‘मातृभूमिको हावा समेत मलाई सुखदायक छ’

विचार

कारण, त्यहाँका राष्ट्रिय नेतृत्व सधैँ दूरदर्शी, राष्ट्रवादी, राष्ट्रप्रेमी र जनताहितैषी थिए । ती देशको राष्ट्रिय नेतृत्वमा देशको स्वाधीनता र सार्वभौमिकतालाई अतिसंवेदनशील प्राथमिक विषयको रूपमा लिएर सासन-सत्ता चलाउने इच्छाशक्ति सधैँ हावी रह्यो।

यो पङ्क्ति लेख्दै गर्दा नेपाली अश्मिता, अखण्डता, स्वाधीनतामाथि भारतबाट निरन्तर बलात्कारको अर्को शृंखला लिपुलेक-कालापानी हुँदै लिम्पियाधुरासम्म ८० कि.मि. को बाटो निर्माणको प्रसंगले सम्पूर्ण नेपाल तरंगित भएको छ। नेपाल आमाको छाती माथि धावा बोल्दा; अश्मितामाथि बलात्कार गर्दा सरकार र सत्ताधारीपक्ष लाचार छन्, निरीह छन्, अकर्मण्य छन्। राष्ट्र र राष्ट्रियताप्रति संवेदनशील नै नभएको देखियो ।नेपाल-आमाका सन्तान हामी केही गर्न नसकेर दुःखी र विवश छौं । प्रत्येक नेपालीको मनमा  उद्वेग र क्षोभ छ।  बिद्रोह र बिरोध छ ।  विद्रोहको आवाज उठाउनेहरूलाई सत्ताधारी पक्षले दबाएको छ।

यही प्रसङ्गमा मलाई बुद्धको जात्यानुरागी, देशानुरागी उद्बोधन याद आउँछ। “मातृभूमिबाट बहेको हावा समेत मलाई प्यारो र सुखदायक छ…यो उद्बोधन  आफ्नो मातृभूमि शाक्यजनपद कपिलवस्तु आक्रमण गर्न स-शस्त्र सेनासहित आएका कोसल राजा बिदुदभलई बीच बाटोमै रोकेर दिएको मातृभूमिप्रतिको देशानुरागी उद्गार थियो…!

बुद्धको यो उद्गारको आशय बिदुदभले बुझिहाले र सेनासहित बिना आक्रमण फर्के । भनिन्छ, तीन पटकसम्म बुद्धले आफ्नो मातृभूमि र जनतालाई बिदुदभ्को विध्वंशकारी युद्धबाट बचाएका थिए। बुद्ध जस्ता सांसारिक प्रपञ्चबाट मुक्त; जाति, वर्ग, लिङ्ग, भाषा, राष्ट्र जस्ता लौकिकस्तरबाट लोकोत्तरस्तरमा पुगिसकेको महान अध्यात्मिक-व्यक्तित्वलाई आफ्नो देश र जनताप्रति अनुराग, देश-प्रेम, संवेदनशीलताको गहिरो-छाप कत्तिको छ भन्ने स्पष्ट हुन्छ। कारण – धर्म, अध्यात्म, संस्कृति, सभ्यता अभौतिक, आलौकिक भए पनि यी सबै अभ्यास गर्न, युगौं-युग भावी सन्ततिलाई हस्तान्तरण गर्न हामीलाई अनुकूल वातावरण चाहिन्छ।  बिना देश, राष्ट्र, भूमि, प्रदेश, स्व-स्थान, धर्म र अध्यात्म, संस्कृति र परम्परा  अभ्यासका लागि अनुकूल वातावरण पाउन असम्भव नै हुन्छ। इतिहासमा कैयौं देश, राष्ट्र, भूभाग विदेशी आक्रमणका कारण भौमिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता गुमाएर आफ्ना पहिचान, अस्तित्व नै अन्य  देश र राष्ट्रमा  विलय र विलोप भई इतिहासबाट निमिट्यान्न भएका कैयौं उदाहरण छन्। शायद तथागत बुद्धले बिदुदभलाई कपिलवस्तु आक्रमणबाट  रोक्नुको पछाडि पनि आफ्नो देशको सार्वभौमिकता, भौमिक अखण्डता मात्र नभई आफू जन्मेको माटो, जननी-जन्मभूमिसँग  जोडिएको आफ्नो रगतको कण-कणमा विद्यमान अनुराग, देश प्रेम नै हो। आफ्ना देशका जनता, नागरिक, परिवार मात्र नभई अक्षुण्ण गौरवशाली इतिहास बोकेको आफ्नो देश, कला–संस्कृति, सभ्यता पहिचानको  अस्तित्व-संकटको पीर परेकोले नै होला । नभए बुद्ध जस्तो जीवन र जगतको प्रपञ्चबाट उन्मुक्त निरपेक्ष तत्त्वमा पुगिसकेको लोकोत्तर तथागतलाई बिदुदभको आक्रमण र अतिक्रमण रोक्नु खाँचो थिएन ।

नेपाल इतिहासकालदेखि अविछिन्न, अखण्ड स्वतन्त्र र स्वाधीनता बोकेको गौरवशाली देश हो । नेपाल न त विदेशी आक्रमण र अतिक्रमणबाट छिन्न-भिन्न भयो न त ब्रिटिश अधिराज्यवाद, हिटलरको नाजीवाद, जापानी अधिराज्यवाद, अमेरिकी विस्तारवादको उपनिवेश नै बन्यो । हाम्रा वीर पुर्खाले रगत-पसीना बगाएर पूर्वमा टिष्ठा  र  पश्चिम किल्ला-कांगडासम्म विशाल नेपाल निर्माण गरेका थिए । तर दुर्भाग्य, सन् १८१६ को सुगौली सन्धिमा नेपालले दुई तिहाई भूभाग गुमाउनु परेको थियो। बचेको अहिलेको हाम्रो भूभाग पनि पटकपटक  सीमा-अतिक्रमणबाट करिब ६० हजार हेक्टर नेपाली भूमि गुमाउनु परेको छ। कालापानी, सुस्ता, लिपुलेक, लिम्पियाधुरा, टनकपुर जस्ता अनेकौं भूभाग  नेपालको हुँदाहुँदै भारतले आफ्नै दाइजो जस्तै बर्सौंदेखि कब्जा जमाइराखेको छ । आखिर भारतको ज्यादति अगाडि नेपाल किन मौन ?

जब घरको धुरी नै कमजोर, निकम्मा र निरीह हुन्छ, तब सम्पूर्ण  घर नै निरन्तर अस्थिरताले डग्मगाउँछ। त्यसरी नै सधैं कमजोर, लाचार, लम्पसारवादी नेताहरूले सत्ता चलाएको कारण नेपालको राष्ट्रिय नेतृत्व, राष्ट्रिय स्थिति सधैं कमजोर नै रह्यो।  राष्ट्रियताको सवालमा सधैं सम्झौतापरस्त र आत्म-समर्पणवादी भए। पद, प्रतिष्ठा, सत्ता र कुर्सीका लागि आफूआफू नै लड्ने, विभाजित हुने र भारतसामु निरिह भै आफ्नो इमान र आत्मा बेचेर देशको स्वाधीनता र सार्वभौमिकता बेच्न पनि तयार रहे। नेपालको राष्ट्रिय नेतृत्वमा कहिल्यै पनि शक्तिशाली, दूरदृष्टिगामी नेतृत्व उदय भएन।  पटक-पटक जन-आन्दोलन, जन-क्रान्ति भए पनि बीचमै तुहिए या त अपूर्ण रहे।

राजा महेन्द्रको शासनकालमा तत्कालीन भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले “नेपाल सानो छ भारतमै गाभेर बिकास गरौँ..” भनेकी रहिछन् ! त्यो सुनेर राजा महेन्द्रले, “हुन्छ, प्रस्ताव राम्रो छ ! तर नेपाललाई भारतमा गाभ्ने हो भने नाम नेपाल राखौं, भाषा नेपाली बोलौं अनि झण्डा पनि नेपालकै प्रयोग गरौँ !” भनेर कुटिलतापूर्ण जवाफ दिएका थिए । राष्ट्रियताको सवालमा राजा महेन्द्र दुर दृष्टिगामी राजा भएको यो घटनाले पुष्टि हुन्छ।

भौगोलिक विकटता र भू-राजनैतिक परिस्थिति छिमेकी शक्ति-राष्ट्रहरूसँग दबिएर सम्झौतापरस्त हुनुपर्ने, आफ्नो राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सार्वभौमिकता गुमाउनुपर्ने कुनै कारण होइन। मात्र राष्ट्र-प्रेम र देशानुरागले ओत-प्रोत इच्छाशक्तिको खाँचो हो । बुद्धको देशानुराग उद्घोष “मातृभूमिको हावा समेत मलाई सुखदायक छ “ यहाँनिर अति सान्दर्भिक भएको देखिन्छ ।

२०५२ सालदेखि सुरु भएको १० बर्षे माओवादी सशस्त्र आन्दोलनले  सामन्ती एकतन्त्रीय राजतन्त्र बिस्थापित गरी देशले गणतन्त्रात्मक राजनैतिक नेतृत्व पायो। देश र जनताले आर्थिक-सामाजिक पुनर्सचनासहित शक्तिशाली राजनैतिक नेतृत्वको अपेक्षा गरेका थिए।  तर धेरै समयसम्म जनताको उक्त सपना साकार भएन। छ–छ महिनामा सत्ताको नेतृत्वमा परिवर्तन हुँदा राष्ट्रिय राजनैतिक नेतृत्व सधैं कम्जोर रह्यो ।

हुन त नेपालको राष्ट्रिय-नेतृत्वमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा भारतकै दबदबा रहँदै आएको छ। २००७ सालदेखि हालसम्म यो स्थिति कायमै छ। नेपालको भू-राजनैतिक परिस्थितिको कारण भारतसँग सधैं निर्भर हुनुपर्ने बाध्यात्मक परिस्थिति भए पनि देशको आन्तरिक राष्ट्रिय राजनैतिक मामिलामा हस्तक्षेपकारी भूमिका खेल्न दिनु नेपाली राजनैतिक नेतृत्वको स्वाभिमानहीन नालायकीपन हो । सुरुदेखि नेपालको तर्फबाट भारतसँगको द्विपक्षीय वार्तामा आफ्ना एजेन्डा दह्रो अडानका साथ राख्ने गरेको देखिएन। भारतकै चल-खेल र योजनामा यहाँका राजनैतिक नेतृत्व र सत्ता परिवर्तन भैरहे। यसका लागि नेपाली राजनैतिक पार्टी र नेताहरू सत्तालोलुपताको कारण जेजस्तो सम्झौता गर्न पनि तयार भए। परिणामत: नेपालले आफ्ना भूभाग मात्र होइन कोशी, महाकाली, टनकपुर् जस्ता नदीहरू समेत गुमाउनु पर्यो ।

विश्वमा नेपाल जस्तै भूपरिवेष्ठित र भौगोलिक बिकटता भएका  क्युबा, उत्तर कोरिया, स्विट्जरलैण्ड, सिंगापुर जस्ता साना राष्ट्रहरू धेरै छन् तर राष्ट्रियताको सवालमा ती राष्ट्रहरू सधैं मजबूत नै रहे । कारण, त्यहाँको राष्ट्रिय नेतृत्व सधैँ दूरदर्शी, राष्ट्रवादी, राष्ट्रप्रेमी र जनताहितैषी  थिए । ती देशको राष्ट्रिय नेतृत्वमा देशको स्वाधीनता र  सार्वभौमिकतालाई अतिसंवेदनशील प्राथमिक विषयको रूपमा लिएर सासन-सत्ता चलाउने इच्छाशक्ति सधैँ हावी रह्यो।  त्यसैले अमेरिका- युरोप जस्ता शक्तिसामु कहिल्यै झुकेनन्, सम्झौतापरस्त, आत्मसमर्पणवादी भएनन्। बरु आर्थिक, सामाजिक, राजनैतिक रूपमा आफूलाई विकास गरी मजबूत राष्ट्रहरूको रूपमा विश्वसामु उभ्याउन सफल भए । नेपालका नेताहरू, राजनीतिक दलहरूले पनि ती राष्ट्रहरूबाट नेपालको स्वाधीनता, सार्वभौमिकता जोगाउन केही पाठ सिक्ने कि …?

अत: भौगोलिक विकटता र भू-राजनैतिक परिस्थिति छिमेकी शक्ति-राष्ट्रहरूसँग दबिएर सम्झौतापरस्त हुनुपर्ने, आफ्नो राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सार्वभौमिकता गुमाउनुपर्ने कुनै कारण होइन। मात्र राष्ट्र-प्रेम र देशानुरागले ओत-प्रोत इच्छाशक्तिको खाँचो हो । बुद्धको देशानुराग उद्घोष मातृभूमिको हावा समेत मलाई सुखदायक “ यहाँनिर अति सान्दर्भिक भएको देखिन्छ ।

Facebook Comments
Bhikshu Anand
Comments (0)
Add Comment