परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अमर कृति

मणिराजकालीन पत्रकारिताको वृत्तान्त

मणिराज उपाध्याय (वि. सं. १९८०–२०७३) नेपाली पत्रकारिताको इतिहासको सग्लो र सङ्ग्लो पन्नामा स्वर्णाक्षरमा कुँदिने नाम हो । नेपाली पत्रकारिता वामे सर्दै गरेको सैशवावस्था अनि राजनीतिक प्रतिकूलता जब्बर रहेको बेला निजी लगानीमा पत्रिका प्रकाशन गरी पत्रकारिता सुरु गर्ने र पत्रकारितामै जीवनका गतिशील, ऊर्जावान वय बिताएका तथा जीवनकालकै आधा सताब्दी पत्रकारितामा समर्पित व्यक्तित्व स्व. मणिराज उपाध्यायको जीवनको साङ्गोपाङ्गो चित्र हो, ‘पत्रकारिताका सतिसाल’ पुस्तक।

तत्कालीन सरकारको आर्थिक सहयोगमा २००७ फागुन ८ बाट प्रकाशित ‘आवाज दैनिक’ ले वर्ष २ अङ्क १०७ मै सास छाडेको देखेका स्व. उपाध्यायले राजनीतिक प्रतिकूलताका बाबजुद त्यसबखत समाचारमूलक अखबार प्रकाशन गर्ने हिम्मत गर्नु चानचुने कुरा थिएन ।

काठमाडौंको जुद्धोदय हाइस्कूलबाट एसएलसी र भारतको इलाहवाद विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह (आई. ए.) शिक्षा पाएका स्व. उपाध्याय संवत् २००८ कै सेरोफेरोबाट ‘सही रास्ता’ पाक्षिक (२०१० बाट साप्ताहिक) मार्फत् पत्रकारको रूपमा उपस्थित भएका देखिन्छन् । सो सेरोफेरोका पत्रपत्रिकाहरूमा बढी मात्रामा साहित्यिक सामग्री मात्र छापिने र ती पनि बामे सर्दासर्दै बन्द भइरहने अनिश्चितकालमा उनले हिन्दी भाषामा समाचारमूलक पाक्षिक पत्रिका ‘सही रास्ता’ प्रकाशन गरेको इतिहास समेत सार्वजनिक भएको छ, पुस्तक ‘पत्रकारिताका सतिसाल’ मार्फत् ।

तत्कालीन सरकारको आर्थिक सहयोगमा २००७ फागुन ८ बाट प्रकाशित ‘आवाज दैनिक’ ले वर्ष २ अङ्क १०७ मै सास छाडेको देखेका स्व. उपाध्यायले राजनीतिक प्रतिकूलताका बाबजुद त्यसबखत समाचारमूलक अखबार प्रकाशन गर्ने हिम्मत गर्नु चानचुने कुरा थिएन ।

‘मास्ट–हेड’ कै शिरमा ‘काठमाण्डू से प्रकाशित एक मात्र हिन्दी स्वतन्त्र साप्ताहिक’ लेखेर छापिने सो पत्रिकाले तत्कालीन सरकार र मातहातका व्यक्तिहरूको गलत तथा जनविरोधी गतिविधि, क्रियाकलापलाई समाचारका रूपमा प्रकाशन गरेबापत् उनलाई तत्कालीन सरकार, विशेषगरी काठमाडौं मेजिष्ट्रेटले विभिन्न आरोपमा स्पष्टीकरण सोध्ने नाममा दुःख दिँदा समेत आफ्नो पेशामा निरन्तर डटिरहने, दुःखलाई ऊर्जाका रूपमा स्वीकार गर्दै पत्रकारिता पेशालाई मर्यादित राख्न कहिल्यै नचुक्ने, पत्रकारिताको आस्था, धर्म र निष्ठाबाट लेसमात्र पनि विचलित नहुने व्यक्तित्वको पेशागत र व्यक्तिगत जीवन–सङ्घर्षको साङ्गोपाङ्गो ऐना हो, ‘पत्रकारिताका सतिसाल’ ।

सरकारले ‘सही रास्ता’ बन्द गराएपछि हिन्दी भाषामै पत्रिका प्रकाशन गर्ने भन्दै उनले २०११ भदौ ८ मा ‘प्रहरी साप्ताहिक’ दर्ता गरेको देखिन्छ । तर, २०११ मंसिर ८ बाटै ‘सही रास्ता’ पुनः प्रकाशन भयो । हिन्दी भाषामा ‘सही रास्ता’ प्रकाशन गर्दै आएका उपाध्यायले नेपाली भाषामा ‘दैनिक समाज’ २०११ भदौ २४ बाट प्रकाशन गरेको देखिन्छ । नेपाली पत्रकारिताको इतिहासमा ‘दैनिक समाज’ र मणिराज उपाध्याय अन्योन्याश्रित छन् । ‘दैनिक समाज’ र ‘सही रास्ता’ केही समय सँगसँगै प्रकाशन भएको उल्लेख भए पनि ‘सही रास्ता’ कसरी र किन बन्द भयो ? त्यो भने उल्लेख छैन । पुस्तकमा स्व. उपाध्यायका साथै ‘दैनिक समाज’ को इतिहास बृत्तान्त छ । सो दैनिकले तत्कालीन राजा वीरेन्द्रको जन्म दिन पारेर वि.सं. २०५३ पुस १४ का दिन घोषणा गरेरै प्रकाशन बन्द गरेको जनाउ दिनु शायद् नेपाली पत्रकारिताको इतिहासमा दुर्लभ घटना हो । पत्रिका प्रकाशन हुनु र बन्द भइरहनु खासै चासोको विषय नबन्ने याममा बन्दको घोषणा गरेरै ‘दैनिक समाज’ ले आफ्नो यात्रा टुङ्ग्याएको हो ।

एघार अध्यायमा वर्गीकृत र ५१६+६+४ पृष्ठमा संरचित पुस्तकमा नौ वटा अध्यायभित्र स्व. उपाध्यायमाथि लेखिएका फरक फरक क्षेत्रका व्यक्तित्वहरूको आलेख समाविष्ट छन् । १० औं अध्यायमा स्व. उपाध्यायका जीवनकालका विभिन्न तस्बिरहरू सङ्कलित छन्, जुन न्यायोचित नै मान्नुपर्छ । यसैगरी अनुसूचीको रूपमा रहेको ११ औं अध्याय नेपाली पत्रकारिताका विद्यार्थी र अध्येताका लागि अमूल्य छ । यसले तत्कालीन समय अर्थात् मणिराजका पालामा पत्रकारिता कस्तो हुन्थ्यो ? र कसरी हुन्थ्यो ? भन्ने स्पष्ट चित्र दिन्छ ।

सङ्कलित वा समाविष्ट आलेखका नौवटा अध्यायलाई विषयगत आधारमा वर्गीकरण गरी ९० व्यक्तित्वहरूका आलेख ‘पत्रकारिताका सतिसाल’ मा सङ्कलित छन् । नेपाली पत्रकारितालाई केन्द्रमा राखेर विभिन्न क्षेत्रका विद्वानहरूका गहन संस्मरणहरू पुस्तकमा समावेश छन् । ती आलेखहरूबाट पत्रकारिता र वरिष्ठ पत्रकार उपाध्यायलाई कुन क्षेत्रका व्यक्तिले कसरी चिन्दा रहेछन् भन्ने फरक–फरक दृष्टिकोणले पनि पुस्तकलाई पठनीय तुल्याएको छ । सबैभन्दा बढी अध्याय–२ मा ‘समकालीन र समकक्षीका नजरमा मणिराज’ं मा २० आलेख समेटिएका छन् । यसका साथै पुस्तकमा उनकै सेरोफेरोमा रहेर तत्कालीन समाज र पत्रकारिताका विषयमा पनि संक्षिप्त विवेचना गरिएको छ । पुस्तक र मुख्य पात्रलाई आलोचनात्मक वा विवेचनात्मक बनाउने प्रयासस्वरूप ‘राजनीतिक नजरमा मणिराज’, प्रशासक तथा पेशाकर्मीका नजरमा…’ सञ्चारमाध्यमका….’, शिष्यका….’, आफन्तका…..’, आफ्नै….. र आध्यात्मिक… ..’ मा गरी अध्यायका रूपमा विभिन्न शीर्षक तथा दृष्टिमा पुस्तक संरचित छ ।

प्रकाशित पुस्तकमा जीवनमा दिल खोलेर पत्रकारिता गर्न नपाएका पत्रकार स्व. उपाध्यायको बारेमा अनुभूति लेख्ने क्रममा ‘सोभियत भूमि’ पत्रिकाका सम्पादक तथा नेपालको प्रजातान्त्रिक आन्दोलनका अध्येता र इतिहास लेखक अरविन्द रिमाल पत्रकार उपाध्यायलाई ‘नेपाली पत्रकारिताका भीष्म पितामह’ को उपमा दिँदै लेख्छन्, ‘२०१० साल भदौमा काठमाडौँ नगरपालिकाको चुनाव भयो । न्यूरोड–इन्द्रचोक वडामा उहाँ प्रजा परिषद्को उम्मेद्वार भएर उठ्नुभयो । नेपाली कांग्रेसका उम्मेद्वार चाहिँ उहाँका पुराना खेलाडी मित्र थिए । ने. का. ले उहाँलाई हराउन कुनै कसर बाँकी राखेन । नेपाल कम्युनिष्ट पार्टीले पनि उहाँको विरुद्ध आफ्नो उम्मेदवारी दिएको थियो। विजय मणिराजकै भयो तर उहाँ कहिल्यै कांग्रेस र कम्युनिष्ट विरोधी हुनुभएन’ (पृष्ठ १३०) । राजनीतिक प्रतिस्पर्धामा चुनाव लडे पनि पत्रकारितामा राजनीतिक रङ्ग पत्रकार उपाध्यायले नमिसाएको सम्पादक रिमालको तर्क छ ।

यसैगरी नेपाली पत्रकारितामा आचारसंहिता जारी नभएकै अवस्थामा पत्रकारिताका आधारभूत संहिताका विषयमा पत्रकार उपाध्यायले बारम्बार भन्ने गरेको उद्धरण गर्दै त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख प्रा. चिरञ्जीवी खनाल लेख्छन्, ‘समाचार सङ्कलनका क्रममा भोज नखाँदा राम्रो हुन्छ , लोभ लालचमा फस्यो भने समाचार हराउँछ र त्यो मानिस पत्रकार पनि बन्न सक्दैन । समाचार सङ्कलनका क्रममा झगडा नगर्नू र निहीत स्वार्थले विवाद चर्काउने काम पनि नगर्दा वेस हुन्छ’ (पृष्ठ १४८) । स्व. उपाध्यायलाई नेपाली पत्रकारिताका आदर्श पुरुष मान्ने नेपाली पत्रकारिताका वर्तमान पुस्ताका लागि प्रा. खनालको संस्मरणात्मक वाक्यांशले शायद् व्यङ्ग्य गरिरहेको छ । साथै उनले भनेका छन्, ‘उनी समाचारको आधिकारिक स्रोत खोज्ने, राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर पत्रकारिता गर्ने व्यक्ति थिए ।’

स्व. उपाध्यायले पत्रकारिता गर्दैगर्दाको बखतमा नेपाली राजनीति सङ्क्रमणकालमै थियो । दरबार, राणा र प्रजातान्त्रिक शक्तिहरू आआफ्नै ध्रुबमा बाँडिएका थिए । नेपाली राजनीतिमा विदेशी चासो र हस्तक्षेप बढ्दै गएको थियो । यसै सेरोफेरोमा रहेर तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य तथा तत्कालीन राजा महेन्द्र र विपि कोइरालालाई मिलाउन आफूले प्रयास गर्दा त्यो सफल नभएको प्रसङ्ग मणिराजका संस्मरणमा उल्लेख छ । यो प्रसङ्गलाई राजनीति शास्त्रका विद्यार्थीले थप खोज र अनुसन्धान गर्न सके नेपाली राजनीतिमा विदेशी चासोका विषयमा थप तथ्य उजागर हुने स्थान सुरक्षित छ ।

यसै सेरोफेरोमा रहेर तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य तथा तत्कालीन राजा महेन्द्र र विपि कोइरालालाई मिलाउन आफूले प्रयास गर्दा त्यो सफल नभएको प्रसङ्ग मणिराजका संस्मरणमा उल्लेख छ । यो प्रसङ्गलाई राजनीति शास्त्रका विद्यार्थीले थप खोज र अनुसन्धान गर्न सके नेपाली राजनीतिमा विदेशी चासोका विषयमा थप तथ्य उजागर हुने स्थान सुरक्षित छ ।

यसैगरी डा. के आइ सिंहबारे पनि पुस्तकले थप जानकारी दिएको छ । डा. सिंहको सकारात्मक बखान मात्र थाहा भइरहेको सदर्भमा उनी प्रधानमन्त्री भएको बखतमा ‘भारत विहारको तत्कालीन सरकारले बिहारमा अनिकाल लागेको छ, बारा र पर्साका नदीनाला नथुन्नू भन्दै केआई सिंहलाई पत्र लेखेको र वीरगञ्जका तत्कालीन बडा हाकिमलाई डा. के आई सिंहले फोन गरी पानी छाड्न आदेश दिएको घटनालाई ‘राष्ट्रियता विरोधी र गल्ती काम गरेको’ टिप्पणी गर्दै समाचार लेखेको भरमा पत्रकार उपाध्यायलाई २९ दिन जेलमा थुनिएको प्रसङ्गले डा. के आई सिंहको राजनीतिक चेत र हविगतको खुलासा गरेको छ । सो समाचार लेखेको २३ औं दिनमा डा. के आई सिंह प्रधानमन्त्रीबाट हटेको प्रसङ्गले तत्कालीन नेपाली राजनीतिको धरातल स्पष्ट देखाउँछ ।

यसैगरी ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) का पूर्व संवाददाता केदारमान सिंह श्रेष्ठ उनलाई ‘राष्ट्रिय स्वार्थमा समर्पित प्रखर’ व्यक्तित्व हुन् भन्दै लेख्छन्, ‘घाँसे घिउ उत्पादन गरेर जनताको स्वास्थ्यसँग खेलवाड गर्न खोजिएको भन्दै तत्कालीन सत्ताको उछितो काढ्नुभयो । ….. राजा महेन्द्रकी जेठी छोरी शान्ति सिंहको नाममा खुलेको कम्पनी पछि शान्ति वनस्पति घिउका रूपमा बजारमा आयो (पृष्ठ १५४) ।’

पञ्चायत कालमा राजदरवारका प्रिय र पटक–पटक गरी तीन पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले भनेका छन्, “.. मणिबाबुले जनतालाई सुसूचित गराउने, तथ्यसत्य कुरा लेख्ने, राष्ट्रका लागि अडान लिने…., राष्ट्रवादी, विचारमा लेख–रचना लेख्ने, र सम्पादन मात्र गर्नुभएन, त्यसलार्ई अगाडि बढाउने कार्यसमेत गर्नुभएको थियो, … त्यस्तो मानिसको सबै उचित मूल्याङ्कन गर्नुपर्ने हुन्छ (पृष्ठ २३८) ।’ यसैगरी नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर हिमालय शमशेर राणाले पत्रकार उपाध्यायलाई ‘आफ्नो पेशामा ज्यादै इमान्दार, राष्ट्रभक्त र विदेशी दवाव नसहने’ व्यक्तिको रूपमा चित्रण गरेका छन् ।

समयको महत्ता बुझ्ने व्यक्तिका रूपमा स्मरण गर्दै जानकी जीवनकुञ्ज देवपतनका अजित प्रसाद गौतमले एक प्रसङ्ग उल्लेख गरेका छन्, “… बाबु ! आफू समयमा कार्य गर्न सफल हुनु भनेको सबैलाई अनुशासित राख्नु हो । आइन्दा भनेको भन्दा केही समय अगाडि उपस्थित हुँदा यसले ठूलो उपलब्धि हासिल हुन्छ ।” साथै उनले जीवन बँचाइको प्रसङ्गमा भनेका छन्, “…. अध्यात्मवाद र भौतिकवादलाई समन्वयात्मक ढङ्गबाट जीवनमा उतार्न सफल मणिबाबुलाई मैले आदर्शका रूपमा पाएको छु,’ (पृष्ठ ४२३) ।
प्रस्तुत पुस्तकले नेपाली राजनीतिक इतिहासको पुनर्लेखनको पाटोमा पूर्व प्रधानमन्त्री डा. के आई सिंह र विपि कोइरालाका बारेमा थप खोज र शोध गरी सिंह र कोइरालाको राजनीतिक यथार्थ पाटो उधिन्न मद्दत मिल्ने आधार दिएको छ । साथै परराष्ट्रस्तरमा नदीनालाको सम्झौता (विशषगरी कोशी र गण्डक) बारे त्यस समयमा नेपाली पत्रकारिताले देखेको यथार्थबारे लघु शोध गर्न सके नेपाली पत्रकारिताको इतिहासमा थप ज्ञान बढ्थ्यो कि ? अर्थात् नेपाली पत्रकारिताले नेपाली राष्ट्रिय स्वार्थ र स्वाधीनताको पक्षमा गरेका इतिहास लिपिबद्ध हुन सके नेपाली समाजलाई उपयोगी हुन्छ भन्ने मार्ग समेत देखाइदिएको छ, पुस्तकले ।

नेपाली राजनीतिक इतिहसमा २०३६ मा घोषित जनमत सङ्ग्रहको आफ्नै महत्त्व र स्थान छ । नागरिक स्वतन्त्रताको मागका पक्षमा उभिएर उनले स्पष्टसाथ बहुदलीय व्यवस्थाको पक्षमा वकालत गर्दै ‘दैनिक समाज’ को मास्ट–हेडमाथि ‘समयको माग’ शीर्षकलाई अधोरेखाङ्कन गरी लेखे, ‘नीलो रङ्ग तपाईको आफ्नो रङ्ग र पहेंलो रङ्ग निर्दलको रङ्ग, नबिर्सनु होला ।’

प्रस्तुत स्मृति–ग्रन्थ (पुस्तक) मा प्रशस्त जानकारी छन् । क्लिष्ट, बौद्धिक प्रदर्शनको लेखन नभइकन जटिल विषयमा पनि सरल शैली र सरस भाषामा पुस्तक संरचित छ । पुस्तक स्व. मणिराज उपाध्यायको सेरोफेरोमा लेखिएको भए पनि तत्कालीन समाज, राजनीति, आर्थिक विकास, शिक्षा, विकासका बारेमा यथेष्ट जानकारी लिपिबद्ध छन् । पुस्तकको कमजोरी भनेको सम्पादन कला फितलो हुनु हो । भाषामा प्रयुक्त हिज्जे, शब्द–विन्यास र वाक्य गठन आदिमा कहीँ कतै सम्पादकीय समूह चुकेको छ । भाषा र सम्पादनमा गम्भीरतापूर्वक ध्यान नदिइएको आभाष हुन्छ ।

प्रकाशित पुस्तकले नेपाली पत्रकारिताको उद्भव, विकास र त्यसका विभिन्न आयाममाथि प्राज्ञिक अध्ययन र शोधका लागि मार्ग प्रशस्त गरेको छ अर्थात् विषय उधिनेको छ । तसर्थ ती कार्य गर्ने शोधकर्ता वा अध्यायनकर्तालाई यो पुस्तक आधार बन्नेमा ढुक्क हुन सकिनेमा उत्तिकै बलियोसँग विश्वस्त हुन सकिन्छ । नेपाली पत्रकारिता जगतमा जलकुम्भीहरू मौलाउँदै गएको यथार्थमा आस्था, निष्ठा र इमान्दारी पत्रकारिता कस्तो हुन्छ ? भन्ने शिक्षा यसले पक्कै दिन्छ । पत्रकारितामा सतिसाल पढेपछि ‘दैनिक समाज’ र मणिराज उपाध्याय नेपाली पत्रकारिताका आदर्श पत्रिका र पात्र हुन् भनेर कसैलाई पनि पढाइरहनु परोइन ।

प्रायः चलनचल्तीमा प्रकाशित स्मृतिग्रन्थहरू भक्तिगान वा स्तुति र उनका सकारात्मक पाटो मात्र उजिल्याउने चलन रहँदै आएकोमा यो पुस्तक सो आरोपबाट मुक्त छ । तुलनात्मकरूपमा अध्याय–९ कमजोर छ तथापि अन्य अध्यायमा समाविष्ट आलेखहरू विवेचनात्मक ढर्राका भएकाले प्रचलित ‘स्मृतिग्रन्थ’ कै कोटिमा राखिरहनु अन्याय हुनेछ । अस्तु ।