विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्याङ्क अनुसार विश्वमा करिव तीन करोड साढे उनान्चास लाख मानिसको मृत्यु कोरोना संक्रमणबाट भइसकेको छ । यो मानवीय क्षती कोरोना परीक्षण गरिएको व्यक्तिको मृत्युको तथ्याङ्क हो । तर परीक्षण नै नगरी कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ठूलो छ । कोरोना महामारीबाट विश्व अर्थतन्त्रमा कति क्षती भयो त्यसको कुनै लेखाजोखा छैन । प्राय सबै देशको आर्थिक वृद्धिदरमा नराम्ररी धक्का लागेको छ । विकसित देशभन्दा विकासशील तथा अल्पविकसित देशमा त्यसको प्रभाव झन ज्यादा छ ।
विश्वका धेरै देशको वस्तु तथा सेवा र मुद्राको बाह्य प्रवाहमा कमी आएको छ । त्यसैगरी अन्तराष्ट्रिय हवाइ क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण मानिसको आवतजावतमा कमी आएको छ । नेपालबाट हजारौँको संख्यामा अध्ययन, रोजगारी, स्वास्थ्य उपचार र भ्रमणको रुपमा विदेश जाने लहरमा कमी आएको छ भने विदेशबाट नेपाल भ्रमण गर्नेको संख्यामा पनि अत्यधिक कमी आएको छ । कतिपय देशले कोरोना संक्रमण दर उच्च भएका देशलाई रातो सूचीमा राखेका कारण ती देशका नागरिकलाई विभिन्न देश भ्रमण गर्न प्रतिबन्घ नै लगाएका छन् । मावन जीवन पहिलेकै लयमा कहिले फर्केला? यो सबैको मुखमा झुण्डिएको प्रश्न हो? विश्व अर्थतन्त्रमा पहिलेको जस्तै मानिसहरुले बिना डर, बिना मास्स र सेनिटाइजरको प्रयोग, कहिलेदेखि आर्थिक गतिविधिमा सम्लग्न हुन पाउलान त ?
लकडाउनका चरणगत प्रभाव
अहिले विश्वका धेरै देशमा कोरोना महामारीको दोस्रो लहर चलिरहेको छ । यसको तेस्रो, चौँथो लहर पनि आउने आँकलन गरिएको छ । उदाहरणः कारोना महामारीको पहिलो चरण नियन्त्रण गर्न नेपाल सरकारले गरेको पहिलो बन्दाबन्दीले पारेको आर्थिक क्षतिबाट मुक्त हुन अर्थतन्त्र भर्खर मात्र चलायमान हुन थालेको थियो । तर भारतबाट सुरु भएको महामारीको दोस्रो धक्का नियन्त्रण गर्न चरणगत रुपमा जिल्ला स्तरबाट सुरु भएको दोस्रो बन्दाबन्दी जारी भएको एक महिना बितिसकेको छ ।
कोरोना संक्रमणको साङ्लो तोड्न गरिएको बन्दाबन्दीमा धेरै व्यक्तिमा स्वाव परीक्षण गर्न नसक्दा र जनताले पनि इमान्दारीपूर्वक सरकारको आग्रह पालना नगर्दा संक्रमणको साङ्लो तोड्न सकिएको छैन । यसरी चरणगत रुपमा बन्दाबन्दी हुँदा अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा थाला पर्ने गरी प्रभाव परेको छ । बन्दाबन्दीको पहिलो चरणमा नेपालमा यातायात, पार्र्टी प्यालेस, होटल र पर्यटन, सिनेना क्षेत्र बढी प्रभावित थिए । ती मध्ये कतिपय क्षेत्र केही समय खुल्ला भए र लयमा आउन नपाई पुनः बन्दको चपेटामा परे । कतिपय क्षेत्र पुनः लयमा फर्कन नसक्ने अवस्थामा पुगेका छन् ।
नेपाल जस्तो विकससिल देश मात्र होइन विश्वका सम्पन्न देशहरु पनि महामारीको नयाँ धक्का देखिएसँगै लकडाउन गर्ने गरेका छन् । अन्तराष्ट्रिय हवाइ यात्रामा प्रतिबन्ध, देशभित्र आवतजावतमा रोक, व्यापार व्यवसाय, सार्वजनिक यातायात इत्यादि बन्द छन् । देशभित्र कोरोनाको त्रास बिना आर्थिक गतिविधि सञ्चालन गर्न सक्ने अवस्था छैन ।
कोरोना खोपको धक्का र प्रभावकारिता
कोरोना महामारी नियन्त्रण गर्ने दीगो उपाय भनेको कोरोना खोपको प्रयोग हो । महामारी नियन्त्रण गरी मानवीय क्षती कम गर्न गरिएको बन्दाबन्दीबाट थला परेको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन छिटोभन्दा छिटो सबै मानिसको पहुँचमा पुग्ने गरी कोरोना खोप सेवामा विस्तार गर्नु आवश्यक छ । खोप लगाएका व्यक्तिमा संक्रमणको असर कम पर्ने हुनाले सबै व्यक्तिको पहुँचमा खोप पु¥याइ आर्थिक गतिविधि तव्र गतिमा पुरानै लयमा फर्काउन सकिन्छ । अर्थतन्त्रलाई धरासायी हुनबाट जोगाउन सकिन्छ । जती छिटो खोपको पहल हुनसक्यो त्यति नै छिटो अर्थतन्त्रले गति लिन सक्छ । कुनै पनि देशका आम जनतामा खोप सेवा पु¥याउन नसक्नु भनेको आर्थिक क्षतीमा वृद्धि गर्दै जानु हो ।
तर अहिले विश्वमा प्रयोगमा ल्याइएका कोरोना खोपहरुको प्रभावकारिता दीर्घकालीन हुने कुरा एकिन भैसकेको छैन । विश्व स्वास्थ सङ्गठनको तथ्याङ्क अनुसार हालसम्म एक अर्व ५५ करोड मानिसले लगाएका कोराना विरुद्धका खोप अस्थायी प्रकृतिका हुन । त्यस्ता खोपले कोरोना विरुद्ध लड्न एन्टीबडी निर्माण गर्ने भए तापनि त्यो एन्टीबडी अल्पकालीन मात्र हुन्छ । कोरोनाको नयाँ भेरियन्टको धक्का आएसँगै ती खोपको प्रभावकारितामा पनि पर्ख र हेरको स्थिति छ ।
आउला त कोरोना खोप कार्ड/पासपोर्टको प्रयोग
कोरोना महामारीको अन्त्य हुन समय लाग्न सक्छ । यसले मानव समुदायमा सधैँभरी प्रभाव जमाउन पनि सक्छ । यदि कोरोना महामारीले मानव समुदायमा प्रभाव जमाइ रह्यो, धेरै प्रयास गर्दा पनि कोरोना विरुद्ध स्थायी खोपको विकास गर्न सकिएन भने के गर्ने ? नेपाल जस्ता विकासशील देशहरुले कति महिना वा वर्षसम्म आर्थिक गतिविधि बन्द गर्ने ? अन्तराष्ट्रिय जगतमा मानिसको आवातजावत कहिलेसम्म रोक्ने ? कहिलेसम्म स्कुल, क्याम्पस, सिनेमा हल बन्द गर्ने ? कहिलेसम्म आन्तरिक र बाह्य पर्यटन रोक्ने ?
यदि कोरोनाको स्थायी खोप आएन र महामारीलाई नियन्त्रणका सबै उपाय प्रयोग गर्दा पनि नियन्त्रण गर्न सकिएन भने कोरोना खोपकार्डको अवधारणा आउन सक्नेछ । जो व्यक्तिसँग सरकारको आधिकारिक अस्पतालबाट मान्यता प्राप्त कोरोना विरुद्धको खोप लगाएको कार्ड छ ऊ उक्त कार्ड बोकेर घुम्न सक्छ, सिनेमा हल जान सक्छ, सरकारी कार्यालय, स्कुल सपिङ महल जान सक्छ । अर्कोतिर कोरोना पासपोर्ट भएका व्यक्तिले मात्र विदेश भ्रमण गर्न पाउँछन् । नत्र उनीहरुले भिसा पाउँदैनन् । यसरी कोरोना खोपकार्डको प्रायोग गरी आर्थिक गतिविधिको रोकावटलाई पुन पुरानै लयमा फर्काउन सकिन्छ ।
कोरोना खोपकार्डको अन्त्य
यस अघि नै विश्वमा आएका केही महामारी अझै कायम छन् । जस्तो एच. आइ. भी.–एड्सको अझै दीगो औषधी बनेको छैन । त्यस्तै कोरोना महामारीले पनि विश्व मानव समुदायमा आगामी केही वर्ष प्रभाव जमाउला नै । यसको नयाँ नयाँ भेरियन्ट वा प्रकार आइरहला । त्यस्तो अवस्थामा अर्थतन्त्रलाई सधैँ बन्द गरेर राख्न सकिदैन । तर माक्सको प्रयोग गर्ने, सेनिटाइजर, हातमा पञ्जा सँगै कोरोनाको खोपकार्ड खल्तीमा बाकेर आर्थिक गतिविधिमा सम्लग्न हुने दिन अल्पकालीन मात्र हुनेछ ।
कोरोनालाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिएमा बिना खोप कार्ड आर्थिक गतिविधिमा सम्लग्न गर्न सकिन्छ । त्यसैगरी कोरोना बिरुद्ध सबै मानिसमा प्रतिरोधी क्षमताको विकास भएको अवस्थामा भने कोरोना खोप कार्डको अन्त्य स्वत हुनेछ ।
naradrijal45@gmail.com