नवराजका पाँच मुक्तक

साहित्य

१.

एक्लै–एक्लै जिएको छु, आँसु सबै पिएको छु

मन फाट्दा सिएको छु, आशा नौलो लिएको छु

फड्को मार्दा जिन्दगीले किन टाढा हुन्छ्यौ तिमी

आफू सधैँ मक्किएको छु, फूल गुलाबको दिएको छु !

 

२.

अपरिचितको बात सुनी एकोहोरो खुल्नु हुन्न

अज्ञात स्थलमा भौंतारिदै एक्लै एक्लै डुल्नु हुन्न

बाधा अड्चन आए पनि हरेस नखाई जिन्दगीमा

को हुँँ म र के गर्नु छ भन्ने कहिल्यै भुल्नु हुन्न  ।

 

३.

घरमा त्यसै बसेको भए तिमीलाई झर्कै हुन्थ्यो

मेरो कमाइ नभाको भए हाम्रो जिन्दगी नर्कै हुन्थ्यो

सारा चोटहरू सहेर बदलामा माया दिएँ

तिमीले माया गरेको भए मेरो जिन्दगी अर्कै हुन्थ्यो !

 

 

४.

खुशी फर्की आउँछ भन्थे, पीडा धेरै सहेपछि

माया धेरै लाग्दोरहेछ आफ्नो मान्छे भएपछि

जिन्दगीमा एक्लै–एक्लै जहाँ–जहाँ पुगे पनि

भुल्न गाह्रो हुँदो रहेछ मुटुभित्रै रहेपछि ।

 

 

५.

आँखामा असारे झरी लाग्दा पूर्णिमाको जून पनि बिझ्दो रै’छ

हृदयमा दर्दको दह जम्दा सङ्गीतको धुन पनि बिझ्दो रै’छ

कुटिल चालमा माहिर मान्छेको नजरमा भने यहाँ

सोझो मान्छेको इमान्दारी गुन पनि बिझ्दो रै’छ !

Facebook Comments
bannernawaraj
Comments (0)
Add Comment