खानेपानी विभागको महानिर्देशकमा मीना श्रेष्ठ नियुक्त

खानेपानी विभागको पहिलो महिला महानिर्देशक
काठमाडौं । नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ ।
करिव पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बीना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गर्नुभएको हो । यसअघि श्रेष्ठ विभागको उप महानिर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो ।
यसअघिका विभागका महानिर्देशक सुनिल कुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो । श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो । खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता शाक्यले बताउनुभयो । श्रेष्ठ, खानेपानी विभागमा कार्यरत सहसचिव मध्ये वरिष्ठ हुनुहुन्थ्यो । ‘उहाँलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको हो ।’ प्रवक्ता शाक्यले भन्नुभयो । निवर्तमान महानिर्देशक सुनिल कुमार दासलाई भने खानेपानी मन्त्रालयमा बोलाईएको छ । 

मीना श्रेष्ठ, खानेपानी विभागको करिब ५० वर्षे इतिहासमै महानिर्देशकमा नियुक्त पहिलो महिला हुनुहुन्छ । नेपाल भित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो । त्यस यता थुप्रै महानिर्देशकहरु परिवर्तन भए पनि श्रेष्ठ नै पहिलो महिला महानिर्देशक बन्न सफल हुनुभएको छ ।

वरिष्ठताको आधारमा पनि अगाडि रहनुभएकी श्रेष्ठलाई महानिर्देशक नियुक्त गरेर मन्त्रालयले सकारात्मक सन्देश दिएको छ । विभागमा हालसम्म करिव दुई दर्जन जति महानिर्देशक हुँदा पहिलोपटक महिला महानिर्देशक नियुक्त हुनुमा मन्त्री मगरकै चाहाना प्रमुख रहेको मन्त्रालय स्रोतले बतायो ।

यसअघि सिभिल इन्जिनियरको रुपमा श्रेष्ठ भवन विभागमा कार्यरत हुनुहुन्थ्यो । वि.सं २०५३ देखि सरकारी सेवामा रहनुभएकी श्रेष्ठ अनुभवी र क्रियाशील कर्मचारी हुनुहुन्छ । नेपाल सरकारको कोटाबाटै स्नातक तहसम्मको पढाई पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गर्नुभएकी श्रेष्ठले स्नातकोत्तर तहको पढाई भने स्ट्रक्चरल इन्जिनियरिङतर्फ बैंककबाट पूरा गर्नुभयो । २०६६ साल चैत्र १२ गते लिखित परिक्षा बाटै बिल्डिङ एण्ड आर्किटेक उपसमूहको सिनियर डिभिजनल इञ्जिनियर (उपसचिव) पदमा बढुवा हुनुभएकी श्रेष्ठ २०७१ सालमा स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा पदोन्नति हुनुभएको थियो ।

स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा बढुवा भएपछि उहाँ २०७१ माघ ८ गतेदेखि खानेपानी मन्त्रालयमा प्रवेश गर्नुभएको हो ।

Facebook Comments
Comments (0)
Add Comment