जब
पर्याप्त
समय उसंग थियो,
आफुले कहिल्यै नगरेको
र गर्न नचाहेको कामको कुरो
काटिरह्यो। बारम्बार, समयअनुसार
चलेको छु भन्यो, सुर्यका ज्योतीजस्ता विद्वान्-
बोलीहरु समेत, उसकै बफादार भैदेओस् भन्ठान्यो।
कैयौँ कर्मशील मनमस्तिस्कहरुलाई एकाएक–, ठाउँको-ठाउँ
ठीक लगाइदियो। जति हेर्यो उति, उ जटिल र आँटिलो बन्दै गयो।
पद, पैसा र प्रतिष्ठा
पछ्याउने क्रममा उसले
धेरै झन्जट-झमेला झोस्यो,
निम्सरोलाई सोस्यो, सोझोसँग खोस्यो,
शक्तीको भरमा सँधै छट्टुलाई मात्रै पोस्यो,
मानव-जीवनलाई केवल थोपा मात्र देख्यो, सारा-संसार
छपक्कै छेक्यो। आफैभित्रको भगवानको अंश भुसुक्कै बिर्सियो,
तसै, भए-भरको ढुङ्गालाई देवता ठान्दै ढोग्यो, स्वार्थको पोको,
द्रव्यको भोको, अहंकारको डोको, उफ् ! जति उसको दृष्टि,
त्यसैलाई सृस्टी मान्यो। सर्दम् सक्दो यावत्
आवश्यकता भन्दा बढी थुपारिरह्यो,
मौरीले मह जम्मा गरे जस्तो।
सोच्यो: जिन्दगी त ब्यापार
जस्तै, फाइदै–फाइदा!
भन्थ्यो, जिन्दगी गज्जबले चल्दैथियो, सत्यता उत्तरोत्तर जगजाहेर हुँदै गयो:
जीवन जिउनुको भित्री-मर्म उसले कहिल्यै जानेन, बैतर्णी तर्ने तयारी त
झन् गर्दै गरेन। जसै समय आयो, मिलाउँदा मिलाउँदै अन्त्यमा,
हिसाब-किताब पटक्कै मिलेन। धुलोबाट शुरु भएर धुलोमै
सिद्धिने डोरी चटक्कै चुडिँयो, आखिर अरु जस्तै
उ पनि अचानक एक्लै गयो, जस्तो मान्छेको
इतिहास थियो, गन्तब्य उसको, हरे!
उस्तै भयो, जे-जति, त्यत्तिकै
जो’छाडेर संसारबाट
बिदा लियो।