कक्षाकोठा र समाचार कोठालाई जोड्ने बारे प्राज्ञिक बहस

काठमाडौं : विज्ञहरूले मिडिया उद्योगको माग र समाचार कक्षको आवश्यकता अनुसार पत्रकारिता शिक्षामा सुधारको खाँचो औँल्याएका छन् । मदन भण्डारी मेमोरियल कलेज, पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा बुधबार काठमाडौंमा भएको प्राज्ञिक विमर्श शृंखला अन्तर्गत गरिएको अन्तर्क्रिरया कार्यक्रममा मिडिया सम्बद्ध विज्ञहरूले परम्परागत पत्रकारिताका सिद्धान्त र नीतिशास्त्र सँगसँगै समयानुकूल व्यवहारिक सीप प्रदान गरी विद्यार्थीहरू तयार पार्नुपर्ने बताएका हुन् ।कार्यक्रममा काठमाडौं उपत्याकामा पत्रकारिता तथा आमसञ्चार विषय पढाउने करिव २५ वटा क्याम्पसका ४० जना अद्यापकहरूको उपस्थिति थियो।

‘ट्वेन्टी फर्स्ट सेन्चुरी मिडिया एजुकेसनः कनेक्टिङ क्लासरुप विथ् न्युजरुम’ शीर्षकमा भएको कार्यक्रमा मुख्य वक्ता एवं हिमाल मिडियाका प्रकाशक कनकमणि दीक्षितले नेपाली समाजलाई दिशानिर्देश गर्न पत्रकारहरूले फ्रन्टलाइनरको भूमिका खेलिरहेको बताउनुभयो । दक्षिण एसियाको सबैभन्दा लोकतान्त्रिक मुलुकका रुपमा नेपालको छवि पत्रकारहरूसमेतको योगदानका कारण सम्भव भएको उहाँले बताउनुभयो । “पेशाकर्मीका रुपमा मात्र नभई पत्रकारहरूले नागरिकका रुपमा समेत समाजमा भइरहेका कार्यहरू खोज्ने, छाम्ने र पाठकसम्म पु¥याउने काम गरिरहेका छन् तर वृहत्तर समाजबाट यसको सही ढंगले प्रशंसा भइरहेको छैन”, दीक्षितले भन्नुभयो, “पत्रकारिता पढाउने भनेको समाज पढाउने हो । तसर्थ, पत्रकारिता पढ्न चाहनेलाई लिबरल आर्ट्स पढाउनुपर्छ ।”

दीक्षितले पत्रकारिताका विद्यार्थीलाई इतिहास, भूगोल, अर्थशास्त्र र राजनीति शास्त्र अनिवार्य पढाउनुपर्ने बताउनुभयो । समाजमा पत्रकारको भूमिका र योगदान बुझाउन सकियो भने त्यसले स्वतः जो कसैलाई पत्रकार बन्न र राम्रो पत्रकारिता गर्न प्रेरित गर्ने उहाँले बताउनुभयो । पत्रकारहरूलाई लेखनशैली सँगसँगै ज्ञानभण्डारले पनि सुसज्जित गर्नुपर्ने उहाँले बताउनुभयो । कहिलेकहिले पत्रकार पनि नागरिक हैसियतमा सडकमा उत्रिनुपर्ने अवस्था आउने भन्दै दीक्षितले सबैतिरबाट ‘सन्तुलन र नियन्त्रण’ भई त्यस्तो अवस्था नै नआओस् भन्ने चाहना व्यक्त गर्नुभयो । नेपालले संघीय संरचनाको अभ्यास गरिरहेको सन्दर्भमा अब मिडियाहरू पनि आफूलाई त्यस रुपमा प्रस्तुत गर्नुपर्ने उहाँले बताउनुभयो । अब प्रादेशिक स्वाद र संरचनाका मिडिया आवश्यक भएको उहाँको भनाई छ ।

रत्नराज्य लक्ष्मी क्याम्पस, पत्रकारिता विभाग प्रमुख श्रीराम पौडेलले पत्रकारले गर्ने सामान्य कार्यहरू अब प्रविधिले गर्न थालेको भन्दै सोअनुसार पठानपाठनमा सुधार ल्याउन नसकिएको स्वीकार्नुभयो । “सूचना र प्रविधिमा ठूलो परिवर्तन आइसक्यो तर त्यसलाई बुझ्ने र अबलम्बन गर्ने गरी संरचना बनाउन हामीले सकेका छैनौँ”, पौडेलले भन्नुभयो, “पाठ्यक्रम विकासदेखि शिक्षण–सिकाइसम्ममा सुधार गर्नुपर्ने आवश्यकता छ ।” मिडिया उद्योगमा कार्य अनुभव भएका जनशक्तिलाई कक्षाकोठामा शिक्षकका रुपमा भित्र्याउन सके विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान तथा व्यवहारिक सीप प्रदान गर्न सकिने उहाँले बताउनुभयो ।

सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले विश्वविद्यालय तथा कलेजहरूलाई पढाउने भन्दा सिकाउने कार्यमा ध्यानकेन्द्रित गर्न सुझाव दिनुभयो । “पढ्ने कुरा विद्यार्थीलाई घरमा पढ भन्ने र कक्षाकोठामा बजारमा आवश्यक सीपहरू सिकाउने हो”, ढकालले भन्नुभयो, “विषयबस्तु ग्रहण गर्ने र बुझ्ने गहिराई तथा सीप दिन सकिएमा त्यस्ता विद्यार्थीहरूले पत्रकारितामा योगदान दिन सक्छन् ।” त्यसका लागि कक्षाकोठालाई समाचार कक्षका रुपमा परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ ।

मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र पौडेल उच्च शिक्षामा विद्यमान समस्याहरूलाई उजागर गरी समाधान खोज्न कार्यक्रमले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । “धेरथोर सबै संकाय तथा विषयहरूको समस्या यस्तै हो, यो छलफलले उठाएका विषयहरूलाई समाधान गर्न सबैको प्रयत्न आवश्यक हुन्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा काठमाडौंका विभिन्न शिक्षणसंस्थाहरूमा पत्रकारिता पढाउने शिक्षकहरू तथा पत्रकारहरू सहभागी थिए । पत्रकारिता पढाउने प्राज्ञिक निकाय र समाचार कक्ष एकअर्काका परिपूरक भएकाले यी दुईबीच सुमधुर सम्बन्ध स्थापित गर्न बहसको आयोजना गरिएको मदन भण्डारी मेमोरियल कलेज पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख रघु मैनालीले जानकारी दिनुभयो । प्राज्ञिक विमर्श शृंखलाअन्तर्गत आउँदा दिनमा पनि नियमित विभिन्न कार्यक्रमहरू आयोजना गरिने उहाँले बताउनुभयो ।

Facebook Comments
MBMC
Comments (0)
Add Comment