झिसमिसेमै आच्छ्यु-आच्छ्यु गर्दै,
बगुवा–खोला तरेर फलाङ्गेको खोँचबाट,
खनेर ल्याएको कमेरोले पोतिएका,
गाउँ–घरका भित्ताहरु,
ठुलोभीरको सालको बोक्रा पकाएर
निक्लेको कालीले सिँगारिएका
गाउँका घर–घरका झ्याल-ढोकाहरु,
गाउँभरी घर-घर चहार्दै बटुलिएको बाबियो
कतै पीपलको हाँगामा झुण्ड्याइएका
त कतै बाँसको लिङ्गोमा ठड्याइएका,
पिङ – लिंगे-पिङ र रंगटे-पिङ ।
एकाबिहानै आँगनमा न्यानो घाम लाग्ने,
सुन्दर मानापाथी हिमाल देखिने,
गाउँले सबै जम्मा भई देउराली डाँडाबाट
मूलबाटो सफा गर्दै हिंडिएका सम्झनाहरु,
हाम्रा मीतबाको काखमा खरर्र- खरर्र
असिमित गतिमा कल-को आवाज
पल्टन बाट दशैँ-छुट्टि मिलाएर
रौनक थप्न पहाड पसेका लाहुरेहरु,
सहरबाट गाउँ भित्रिएका
जीरा-मसला र पसिनाका बासना ।।
सुख, दुःख, अभाव, चुनौती बीच पनि
घर-घरमा स-परिवार जम्मा भएर रमाउँदै
मीठो खाने र राम्रो लगाउने चाड हो, दशैँ:
चोटा–भरी असरट्ट पहेँल्पुर केरा,
सप्रिएर हलक्क भएका जमरा,
काक्राका अचार, दहि–चिउरा,
ठुलो, खोल-वाला रेडियो भिरेर,
लोक–गीत घन्काउँदै टीका-आशिर्वाद
र दक्षिणा थाप्न कोसेली बोकेर,
गाउँ पसेका चेली-बेटीहरु,
ज्वाईं-भानीच, सज्जन इस्ट-मित्रहरु,
निधारभरी दहीमा मुछिएको,
घरैपिच्छे थपिँने, मायाँ मिसिएको,
रातो अक्षता, कानमाथी पहेँला जमरा,
सकल शरीरमा सजिएका नयाँ लुगा,
यसरी बेजोड-ऊँड्ने हाम्रा मनका चङ्गा,
बुझाइ र जिम्मेवारीले नथिचुन्जेलको चाडबाड,
आहा, त्यो बाल्यकालको खुशीले
झन्डै आकाश छुन्थ्यो;
अहिले मैले शहरतिर जति नाचेको
नाटक गरे पनि, के गर्नु?
दशैँ त बरु गाउँ-घर तिरै पो रमाइलो हुन्थ्यो !