हल्दीबारी गाउँ परिषद् बैठक : अध्यक्षले बहिस्कार गरेपछि उपाध्यक्षद्वारा बैठकको अध्यक्षता

झापा । झापाको हल्दिवारी गाउँपालिकामा अध्यक्ष रविन्द्र लिङ्देनले नगरसभा बैठक बहिस्कार गर्नुभएको छ। उहाँले नगरसभा बैठक चल्दै गर्दा छोडेर हिँडेपछि उपाध्यक्ष डम्बर गिरीले सभा सञ्चालन गरी हल्दिवारी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी आज नै पारित भएको छ।


सभाध्यक्ष सभाबाट बाहिरिए पश्चात १ नम्वर प्रदेश सभाबाट जारी भएको गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा १६ को उपदफा ५ बमोजिम गाउँपालिकाका उपाध्यक्षलाई सभाध्यक्षता गराई प्रस्तावित वजेट नीति तथा कार्यक्रम सभाबाट पास गरिएको जानकारीका लागि विज्ञप्ति जारी गरिएको छ’, हल्दिवारी गाउँपालिकाका २९ जना जनप्रतिनिधिमध्ये २२ जनाले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा भनिएको छ।


विज्ञप्तिमा अध्यक्ष रविन्द्र लिङदेनले बाहिरका मान्छेलाई उकासी हुलहुज्जत गर्न लगाएर हिँडेको उल्लेख गर्दै गाउँपालिकाको सभाहलको सिसा तोडफोड भएको जनाइएको छ। गाउँसभा चल्दै गरेको समयमा आक्रमण गर्नेहरुलाई कार्वाही गर्न जिल्ला प्रहरीमा सार्वजनिक मुद्धा जाहेर गरिएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा उपाध्यक्ष गिरीसहित नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्वद्ध जनप्रतिनिधिले हस्ताक्षर गर्नु भएको छ।


जलथल जंगलको पर्यटकीय विकासका लागि निर्माण हुने बाटोलाई बामपन्थी नेता द्रोणचार्य क्षेत्रीको स्मृतिमा नामाकरण गर्ने विषयमा हल्दिवारी गाउँपालिकामा विवाद देखिएको हो । नेकपाको बहुमत रहेको गाउँपालिकामा अध्यक्ष लिङदेन भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित हुनु भएको थियो।

Facebook Comments
Comments (0)
Add Comment