परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चिनियाँ राष्ट्रपति सि जिङफिङको नेपाल भ्रमण तस्बिरमा

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिङफिङले नेपाल भ्रमण गर्नुभएको एक वर्ष पूरा भएको अवसर पारेर नेपाल–चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘प्रेसिडेण्ट सि जिङफिङ्स नेपाल भिजिट : अ पिक्टोरियल गाइड’ (President Xi’s Nepal Visit :A Pictorial Guide) को सोमबार पूर्व प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले सार्वजानिक गर्नुभयो ।

सो समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाल–चीन सम्बन्ध सधै हार्दिक र सुमधुर रहेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै कसिलो र घनिभूत बनाउनु पर्ने बताउनुभयो । चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कति लाभ लिन सक्यो भन्ने समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले भने–‘कागजी रूपमा त लाभ लियौं तर व्यावहारिक रूपमा कति लाभ लिनसक्यौँ ? बेल्ट एण्ड रोड इनिसियटिभ्सबाट कति लाभ लिन सक्यौं ? यसको समीक्षा गर्दै भएका सहमति कार्यान्वयनमा जोड दिनुपर्छ ।’ नेपाल चीनको विश्वासिलो मित्र भएको भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो–‘हामी चीनसँग अझ विश्वासिलो र साझेदार देशका रूपमा अघि बढ्न चाहन्छौं ।’

पछिल्लो समय सी जिन फिङले चीनको नेतृत्व सम्हाल्नुभएपछि उहाँले बेल्ट एण्ड रोड सम्बन्धी नयाँ सिल्क रोडको नयाँ अवधारणा अगाडि सार्नुभएको उल्लेख गर्दै नेपालले भन्नुभयो– ‘पुरानो सिल्क रोडले जसरी एसिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गर्यो । उहाँ आएपछि यो अवधारणालाई अझ गति प्रदान गर्नुभयो । सिंगो मानवजातिको साझा भविष्यको परिकल्पना गर्दै सबैलाई आर्थिक रूपले लाभ हुने जुन प्रस्ताव अगाडि सार्नुभयो, त्यो अत्यन्तै सह्राहनीय छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले सन् १९६५ मा नेपाल–चीनबीच कुटनैतिक सम्बन्ध स्थापना भएयताका विभिन्न महत्वपूर्ण आयामहरूका बारेमा चर्चा गर्नुभयो । सीमासम्बन्धी सन्धी, पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणमा भएको व्यापार तथा यातायातसम्बन्धी सम्झौता, बेल्ट एण्ड रोड इनिसियटिभ्समा नेपालको हस्ताक्षर, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भ्रमणका रुपमा राष्ट्रपति विद्या भण्डारीले गर्नुभएको चीन भ्रमण र चीनका राष्टपतिबाट २३ वर्षपछि भएको सिको नेपाल भ्रमण दुई देशवीचको सम्वन्धमा कोशेढुंगा भएको उहाँले बताउनुभयो ।  चीन विश्वमै उत्पादनको घर र ठूलो व्यापार साझेदार देश भएको उल्लेख गर्दै पूर्व राजदूत पौड्यालले नेपालले चीनबाट लिनसक्ने लाभका विविध पक्षबारे उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘विश्वमा उदियमान देश चीनजस्तो छिमेकी मुलुकबाट लाभ लिन सकेमा नेपालको समृद्धिको लक्ष्य पूरा हुनसक्छ र नेपाल पनि चीनसँगसँगै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सक्छ ।’

विश्वमै ठूलो व्यापार साझेदार चीन जस्तो मुलुकको प्रभावशाली नेताको भ्रमण नेपालका लागि तात्त्विक र आधारभूत रूपमै भिन्न र विशेष रहेको उहाँले बताउनुभयो । त्यति मात्र नभएर उक्त भ्रमण विश्व परिस्थिति र हाम्रो आन्तरिक कारणले पनि महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । राष्ट्रपति सी को भ्रमणका बेला चीनका लागि राजदूत समेत रहनुभएका पौड्यालले उक्त भ्रमण गराउँदाका आफ्ना अनुभव पनि सुनाउनुभयो ।

सार्वजानिक गरिएको पुस्तक ‘प्रेसिडेण्ट सि जिङफिङ्’स नेपाल भिजिटः अ पिक्टोरियल गाइड’ मा चिनियाँ राष्ट्रपति सी, नेपालका पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग उपप्रमुख विष्णु रिजाल, सन योङ, विएम रेग्मीका लेखहरू समावेश छन् । साथै, पुस्तकमा दुई देशका बीच भएका संयुक्त वक्तव्यहरू, दुई देशका उच्चस्तरीय भ्रमणमा भएका सम्झौताहरू, सी भ्रमणका तस्बिरका साथै सी भ्रमणका बेला नेपाली छापा माध्यममा प्रकाशित सामग्रीहरू पनि समावेश छन् ।

Facebook Comments