परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेकपाको मिलन, नेकांको विचलन

लगभग २ वर्ष अघिदेखि नेपाली राजनीतिक आकाशमा अजीव अजीव तारा उदाउने गरेका छन् । कहिले त आकाशबाट सिँधै खसेको तारा कि उल्काले खप्परमै बजाउने हो कि जस्तो लाग्छ । यी राजनीतिक उल्काहरू हुन् । यही समयमा, उल्कामय वातावरणमा एमाले र माकेको मिलन भयो । कल्पनै नगरेको कुरा फ्याट्ट हुँदा तिरिमिरी झ्याँई देख्नु अस्वाभाविक हुँदै होइन । मेरो मनले अहिले पनि एमाले र माके मिलनलाई मान्न सकिरहेको छैन । मेरो मूल्य मान्यता र ‘प्रेस्टिज’ कुल्चँदै भएको एकतालाई स्वीकार गर्दै गर्दिनँ लौजा । यस मुद्दामा नेपाली काङ्ग्रेस र मेरो मिटर ठ्याक्कै मिल्छ । नेपाली काङ्ग्रेसलाई पनि यो मिलन काँचो पिंडालु खाएर कोक्याए जस्तो भा’को छ र मलाई पनि उस्तै चिलचिलाहटले पिरोलेको छ । चुनावमा नराम्रोसँग पछारे । उनार्को मिलनले चुनावमा म त पछारिएँ मात्र हाम्रो नेपाली काङ्ग्रेस पछारिएर, थेचारिएपछि बजारिएको छ । लौ म त एउटा ब्यक्ति हारें, सहुँला बुझाउँला । सग्लो, लामो, अग्लो र भयङ्कर इतिहास बोकेको नेपाली काङ्ग्रेसले के गरी सहने, बुझाउने !

सहनुको पनि सीमा त हुन्छ होला नि ! कि कसो शेरबहादुर दाइ ? नेवि सङ्घ र तरुण दल समाप्त भए जसरी काङ्ग्रेस समाप्त हुन्छ भनेर कसैले नठाने हुन्छ । नढाँटी भन्ने हो भने जनताले हामीलाई अलि नपत्याएको चाहिँ सत्य हो । पत्याओस् पनि कसरी ! भारतले नाकाबन्दी गर्दा मुख खोल्न सकिएन । बरु उल्टै भारतले “होइन“ भन्न पुगियो । त्यसैबेला केपी ओली कड्किएर भारतलाई लल्कार्न पुगे । संविधान लागू नगर्नका लागि भारतले आफ्नो दूत पठाएको थियोे । हाम्रै सुशील कोइराला प्रधानमन्त्री थिए । त्यसबेला पनि सुशीललाई घुँचेट्दै लगेर यिनै केपीले संविधान घोषणा गर्न लगाए । “काङ्ग्रेसको नाम, ओलीको काम” भनेर यो जश पनि जनताले केपीलाई नै दिए । चिनसँग पारवहान सम्झौता पनि यिनैले गरे । हुन त काङ्ग्रेसले पनि काम नगरेको चाहिँ होइन है ।

त्यो…गरेर ऊ…पनि गरेको त नेपाली काङ्ग्रेसले नै हो नि बाबा… ! कस्तो नपत्याएको ।

होइन म पनि तीन छक्क परेको छु, कसरी कम्यूनिष्टहरूलाई भोट दिएका हुनन् । आकाशबाट चड्कन हानेर खप्पर फोरे जत्तिकै बनाए बाबै हामीलाई त ! अब मेरो र नेपाली काङ्ग्रेसबीचमा साझा प्रश्न खडा भएको छ । “अब कुन मुद्दा बोकेर जनता सामु जाने“ भन्ने । मुद्दा मात्र पाए त हामी बबाल मच्चाउने थियौं । पिर्ए जनता तपाईंहरूलाई कोटिकोटि नमस्कार र जय नेपाल ! यदि तपाईंहरूसँग उल्कापात, हावा हुण्डरी, बतास, तूफान सिर्जना गर्ने खालका मुद्दा छन् भने हामीलाई डेलिभरी गरी सहयोग गरिदिनुहुन विनम्र गर्दछौं । नेकपाको मिलन र हाम्रो विचलन मनभरि लुतोसरि फैलँदो छ । कमसेकम कन्याई त दिनुहोस् । यो हाम्रो अनुरोध हो ।

नेपाली काङ्ग्रेसमा धिरेधिरे (धिमा गतिमा) महाधिवेशन आउँदै छ । जुन शेरबहादुर दाइका लागि नआए पनि हुने महाधिवेशन हो । हुन त आँखा चिम्लेर एक वर्ष म्याद थप्न पाउने सर्वशक्ति दाइमा सुरक्षित छ । काङ्ग्रेस खिनौटे, दुब्लो र झारिखण्डे भए पनि सभापति भनेको सभापति नै हो, खै कुरा बुझेको ? अब काङ्ग्रेसको भग्नावशेष र नीतिहीनताको कारणले नेकपाको भोट बढ्छ भने भूत्रैसित ! जय नेपाल !!

Facebook Comments