देश पारे अचानु

कविता (छन्द: मन्दाक्रान्ता)
जन्मे कस्ता जडभरत हा! देश पारे अचानु
यी नेपाली गरिब जनको ध्वस्त पारेर छानु
देही ढाक्ने न त छ कपडा खानलाई न मानु
जानु टाढा कुन रूखविषे ओत लागेर खानु?॥१

 

बस्ती फाँडे अधम जनले घोर बर्सात पारी
लर्कोलाई कन जफतले मत्त-हात्ती उतारी
झुप्रा छाप्राहरु सब बले अग्नि झोसेर भारी
खेतीपाती अलिकति थियो, चूर्णपारे बिगारी॥२

 

यो माटोमा गरिबहरुको हुन्छ कल्याण कैले?
बाठो–टाठो, पठित मनुवा यातना दिन्छ जैले
सामन्ती नै फगत चुलिने याम आएछ ऐले
गर्ने, खाने गरिब जनमा दिन्न टेवा कसैले॥३

 

भोका-नाङ्गा गरिबहरुको देह भो वैलिएको
कोरोनाको कहर छ यतै लोकमा फैलिएको
धान्ने होला कुन तरहले जिन्दगी यो बचाई?
बाध्यै पारे अब जिउन हा! कालकूटै अचाई॥४

 

अन्यायीले रजगज यहाँ हुन्छ जैले गरेको
आयो कालो समय सहसा न्याय मुर्छा परेको
मान्छे धेरै किन तल तलै कंश बन्दै झरेको
खै यौटाले सकल मुहुडा रामको नै धरेको?॥५

 

नाफा हेरी सबतिर यहाँ योजना बन्न थाले
पोषी आफ्ना गुट नजिकका दासलाई उचाले
भ्रष्टाचारी, छल–कपटका स्वाँठ ढोँगी अँगाले
सोझा सादा मनुज सबका भावना आज गाले॥६
Facebook Comments
neupane
Comments (0)
Add Comment