रदायका मानिसहरूले आफनो रुचि अनुसारको पुस्तक प्राप्त गर्न र अध्ययन गर्न सक्छन् ।
पूर्वीय जगतमा पुस्तकालय विज्ञानका पिता भन्नाले एस. आर. रङ्गनाथनलाई बुझाउँछ भने पश्चिमी जगतमा John Wood ले Open Reading को अवधारणा ल्याए जसले गर्दा आजको आधुनिक युगमा पाठक वर्गलाई निकै सहज भएको छ ।
पुस्तकालयका तीन पक्षहरू हुन्छन् । ती हुन्ः १. पुस्तक, २. पाठक र ३. कर्मचारी । यी तीन पक्षको मिश्रित रूप नै पुस्तकालय हो, पुस्तकालयको उद्देश्य ज्ञान दिने, चेतना दिने, शिक्षा विस्तार गर्ने, सूचना प्रदान गर्ने आदि हुन् । सही समयमा सही व्यक्तिलाई सही सूचना प्रदान गर्नु यसको मूल उद्देश्य हो । पुस्तकालय एउटा गतिशील संस्था हो । २० वर्षसम्मलाई ध्यानमा राखी यसको डिजाइन गरिएको हुन्छ ।
मुख्यतया पुस्तकालय चार प्रकारका हुन्छन्ः
१. राष्ट्रिय पुस्तकालयः देश विदेशबाट प्रकाशित भएका कृतिहरूलाई भण्डार गर्ने ठाउँ ।
२. निजी पुस्तकालयः व्यक्ति विशेषले स्थापना गरेको पुस्तकालय ।
३. सार्वजनिक पुस्तकालयः विभिन्न संस्थाले आम नागरिकले हेर्न पाउने गरी खोलेका पुस्तकालय ।
४. शैक्षिक पुस्तकालय स्कूल, कलेज, विश्वविद्यालयले खोलेका पुस्तकालय
पुस्तकालयका आफनै नीति नियमहरू हुन्छन् । त्यस्ता नीति नियमभित्र बाँधिएर कर्मचारीले पाठक वर्गलाई सेवा प्रदान गरिरहेका हुन्छन् । जस्तैः
१. अनुशासित भई पुस्तकालयमा प्रवेश गर्ने
२. शान्त वातावरण कायम राख्ने
३. यथास्थानमा किताब पढेपछि राख्ने वा बुझाउने
४. कितावहरूलाई तोकिएको मितिभित्र बुझाउन नसके तोकिएको विलम्ब शुल्क बुझाउने
५. किताब हराए, च्यातिए वा नोक्सान भए अर्को किताब शोधभर्ना गर्ने ।
पाठकहरूलाई सन्तुष्ट बनाएर पठाउनु यहाँका कर्मचारीको प्रमुख कर्तव्य हुन्छ।यसैमा आनन्द पनि आउँछ । सक्दा किताब छानीछानी पढ्न पाइन्छ । नसके पनि पुस्तकको सङ्गत त हुन्छ । सेवा पनि हुन्छ । यस्तो काम गर्न पाउँदा अरु के खोज्नू !
पुस्तकालयको महत्त्व त्यस्ता विद्यार्थीहरूका लागि अझ बढी हुन्छ, जुन विद्यार्थी पढ्नमा रुचि राख्छन् तर किताब किन्न भने नसक्ने अवस्थाका हुन्छन् । त्यस्ता विद्यार्थीहरूले पुस्तकालयबाट निकै लाभ उठाइरहेका छन् । अनुसन्धान गर्ने हुन् वा थेसिस लेख्ने वा विभिन्न किसिमका शैक्षिक परार्मश लिन खोज्नेको लागि पनि पुस्तकालय एकदम उपयोगी सावित भएको छ । अत्यधिक भौतिक सुविधा सम्पन्न ज्ञानरूपमा को भण्डारका रूपमा पुस्तकालयलाई लिइन्छ । पुस्तकालयमा Computer, Internet, Wifi सहितको ब्यवस्था आवश्यक हुन्छ । म आफूले काम गरेको मदन भण्डारी मेमोरियल कलेजको पुस्तकालयमा यी सबै सुविधा उपलब्ध भएकामा खुशी लाग्छ । निकट भविष्यमा यो पुस्तकालयलाई अझ व्यवस्थित बनाउने योजना छ । विद्यार्थी, शिक्षक तथा अन्य कर्मचारीहरूले पनि यहाँबाट निकै लाभ उठाइरहेका छन् ।
पुस्तकालयलाई व्यवस्थित गर्ने कार्य एकदम चुनौतीपूर्ण हुन्छ । यसमा अनेक समस्याहरू र अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने हुन्छ, हरेक समस्याको समाधान गर्दै यहाँका कर्मचारीले अघि बढ्नुपर्ने हुन्छ । किताब च्यातेर बुझाउने, हराउने, जरिवाना माग्दा रिसाउने र लामो समयसम्म किताब लगेर घरको एउटा कुनामा थन्क्याएर राखिदिने, नफर्काउने पाठकको प्रवृत्तिले गर्दा ज्ञानमा रुचि राख्ने अरु विद्यार्थीलाई निकै अप्ठ्यारो पर्ने गर्छ । तसर्थ यस्ता कुराहरूलाई पनि सबै पाठक वर्गले बुझिदिँदा पुस्तकालय सञ्चालनमा केही सहज हुन जान्छ ।
आज विश्वमा पुस्तकालयप्रति जनचासो दिन प्रतिदिन निकै बढेको देखिन्छ । एक टोल एक पुस्तकालयको कुरा उठिरहेको र साथै E-Library को अवधारणा पनि निकै ब्यापक छ । हाम्रो नेपालमा पनि यसको सुरुवात भइसकेको छ ।
यसरी विद्यार्थीहरूले ज्ञान आर्जन गर्ने क्रममा आफूलाई सहयोगीको रूपमा पाउँदा निकै गौरवान्वित महशुस गर्दछु । पुस्तकालय व्यवस्थापनमा आइपरेका हरेक चुनौतीपूर्ण कार्य होशियारीपूर्वक र समझदारीका साथ समाधान गर्नु र पाठकहरूलाई सन्तुष्ट बनाएर पठाउनु यहाँका कर्मचारीको प्रमुख कर्तव्य हुन्छ। यसैमा आनन्द पनि आउँछ । सक्दा किताब छानीछानी पढ्न पाइन्छ । नसके पनि पुस्तकको सङ्गत त हुन्छ । सेवा पनि हुन्छ । यस्तो काम गर्न पाउँदा अरु के खोज्नू !