निक्कै पछिसम्म पनि काठमाडौँ रत्नपार्कमा अहिले नेपाली कांग्रेसका नेता गणेसमान सिंहको सालिक रहेको ठाऊँमा लहरै अनेकौं प्रकृतिका पसलहरू रहेका थिए र त्यसैमध्य एउटा रेस्टुरेंट पनि थियो जहाँ अनेकौं किसिमका खाजाहरू खान पाइन्थे । विद्यार्थीमाझ त्यहाँको चटक्क स्वाद भएको समौसा चाट प्रिय थियो । त्यहाँ विभिन्न किसिमका चाट खानेहरूको भिड लाग्नुको कारण त्यसको विशेष स्वाद हुनु नै थियो । अरू रेस्टुरेन्टहरूभन्दा त्यहाँ चाटका लागि चाहिने मसलाहरूको सन्तुलित मात्रामा प्रयोग गर्ने सीप वा कला नै त्यसको बिशेष स्वादको कारण थियो ।
हुन पनि समोसा चाट विविध मसलाको प्रयोग गरेर तयार गरिँदोरहेछ भन्ने कुरा यो पंक्तिकारले काठमान्डौंमा आईसकेपछि थाहा पाएको हो, किनकि यसको जन्मथलोमा धेरै रेस्टुरन्टहरूमा अनेकौं खालका खानेकुराहरू पाक्ने गरे तापनि चाट कहिल्यै पनि खान जुरेन । त्यहाँका रेस्टुरेन्टमा काम गर्ने कामदार वा मालिकहरूलाई चाट कसरी बनाउने भन्ने सीप वा कलाबारे थाहा थिएन भन्ने त ठोकेर त कसरी भन्नु र ? अथवा उनीहरू त्यसबारेमा थाहा भएर पनि बनाएर बिक्री गर्न झन्झट मान्ने गर्दथे कि । चाट बनाउने कुराका सम्बन्धमा नढाँटेर भन्ने हो यी दुबै सम्भावनाहरू थोरै वा धेरै ठिक छन् ।
मिठाईका पारखीहरूले आफ्नो जीवनकालमा अनेकौं खालका मिठाईहरू खाएहोलान् । ती सबैको लेखाजोखा र सम्झना कसले राख्दछ होला र तर रत्नपार्कको चाटको भने धेरैले अझै पनि सम्झना राखेकै होलान् । आफूलाई मन परेको कुरा हतपति कहाँ बिर्सिइन्छ र ? साँच्चै भन्ने हो भने यो पंक्तिकारले पनि त्यसलाई बिर्सिएको छैन, स्वाद अझै पनि जिब्रोमा बसेकै छ ।
त्यसो त यसले नबिर्सिएका कुराहरू धेरै छन् जसमा थोरै सन्तुष्टिहरू र धेरै असन्तुष्टिहरू छन्, सीमित खुशी र असीमित दुःख, पीडा र कष्टहरू छन् । थोरै हाँसो र धेरै आँसु छन् । जीवनमा भएका थोरै प्राप्ति र धेरै नोक्सानी, थोरै इमान्दारी र धेरै धोकाधडी पनि बिर्सन सकिएका छैनन् । यो पङ्तिकार मात्रै होइन कि यो समाजमा यस्ता धेरै मानवहरू समाजमा छन् र थिए पनि जसले ती कुराहरूलाई बिर्सेका छैनन्, बिर्सन सकेनन् वा बिर्सन सक्दैनन् । वास्तवमा एक जनाको मात्रै होइन कि समाजका अधिकांश मानव जीवनको इतिवृति केलाउने हो भने धेरै जना धेरै कम मात्रै हाँसे होलान्, धेरै चोटी आँसु झारे होलान् र मन दुखाए होलान् । कतिले धेरै चोटी आफूलाई नै ठगे होलान् कति झुट्टा सुखमा बाँचे होलान्, कतिले आफूसंगै पटक पटक झुट बोले होलान् र आत्मालाई छल गरे होलान् । आत्माको पुकारलाई दुत्कार्नेहरूको संख्या पनि कति होला कति । अझै आफू वैभवशाली भइकन पनि कति मानिसहरू अझै आफूलाई आफूले दुःखीको संज्ञा दिइराखेको वा दुःख पाइराखेको सम्झिराखेका होलान् ।
हाम्रा ग्रन्थहरू भन्ने गर्दछन् यस्तो हुनुको पछाडि मानव सधैं भौतिक सुखका पछाडि दौडिरहनु हो । मानव जीवन एकपक्षीय बन्नु हो, यो विश्रृङ्खलित बन्नु पनि हो र जीवनको उद्देश्य नबुझ्नु पनि हो, धेरै हदसम्म । जीवनका उद्देश्य बुझ्ने र त्यसलाई सन्तुलित ढंगले अगाडि बढाउने त बुद्ध पुरूष नै हुन् । जसरी सिद्धहस्त कालिगडले आवश्यक मसलाको प्रयोग गरेर स्वादिलो चाट बनाउदछ त्यसैगरेर वुद्ध पुरूषहरू आफ्नो सुखमय जीवन बिताईरहेका हुन्छन् । यिनिहरूको आध्यात्मिक चेत खुलेकोले भौतिक रूपमा दरिद्र देखिए पनि यी सुखी हुन्छन् र यसले गर्दा समस्त विश्वलाई सन्तुलित एवम् सुखी जीवन बिताउने उपदेश बाँड्दै हिड्ने र आफूलाई विश्वको गुरूको रूपमा आफूलाई चिन्हाउने उनीहरूको क्षमता रहेको हन्छ । तर के कुरा सत्य हो भने समाजमा यस्ता महापुरुषहरूको संख्या त न्यून हुन्छ नै ।
आखिर चाटमा धेरै मसलाहरू हालिए जस्तै धेरै कुराहरूको सङ्गम त हो जीवन । मानिसहरू भन्ने गर्छन् एकनासको जीवन निरश हुन्छ किनभने मानव विविधता रूचाउने प्राणी हो । यो कुरामा सत्यता छ । धेरै मानिसहरूले भनेको कुरा कसरी झुठो हुन्छ र ?
यो कुरा सत्य हो कि समाजमा धेरै मानिसहरूको जीवन निराशाको कालो बादल हेर्दैमा नै वित्ने गर्दछ त्यसलाई पन्छाउने असफल प्रयास गर्दैमा समय वितेको मान्छेहरू चालै पाउदैनन्, सुख के हो भन्ने अनुभव गर्नै नपाई उनीहरूको जीवनको अन्त हुने गर्दछ । भयथार्थमा सिसिफसको नियती यस पृथ्वीका धेरै जसो मानवहरूले मृत्य पर्यन्त भोग्नु परेकै हुन्छ गर्दछ । धेरैको जीवन बन्दछ चाटमा कुनै एक मसला मात्रै हालिए जस्तै नमीठो स्वादको । खाली पिरो मात्रै परेको अथवा नून मात्रै भएको वा त्यस्तै नमिठो स्वाद भएको चाट जस्तै । जीवनमा ईन्द्रेणीको रंग जस्तै विविधता हुनु पर्दछ भन्ने कुरा त केही भाग्यमानीको हकमा लागु हुन्छ तर धेरैको जीवनमा त एउटै रंग मात्रै हुने गरेको देखिन्छ । कालो फगत कालो मात्रै । भाग्यवादीहरू यसलाई कर्मको लेखा भन्दछन्, कर्मशीलहरू परिस्थितिलाई दोष दिन्छन् । सबैलाई आआफ्नै ढंगले परिभाषित गर्ने अधिकार त छदै छ नि ।
बैज्ञानिकहरू भन्ने गर्दछन् पृथ्वीमा ३ चौथाई पानी र १ चौथाई जमीन छ । दार्शनिकहरू त्यसलाई मानव जीवनमा ३ चौथाई आँसु र एक चौथाई खुशी छ भन्ने कुरामा अर्थ्याउदछन् । यी दुबै ठीक छन् । हुन पनि गौतम वुद्धको चार आर्य सत्यहरू मध्यले एउटाले त संसारमा दुःख छ भनेकै छ । यस दर्शनमा शंका गर्न साहस गर्नेहरूले यसलाई निरासावादी दर्शन मान्न भ्याएकै छन् । के कुरा सही हो भने मानव सुखको आशामा भौंतारिरहेर आफ्ना जीवनका महत्वपूर्ण छेणहरू व्यतित गर्दछ । तर धेरैको हातमा अर्थात उनीहरूको जीवनमा सुख अत्यन्तै कम तर धेरै दुःख हात लाग्दछ र यसले गर्दा मानव दुःखी बन्दछ, यसका लागि कहिले आफूलाई र धेरै जसो बेलामा अरूलाई दोषी मान्दछ । तर एउटा अर्को कुरा के पनि छ भने कर्मठ मानव र जीवनको मुख्य सार सुख सयल र मोज मज्जालाई नै सम्झने र यसमा नै रम्नेहरूको दृष्ट्रिकोण त केही फरक हुन्छ नै ।
जीवनका अधिकांस भाग सुख सयलमा बिताउदै त्यसैको मदमा भुलिरहने आध्यात्मिक चिन्तनमा सून्य रहेकाहरूलाई त जीवनको सर्वोच्च उद्देश्य त्याग र समर्पण हुनुपर्दछ भन्ने कुरा कसरी मान्य होला र ? उनीहरू त जताततै सबैलाई सुख सयलमै लिप्त देख्दछन् जसरी रिंगाटा लागेको व्यक्तिले संसार नै घुमेको देख्दछ । विकृति मनस्थितिको उपज हो त्यो । यति मात्रै होईन उनीहरू अझै दुनियाँका सवै सुख सयल आफ्नै झोलिमा मात्रै परोस् र संसार आफ्नो दास बनोस् भन्ने मनोवृती हन्छ उनीहरूको । तर त्यस्तालाई आध्यात्मवादी चिन्तन भएका कवि शिरोमणी लेखनाथ जस्ता महापुरुषले व्यंग्य गर्दै सचेत गराउन कहाँ छोडेकाछन् र ? उनको ‘ म खाउँ, मै लाउँ ‘ भन्ने पङ्तिहरू त सवैलाई यादै छ । त्यस्ता महापुरुषको आध्यात्मिक चिन्तनमा आदर्श मात्रै छ यथार्थ छैन भन्ने कुरालाई किमार्थ मान्न सकिदैन । यथार्थ त्यहि हो जो लेखनाथ आफ्ना कविता मार्फत भन्दछन्, त्यसलाई वुझ्न केही समयको चिन्तन मननको मात्रै आवश्यकता रहन्छ । त्यसै गरेर महाकविले पनि आफूलाई कल्पनाका धनि र प्रकृती प्रेमीका रूपमा मात्रै होईन कि मानवताका पक्छेधरका रूपमामा समेत खरो रूपमा परिचित गराएर गए । मानव पसीनालाई उच्च कदर गर्ने यी महापुरूष समाजको विकासका लागि महान उद्देश्यको आवश्यकताको वोध गराउदै सुखी समाजको निर्माणका लागि मानव जातिले अवलम्वन गर्नु पर्ने मार्गहरू उनी वोध गराउदछन् । मानव समाजको विकासका लागि त्यसले तय गर्ने मार्गहरू चाटमा मसलाहरू चाहिने जत्ति राखिए झैं सन्तुलित हुनु पर्ने र ति मार्गहरू एकै चोटी चलायमान हुनु पर्ने महाकविको भनाई रहेको कुरा उल्लेख गर्दा गल्ती हुनेछैन ।
लेखनाथ र महाकविले आफ्नो कविताहरूमा भने जस्तै जीवन प्राप्ति र जीतको शृङ्खला मात्रै बन्नु हुँदैन बरू चाटमा मसलाको संयोजन जरूरी भए जस्तै यसमा प्राप्ति र दानको संयोजन हुनु जरूरी छ, उद्देश्य महान राखेर मात्र पुग्दैन त्यससँग उसको परिश्रम र विवेक पनि साथसाथै अघि बढ्नु आवश्यक छ, अनि मात्रै जीवन सन्तुलित बन्न पुग्दछ र मानवले मानव हुनुको गौरवको अनुभूति गर्न सक्दछ, मीठो चाटको स्वाद लिए झैं । हाम्रा धार्मिक ग्रन्थहरूले त भनिसकेका छन् प्राप्तिको फल एक्लै भोग गर्ने व्यक्ति चोर समान हुन्छ । उसका प्राप्तिमाथि अरूको समेत भागिदारी हुनुपर्दछ । पूर्वीय समाज र पश्चिमी समाजका बीचको फरक यही नै त हो । उनीहरूको र पूर्वीयहरूको बीचको सोचाइ, धारणा र सांस्कृतिक मूल्य र मान्यता नै फरक छ । व्यक्तिवादी धारणा हाबी हुने पश्चिमी समाज असन्तुलित छ, ठिक्क मसलाहरू नपुगेको चाट जस्तै वा कुनै मसला चाहिनेभन्दा बढी भए जस्तै । आफ्नोबारेमा मात्रै सोच्ने त्यहाँको समाज भौतिक रूपमा सम्पन्न त होला तर मानसिक रूपमा विश्रृङ्खलित र असान्त, भरमार अपराधैअपराधहरूले ग्रसित र एक अर्काप्रति ईर्ष्यालु पनि । काकाकुलले पानीको खोजमा भौतारिरहे जस्तै सुख अझै बढी सुखको खोजीमा भौतारिइरहन अभिसप्त छ त्यहाँको समाज । प्रगति आफ्ना लागि मात्र र प्राप्ति पनि आफ्ना लागि मात्र गर्ने त्यो समाजमा डाहा धेरै हुन्छ भौतिक रूपमा सर्वसम्पन्न भए पनि । त्याग र समर्पण सच्चा सुखको प्रारम्भिक बिन्दु हो भन्ने कुराको चौतर्फी ज्ञान त्यहाँको समाजको लागि वर्तमान समयको आवश्यकता हो । तर सोही समाजमा केहीले संसारका लागि नै उदाहरणीय काम गरेको भने बिर्सनु हुँदैन । दुःखको कुरो पूर्वीय समाज पनि पश्चिमी समाजको विकृतिहरूका अन्धानुकरण गरिरहेको भौतिकवादमा मात्रै सवै कुरा छ र त्यो नै सवै थोक हो भन्ने सोच्दै अनेकौं किसिमका विकृति र विसंगतिहरूलाई निम्त्याउने गर्दछ पाश्चात्य समाज ।
तर आजको सन्दर्भमा पूर्वीय समाजमा पनि विकृतिले स्थान पाउन सुरू गरिसकेको छ । त्यसले आफ्ना रीति र रिवाजलाई किनारा लगाउँदैछ, सीमित स्वार्थलाई अंगिकार गर्दै । यसमा विहंगम छलफल गर्नु र मनन् गरिनु आवश्यक छ । यदि त्यसो भएन भने नेपाल जस्ता मुलुकको विश्व रंगमन्चमा राष्ट्रिय पहिचान नै समाप्त हुने सम्भावना वा डर हुने सम्भावना रहन्छ । हाम्रा विचार र दर्शन, संस्कृति रीति रिवाजको जगेर्नाको आवाज उठ्नु आजको आवश्यकता हो। त्यसो हुनु आजको सन्दर्भमा जरूरी छ, हाम्रा जीवनका सहजताका लागि र हाम्रो संस्कृतिको जगेर्ना र आफ्नोपन वचाउनका लागि । गरे के हुन्न र ? खाँचो छ केवल ईमान्दार प्रयासको मात्र जसले सम्पूर्ण समाजलाई नै लाभान्वित गर्न सकोस् र भविष्यका लागि मार्गचित्र कोर्न सकोस् । हामीहरूले हाम्रो जीवनलाई सार्थक र मीठासपूर्ण बनाउनु जरूरी छ, रेस्टुराँको कालिगढले स्वादिलो चाट तयार गरे जस्तै । जुनसुकै मानिसको मनमष्तिष्कमा रचनात्मक कुराले बास पाउनु आवश्यक छ, ऊ आफैँ र समाजको हितका लागि । नत्र समाजलाई विकृत तुल्याउन वा भत्काउनका लागि धेरै ठूलो जमात चाहिँदैन, थोरै मात्र भए पनि पुग्दछ, कम से कम मानव इतिहासले त यही भन्दछ ।
एउटाको प्राप्तिबाट सम्पूर्ण समाज नै लाभान्वित हुन्छ भने डाहा, ईर्ष्या र रीस राग कहाँबाट उत्पन्न हुन्छ र ? समाज त्यत्तिकै शान्तिको मार्गमा अघि बढ्छ, ज्ञान र समृद्धिबाट त्यो पुलकित बन्दछ र यो बन्दछ ईश्वरवादीहरूले परिकल्पना गरेको स्वर्ग जस्तै । दानको दर्शनबाट दानी पनि सुखी बन्दछ यदि सच्चा मनले दान गरेको छ भने दान गरेपछि दानीले प्राप्त गर्ने सुख अलौकिक हुन्छ, त्यसबाट प्राप्त हुने सुख वर्णन गर्न असम्भव हुन्छ । त्यसैले पाश्चात्य जगतले भने जस्तै ज्ञान र सूचनामा र विभिन्न खालका आविष्कारहरूमा एउटा सीमित समूहको एकाधिकार होइन कि यसमा विश्वका समस्त मानव समूहको समान अधिकार हुनु जरूरी छ । अर्थात सामूहिक प्राप्तिमा नै सच्चा सुख छ, सच्चा आनन्द छ । लिनुमा भन्दा दिनुमा नै वास्तविक आनन्द छ । महाकविले त त्यत्तिकै लेखेका होइनन् होला-‘खोज्छन् सबै सुख त्यो कहाँ छ ? आफू मिटाई अरूलाई दिनु जहाँ छ ।’ आखिरमा मानवको उपभोग क्षमता पनि सीमितै हुन्छ भन्ने कुरा मानवले वुझोस् । उसले जगतको सबैभन्दा महत्वपूर्ण कुरा पसिना र विवेक रहेको र उद्देश्य महान रहनु पर्ने कुरालाई आत्मसात गरोस् भन्ने कुरा देवकोटाका त्यसै कवितामा छन् । उ आफूमा मात्रै सीमित नरहोस् । समस्त विश्व व्रह्माण्डलाई नै आफ्ना वन्धुवान्धव सम्झदै वसुधैव कुटुम्बकम् को नारा सवैले नै घन्काएमा मानव जीवन सन्तुलित र सफलसमेत हुन्छ भन्ने धारणा छ महाकवि देवकोटाको ।
साँच्चै भन्ने हो भने जीवनमा धेरै कुराहरूको सन्तुलन हुनुपर्दछ भन्ने देवकोटाको भनाइ रहेको कुरा उनको मार्ग कविताले प्रष्ट्याउदछ । समाज सकारात्मक दिशातर्फ लम्कियोस् भन्ने चाहने महापुरुषहरूका दर्शन यसै कवितामा समेटिएको महसुस हन्छ । हाम्रा महाकविको कुरालाई आत्मसात गर्ने अवसर नपाए पनि आफ्ना पवित्र आत्माका आवाज सुनेर त्यसैबाट निर्देशित हुदै विश्वका धेरै धनीमा पर्ने मार्क जुबेर, बील गेट्स र उनीहरू जस्ता अरू पनि धन र मन दुवै भएका र संसार रोग र भोकबाट मुक्त हुनुपर्दछ भन्ने धारणा बोकेका महापुरूषहरूले आफ्नो कमाईको ठूलो हिस्सा दान गरिसकेका छन् र मानव समाजलाई कृत कृतज्ञ पारेका मात्रै होइन कि आफ्नो जीवनमा सफलताको अर्को अध्याय पनि थपेका छन् । त्यो अध्याय हो आफूलाई मानवतावादीको रूपमा मानव समाजमा परिचित गराउने सफलता । हामी कामना गरौं अरू धनीहरूलाई पनि यस्तै बुद्धि आओस्, उनीहरूलाई समाजको उन्नति एवम् प्रगतिको मार्गमा ईट्टा थप्ने अवसर जुटोस् र अनि त्यो समाज धन्य बनोस, उनीहरूकको गुण गान गाओस् र उनीहरूको जीवनले सार्थकता पाओस् । मानवका दुःखबाट व्यथित हुँदै त्यसका निवारणार्थ गौतम बुद्धले आफ्नी नवयौवना रानी, भर्खरै जन्मिएको पुत्र र सुखसयलले सम्पन्न दरवार छोडेको कुरा त सबैले पढेकै छन् । एउटा हृदयङ्गम् गरिनु पर्ने कुरा के पनि छ भने सबै राजकुमारहरू गौतम बुद्ध बन्न नसके जस्तै सबै धनीहरू मार्क जुबेर र बील गेट्स बन्न सक्दैनन्, यसका लागि मानव समाजप्रतिको गहिरो समर्पण र आध्यात्मिक विन्तनको समेत आवश्यकता पर्दछ तर धेरैमा तिनिहरूको सर्वथा अभाव रहन्छ ।
यी भावनाहरू कसैले सिकाएर सिकिने कुराहरू भने होइनन् मानव आफैले नै आफ्नो अन्तस्करणको आवाज सुन्न सक्नु जरूरी छ । आखिरमा अन्तस्करण नै निषपक्ष इन्साफकर्ता हो जसको निर्णय अन्तिम हुन्छ, स्वीकार्य हुन्छ । तर त्यो आवाज सुन्न सक्ने क्षमता चाहिन्छ जसले सुन्न सक्दछ र आफ्नो जीवनलाई तदनुरूप लैजान सक्दछ, उसको जीवन मात्रै सन्तुलित बन्न सक्दछ, सफल बन्न सक्दछ स्वादिलो चाट झैं । अन्तस्करणको आवाजलाई सुनेर पनि वेवास्ता गर्नेहरू अन्ततः व्यथित बन्दछन् र पश्चातापको जीवन विताउन अभिसप्त हुन्छन् किनकि उनीहरूले आफूले आफूलाई नै ठगिरहेका हुन्छन्, आफूले आफूसँग झुठो बोलिरहेका हुन्छन् । उनीहरूको त्यो जीवनले पूर्णता पाएको भनेर कसरी भन्ने किनकि त्यसमा केही न केही अपुग भएकै हुन्छ, त्यसमामा कहीँ न कहीँ अपूर्णता रहिरहेकै हुन्छ । त्यस्तो अधुरो र अपूर्ण जीवन के जीवन । तर त्यसमा प्रयास भयो भने त्यसलाई पूर्ण बनाउन सकिन्छ, सार्थक बनाउन सकिन्छ ।
‘मानव मानवतामा मात्रै मानव भएर पूर्ण हुन्छ । मीठो चाट बन्नका लागि बिभिन्न मसलाको आवश्यकता भए जस्तै एउटा पूर्ण र सफल मानव जीवन व्यतित गर्नका लागि भौतिक प्राप्ति र आध्यात्मिक र दार्शनिक चिन्तनहरूको सन्तुलन आवश्यक छ अनि मात्र मानव कल्याणको मार्ग प्रशस्त हुन्छ । आध्यात्मिक चिन्तन र दर्शनबिनाको भौतिक प्राप्तिले मात्रै जीवनलाई पतनको मार्गतर्फ उन्मूख गराउँदछ भने कोरा आध्यात्मिकताले मानव जीवनलाई शुष्क बनाउन जाने भय हुन्छ । तर अध्यात्मवादलाई ईश्वरवादमा लगेर भने टुङ्ग्याउनु हुँदैन किनकि अध्यात्मवाद भनेको केवल ईश्वरवाद मात्रै होइन, यो त्योभन्दा धेरै कुरा हो र यिनीहरूमा फरक छन् । आर्य दर्शन अध्यात्मवादमा गएर टुङ्गिन्छ, जसले मानव जीवनका बिभिन्न पहलुहरूका यथार्थ बोध गराउँदछ । वास्तवमा यो जीवनमा धेरै दुःखहरू छन्, जसलाई भोग्न मानव जीवन अभिसप्त छ, तर जीवनका बाटोमा कहिलेकहीँ आइपर्ने सुखका क्षणहरूको किन उपभोग नगर्ने ? वास्तवमा मानव समाजको सर्वोपरी हित र कल्याण नै सबैको जीवनको उद्देश्य हुनु जरूरी छ र जीवनलाई सन्तुलित बनाउन पनि छोड्नु हुँदैन, अन्यथा मानव जीवन एक पक्षीय र मिठासहीन बन्न पुग्दछ । हाम्रो चाहना त जीवनलाई मीठासपूर्ण बनाउने हो र त्यस्तै हुनुपर्दछ, अनि मात्रै त्यसको सार्थकता सिद्ध हुन्छ नत्र भने जिउनुको के नै अर्थ रह्यो र ?